२६ पुस - २ माघ २०७२ | 10-16 Janauary 2016

कर्मभूमिको आँगनमा...

Share:
  
आँप खाने लोभमा ललितपुरबाट सप्तरी झारेका सुबोध खड्का (३६) यतिवेला मधेशी देहातमा प्रिय शिक्षकको पहिचान बनाउन सफल छन्।

श्रवणकुमार देव
गोदावरी, ललितपुरमा जन्मिएका सुबोध खड्कालाई आफ्नो कर्मभूमि मधेश बन्नेछ भन्ने कल्पनासम्म थिएन। होस पनि कसरी, उनी त मनग्य आँप खान पाइन्छ भनेर सप्तरी आइपुगेका थिए।

खड्काका बुबा कृष्णबहादुर र सप्तरीको नर्घो गाविसका पूर्व गाविस अध्यक्ष रामनारायण यादव घनिष्ठ मित्र थिए। एकपटक उनै यादव गोदावरी गएका वेला सुबोधले आफूलाई आँप सारै मनपर्ने सुनाए। यादवले मित्रका छोरालाई टन्न आँप खाने गरी गाउँ आउन निमन्त्रणा गरे। २०६० सालमा पहिलो पटक हो, २३ वर्षीय अल्लारे खड्काले पहिलोपटक नर्घोस्थित यादवको घरमा टेकेको।

आँप खुवाउने यही प्रस्तावले खड्काको जीवनको 'टर्निङ पोइन्ट' बन्यो। भएको के थियो भने, ट्युसन पढाउने सर गाउँ फिरेनन्। गाउँलेलाई लाग्यो, अब सन्तान बिग्रने भए। ट्युसन पढाउन सक्ने अर्को सरको खोजी भयो। यादव र गाउँलेको आग्रहमा स्नातक उत्तीर्ण खड्काले तत्कालको अभर टार्ने भए।

“तर, गाउँलेले मैले पढाएको मन पराएछन्, यहीं बस्न कर गरे”, खड्का भन्छन्। गाउँलेले उनलाई आफ्नै ठाने र उनले गाउँलाई। ट्युसन पढाएको दुई वर्षपछि गाउँलेकै आग्रहमा उनले नर्घो–६ मा चाइल्ड प्रोगे्रस बोर्डिङ स्कूल खोले। गाउँबाटै स्नातकोत्तर पनि सिध्याए। विद्यालयका प्राचार्य उनी आफैं हुन्। कक्षा ६ सम्मको उनको स्कूलमा ६५० विद्यार्थी छन्।

स्नेहको ऋण

उनी अहिले पनि चाडपर्वको मौका छोपी गोदावरीस्थित घर जान्छन्। तर, उनको मनले भने गाउँ छाडेकै हुँदैन। उनी भन्छन्, “कर्मभूमि नै प्यारो लाग्नेरहेछ।”

२०७० सालमा उनले काठमाडौंकै रमिला बस्नेतलाई जीवनसाथी रोजे। महानगरको वैभवबाट एकाएक भित्रीमधेश आइपुगेकी बस्नेतलाई उकुसमुकुस हुनु अस्वाभाविक थिएन। उनी सम्झिन्छिन्, “भाषा, खानपान, रहनसहन केही मिल्दैनथ्यो। यहाँ बस्दै बस्दिनँ भन्दै रोएरै दिनरात काट्थें।” रहँदाबस्दा उनीलाई पनि गाउँ विरानो लाग्न छाडेको छ। श्रीमान् खड्कासँग उनी मज्जाले मैथिलीमै कुराकानी गर्छिन्।

रोचक के छ भने, यादव, मण्डल, ठाकुर, गुप्ता, राय समुदायले भरिएको नर्घोमा उनी मात्रै पहाडी समुदायका हुन्। तर, उनलाई मधेशी र पहाडी भेदबारे कुनै अनुभूति छैन। २१ पुसमा गाउँमै भेटिएका उनी भन्छन्, “पहाडीलाई मधेशीले यस्तो/उस्तो गर्छ भन्ने कुरा मेरो हकमा लागू हुँदैन।”
अधिकारकर्मी शम्भुनन्द चौधरी खाँटी मधेशमा खड्का जस्ता पहाडी आउनु र औधी माया पाउनु दुवैका लागि गर्वको कुरा भएको बताउँछन्। अर्का स्थानीय विजय यादव पनि यो उदाहरणले भूगोलभन्दा मानवताको अन्तरसम्बन्धले समाज मजबूत बन्ने पुष्टि गरेको ठान्छन्।

खड्का भने आफूलाई गाउँलेको माया र स्नेहको ऋणी ठान्छन्। “यहाँका बालबालिकालाई थोरै मात्र पनि शिक्षाको उज्यालो बाँड्न सके भार कम भएको ठान्नेछु”, उनी भन्छन्।

श्रवणकुमार देव, सप्तरी

comments powered by Disqus

रमझम