अम्मल वार्ता

Share:
  
- ज्ञानमणि नेपाल
कप्तान अष्टमान र रेजिडेन्ट र्‍याभिन्साबीच भएको भोट सम्बन्धी प्रश्नोत्तरका बीचबीचमा भएका अन्य अनेक प्रसङ्गमध्ये यो अंकमा अफिम र बाँडा पण्डित नियुक्तको कुरा छ।

आयुर्वेदिक औषधिमा प्रयोग हुने अफिम, गाँजा, भाङ, धतुरोलाई धेरै मानिसले अम्मल बनाउँदै आएका छन्। सूर्तीको तमाखु, बिंडी, चुरोट व्यसनी अम्मलीले बढी प्रयोग गर्छन् भने अफिम, गाँजा र भाङ निषिद्ध अम्मलमा पर्छन्। सूर्तीजन्य पदार्थ चाहिं जाँडरक्सी जस्तै व्यापक र खुला प्रचलनमा सर्वत्र चलेका लागूपदार्थ हुन्।

अघि ठूला–बडा मानिस विभिन्न प्रकारका गुडगुडे हुक्कामा तमाखु, सामान्य मान्छे सुल्पा तान्थे भने धेरैले सूर्ती चपाएर वा खैनी फुक्याएरै धीत मार्थे। सबै प्रकारका धुम्रपानका लतलाई किसिम–किसिमका चुरोटले शान्त पार्ने युग आएको धेरै भएको छैन। अघिका भारदारहरू अम्मलको आनन्द लिन अफिम खान्थे। यस्ता अम्मली भारदारहरू गाँजा तान्दै, धूवाँ उडाउँदै मस्त भएर झुम्मिरहन्थे। पाटनका पण्डित सुन्दरानन्द बाँडाले त्रिरत्न सौन्दर्यगाथा मा त्यस्ता भारदारलाई व्यंग्य गर्दै गाँजा तान्ने गँजडी भनेर उडाएका छन्– 'खेल्छन् रात दिन जुवा कति विजया (गाँजा) फुक्तछन्

गाँजाले मात्तिएका भारदारले क्या सहि राख्तछन्।'

जर्नेलबाट राजकाज गर्न लागेदेखि निसाफ केही छैन

रुपैयाँ मात्रै धेरै लिन्छन्, घूस पनि धेरै खान लागे।

पुराना भारदार भए जर्नेल बाँच्न कहाँ पाउँथे

आजकालका भारदार सबै जर्नेलले बनाएका केटाकेटी छन्

बुद्धि कसैको छैन।'

पं. बाँडाले पृथ्वीनारायण शाहद्वारा साधिएका पुराना भारदार नहुँदाको पीडा जर्नेलका अम्मली भारदारको कुचालको चरित्र चित्रण गर्दै पोखेका छन्। नेपालका राजकाजी हालचाल हालसम्मका नेतामा पनि हुबहु मिलेको छ।

अघिका शासक वर्गमा पनि अफिमको अम्मल चलेको थियो। राजकाजमा पोख्त जङ्गबहादुर आफैं अफिमका अम्मली थिए। चिनी रोग लागेपछि डाक्टरहरूले अम्मल छुटाउन खोजे पनि अफिम नलिंदा लत्रिएर बस्ने उनलाई हिरण्यगर्भकुमारीले अलिअलि दिएर चङ्गा पार्थिन्। यो प्रक्रिया उनको अन्त्यसम्म रह्यो।

भोट चीनमा भने अफिमको अम्मलले अति व्यापक प्रभाव जमायो। त्यहाँ नेपाल र भारतबाट प्रशस्त अफिम पुग्थ्यो। अवैध हुँदा लुकीछिपी अफिमको पैठारी भइरहन्थ्यो। अंग्रेज–चीनबीच परेको ठूलो रडाको अफिम युद्धको नामले प्रसिद्ध छ। त्यसैले रेजिडेन्टले कप्तान अष्टमानसँग अफिमको प्रसङ्ग कोट्याएका हुन्।

काठमाडौंमा बस्ने अंग्रेज रेजिडेन्ट फारसी पढेका हुन्थे। रेजिडेन्सीमा उनीसँग व्यवहार चलाउनअरबी–फारसी जानेका दोभाषे नियुक्त हुन्थे। फारसी–अंग्रेजी जान्ने मान्छे नियुक्त होस् भन्ने रेजिडेन्टको चाहना हुन्थ्यो। सबभन्दा धेरै समय नेपाल बसेका रेजिडेन्ट ब्रायन हड्सनले नेपाल सरकारले नियुक्त गरेका दोभाषे बाहेक ७/८ जना गुप्तचर नियुक्त गरेर यहाँका सबै हालचाल बुझथे। तिनको माध्यमबाट उनले तयार पारेका दस्तावेजहरूमा नेपालका धेरै नकारात्मक कुरा परेका छन्।

कप्तान अष्टमान र रेजिडेन्ट र्‍याभिन्सासँग २१ मे १९०४ सोमबार भएको संवाद–

अफिम खेती

क.आज साहेव नगरकोटबाट फर्के. २८ तारिखको दिन फेरी जान्छु भने.

रे.तिमिहरूको तराईमा अफीमको खेती छ की हाल्मा चिनसँग अफिम्को बेपार गर्ने तिमिहरूको बन्दोबस्त भएको छ की.

क.तराइमा अफिम्को खेती कही कही छ. चीनसंगको बेपार बन्दोबस्त छैन. चिनियां मिशन् आउंदा फर्केमा यांहाबाट अफीम लैजान्छन्. अघिपछि डिपार्टमेंन्टमा हिन्दुस्तान्मां बिक्री हुन्छ.

रेजिडेन्सीमा देभाषे भर्ना सम्बन्धमा

अफिस्को दस्तुरले बांडा पण्डितले अर्को महिना देखि पेंन्सन पाई रिटायर हुने भयेको छ. नीजको ठाउंमा भर्ना गर्नालाई उर्दु पर्वतिया औं अलि अंग्रेजी जान्ने खोज्दा पाइन. माहाराजबाट कोही छ की तलास् गरिबक्से हुदो हो भनी यो लेखेको हुं.

३० मे सोमबार

क. बांडा पंडीतको बदलामा साहेबको अफिसलाई अंग्रेजी उर्दु दुवै जान्ने अरु कोही पाइयेन. उर्दु र पर्वतीया जान्ने येकजना रुत्यनारान् छ. त्यो हुन्छ की साहेबसंग सोधनु भनी महाराजबाट हुकुम भयेको छ. जाँच गर्नु (मन्जुर) गर्नु हुन्छ भने ल्याउछु.

रे.अंग्रेजी समेत् जान्ने पाइयेको भये धेरै सजिलो हुन्थ्यो. १ तारिखदेखी हाजिर याहां हवुन्.

क.हुन्छ

७ जून १९०४, मंगलबार

रे.रुद्रनारान्लाई जांची हेरे. उर्दु लेख्पढ् गर्नु नसक्ने रहेछ. काम् दिन सकदैनौ भनी सुनाइ पठायें.

comments powered by Disqus

रमझम