२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

प्ले स्टोर पुस्ता

Share:
  
मोबाइलमा नेपाली गेमको खडेरी लागेका वेला 'पोलिटि्रक्स' ले आशा जगाएको छ।

बिक्रम राई
जनतासामु गरेका अधिकांश प्रतिबद्धता कहिल्यै पूरा नगर्ने राजनीतिज्ञको छललाई अंग्रेजीमा अचेल पोलिटि्रक्स पनि भनिन्छ। तर, भक्तपुरका रविन शिल्पकार (२७) र ललितपुरका रविसन महर्जन (२७) को मोबाइल गेम 'पोलिटि्रक्स' राजनीतिज्ञभन्दा पनि बढी राजनीतिक इतिहासमा केन्द्रित छ।

१ माघमा सार्वजनिक हुने यो गेमले नेपाली राजनीतिको इतिहास सम्झाउँछ। “नेपाल एकीकरण, कोतपर्व, भण्डारखाल पर्व, संविधानबारे पढिए पनि ती किताबमै सीमित छन्”, शिल्पकार भन्छन्, “ती ऐतिहासिक घटना गेममार्फत देखाउँदै खेलाडीलाई मनोरञ्जनमूलक सूचना दिनु हाम्रो उद्देश्य हो।”

थ्री–डी भर्सनमा बनाइएको यो एन्डलेस रनर गेममा खेलाडीलाई राजनीतिज्ञ बनाइएको छ। सडकका खाल्डाखुल्डी पार गर्दै र अप्ठ्यारा पन्छाउँदै जाँदा उसले कुर्सी प्राप्त गर्छ। कुर्सीमा बसी–बसी उड्दा उसले इतिहासका रोचक तथ्य र रहस्य थाहा पाउँछ। रोल प्लेइङ गेम अन्तर्गत खेलाडी राष्ट्रपतिसम्म बन्न सक्छ। तर, त्यसका लागि उसले खजाना, पावर–अप आदि बटुल्दै कुदिरहनुपर्छ।

कान्तिपुर इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङमा स्नातक महर्जन र अटोडेक्स सर्टिफाइड थ्री–डी प्रोफेसनल शिल्पकार चारवर्षसम्म इलिमेन्ट्स संस्थामा गेम निर्माणमै संलग्न थिए। त्यहाँको अनुभवले नै उनीहरुलाई आफ्नै लगानीमा आर्क्युब गेम्स एन्ड एनिमेशन प्रालि खोल्न प्रेरित गर्‍यो।

उनीहरू नेपाली लोक वा दन्त्य कथालाई पनि थ्री–डी एनिमेशनमार्फत फैलाउन चाहन्छन्। तर, यसका लागि साधनस्रोतकै कमी छ। “कम्प्युटर, इन्टरनेट र गेम टेस्टिङका लागि पर्याप्त एन्ड्रोइड डिभाइस छैनन्”, महर्जन भन्छन्, “त्यसैले गेमभित्रका कतिपय गल्ती पहिल्याउनै समस्या हुन्छ।”

प्ले स्टोरमा नेपालीले बनाएका गेम मुश्किलले १० वटा मात्र भएको र तीमध्ये अधिकांश टु–डीमा मात्रै भएकाले खेलाडीको रुचि बढ्न नसकेको शिल्पकारको अनुभव छ। तर, अन्य एपभन्दा मोबाइल गेम एप खर्चिलो हुने भएकाले पनि कम बनेको उनी बताउँछन्।

त्यसो त मोबाइल गेम चर्चित भएमा इन–गेम एड, इन–एप पर्चेज, गुगल एड आदिबाट आयआर्जन गर्न सकिन्छ। तर, हामीकहाँ अनलाइन भुक्तानीको व्यवस्था गतिलो नभएकाले अधिकांश गेम सित्तैंमा डाउनलोड गर्न सकिन्छ। “पोलिटि्रक्सको प्रतिक्रिया हेरेर थप योजना बनाउने सुरमा छौं”, महर्जन भन्छन्।

सजना बराल

comments powered by Disqus

रमझम