१९-२५ पुस २०७२ | 3-9 January 2016

सर्पका साथी

Share:
  
- सजना बराल
'सर्पलाई मान्छेभन्दा जाती' ठान्ने महेन्द्र कतिला (५७) कसैले सर्प मारेको वा घाइते बनाएको सुने मात्र पनि दुःखी हुन्छन्।

महेन्द्र कतिला।
दशैंको टीका सकाएर घुमफिरका लागि चितवनको सौराहा जान ठिक्क परेका पोखरा, नालामुख–२ का महेन्द्र कतिलालाई जिल्ला वन कार्यालय, कास्कीबाट फोन आयो। 'पृथ्वीनारायण क्याम्पसछेउको ट्याक्सी स्ट्यान्डनेर गोमन (राजगोमन सर्प) देखिएको छ, उद्धार गरिदिनुपर्‍यो' भन्ने आग्रहमिश्रित स्वर सुनियो। उनी सरासर, ट्याक्सी स्ट्याण्डतिर लागे। लुकेर बसेको करीब १० फीट लामो र अन्दाजी ४ किलो तौलको गोमन समाते। र, वनका कर्मचारीको उपस्थितिमा जंगलमा छाडिदिए।

“मैले उद्धार गरेको त्यो दोस्रो राजगोमन थियो”, सानैदेखि सर्पप्रति अचम्मको रुचि भएका कतिला भन्छन्। उनका अनुसार, पोखरामा चार वटा राजगोमन भेटिइसकेका छन् भने विभिन्न प्रजातिका सर्पहरूको संख्या बढेको छ। दशैंमा उद्धार गरेकै ठाउँमा राजगोमनका थप चार–पाँच वटा बच्चा हुनसक्ने उनको अनुमान छ। कतिलालाई ती सर्पलाई कसैले मारिदेला वा चलाउने/जिस्क्याउने गर्ला भन्ने डर छ। “संसारमै दुर्लभ प्रजातिका राजगोमनलाई सकुशल जंगलमा छोडिदिन पाए ढुक्क हुन्थ्यो”, उनी भन्छन्।

सर्प देख्नासाथ टोक्छ भनेर कुटी–कुटी मार्ने प्रवृत्तिका कारण नेपालका सर्पको संख्या घटिरहेको बताउने कतिला सर्पबारे चेतना फैलाउन जरुरी ठान्छन्। “सर्प शान्त स्वभावको हुन्छ”, उनी भन्छन्, “उसलाई नचलाएसम्म कहिल्यै मान्छेलाई टोक्दैन। यो त बरु मान्छेको साथी हो।” खेत–बारीका मुसा खाइदिएर बाली सपार्न सघाउने सर्पको पारिस्थितिकीय प्रणालीमा ठूलो महत्व छ। यो कुरा बुझेरै पुर्खाले सर्पप्रति कृतज्ञता दर्शाउन नागपञ्चमी मनाउने गरेको हुन सक्छ।

अधिकांश हामी सर्पलाई काल ठान्छौं। तर, कतिलालाई भने सर्पसँग कहिल्यै डर लागेन। अजिंगर, गोमन आदिलाई काँधमा हालेर हिंड्ने उनी साना सर्प (हरेउ, टि्रङकेट, र्‍याट स्नेक आदि) लाई सहजै खेलाउँछन्। “मलाई त मान्छेभन्दा सर्प राम्रा लाग्छन्”, उनी भन्छन्, “यिनले कसैलाई छलेर टोक्दैनन्। तर, मान्छेले मान्छेलाई झुक्याएर डस्छन्।” २०२८/२९ सालदेखि सर्पलाई खेलाउन थालेका उनी हालसम्म सयभन्दा बढी सर्पको उद्धार गरी जंगलमा छाडेको बताउँछन्।

विषको प्रभावः सर्पदंशपछि जरायोटारकी विमला मगर।
सुन्दै आङ जिरिङ्ग हुने कतिलाको काम उत्तिकै असुरक्षित पनि छ। सर्पबारे जानकारी दिन चोक–बजारमा कार्यक्रम गर्नेदेखि घाइते सर्पको उपचारमा समेत उनी लागिपरेका छन्। तर, उनीसँग न 'स्नेक स्टिक' छ न त सर्पलाई खाना ख्वाउने आवश्यक उपकरण नै। “उद्धार गरिएका सर्प राख्ने ठाउँ पनि छैन”, उनी भन्छन्।

नेपालमै एन्टिभेनम!

यिनै अप्ठ्यारालाई पन्छाउन कतिला र उनी जस्तै सर्प–उद्धारकर्ता, पशु चिकित्सक, सर्प विज्ञ मिलेर संस्था खोल्ने तयारीमा लागेका छन्। संस्थाको योजना नेपालमै 'सर्प फार्म' खोल्ने छ। तर, यसका लागि मुलुकको कानून बाधक छ। फार्मबाट सर्पको टोकाइविरुद्ध प्रयोग गरिने एन्टिभेनम भ्याक्सिन उत्पादन गर्ने योजना पनि छ। सर्पको विष निकालेर त्यसबाटै बनाइने एन्टिभेनम विश्वभर निर्यात गर्न सकिने कतिला बताउँछन्। “सर्पको विषबाट थुप्रै औषधि बनाइन्छ”, उनी भन्छन्, “विष निकाल्न हामीसँग प्रविधि र प्राविधिक दुवै भए पनि कानूनले त्यसो गर्न दिएको छैन।”

सर्प उल्लेख्य मात्रामा पाइने तराईको कुनै ठाउँ वा चितवन/बर्दिया राष्ट्रिय निकुञ्जमा सर्प संरक्षण केन्द्र खोली सर्प सफारी अभियान थाले पर्यटन विकासमा पनि सहयोग पुग्ने कतिलाको विश्वास छ। त्यसो गरे सर्प मार्ने र अवैध चोरी–शिकारी नियन्त्रणमा टेवा पुग्ने उनी बताउँछन्। “औषधिका लागि सर्पलाई जिउँदै वा मारेर चोरीशिकारी भइरहेको छ”, उनी भन्छन्, “यसप्रति गम्भीर नहुने हो भने अबको दुई पुस्तापछि नेपालबाट सर्प लोप नहोला भन्न सकिन्न।”

अन्यत्र कतै नदेखिएको नौलो खाले 'इम्ब्लेम' रहेको छत्तरसहितको गोमन सर्प। हर्षाही सिन्धुलीमा २०६५ मा पाइएको थियो।

राजगोमन।

हरेउ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार, एशियाटिक रक पाइथन र बर्मिज रक पाइथन मारेको वा घाइते बनाएको पाइएमा रु.४० हजारदेखि रु.७५ हजारसम्म जरिवाना वा एक वर्ष जेल सजाय हुन्छ। अन्य सर्प मारेको वा समातेको पाइएमा पनि सजायको व्यवस्था छ।


गर्न बाँकी अध्ययन

विष्णु भेटवाल

बेलायती चिकित्सक फ्रान्सिस् बुखानन् ह्यामिल्टन (१८०२), डेनमार्कका वैज्ञानिक नथानियल वालिच (१८१७), नेपालका लागि तत्कालीन बेलायती दूत ब्रायन एच हड्सन (१८२०) ले नेपाल बसाइका क्रममा सर्पको पनि अध्ययन गरेका थिए। यसबारे १८५८ तिरै बेलायती संग्रहालयमा अभिलेख राखिएका थिए। नेपालका सर्पबारे जापानका वाई सवाई (१९८५) ले अध्ययन गरेका छन्।

'हर्पेटोफाउना अफ नेपालः अ कन्जर्भेसन कम्पानियन' पुस्तकका अनुसार, अहिलेसम्म नेपालमा ७९ प्रजातिका सर्प रहेको रेकर्ड गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले २५–३० कात्तिक २०४६ मा जनकपुर अञ्चल अस्पतालमा पहिलो पटक सर्पले टोकेकाको उपचार गर्नुका साथै उपचार विधिबारे स्थानीयलाई जानकारी र तालीमसमेत दिएको थियो।

नेपालमा सर्पबारे सारै कम अध्ययन भएका छन्। जसले सर्पको पहिचान, उपचारसँगै यसबाट हुने लाभ लिन सकिएको छैन। सरकारले अलिकति मात्रै ध्यान दिए सर्पबारे आम धारणा फेरिन्थ्यो र संरक्षणमा सघाउ पुग्थ्यो।

राजगोमन स्वभाव

सिन्धुलीको हर्षाही, नेपानेलगायतका गाविसलाई 'विषालु जीवको राजधानी' भने फरक पर्दैन। यहाँ बिच्छी, पातेबिच्छी, माहुरी, अरिंगाल, करेत, हरेउ, भाइपर (बाघे सर्प) र राजगोमन प्रशस्त पाइन्छन्। सेतो ओठ र रातो पुच्छर भएको हरेउ सर्प हर्षाही, नेपाने, सिथौली, लाम्पानटार, जिनाखु आदि स्थानमा बढी पाइन्छ। हर्षाहीमा १२ फीट लामो र १४ किलोसम्मको राजगोमन भेटिएको छ। यसको बासस्थान हर्षाही, पाटु बर्दिवासदेखि सिर्थाैली, दुधौली, गोदार र बल्टियासम्म छ।

राजगोमनले एउटै सर्पिणीसँग सहवास गर्छ। भाले–पोथीले बाँसको झाङमा चार/पाँच दिन लगाएर गुँड बनाउँछन्। गुँडलाई माटोले छोप्छन्। सम्भोगको १० हप्ताभित्रमा पोथीले पहिलो अण्डा पार्छे। अण्डा पार्ने क्रम ११ हप्तासम्म चल्छ। एउटै अण्डा ३०–४० ग्रामको हुन्छ। पोथीले ५५ वटासम्म अण्डा पारेको पाइएको छ। गर्भकालदेखि नै सर्पका बच्चामा विष थैली सक्रिय हुन्छ।

वयस्क राजगोमनले टोक्दा ६ सीसी विष शरीरभित्र पस्ने भएकाले यसको टोकाइबाट घाइतेको २० मिनेटभित्र मृत्यु हुन्छ। हात्ती पनि आधा घण्टाभन्दा बढी बाँच्दैन। २५ महीनासम्म भोकै बस्न सक्ने, हाँसभन्दा राम्ररी तैरिने, लोखर्केभन्दा छिटो रुख चढ्ने, बाँदरभन्दा मज्जाले हाँगामा फाल हान्न सक्ने क्षमताको राजगोमनलाई चलाउनुहुन्न। यसको गति ४०–६० प्रतिघण्टा हुन्छ। कुकुरबाहेक यो अरू केहीसँग पनि डराउँदैन।

(भेटवाल सर्पदंश चिकित्साविद् हुन्।)

comments powered by Disqus

रमझम