स्वाधीन राष्ट्रनिर्माता

Share:
  
- रघु पन्त
आजको पुस्ताले पनि पृथ्वीनारायण शाहलाई सही ढंगले बुझ्नु र एकीकरणको महत्वलाई आत्मसात् गर्नु जरूरी छ।

नेपाल हजारौं वर्ष लामो इतिहास भएको देशमध्ये पर्छ। पटक–पटक सीमा विस्तारित हुने र खुम्चने प्रक्रिया भए पनि यो देश कहिल्यै कुनै विदेशी शासकको अधीनमा परेन। कहिल्यै कसैको हैकम भोग्नु नपरेको इतिहासले हामीलाई आफ्नो स्वाभिमान जोगाइराख्न प्रेरित गरिरहेको छ। यो हैसियतको जस पृथ्वीनारायण शाहलाई नै जान्छ।

युगको आवश्यकता

समय र जनता त्यस्ता शक्ति हुन् जसले युगको आवश्यकता अनुरूप आफ्नो कालखण्डमा नायक/नायिका जन्माउँछन्। जनताले कहिले आफू भित्रैबाट त कहिले राजा–महाराजा र अभिजात वर्गबाट नायक/नायिका जन्माउँछन्। इतिहासमा नायक/नायिका हुन नायकोचित गुण र जनतालाई साथ लिएर अघि बढ्ने कुशलता चाहिन्छ। जनताको शक्ति र नायकहरूको योग्यताले पुराना साम्राज्य ध्वस्त भएका र नयाँ साम्राज्य बनेका अनेक दृष्टान्त छन्, इतिहासमा। नेपालमा पृथ्वीनारायण शाह त्यस्तै दृष्टान्त हुन्।

पृथ्वीनारायण त्यस्तो युगमा जन्मेका थिए, जतिवेला नेपालभित्र कर्णाली क्षेत्रतिर बाइसी, गण्डकी वरपर चौबीसी, वाग्मती उपत्यकाभित्र तीन र कोशी क्षेत्रमा तीन गरी ५२–६५ वटा राज्य थिए। चौबीसी राज्यभित्रको गोरखा सबभन्दा कान्छो, सानो र कमजोर थियो, तर त्यहाँका राजा पृथ्वीनारायण शाहमा सिंगो नेपाल एकीकरण गर्ने महत्वाकांक्षा, दूरदर्शिता, आँट र योजना थियो। नेपाल एकीकरण एउटा सानो राज्य गोरखाका राजाको महत्वाकांक्षाको परिणाम मात्र नभई युगको आवश्यकता थियो। पृथ्वीनारायणले नेपाल एकीकरण नगरेको भए न बाइसी राज्य बाँकी रहने थिए न चौबीसी। किनभने, उपत्यकामा इसाई पादरीहरू छिरिसकेका थिए, नेपाल ब्रिटिश साम्राज्यको आँखामा परिसकेको थियो।

इङ्गल्याण्ड र मुख्यभूमि यूरोपले गरेका ठूल्ठूला पानीजहाज तथा हतियारको विकासका कारणले एशिया, अफ्रिका र अमेरिकी महाद्वीपमा यूरोपेली साम्राज्य विस्तार भइरहेका थिए। इङ्गल्याण्डले यूरोपका पोर्चुगिज र फ्रेन्चहरूको प्रभावलाई समेत निस्तेज पार्दै पूर्वका भारत, बर्मा, श्रीलंकालगायतका देशसम्म आफ्नो उपनिवेश विस्तार गरेको थियो। ब्रिटिशहरू नेपाल कब्जा गरेर तिब्बत हुँदै चीनसम्म पस्न चाहन्थे। त्यस्तो जटिल क्षेत्रीय–अन्तर्राष्ट्रिय परिस्थितिका बीच पृथ्वीनारायणले राज्य विस्तारको अभियान थाले। वास्तवमा पृथ्वीनारायण शाह अठारौं शताब्दीको नेपालका लागि एक नायक र युगको आवश्यकता थिए। उनकै नेतृत्वमा नेपाली जनताले वीरता, सौर्य, धैर्य र बलिदानको गाथा रचे, स्वाधीन र स्वाभिमानी नेपाल निर्माण गरे।

कतिपय मान्छे नेपाल एकीकरणलाई पृथ्वीनारायणको राज्य विस्तारको महत्वाकांक्षा मात्र देख्छन्। यो आफ्नै इतिहासलाई सही ढंगले देख्न–बुझन नचाहने वा देखे–बुझे पनि जातीय, क्षेत्रीय वा विदेशी प्रभावमा परेर सही कुरा भन्न नचाहनेहरूको दृष्टिदोष हो। तर, पृथ्वीनारायणको सम्बन्धमा स्वामी प्रपन्नाचार्य पृथ्वीजयन्ती स्मारिका– २०६० मा लेख्छन्– 'श्री ५ पृथ्वीनारायण शाह नभएको भए आजको नेपाल हुने थिएन। श्री ५ पृथ्वीनारायण शाहको बुद्धिमत्तापूर्ण र दूरदर्शी विचार, वीरता र कुशल शासन तथा दृढ संगठनले एकीकरणको मूल अभियान शुरू भयो। यो पृथ्वीनारायण शाहको अभूतपूर्व ऐतिहासिक देन हो। पृथ्वीनारायण शाहलाई हामी नेपालीले सहजै भुल्न सक्दैनौं।'

पृथ्वीनारायणको सफलता

पृथ्वीनारायण शाह नेपालका विशेषता, जातीय–क्षेत्रीय– भौगोलिक विविधता र जनताको मनोभावना बुझेर नेपाल एकीकरण गर्न सफल भएका थिए। सफलताको कारण खोतल्दै प्राज्ञ जगमान गुरुङले पृथ्वीजयन्ती स्मारिका– २०६० मा लेखेका छन्– 'पृथ्वीनारायण शाहको समयभन्दा अघि पनि मल्ल र सेन राजाहरूले नेपालको भूभाग आर्जेका थिए, तर उनीहरूले स्वआर्जित राज्यलाई अन्य सम्पत्तिसरह बाँडचुँड गरेर खाएको हुँदा नेपाल अधिराज्यको समष्टि रूप लिन सकेन।'

प्राज्ञ गुरुङ अगाडि लेख्छन्– '... पृथ्वीनारायण शाहले मल्ल र सेन राजाहरूको उपरोक्त गल्ती नदोहोर्‍याई नेपाल अधिराज्यको अखण्डतालाई कायम राखिबक्सियो। ...आजको भारत कुनै पनि भारतीय राजा वा नेताद्वारा एकीकृत गरिएको नभएर ब्रिटिश सरकारले आफ्नो साम्राज्य विस्तारको क्रममा एक डल्लो पारेर छोडेको भारत हो भने नेपालको एकीकरणचाहिं नेपालकै एउटा राजाको नेतृत्व र आह्वानबाट भएको हो। ...पृथ्वीनारायण शाहबाट योगक्षेमको नीतिद्वारा नेपाल अधिराज्यको एकीकरण गरी यसको अखण्डतालाई कायम नराखिबक्सेको भए विशाल भारतलाई निल्न सक्ने अंग्रेजले नेपाललाई बाँकी राख्ने थिएन र आज हामीले स्वतन्त्र देश नेपालका स्वतन्त्र नेपाली जनता भन्न पाउने थिएनौं।'

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई अत्यन्त राम्ररी बुझ्ेकैले पृथ्वीनारायणले आफ्ना भारदार, मन्त्री, सेनापति छान्दा बहुजातीय विशेषताका साथसाथै उनीहरूको योग्यता, क्षमता, निष्पक्षता, कार्यकुशलता र लोकप्रियताको राम्रोसँग जानकारी लिएर, जाँच गरेर र काम हेरेर मात्र जिम्मेवारी दिन्थे। उनका भारदारहरूमा काजी कालु पाण्डे, सरदार विष्णु पन्त, ऋषि पाध्या, शक्तिवल्लभ जोशी, वाङ्ग्या बस्न्यात, चामु खत्री, अलै द्वारे, कालिदास खड्का मगर, भीमसिंह थापा, सुरसिंह राना मगर, देव्रे गुरुङ, झागल गुरुङ, नाथ गुरुङ, प्रह्लाद गुरुङ, रामकृष्ण कुँवर, प्रतिमन राना मगर, सरदार गुरुङ, ऋषिमान वान्तवा राई, बन्धु राना मगर, स्वरुपसिंह कार्की, अमरसिंह थापा, युद्धवीर शाही, गंगाधर पन्त, रथी मल्ल, कालु खड्का मगर, विस्न्या नाउ, स्वामी भगवन्तनाथलगायत विभिन्न जाति र समुदायका योग्य व्यक्ति थिए।

पृथ्वीनारायणले मगर, बाहुन, क्षेत्री, गुरुङ, किरात, दमाई–कामी समुदायका योग्य व्यक्तिलाई अघि बढाएका थिए भने खस, मगर, गुरुङलाई एकीकृत गरेर एकीकरण अभियानलाई हाँकेका थिए। 'बिसे नगर्चीको अर्तिः धन्या नगर्चीको धर्ती' भन्ने भनाइ त्यसवेला प्रख्यात थियो। गोरखामा आपत् परेको वेलामा बिसे नगर्चीको सल्लाह लिने र थिति बसाल्नु पर्दा धन्या नगर्चीलाई सम्झ्ने गरिन्थ्यो। हतियार बनाउन भेषजंग सिंह कार्की र दुई जना मुसलमानले पृथ्वीनारायणलाई सघाएका थिए।

पृथ्वीनारायणले एकीकरण अभियान थाल्दा गोरखामा रहेका विभिन्न जाति र समुदायलाई समेटेका थिए। उनी भन्थे– 'गुरुङ, मगर, भैयाद, भारदार, मीरमराउ, थरघर र पुराना, पुराना जाँची घुँडा गौंडामा राख्नु। पाँडे, बस्न्यात, पन्थ, भैयाद, मगरलाई आलोपालो गरी षान दिनु। सिपाही पनि षस, गुरुङ, ठकुरी, मगर यिनै चार जात मात्र पिचोला गरी हाल्नु..., अदालतमा ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक पण्डित राखी तिञाशास्त्र बमोजिम अदालथ चलाउनु...।'

पृथ्वीनारायणले एकीकरण अभियानसँगै थपिने जाति–समुदायलाई समान हक दिंदै जाने नीति लिएका थिए। उनले उपत्यका विजयपछि यहाँको धार्मिक–सांस्कृतिक प्रचलनलाई सम्पूर्ण रूपमा स्वीकार गर्दै राज्यको तर्फबाट संरक्षण दिए। त्यसले उनको दूरदर्शिता, चातुर्य र सामञ्जस्यको खूबी देखाउँछ।

त्यसैले, कवि वैरागी काइँलाले पृथ्वीजयन्ती स्मारिका– २०६० मा लेखेका छन्– '...पृथ्वीनारायण शाहले नवनिर्मित नेपाललाई ठूलो दुःखले आर्ज्याको मुलुक, चार वर्ण छत्तीस जातको फूलबारी भनेर दिव्योपदेशमा भनेका हुन्। उनले विभिन्न राज्य जितेर निर्माण भएको यो नेपाल यथार्थमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हुनाले नै यसो भनेका थिए। ... यो कुरा बुझन उनका वंशजलगायत शासन गर्ने र शासन गर्न सघाउ पुर्‍याउने सबैलाई दुई सय तीस वर्ष लाग्यो। नेपालको बहुलवादी सामाजिक बनोटलाई उतिवेला नै देख्ने–बुझने दूरदृष्टिले गर्दा नै उनलाई विजेता मात्र होइन, राष्ट्रनिर्माता मानेर बडामहाराजाधिराज पनि भनिएको हो।'

नेपाली राष्ट्रवादको स्रोत

पृथ्वीनारायणको एकीकरण अभियानसँगै नेपाली राष्ट्रवाद र देशभक्तिको भावनाले व्यापक रूप लिंदै गयो। एकीकरणले नेपाली राष्ट्रवादी चेतना निर्माण गर्ने भौतिक आधारको काम गर्‍यो। पृथ्वीनारायणको जीवन नेपालको भौगोलिक विस्तारमै बित्यो। त्यसलाई भावनात्मक रूपमा पूर्णता दिएर नेपाललाई एउटा सार्वभौम, सबल र समृद्ध राष्ट्र–राज्यका रूपमा अघि बढाउने अभिभारा आजको पुस्तामा पनि छ।

यहाँनेर तेजेश्वरबाबु ग्वंगःको विचार मनन्योग्य छ। पृथ्वीजयन्ती स्मारिका– २०६० मा उनी लेख्छन्– 'दिग्विजयसितै थेग्रिएको बृहत्तर नेपाली राष्ट्रवाद पृथ्वीजयन्तीको घोत्ल्याइँ सूत्र बन्छ।' पृथ्वीनारायणलाई सांस्कृतिक सन्देशवाहकका रूपमा मूल्यांकन गर्दै डा. रामदयाल राकेशले लेखेका छन्– '... सबै जातको फूलबारीको सपना आजसम्म साकार हुँदै आएको छ। अतः पृथ्वीनारायण शाहलाई सहजै सांस्कृतिक एकता र समताका सन्देशवाहक सूत्रधार मान्न सकिन्छ।'

पृथ्वीजयन्तीको अवसरमा उनका देनलाई तत्कालीन नेपाल र विश्व सन्दर्भमा सही ढंगले सन्तुलित अध्ययन गर्न जरूरी छ। राजाले एकीकरण गरे भन्दैमा गणतन्त्र नेपालको औचित्य र ऐतिहासिक महत्व समाप्त हुँदैन। नेपाल एकीकरण नभएको भए आज हामीले आफूलाई नेपाली भन्ने अवस्था हुँदैनथ्यो।

comments powered by Disqus

रमझम