२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

गन्तव्यः वैकल्पिक ऊर्जा

Share:
  
ऊर्जा संकटबाट पार पाउन वैकल्पिक ऊर्जा प्रणाली प्रयोग गरिहाल्नु बुद्धिमानी हुन्छ।

चरम ऊर्जा संकट भोगिरहेकै वेला १७–१९ पुसमा राजधानीमा भएको नवीकरणीय ऊर्जा प्रदर्शनीमा ठूलो भीड देखियो। खाना पकाउन, बत्ती बाल्न, पानी तान्नलगायतका दैनन्दिन क्रियाकलापमा समस्या झोलिरहेका उपभोक्ता ऊर्जाको विकल्प भेटिहालिन्छ कि भनी भृकुटीमण्डपको प्रदर्शनीमा पुगेका थिए। प्रदर्शनीमा बायोग्याँस, सोलार प्रविधि, बायोमासअन्तर्गत सुधारिएको चूलो आदिबारे जानकारी र बिक्रीका लागि १३७ वटा कक्ष राखिएको थियो।

“खाना पकाउने ग्याँस सकियो, बिजुलीको कुनै भर छैन”, प्रदर्शनीमा भेटिएका गोल्फुटार, काठमाडौंका मोहन दाहाल भन्दैथिए, “अब रुफ टप सोलार जडान गर्ने विचारमा छु।” दाहालले रोजेको विकल्पले इन्भर्टरको ब्याट्रीलाई ग्रीडको सट्टा सोलारबाट चार्ज गराउन सकिन्छ। यसो गर्नाले विद्युत् प्राधिकरणलाई भार घट्नुका साथै उपभोक्ताले राहत पाउने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउँछन्। उनका अनुसार प्रदर्शनीमा पावर लाइट, कम्प्युटर, टीभी, पानी तान्ने पम्प, फ्रिज, राइस कुकर र आइरन समेत चलाउन मिल्ने किसिमको सोलार प्याकेज, ग्यासीफायर जस्ता प्रविधिमा धेरैले रुचि देखाएका थिए।

केन्द्रले वैकल्पिक ऊर्जाका लागि बायोग्याँस, बायोमास, सौर्य ऊर्जा, बायो–फ्युल, वायु ऊर्जा, सुधारिएको पानीघट्ट आदिको अवधारणा अघि सारेको छ। धितालका अनुसार, ग्रामीण भेगमा बायोग्याँस, सुधारिएको चूलो र पानीघट्टको प्रयोग बढिरहेको छ भने राजधानीलगायत शहरी क्षेत्रमा सौर्य ऊर्जाप्रति चासो छ।

गाई–भैंसी वा मानव मलबाट उत्पादन गरिने बायोग्याँस, झारपात आदिबाट बनाइने बायोब्रिकेट जस्ता वैकल्पिक ऊर्जाको प्रयोग बढाउन सरकारले ब्याजमा ७५ प्रतिशत अनुदान दिंदै आएको छ। तर, यसबारे पर्याप्त सूचना प्रवाह हुन नसकेकाले प्रयोगमा व्यापकता नआएको धिताल बताउँछन्। “वैकल्पिक ऊर्जा प्रणाली जडान महँगो हुन्छ भन्ने धेरैलाई भ्रम छ”, उनी भन्छन्। सौर्य ऊर्जाबाट बिजुली उत्पादनका लागि सोलार फोटोभोल्टेक (पीभी) प्रणाली जडान गर्नुपर्छ। सोलार थर्मल टेक्नोलोजीबाट सोलार वाटर हीटर, सोलार कुकर, सोलार ड्रायर आदि सञ्चालन गर्न सकिन्छ।

पाँच वर्षदेखि सौर्य ऊर्जा उत्पादन, जडान गर्दै आएको घामपावर नेपालका वरिष्ठ बिक्री अधिकृत इन्जिनियर प्रदीप हुमागाईं लोडसेडिङसँग जुध्न सौर्य ऊर्जा नै उत्तम विकल्प भएको बताउँछन्। “जेनेरेटरका लागि डिजल छैन, इन्भर्टर चलाउन पर्याप्त बत्ती आउँदैन”, उनी भन्छन्, “यस्तो वेला सौर्य ऊर्जाको विकल्प छैन।”

सजना बराल

comments powered by Disqus

रमझम