२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

पालैपालो पुजारी

Share:
  
- सविता श्रेष्ठ
आलोपालो पुजारी बस्ने प्रचलनले पाटनका प्राचीन विहार संरक्षण र सद्भाव जोगाइराख्न गतिलो भूमिका खेलेको छ।

ललितपुरको पाटन क्वाःबाहाःस्थित हिरण्यवर्ण महाविहारमा पुसभरि पूजा गर्ने जिम्मा चाकुपाटका राहुल शाक्य (११) को काँधमा आएको छ। विहारमा १२ वर्षभन्दा कम उमेरका बालक नै वाफाचा (मूल पुजारी) हुनुपर्ने परम्पराका कारण कक्षा ५ मा अध्ययनरत राहुलले यो दायित्व सम्हालेका हुन्। राहुललाई सहायक पुजारी बनेका काका सुदीपले पूजा र विहार परिसरको सरसफाइमा सघाइरहेका छन्।

वाफाचा बनेका वेला राहुल र सुदीप मन्दिर बाहिर निस्कन पाउँदैनन्। पढाइ रोकेर पुजारी भएर बस्नुपर्दा पनि राहुललाई गुनासो छैन। “हाम्रो परम्परा नै यस्तै छ”, उनी भन्छन्।

यो विहारमा करीब पाँच हजार गुठियार सदस्य छन्। गुठियार र क्षेत्रफलको हिसाबले यो जिल्लाकै ठूलो महाविहार हो। गुठियार परिवारबाटै प्रत्येक महीनामा एउटा परिवारको पालो आउने हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वा बताउँछन्। “धेरै गुठियार भएकाले एउटा परिवारको पालो झ्ाण्डै ५२ वर्षपछि मात्र आउँछ”, उनी भन्छन्। त्यसो त पालो परेको परिवारले आफूले नमिले अरु परिवारको सदस्य पनि वाफाचा राख्न पाउँछ। नेवार जातिभित्र पनि शाक्य र बज्राचार्य जातिका पुरुषले मात्र विहारको गुठियार हुन पाउँछन्।

१२औं शताब्दीमा बनेको यो विहारमा बालक नै वाफाचा हुनुपर्नेबारे रोचक किंवदन्ती छ। किराँतकालमा घरबाट कोही पनि ठूला मानिस निस्कन निषेध गरिएका वेला विहारमा पूजा गर्न बालक पठाइएको र त्यही वेला भगवान बुद्ध प्रकट भएर 'बालकबाटै पूजा गराउनू' भनी आदेश दिएको जनश्रुति छ। “त्यही वेलादेखि नै बालकलाई नै वाफाचा राख्न थालिएको हो”, धाख्वा भन्छन्।

हिरण्यवर्ण जस्तै ललितपुरका १५ वटा विहारमा स्थानीयले पालैपालो पूजा गर्छन्। हःखाबहाः को रत्नाकर महाविहारमा १७ पुससम्म रजत बज्राचार्य (६) वाफाचा बनेका थिए। अहिले केभिन बज्राचार्य (६) को पालो परेको छ। तर, आमाबाबुसँग क्यानाडामा रहेका केभिनको साटो टोलकै कुलरत्न बज्राचार्य (४६) पूजामा खटिएका छन्। “टाढा भएका र नभ्याउनेको लागि कहिलेकाहीं पूजाको पालो बसिदिने गरेको छु” कुलरत्न भन्छन्।

रत्नाकर महाविहारमा ३१७ जना सदस्य छन्। रत्नाकर महाविहार संरक्षण समितिका सचिव तेजमान बज्राचार्य दुई साता अवधिका लागि एक परिवारको सात वर्षमा पालो आउने बताउँछन्। पूजाका लागि प्रत्येक दुई साताका लागि समितिले दुई हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ।

पाटनकै बूबहाःस्थित यशोधर महाविहारले भने बालक वाफाचाको पढाइमा असर पार्ने भएकाले १२ वर्षअघि नै यो प्रचलन टुग्याएको थियो। १२०० सदस्य रहेको विहारमा प्रत्येक परिवारको हरेक १५ दिनमा पूजाको पालो आउँछ। ७ पुसदेखि पूजा गर्ने पालो लिएका भुवन बज्राचार्य (३८) बिहान, दिउँसो र साँझाको पूजामा सहभागी हुन्छन्, विहारमा नै बस्छन्। दिउँसो भने गाबहालमा रहेको सुनचाँदी व्यवसायमा खटिन्छन्। “पूजाका सबै काम आफूले भ्याइएन भने परिवारका अरुले गरे पनि हुन्छ, त्यसैले गाह्रो छैन”, बज्राचार्य भन्छन्, “बरु, विहारमा बस्दा मन शान्त हुन्छ।”

ललितपुरमा २६८ वटा साना–ठूला विहार छन्। बौद्ध विहार संघ ललितपुरका सचिव संजीव बज्राचार्य विहारमा चूडाकर्म गरेर गुठियार सदस्यहरूबीच समान हिसाबले पूजा र संरक्षण गर्ने जिम्मेवारी बाँडिने गरेको बताउँछन्। विहारमा मासिक पूजाका लागि जेष्ठ सदस्यलाई आजु छानिन्छ। विहारको क्षमता अनुसार ५ देखि १२ जनासम्म आजु राख्ने गरिएको ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य बताउँछन्। “सामूहिक रुपमा आलोपाला गरी पूजा गर्दा धार्मिक आस्थाका साथै सामाजिक सद्भाव समेत कायम रहन्छ”, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका बज्राचार्य भन्छन्।

यसबाहेक प्रत्येक चार वर्षको अन्तरमा फागुनमा सबै विहारहरूको सामूहिक संवेग महादान गरिन्छ। यो अवसरमा पाटनका प्रमुख विहारहरूका मूर्तिलाई नागबहालमा एकै ठाउँमा राखेर पूजा गरिने प्रचलन छ। बौद्ध विहार संघका सचिव बज्राचार्य यस वर्ष पनि फागुनमा संवेगको आयोजनाको तयारी भइरहेको बताउँछन्।

comments powered by Disqus

रमझम