३-९ माघ २०७२ | 17-23 January 2016

ने.क.शु.ले.– १९९१

Share:
  
- क.दी.
नेपाली लेखनीलाई ने.क.शु.ले.ले ८० वर्ष जति राम्रैसँग डोरुर्‍याएकोमा त्रिविका केही प्रा.डा.हरूको हिज्जे सुधारले स्थितिलाई नब्बेसालअघिको जस्तै बनाएको छ, कुनै नियम मान्ने बाध्यता छैन।

नब्बे सालको महाभूकम्पपछि महाराज जुद्धशमशेरले गोरखा भाषा प्रकाशिनी समिति (गोभाप्रस) का सुब्बा राममणि आ.दी. लाई त्यहाँबाट सरुवा गरे। त्यस पदमा केही समय केशरबहादुर के.सी. आए तर उनी पनि चाँडै नै त्यताबाट हटे अनि त्यहाँ ल्याइए कप्तान बालकृष्ण शमशेर। राममणिलाई भने भूकम्पोद्धारक समितिमा हाकीम बनाइयो। यता बालकृष्ण शमशेर आएपछि त्यस अड्डाको नाम पनि फेरेर नेपाली भाषा प्रकाशिनी समिति (नेभाप्रस) बनाइयो। बालकृष्ण शमशेर जनरल मृगेन्द्रशमशेरका प्रियपात्र थिए। ज. मृगेन्द्र चन्द्रशमशेर महाराजका माहिला छोरा बबरशमशेरका ज्येष्ठपुत्र हुन्। उनी राणा वंशका त्यस समयका सबभन्दा उच्च शिक्षाप्राप्त व्यक्ति थिए। उनलाई जुद्धशमशेरले आफ्नै छोरा बहादुरशमशेरलाई हटाएर शिक्षा विभागको डाइरेक्टर–जनरल बनाएका थिए। दाजुका नाति जनरल मृगेन्द्र महाराज जुद्धका समेत अत्यन्त विश्वासपात्र थिए। राणाकालमा 'डाइरेक्टर–जनरल' भन्ने पद हालको मन्त्रीको तहको हुन्थ्यो र ऐलेका मन्त्रीहरू भन्दा धेरै नै शक्तिशाली हुन्थे ती। रैती/प्रजाले भने डाइरेक्टरलाई 'तालुकवाला जर्साब' भन्थे।

यस स्तम्भ–लेखमा राणाहरूको यत्तिको नालीबेली दिनाको कारण चाहिं के भने यो 'जुद्ध–मृगेन्द्र–बालकृष्ण' राणाहरूको 'कम्बिनेसन' (गठजोड) नेपाली भाषाका लागि धेरै किसिमले फलदायी रह्यो र त्यस्तो रहरलाग्दो गठजोड कसरी बन्नपुग्यो भनेर बताउनु आवश्यक देखियो। राममणिको गोभाप्रस–ले नेपाली पाठ्यपुस्तकहरूको जग बसाए जस्तै बालकृष्णको नेभाप्रस–ले नेपाली साहित्यपट्टि उत्तिकै ठूलो फड्को मारुर्‍यो। नेपाली साहित्यमा एक सय वर्षमा पनि नभएको काम त्यसले १० वर्षमा गरिदियो! सबभन्दा प्रशंसनीय कुरो के भयो भने 'समिति' भन्ने नाम नै नेपाली भाषाको केन्द्रविन्दु हुनपुग्यो। कथा, कविता, नाटक, उपन्यास लेख्नुपर्छ, लेखिनुपर्छ भन्ने हुट्हुटी जगाइदियो, त्यसले हाम्रा नेपाली बुद्धिजीवीहरूको मानसमा। त्यसबाहेक, जुद्ध–मृगेन्द्र–बालकृष्णको जठजोडले अर्को एउटा ठूलो काम पनि गरुर्‍यो– भानुभक्तलाई 'आदिकवि' घोषणा गर्ने।

मेरो आफ्नो आकलनमा 'समिति' को साहित्य–सेवा भन्दा पनि ठूलो देन हो नेपाली भाषाको व्याकरणको मानकीकरण। त्यसो त १९७० सालतिरै हेमराजको 'चन्द्रिका' आइसकेको थियो, विश्वमणि (राममणि) को 'गोरखाव्याकरणबोध' र अझ् त्यसभन्दा पनि अघि जयपृथ्वीबहादुर (वीरेन्द्रकेशरी) का 'प्राकृत व्याकरण' समेत प्रकाशित भइसकेका थिए। तर नेपाली व्याकरणको थिति बसेको थिएन। नेपाली जसरी पनि लेखिन्थ्यो, जल्ले जसरी लेखे पनि हुन्थ्यो। 'समिति'–ले यसमा यौटा क्रान्ति नै ल्याइदियो! १९९१ सालपछि नेपाली भाषा जस्तो पायो उस्तै लेखेर प्रकाशित गर्न पाइएन। व्याकरणको नियमबद्ध भएरै लेख्नुपरुर्‍यो, नियमित हिज्जे मिलाएरै सार्वजनिक गर्नुपर्ने भयो! नेपालराज्यभरि मात्र होइन, नेपाली जाति जहाँ पुगेका भए पनि उनीहरूले समेत नेपाली लेख्दा समितिका नियम मानेरै लेख्नुपरुर्‍यो। शुरूमा केही गाह्रो भयो होला तर विस्तारै समितिको निर्देशन सबैले माने, मान्नैपरुर्‍यो। काशी र दार्जीलिङ, आसाम र देहरादुन अनि सुदूर बर्मा पनि एकै सूत्र, एकै धागामा बाँधिए। समितिको त्यो 'धागो' बलियो रहेछ। दार्जीलिङका 'सूधपा', काशीका नेपाली प्रकाशन घराना, देहरादुनका बागी नेता ठाकुर चन्दन सिंह इत्यादि सबैलाई बाँध्न सफल भयो समितिको त्यो धागो।

त्यो 'धागो' थियो समितिको एउटा सानो, मसिनो पुस्तिका, ६–पेजी 'नेपाली कसरी शुद्ध लेख्ने?' भन्ने 'शब्दविचार'। आजको हाम्रो यस स्तम्भको विषय पनि त्यही सानो किताब हो। नाम लामो भएकाले त्यसलाई छोट्याएर मान्छेले उहिल्यैदेखि नै 'ने.क.शु.ले.' भन्न थालेका हुन्। अझ्, त्यसभन्दा पनि हियाएर, हेपेर स्कूलका विद्यार्थी त त्यसलाई 'दुईपैसे व्याकरण' भन्थे। त्यसको कारण थियो त्यसको मोल, दुई पैसा। स्कूल कलेजमा त्यो किताब पाठ्यक्रममै राखिएको थियो महाराजका हुकुमले। अझ् दरबारस्कूलमा त नेपालीका कक्षामा त्यो किताब साथमा लगेकै हुनुपर्थ्याे। 'टीचरहरू' क्लासमा पस्नासाथ 'सबैले पुस्तक अगाडि राखेर अस्ति पढाएको पाठ खोल' भनिहाल्थे। त्यसैले कसैले त्यो किताब ल्याउन बिर्सेको छ भने पनि पहिले नै दौडेर गएर भोटाहिटी या कमलाक्षीबाट किनेर ल्याएका हुन्थे। नत्र क्लासमा 'स्टान्डप अन द बेन्च' हुनुपर्थो!

त्यो मसिनो किताबको गुण–गरिमाको बखान गरेर थाक्दैनन् हाम्रा भाषाशास्त्रीहरू। हुन पनि उखानको 'सानी छ तर आँखाको नानी छ' जस्तै भैदिएको थियो त्यो लिखुरे पुस्तिका। त्यसको श्रेय बालकृष्ण (सम) लाई जान्छ, किन भने त्यो उनैको सोचको प्रतिफल थियो। लेखेको होइन उनले, त्यो सिद्धान्त पनि उनले प्रतिपादन गरेको होइन। तर भाषाशास्त्री नभएर पनि उनले हेमराज शर्माको व्याकरण 'चन्द्रिका'–को मर्म बुझेर त्यसलाई अघि बढाउने जमर्को गरेका हुन्। यो यति विश्वासका साथ म कसरी भन्दैछु भने यो कुरा पछि मैले समजीकै मुखबाट सुनेको हो र उनैले भनेका कुरा जोडेर भनेको हुँ। समजीको भनाइको सार थियो– 'नेपाली व्याकरणमा माहिला गुर्जु (हेमराज) को सबभन्दा ठूलो देन थियो उहाँले मध्यममार्ग अपनाउनु, राममणिको हलन्त–बहिष्कार र वीरेन्द्रकेशरीको हलन्तयुक्त प्रयोगलाई मिलाएर। 'चन्द्रिका'–ले नाम इत्यादिलाई हलन्त बहिष्कार गरेर अनि क्रियापदहरू सबैलाई खुट्टा काटेरै लेख्ने नियम बनाइदियो। यो माहिला गुर्जुको ठूलो सुझ्बुझ् थियो।' गोभाप्रस–का राममणिले पनि त्यो नियम मान्न करै लाग्यो यद्यपि उनी आफू चाहिं त्यसलाई 'दोगला' नियम भन्थे। 'नू' भन्ने दक्षिण अमेरिकी जनावर जस्तो रे!

यहाँ मैले नेकशुले–लाई बालकृष्णको भनेर जश दिए तापनि खासमा त्यो 'आइडिया' उनलाई दाजु पुष्करशमशेरले दिएका हुन् भनिन्छ। नभन्दै, पछि (कोशकार तथा भाषाशास्त्री) पुष्कर भाषानुवाद परिषद्को अध्यक्ष भएपछि २००१ सालमा प्रकाशित उनको 'सजिलो नेपाली व्याकरण' को सम्पूर्णता हेर्दा त्यस कथनको सत्यता प्रमाणित भए झैं लाग्छ।

यता त्यो नेकशुले–ले ८० वर्ष जति नेपाली लेखनीलाई राम्रैसँग डोरुर्‍याएको थियो। तर अकस्मात् त्रिवि–का केही विद्वान् प्रा.डा.हरूको उर्वर मस्तिष्कले हिज्जे सुधारको नयाँ परिपाटी उब्जायो। अनि स्कूल कलेज सबैतिर त्यही नियम चलाउन भनियो। त्यसपछि ऐले स्थिति फेरि नब्बेसालको भूकम्पअघिको जस्तै भएको छ। नेपाली हिज्जे र पदयोग र वियोगमा उत्तिकै अन्योल छाएको छ। जल्ले जे लेखे पनि हुन्छ अब, कुनै नियम मान्ने बाध्यता छैन।

*पादटिप्पणीः

'अहिलेको गद्य पनी देखियो दुई रीतको,

'नू' नामको जन्तुसरी न गधा त्यो न गाई त्यो!'

(राममणिको 'मातृभाषा' बाट)

comments powered by Disqus

रमझम