२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

भूकम्पले चुहायो विकिरण

Share:
  
- रामु सापकोटा
नाष्ट, न्याम्स र शिक्षण अस्पताल महाराजगञ्जको संयुक्त अध्ययनले राजधानीका अस्पतालबाट रेडियो विकिरण चुहिएको देखाएको छ।

तस्वीरहरुः गोपेन राई
पाटन अस्पताल ललितपुरमा बिरामीलाई एक्सरे गराउँदै कर्मचारी। एक्सरेका लागि पालो कुरिरहेकी अर्की बिरामी।
१२ वैशाखको महाभूकम्पपछि नेपालभर दुई हजारभन्दा बढी अस्पतालमा क्षति पुग्यो। चर्किएका भवनबाट सेवा दिइरहेका त्यस्ता अस्पतालबाट रेडियो विकिरण चुहिएको पाइएको छ। १३ जेठमा गठित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र शिक्षण अस्पताल महाराजगञ्जको विशेषज्ञ टोलीले काठमाडौं उपत्यकाका १८ अस्पतालको रेडियो विकिरणयुक्त उपकरणहरूको अवस्थाबारे गरेको एकमहीने अध्ययनको निचोड छ– रेडियो विकिरणले जनस्वास्थ्य खतरामा पारेको छ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रामचन्द्र खनाल अस्पतालजन्य फोहोरको सदाबहार समस्यामाथि विकिरण थपिएको बताउँछन्। वीर अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्यका अनुसार, मानव शरीर रेडियो विकिरणको सम्पर्कमा आएपछि शरीरका कोषिकाहरू नष्ट हुन थाल्छन्। नष्ट कोषिका रगतमा मिसिएर रक्तक्यान्सर र अन्य अंगमा प्रभाव बढ्दै गएमा थाइराइड, फोक्सो र मुटुको पनि क्यान्सर हुन्छ।

नाष्टका वरिष्ठ वैज्ञानिक डा. बुद्धराम साहले नेतृत्व गरेको अध्ययन टोलीमा वीर अस्पताल (न्याम्स) का निर्देशक डा. स्वयंप्रकाश पण्डित, रेडियोथेरापी विभागका रेडियसन प्रोटेक्सन अफिसर डा. कञ्चनप्रसाद अधिकारी र शिक्षण अस्पतालका रेडियोलोजी विभाग सिनियर मेडिकल फिजिसिष्ट प्रा.डा. शान्तलाल श्रेष्ठ थिए। डा. साहका अनुसार, अस्पतालका रेडियो विकिरणयुक्त उपकरण प्रयोग हुने कोठाहरूको चर्किएको भित्ता र झयालढोकामा सुरक्षाका उपाय नअपनाउँदा रेडियो विकिरण चुहावट भएको हो। (हे.बक्स)

अस्पतालहरूमा प्रयोग हुने टेली कोबाल्ट (रेडियसनको डोज दिएर क्यान्सरको उपचार गर्ने मेशीन) लिनियर एक्सिलिरेटर (क्यान्सर र केही ट्युमरको उपचारका लागि प्रयोग हुने मेशीन), सिमुलेटर (शरीरको कुन भागमा रेडियसन दिने भन्ने यकिन गर्न प्रयोग हुने मेशीन), गामा क्यामेरा (मस्तिष्क, फोक्सो, थाइराइड र किड्नी परीक्षण गर्ने मेशीन), रेडियोथेरापी मेशीन, एक्सरे र सिटीस्क्यान मेशीन रेडियो विकिरणयुक्त हुन्छन्। देशभरका अस्पतालमा एक हजार थानभन्दा बढी एक्सरे, ४० भन्दा बढी सिटीस्क्यान तथा वीर, भक्तपुर, मणिपाल र ओम अस्पतालमा रेडियोथेरापी मेशीन छन्। पोखराको मणिपाल, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वीर अस्पतालमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने उच्च रेडियो विकिरण पैदा गर्ने कोबाल्ट–६० प्रयोगमा छ।

नाष्ट
भूकम्पपछि चर्किएको (रातो घेरामा) भक्तपुर क्यान्सर अस्पतालको एक्सरे मेशीन राखिएको कोठा, जहाँबाट विकिरण चुहावट भएको छ।
क्यान्सर रोग विशेषज्ञ डा. आचार्यका अनुसार, रेडियो विकिरणले छाला, रगत, मुटु, कलेजो र फोक्सोमा क्यान्सर गराउँछ। गर्भवती महिलामा पुगेको विकिरणले तुरुन्तै गर्भको शिशुको शारीरिक संरचना बिगार्छ। ०.२ देखि ०.५ माइक्रोसिभर्ट प्रतिघण्टासम्मको रेडियो विकिरण हानिकारक नभए पनि अध्ययनले अधिकतम ९३३.५ माइक्रोसिभर्ट प्रतिघण्टासम्म रेडियो विकिरण चुहावट भएको देखाएको छ। (हे.टेबल)उपत्यका बाहिरका अस्पतालमा यस्तो अध्ययन भएको छैन।

रेडियो विकिरणयुक्त उपकरण रहने कोठाको गारो पक्की र झयालढोका लेड (विकिरण चुहावट रोक्न प्रयोग गरिने पदार्थ) युक्त हुनुपर्छ। त्यस्ता कोठा बिरामीको वार्ड र कुरुवा कोठाबाट सकेसम्म टाढा हुनुपर्छ। तर, कतिपय अस्पतालले सामान्य पार्टिसनबाट काम चलाएको र झयालढोकामा सामान्यखालको सिसा प्रयोग गरेको डा. साह बताउँछन्। त्यसरी चुहिएको रेडियो विकिरणबाट बिरामी, कुरुवा र रेडियो विकिरणबाट बचाउने लिड एप्रोन नलगाएका अस्पताल कर्मचारी प्रभावित भएका छन्। (हे. तस्वीर माथि) विकिरण चुहावटबारे अध्ययन भए पनि त्यसबाट प्रभावितहरूको अध्ययन नभएकोले कसलाई कस्तो असर पारेको छ भन्ने खुलेको छैन।

अध्ययनले वयोधा, शिवज्योति, मेघा, गणेशमानसिंह मेमोरियल, सुमित, इवामुरा मेमोरियल, भक्तपुर जिल्ला अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बी एण्ड बी, किष्ट मेडिकल कलेज, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नेपाल मेडिकल कलेज (जोरपाटी), मध्यपुर अस्पताल (भक्तपुर), काठमाडौं मेडिकल कलेज, त्रिवि शिक्षण अस्पताल, ग्रीनसिटी, पाटन र वीर अस्पतालमा विकिरण सुरक्षाको उपाय नअपनाएको देखाएको छ। र यीमध्ये १० वटा अस्पतालमा रेडियो विकिरण चुहिएको बताएको छ। यी सम्पूर्ण अस्पतालले अन्तर्राष्ट्रिय रेडियोलोजिकल आयोग (क्यानेडा) र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (अष्ट्रिया) ले तय गरेको मापदण्डको पालना नगरेको, दक्ष रेडियो विकिरण पेशाकर्मी नराखेको, भूकम्पले चर्र्काएका कोठा मर्मतसम्भारै नगरी रेडियो विकिरणयुक्त उपकरण संचालन गरेको लगायतका कमजोरी अध्ययनले फेला पारेको छ।

चार वर्षअघिको एक अध्ययनले देशभरका ६५ प्रतिशत अस्पतालका कर्मचारीले रेडियो विकिरण मापन गर्ने डोजीमिटर नलगाएको पाइएको थियो। यस पटक पनि ज्यादै कम कर्मचारीले मात्र त्यस्तो एप्रोन प्रयोग गरेको भेटिएको छ। अध्ययनमा संलग्न डा. कञ्चनप्रसाद अधिकारीका अनुसार, डोजी र लिड एप्रोन नलगाउने कर्मचारी स्वतः विकिरणको जोखिममा हुन्छन्।

व्यवस्थापनमा लापरबाही

लिड एप्रोन नलगाइकन भक्तपुर क्यान्सर अस्पतालमा कोबाल्ट–६० उपकरणमार्फत बिरामीको उपचार गरिंदै।
अध्ययन टोलीले खतराको घन्टी बजेको प्रतिवेदन बुझाए पनि यससँग सम्बन्धित विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सुझाव कार्यान्वयन गरेको छैन। रेडियो विकिरण चुहिएका अस्पताललाई तत्काल सुरक्षाका उपाय अपनाउन दिइएको सुझाव पालना भए/नभएको अनुगमन पनि भएको छैन। सरकारले सुझाव कार्यान्वयन र अनुगमन मात्र होइन, रेडियसन ऐन नै जारी गरेर कार्यान्वयन नगरे विकिरण चुहावटले भयावह समस्या निम्त्याउन सक्ने डा. साह बताउँछन्। “थुप्रै अस्पतालमा म्याद गुजि्रएका उपकरण प्रयोगमा छन्”, अध्ययन टोलीका अर्का सदस्य डा. अधिकारी भन्छन्, “घातक भइसकेका त्यस्ता उपकरणको प्रयोग तत्काल रोक्नुपर्छ।”

रेडियो विकिरण पैदा गर्ने स्वास्थ्य उपकरणको वार्षिक जाँच र पुराना उपकरण नष्ट गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि नेपालमा त्यस्तो अभ्यास नै नभएको डा. अधिकारी बताउँछन्। उनका अनुसार, यस्ता उपकरणले कम वा बढी विकिरण फालेको जाँचिरहनुपर्छ, तर नेपालमा न त्यस्तो प्रविधि छ न त विज्ञहरूको संयन्त्र नै। प्रविधि विकासले उपचारमा सहजता ल्याएसँगै रेडियो विकिरणयुक्त उपकरणको गुणस्तर नियन्त्रण र व्यवस्थापन सम्बन्धी मापदण्ड नै नहुनु समस्या बनेको बताउँदै डा. अधिकारी भन्छन्, “बिरामीले उपचारसँगै घातक विकिरण पाइरहेका छन्।”

यस्ता उपकरणको व्यवस्थापन नहुँदा वातावरणमा विकिरण फैलिएर मानव शरीरमा पुग्छ। तर, अवस्था कस्तो छ भने, १७ वैशाख २०७१ मा हराएको चितवनस्थित बीपी कोइराला मेमोरियल अस्पतालको क्यान्सर रोगको ब्रेकीथेरापी मेशीनमा प्रयोग गरिने खतरनाक रेडियो विकिरण उत्पन्न गर्ने इरेडियम–१९२ वैशाख १८ मा नारायणगढबाट काठमाडौं हिंडेको बसमा भेटिएको थियो। यसलाई चरम लापरबाहीको उदाहरण मान्छन्, डा. अधिकारी। लापरबाही कति भने, रेडियो विकिरण उत्पन्न गर्ने इरेडियमलाई २०४० सालतिर थापाथली प्रसूतिगृह परिसर र स्वास्थ्य सेवा विभाग टेकूमा गाडिएको थियो। यसरी गाडेका उपकरणबाट भूकम्पका वेला विकिरण चुहिने खतरा रहने वीर अस्पतालका रेडियसन अङ्क्लोजिष्ट डा. तारा मानन्धर बताउँछन्।


'लापरबाहीले विकिरण चुहावट'

डा. बुद्धराम साह

वरिष्ठ वैज्ञानिक, नाष्ट

अति कम लम्बाइ (१/१०००००००००० मीटर) भएका तरंगलाई रेडियोधर्मी विकिरण भनिन्छ। अस्पतालमा प्रयोग हुने एक्सरे, सिटी स्क्यान, रेडियम, कोबाल्ट–६० लगायतका उपकरणबाट विकिरण उत्पन्न हुन्छ। ०.२ माइक्रोसिभर्ट प्रतिघण्टासम्मको रेडियसन सामान्य हो, तर भूकम्पबाट क्षतिग्रस्त भवनबाट सेवा दिइरहेका अस्पतालहरूबाट त्योभन्दा निकै बढी परिमाणको रेडियो विकिरण चुहिएको पाइएको छ। अधिकांश अस्पतालले रेडियोएक्टिभ उपकरण राखेको कोठामा सामान्य सिसाको झ्याल राखेको पाइयो, सस्तो पर्ने भएकोले। रेडियो विकिरणयुक्त उपकरण प्रयोग हुने कोठाको पार्टिसनमा पनि सामान्य सिसा प्रयोग गरेको भेटियो।

ती अस्पताललाई सुरक्षित विधि अपनाउन दिइएको सुझाव पनि पालना भएको छैन। रेडियो विकिरण ऐन नहुँदा फाइदा भएको ठान्ने अस्पतालहरूले सार्वजनिक स्वास्थ्यमा ठूलो खतरा उत्पन्न गराएका छन्। हामीले दिएको सुझाव पालना भए/नभएको अनुगमन नहुनु अर्को कमजोरी हो।


अस्पतालजन्य फोहोर महामारीको डर

अस्पतालबाट निस्कने फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न मापदण्ड बनाए पनि पालना भएको छैन। देशभरका अस्पतालबाट वार्षिक १३ हजार ६१३ टन फोहोर निस्कने गरेको तथ्यांक छ। त्यसमध्ये २५ देखि ३५ प्रतिशतसम्म फोहोर घातक किसिमको छ। काठमाडौंको परोपकार स्त्री तथा प्रसूति गृहको औषधिमा २५–२९ भदौ २०७० मा यस्तै फोहोरबाट संक्रमण भएर नौ महिलाको ज्यान जानु लापरबाहीको भयावह परिणाम थियो। यो अस्पतालले जथाभावी फोहोर फाल्न भने छाडेको छैन (हे. तस्वीर)

औषधि व्यवस्था विभागका फर्मासिस्ट पानबहादुर क्षेत्री म्याद गुज्रेका औषधि र अस्पतालजन्य फोहोर वातावरणका लागि घातक टक्सिक हुने बताउँछन्। संक्रमण नियन्त्रण गर्ने एन्टिबायोटिक औषधि टक्सिक बनेपछि मानव शरीरमै ब्याक्टेरिया बढाउनदेखि मिर्गाैला ध्वस्त पार्नेसम्मको बिगार गर्छ। त्यस्ता अस्पतालजन्य फोहोरबाट हेपाटाइटिस बी, हेपाटाइटिस सी, टिटानस र अरु विभिन्न सरुवा रोगको महामारी फैलन्छ।

नेपालमा यस्ता फोहोर र म्याद गुज्रेका औषधि जथाभावी फालिन्छ। १ मंसीरमा तेह्रथुम जिल्ला अस्पतालले म्याद गुजि्रएका १० हजार ट्युब सिप्रोफोक्सिन, ६ हजार ५४७ एम्पुल अक्सिटक्सिन इन्जेक्सन, ३५ हजार १०० ट्याब्लेट पारासिटामोल, १ लाख ९६ हजार ९४० अलबेन्डा ट्याब्लेट, ७३५ बोतल आरएल (आईभी फ्लुड), १०० बोतल डिसेरोज, ३ हजार प्याकेट जीवनजल, ११ लाख १८ हजार ९१५ वटा विभिन्न क्याप्सुल र २५ हजार १७५ बोतल अन्य औषधि सामान्य खाल्डोमा पुर्‍यो। त्यसभन्दा १५ दिनअघि अस्पतालले औषधि जलाउँदा म्याङलुङ बजारको वातावरण प्रदूषित भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा गुनासो गरेकाले बाँकी औषधि गाडिएको थियो। विज्ञहरूका अनुसार, म्याद सकिएका ट्याब्लेट औषधि व्यवस्थापन गर्दा खोल निकालेर गहिरो खाल्डोमा गाड्नुपर्छ। सुई र बोतलको औषधिलाई भने इन्सिनिरेटरमा एक हजार डिग्री सेल्सियस तापक्रममा जलाउनुपर्छ।

अन्य अस्पतालहरूको पनि म्याद गुज्रेका औषधि र अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने तरीका तेह्रथुमको जस्तै छ। नियमन निकाय औषधि व्यवस्था विभागले समेत म्याद गुज्रेका औषधि खुला रूपमा जलाउने गरेको छ। विभागका औषधि व्यवस्थापक नारायणप्रसाद ढकाल पहिलेदेखि नै यही चलन रहेको बताउँछन्। विभागले म्याद गुज्रेका औषधि ६–६ महीनामा जलाउने गरेको छ। नाष्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्त नेपालमा अस्पतालजन्य फोहोर, म्याद गुज्रेका र बिग्रेका एक्सेर मेशीनका प्लेट जथाभावी फाल्नेहरूले ठूलो जोखिम निम्त्याएको बताउँछन्। उनका अनुसार, उपचारका क्रममा बिरामीहरूको शरीरबाट काटेर निकालिएका घातक फि्लउटहरू जथाभावी फाल्दा पानीमा मिसिएर जलचरदेखि मानिससम्म पुग्न सक्छन्। मर्करी रहने औषधि तथा उपकरणहरू जथाभावी फाल्दा त्यस्तै हुन्छ। आयुर्वेदिक औषधिमा बढी मर्करी प्रयोग हुन्छ। स्वास्थ्य मन्त्रालयले २०७०/७१ बाट मर्करीयुक्त उपकरणको आयात, खरीद र उपभोगमा प्रतिबन्ध लगाएको छ, तर उपकरण प्रयोग रोकिएको छैन।

राजधानीको वीर बाहेकका अस्पतालहरूले घातक फोहोरको वैज्ञानिक व्यवस्थापनमा धेरै लापरबाही गरेका छन्। भूकम्प र नाकाबन्दीपछि त अस्पतालजन्य फोहोर उठ्न पनि सकेको छैन।

comments powered by Disqus

रमझम