२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

योगदानको सम्मान

Share:
  

पूर्व अर्थमन्त्री रामशरण महत।
बेलायती पत्रिका 'द ब्यांकर' ले पूर्व अर्थमन्त्री रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री (फाइनान्स मिनिस्टर अफ दी इयर–२०१६ वर्ल्ड एण्ड एशिया प्यासिफिक) घोषणा गर्नु कतिपयका लागि अनपेक्षित भइदियो। राजनीतिक नेतृत्वप्रति चुलिंदो अविश्वास र खस्कँदो अर्थतन्त्रबीच महतलाई गरिएको यो अन्तर्राष्ट्रिय सम्मानको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिप्पणीको ओइरो नै लाग्यो।

२०४६ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्षहुँदै त्यसयता मुलुकमा सबैभन्दा बढी समय महत अर्थमन्त्री बने। त्यसैले अर्थतन्त्रको दुरवस्थाका कारण मुलुकले भोग्नु परिरहेको संकटका लागि पनि महतलाई नै सबैभन्दा जिम्मेवार ठानियो।

यस्तो यथार्थकै बीच 'द फाइनान्सियल टाइम्स' को सह–प्रकाशन मासिक 'द ब्यांकर' को २० पुसको घोषणाले धेरैलाई आश्चर्यमा समेत पारेको छ। विश्वकै उत्कृष्ट अर्थमन्त्री छानिने महत दक्षिणएशिया क्षेत्रकै पहिलो हुन्। पत्रिकाले १४ वर्षदेखि एशिया प्रशान्त क्षेत्र, यूरोप, अमेरिकी महादेश, मध्यपूर्व र अफ्रिकी महादेशका साथै विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गर्दै आएको छ।

पत्रिकाले १२ वैशाखको महाभूकम्पपछिको उद्धार र पुनःनिर्माणका सन्दर्भमा अर्थमन्त्रीका हैसियतले उदाहरणीय काम गरेको र मुलुकको अर्थतन्त्र चलायमान राख्न योगदान पुर्‍याएकाले महतलाई उत्कृष्ट अर्थमन्त्री चयन गरेको स्पष्ट पारेको छ। भूकम्पलगत्तै १९–२२ वैशाखमा अजरबैजानको बाकुमा भएको एशियाली विकास ब्यांक (एडीबी) को वार्षिक बैठकमा सहभागी महत अन्तर्राष्ट्रिय समुदायसँग नेपालको अवस्था र आवश्यकताबारे जानकारी गराउने पहिलो सरकारी प्रतिनिधि थिए। 'नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' को अवधारणा त्यही वेला तयार भएको थियो।

राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य स्वर्णिम वाग्लेको सहयोगमा बाकुमा महतले गरेको भूकम्पपछिको पुनर्स्थापना र पुनःनिर्माणको प्रस्तुति सराहनीय ठानिएको थियो। उनको त्यही प्रस्तुतिकै कारण सम्मेलनमा विश्व ब्यांक, एडीबी र यूरोपियन युनियनले नेपाललाई तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। जापानका अर्थमन्त्री तारो आसोले त सम्मेलनमै नेपालका लागि 'दाता सम्मेलन' आफूहरूले नै गरिदिने प्रस्तावसमेत गरेका थिए। सम्मेलनकै क्रममा एडीबीको पहलमा महतले अन्तर्राष्ट्रिय मिडिया कन्फ्रेन्स समेत गर्न सकेका थिए।

'द ब्यांकर' ले भूकम्पलगत्तै २५ हजार पीडितले निःशुल्क उपचार पाएको, ७ हजार ५०० पीडितलाई हवाईउद्धार गर्न सकेको श्रेय पनि महतलाई नै दिएको छ। त्यसका लागि आकस्मिक राहत जुटाउन, स्रोत परिचालन गर्न र नेपालको अर्थतन्त्र बचाउन उनी सफल भएको पत्रिकाले उल्लेख गरेको छ। “त्यत्रो विपत्का वेला पनि उपचारको अभावमा कसैको मृत्यु भएन, खान नपाएर कसैको ज्यान गएन। यसो भन्न पाउँदा मलाई गर्व लागेको छ”, पत्रिकासँगको वार्तामा महतले भनेका छन्।

दाता सम्मेलनका लागि महतकै पहलमा एक महीनाभित्र सयौं कर्मचारीको अथक परिश्रमले 'पोस्ट डिजास्टर निड एसेस्मेन्ट (पीडीएनए)' प्रतिवेदन तयार पारिएको र त्यसैको आधारमा दाताहरूले रु.४ खर्ब २ अर्ब ८० करोड सहयोगको प्रतिबद्धता जनाएको पत्रिकाको भनाइ छ। तर, भारतको नाकाबन्दी र तराईमा जारी आन्दोलनले अत्यावश्यक आपूर्तिमा अवरोध आएपछि भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको 'द ब्यांकर' को ठहर छ।

सञ्जीव शर्मा

comments powered by Disqus

रमझम