चुपचाप कृषि क्रान्ति

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ, हात्तीमुडा, मोरङ
यान्त्रिकीकरणतिर लागेका मोरङ र सुनसरीका किसानले कृषिमा गतिलो परिवर्तनको संकेत दिएका छन्।

तस्वीर सौजन्यः नेपाल कृषि कम्पनी
मोरङको टंकिसिनवारीमा हार्भेस्टरको प्रयोगबाट धान काटिंदै।
मोरङको हात्तीमुडा– ६ गोकुवाका कृष्ण केसी (५९) को चार वर्षअघि र अहिलेको कृषिमा आकाश–जमिनको फरक छ। पहिला उनी ६ बिघा जमिनमा एक सिजनको खेतीका लागि दुई हल गोरु, दुई हली, त्यही अनुसारका खेताला र पूरै परिवारको शक्ति लगाउँथे। जोत्न, रोप्न र छर्न अढाइ महीना र कटाइमा डेढ महीना खट्नुपर्दथ्यो। अहिले ती सब काम १५ दिनमा सकिन्छ। “५० मन हुने ठाउँमा ९० मन उब्जनी हुन थालेको छ”, केसी भन्छन्।

केसीको यो भनाइले हात्तीमुडा–६ र टंकीसिनवारी–५ गोकुवाका १०६ परिवार किसानको परिवर्तित जीवनशैली दर्साउँछ। एक बिघा जमिनमा हलगोरु जोतेर १५ दिनमा बाली लगाउने किसानहरू अहिले डेढ–दुई दिनमा यो काम गरिसक्छन्। उनीहरूले कृषि प्रणालीमा यान्त्रिकीकरण गरेर श्रमको समय घटाई उब्जनी बढाएका छन्। यसबाट उनीहरूको लागत आधा घटेको छ। परम्परागत खेती प्रणालीमा धान खेतीको तयारीदेखि बाली भित्र्याउँदासम्म एक बिघामा रु.१९ हजार ७०० लाग्थ्यो, अहिले रु.१० हजारमा काम सकिन्छ। एक बिघा गहुँ खेती गर्दा लाग्ने रु.१८ हजार लागतलाई यान्त्रीकरणले रु.८ हजार ४०० मा झारेको छ। धान र गहुँ खेतीमा मल, बीउ तथा श्रम समेतमा गरेर २५ प्रतिशतसम्म लागत घटेको छ, जुन किसानको खुद नाफा हो।

अहिले मोरङ, सुनसरी र झापाका ४४ कृषक समूह यान्त्रिकीकरणमा लागेका छन्। यीमध्येको पुरानो टंकीसिनवारी कृषि उपज सहकारीमा टंकीसिनवारी र हात्तीमुडाका ४०० किसानका १४ सहकारी आवद्ध छन्। सात वर्षअघि एउटा कोठाबाट शुरू भएको यो सहकारीको अहिले पाँच कट्ठा जग्गामा साढे तीनतले भवन छ। वार्षिक रु.१ करोड बराबरको आर्थिक कारोबार गर्न थालेको सहकारीमा अन्न ब्याङ्क समेत सञ्चालन भएको (हे. बक्स)यसका अध्यक्ष सोमराज काफ्लेले बताए।

गोकुवा कृषि यान्त्रिक सहकारीका अध्यक्ष रमेश विन्दु खत्री (४७) जनशक्तिको अभावमा अरू पेशा–व्यवसायतिर लाग्ने अवस्थामा पुगेका धेरै किसानलाई यान्त्रिकीकरणले उत्साहित पारेको बताउँछन्। हुन पनि, अहिले ४० वर्ष मुनिका युवा गाउँमा छैनन्। श्रम शक्तिको अभावमा ज्याला असाध्य महङ्गो छ। महँगो श्रम खर्चेर गरेको उब्जनीले त्यस अनुसारको भाउ नपाउँदा जमिन बाँझै हुने अवस्था आइसकेको थियो। यो अवस्थामा मोरङ र सुनसरीको दुई हजार बिघा जमीनमा यान्त्रिकीकरण भइसकेको छ भनेझ्ापामा शुरू भएको छ। आगामी वर्षभित्र तीन जिल्लामा कुल १० हजार बिघामा यान्त्रीकरण हुने अनुमान गरिएको छ। “शुरूमा हामी १०६ परिवारको सहकारीले कृषि उपकरण किनेर खेतीमा आधुनिकता अपनाएका थियौं”, गोकुवा कृषि सहकारीका अध्यक्ष खत्री भन्छन् “त्यो नै परम्परागत कृषिमा क्रान्तिको थालनी भएको छ।”

अहिले किसानहरूका लागि कृषि सम्बन्धी जानकारीमूलक कृषि सन्देश मासिक पत्रिका प्रकाशनदेखि स्थानीय रेडियोमा रेडियो कार्यक्रम समेत सञ्चालन भइरहेको छ।

क्रान्तिको सूत्रपात

पूर्वी तराईका तीन जिल्लामा शुरू भएको कृषिको आधुनिकीकरणसँग निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको अभियान जोडिएको छ। प्रविधि अपनाएर किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तम्सिएका बस्नेतले बुद्ध एयरको 'कर्पोरेट सोसल रेस्पोन्सिविलिटी' (सामाजिक उत्तरदायित्व) अन्तर्गतको लगानी परीक्षण गोकुवामा गरेका थिए, २०६४ सालदेखि। त्यसको दुई वर्षअघि टंकीसिनवारी कृषि उपज सहकारी स्थापनाको समयमा बस्नेतबाट रु.१० लाख सहयोग पाएको सहकारी अध्यक्ष काफ्ले बताउँछन्। उनी भन्छन्, “बस्नेतको सोच र आर्थिक सहयोगलाई हामीले कार्यान्वयन गर्‍यौं।”

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ
पहिलो पटक यान्त्रिकीकरण परीक्षण गरिएको मोरङको गोकुवा कृषि यान्त्रिक सहकारीका किसानहरु।
यो सहकार्यको सुरुआत निकै रोचक र घोचक थियो। बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत आफ्नो सोच र कार्यक्रम लिएर गोकुवा पुग्दा 'आफैं सहयोग गर्न आउनुमा के स्वार्थ छ, पहिला स्पष्ट पार्न' भनियो। प्रतिबद्ध किसान समूहको खोजीमा रहेका बस्नेतले त्यसबेला 'आफूले बुद्ध एयरबाट राम्रै कमाइ गरिरहेको, जाँगरिला किसानहरूसँग मिलेर देशको कृषि प्रणालीमा केही गर्न चाहेको र त्यो बाहेक अरू स्वार्थ नभएको' बताएर समूहलाई आश्वस्त पारेका थिए। “उनी गम्भीर थिए”, गोकुवा कृषि यान्त्रिक सहकारी संस्थाका सल्लाहकार कृष्ण केसी भन्छन्, “यसरी यहींबाट कृषिमा यान्त्रीकरण शुरू भयो, जुन कसै न कसैले कहीं न कहींबाट गर्नै पर्थ्यो।”

बुद्ध एयरले गोकुवामा काम गर्दा रु.३६ लाख बराबरको ट्याक्टर, रोटाभेटर, कल्टी, प्लान्टर, हार्भेस्टर, लेभलर लगायतका कृषि उपकरण किन्यो। खास गरेर धान र गहुँ खेतीमा यी उपकरणको प्रयोगले बढी फाइदा भएपछि सहकारीमा आवद्ध हुने किसानको संख्या बढ्यो। यसरी परीक्षणमा सफल भएपछि बुद्ध एयरले नेपाल कृषि कम्पनी नामक मुनाफारहित कम्पनी खोलेको छ। कृषि उपकरण किन्न चाहिने रकममध्ये ३० प्रतिशत जुटाएका समूहका लागि कम्पनी ७० प्रतिशत ब्याङ्क ग्यारेण्टी बसिदिन्छ।

बुद्ध एयरको विराटनगरस्थित नेपाल कृषि कम्पनीको कार्यालयमा माघको दोस्रो सातासम्म उपकरणका लागि झापाका १५, सुनसरीका १५ र मोरङका १४ नयाँ सहकारीका फायल कार्यान्वयनको अन्तिम प्रक्रियामा छ। ३० प्रतिशत रकम जुटाएका यी समूहमध्ये २० वटाले आगामी चैतसम्ममा कृषि यन्त्र लिने कम्पनीका फिल्ड संयोजक ख्याम भण्डारीले बताए। झापाका धेरै गाविसका किसानहरू छलफलमा आइरहेका बताउने भण्डारीका अनुसार, कम्पनीमा आबद्ध हुन आएका सहकारीहरूमा ८० देखि ४०० घरधुरी किसान छन्। “सहकारीमा किसान जति भए पनि खेती गर्ने जमिन २०० बिघा हुनै पर्छ” भण्डारी भन्छन्, “यति जमिनमा खेती गर्न, खेतमै बाली काटेर भित्र्याउन रु.३६ लाख बराबरका दुई ट्याक्टरसहित रोटाभेटर, कल्टी, प्लान्टर र हार्भेस्टर (काट्ने मेसिन) चाहिन्छ।”

सहकारीमा आवद्ध किसानहरूले रु.११ लाख (३० प्रतिशत) बुझाएर उपकरण लिन पाउँछन्। ब्याङ्कलाई सहकारीले हरेक महीना बाँकी ऋणको किस्ता बुझाउनुपर्छ। हालसम्म मोरङ र सुनसरीका १० सहकारीका एक हजार किसानले यस्तो सुविधा लिएका छन्। यीमध्ये अधिकांश सहकारीले तीन वर्षमा तिरिसक्नुपर्ने ब्याङ्कको किस्ता दुई वर्षमै अग्रिम भुक्तानी गरेका छन्।

शुरूको परिक्षणपछि चार र ६ हुँदै १० वटा सहकारी पुगेको कृषि यान्त्रिकीकरणमा सामेल हुन किसानका नयाँ समूहहरू धमाधम आइरहेका छन्। आउँदो चैतबाट सहकारी संख्या ५० वटा पुग्ने, तिनीहरूले १० हजार बिघा जमिनमा यान्त्रिकीकरण गर्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन्।

(हे. बस्नेतसँगको छुट्टै अन्तर्वार्ता)


सहकारीले सजिलो बनायो

भलाकाजी राई (४२), टंकीसिनवारी

सहकारीमा आवद्ध भएपछि उत्पादन त बढ्यो नै अन्न बैंकदेखि मल, बीउ र प्राविधिक काममा समेत सजिलो भएको छ।

५० को ठाउँमा ९० मन

ईश्वर कोइराला (४५), टंकीसिनवारी

मेसिनले खर्च घटायो, समयमै खेती गर्न पनि पाइयो, उब्जनी बढ्यो। ५० मन धान हुने खेतमा ९० मन फल्यो। यस्तो सोचेकै थिइनँ।

पलायनको अवस्था थियो

रमेश बिन्दु खत्री (४७), अध्यक्ष, गोकृयास

जनशक्तिको अभावमा अरू पेशा–व्यवसायतिर लाग्ने अवस्थामा पुगेका धेरै किसानलाई यान्त्रिकीकरणले उत्साहित पारेको छ।

जीवनशैली नै बदलियो

जनक आचार्य (४७), कोषाध्यक्ष, गोकृयास

कम समयमा खेती र बढी उब्जनी हुँदा जीवनशैली नै बदलिएको छ। नमूना समूह बनेर अरुलाई अनुभव बाँड्न पाउँदा खुशी छौं।

एक करोडको कारोबार

सोमराज काफ्ले (३९), अध्यक्ष, टंकीसिनवारी, कृषि उपज बजार

शुरुमा हाम्रो समूहको भाडाको एउटा कोठा थियो। अहिले ५ कट्ठा जग्गामा साढे तीनतले भवन छ। सहकारी संस्थाले मात्र वार्षिक एक करोडको कारोबार गर्न थालेको छ।

हलगोरु पाल्नै छाडियो

पुण्यप्रसाद कोइराला (५६), गोकुवा, मोरङ

यान्त्रिकीकरण शुरू हुनुअघि हाम्रो गाउँमा १५० हल राँगा–गोरु थिए, अहिले छैनन्। खेती कम खर्चिलो र सजिलो हुँदा किसानको जीवनशैलीमै कायापलट भएको छ।

कृषि प्रणालीमा क्रान्ति

कृष्ण केसी (५९), सल्लाहकार, गोकृयास

यान्त्रिकीकरणमा गएपछि सोच्दै नसोचेको काम भएको छ। यसको जस वीरेन्द्रबहादुर बस्नेतलाई नै दिनुपर्छ। उनको योजनाले हाम्रो जीवनमा क्रान्तिकारी परिवर्तन आउन थालेको छ।

खाजा–खोलेको झमेला छैन

सावित्रा केसी (४०), हात्तीमुडा ८, मोरङ

खेती गर्न एक हल गोरुसँगै धेरै खेताला लगाउनुपर्थ्यो। खेती शुरू भएपछि दुई महीना जति दिनहुँ खाजा र गोरुका लागि बाह्रै महीना खोले तयार पार्नुपर्थ्यो। अब यी सब काम गर्नुपर्दैन।


यन्त्रले ल्यायो नाफा

ग्राफिक्सः बिलाश राई
पहिलोपटक परीक्षण गरिएको मोरङको गोकुवा कृषि यान्त्रिक सहकारी अन्तर्गतको २०० विघा जमिनलाई आधार मानेर तयार गरिएको यान्त्रिकीकरणको लगानी र एक बालीको फाइदा बारेको तालिका। नेपाल कृषि कम्पनीका अनुसार आगामी वर्षभित्र मोरङ, सुनसरी र झापा समेत तीन जिल्लामा कुल १० हजार बिघामा यान्त्रीकरण भइसक्नेछ।


अन्न ब्याङ्क पनि

खेतीमा नयाँ प्रविधि अपनाउँदा उत्पादन त बढ्यो, तर किसानले राम्रो बजार भाउ नपाएको अवस्था हेरेर चैत २०६२ मा बुद्ध एयरले टंकीसिनवारी कृषि उपज सहकारीमार्फत अन्न ब्याङ्क शुरू गर्‍यो, बाली भण्डारण गरेर बजार मूल्यको ८० प्रतिशत अग्रिम रकम दिने गरी। यसबाट चाडपर्व र अन्य आवश्यकताको बेला किसानको समस्या टरेको छ। अन्न ब्याङ्कले भाउ बढेको समयमा धान लगायतका अन्न बेची पाँच प्रतिशत सेवा शुल्क लिएर बाँकी रकम किसानलाई दिन्छ।

४०० कृषक परिवार आबद्ध सहकारीका अध्यक्ष सोमराज कारुले पैसा चाहिएको बेला गहुँ, मकै, मसुरो लगायतका अन्न राखेर पैसा पाउने र पछि बढेको मूल्यमा बाँकी रकम पाउँदा किसानलाई फाइदा भएको बताउँछन्। सहकारीका सदस्य भलाकाजी राई अन्न ब्याङ्किङसँगै मल, बीउ उत्पादन गर्नेदेखि सबै किसिमको प्राविधिक सहयोगसम्म भएको बताउँछन्। कृषि कम्पनीका फिल्ड संयोजक भण्डारीले टंकीसिनवारीको जस्तो अन्न ब्याङ्किङ सबै सहकारी र समूहहरूमा लागू गर्ने तयारी भइरहेको बताए।

comments powered by Disqus

रमझम