२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

लडाइँ बाँकी छ . . .

Share:
  
घुम्टोभित्रको समाजमा हुर्केबढेकी कानून व्यवसायी किरणकुमारी गुप्ता (४१) निमुखाको न्यायका लागि लड्न चाहन्छिन्।

ब्रह्मपुरी रौतहटकी किरणका दुई दाजु र दुई दिदीको पढाइमा एसएलसीपछि पूर्णविराम लाग्यो। कारण थियो, आर्थिक अभाव। रोजीरोटीको खोजीमा परिवार सदरमुकाम गौर सरेपछि किरणले त्यहींबाट एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि भने दाजुदिदी झै उनलाई पनि व्यवधान तेर्सिए। छोरीलाई क्याम्पस पढाउने बुबाआमाको रुचि थिएन। “तर, जसरी भए पनि नपढी नछाड्ने मेरो जिद्दीसामु उहाँहरूको पनि केही लागेन”, सर्वोच्च अदालत परिसरमा भेट्दा कालोकोटमा ठाँटिएकी किरणले भनिन्।

अन्ततः उनी घरछेउकै क्याम्पसमा आईएल पढ्न थालिन्। पढाइसँगै उनको वकील बन्ने सपनाले उडान भर्न थाल्यो। तर, छरछिमेकलाई छोरीले कानून पढेको कुरा खपिसक्नु भएन। 'तिम्री छोरी पनि बिग्रिन्छे, अरुका पनि बिगार्छे' भन्दै परिवारलाई हतोत्साही पार्न खोजे। नानाथरी वचनकै बीच किरणले आईएल उत्तीर्ण गरिन्। आईएल सकिएसँगै किरणको रामपुर, सप्तरीमा विवाह भयो। श्रीमान् पढाइ र जागिरको सिलसिलामा धेरैजसो बाहिरै बसे। बुहारी (किरण) घर बाहिर निस्कन बन्देज जस्तै थियो। “आठ वर्षसम्म म घुम्टोभित्रै बस्न बाध्य भएँ”, किरण भन्छिन्।

श्रीमान्सँग काठमाडौं आएपछि मात्र किरणले बीएल पढ्ने मौका पाइन्। बीएल उत्तीर्ण गरेसँगै अधिवक्ताको लाइसेन्स प्राप्त गरिन् र ल फर्ममा अभ्यास थालिन्। पछि केही समय केन्द्रीय महिला कानूनी सहायता समितिमा स्वयंसेवकका रुपमा काम गरिन्। नेपाल बार एसोसिएसन र यूएनडीपीले नवप्रवेशी कानून व्यवसायीका लागि सञ्चालन गरेको ६ महीने अभ्यासवृत्तिले किरणलाई कानून व्यवसायी बन्ने आत्मविश्वास बढायो। लगत्तै उनले आफ्नै ल फर्म खोलिन्।

अहिले उनी सर्वोच्च अदालतकी अवैतनिक अधिवक्ता हुन्, जहाँ विपन्नलाई कानूनी सहायता प्रदान गरिन्छ। यसबीचमा समाजशास्त्रमा स्नातकोत्तर सिध्याएकी किरण भन्छिन्, “पहिले घरमा लडें, समाजसँग लडें, अब निमुखालाई न्याय दिलाउन लड्नेछु।”

रामेश्वर बोहरा

comments powered by Disqus

रमझम