३-९ माघ २०७२ | 17-23 January 2016

जुगाडको भर

Share:
  
चौबीसै घण्टा तम्तयार रहनुपर्ने सुदूरपश्चिमका नयाँ दमकल टालटुलको भरमा चलेका छन्।

२ मंसीरमा दार्चुलाको खलङ्गामा आयोजित भलिबल प्रतियोगिता शुरू हुनुअघि धूले मैदानमा अपि नगरपालिकाको नयाँ दमकलले पानी छर्किनुपर्ने थियो। तर, त्यसका लागि दमकलमा पानी नै नभरिएपछि दर्शक र खेलाडी होहल्ला गर्दै नगरपालिकातिर लाग्न खोज्दै गर्दा चालक प्रेम सामन्तले अर्को पाइप जोडेर काम चलाए। दमकल चालकको उपायले नगरपालिका घेराउ भएन।

२०७२ असारमा रु.५६ लाख खर्चेर भक्तपुरको नेशनल फायर सेभ प्रालिसँग किनेको त्यो दमकललाई मंसीर दोस्रो साता धनगढी ल्याएर चल्नेसम्म बनाइएको चालक सामन्तले बताए। उनका अनुसार, एक वर्ष वारेन्टी भएको अशोक लेल्याण्डको दमकलमा ब्याट्री, रेडिएटर, पाइप, फ्यान बेल्ट फेरेर काम चलाउ बनाइएको छ। तैपनि, पानी भर्दा र फाल्दा रोकिने समस्या छ। त्यसका पार्टपुर्जा नपाइने हुनाले जुगाड (टालटुल) गरेर चल्नेसम्म बनाएको चालक सामन्त बताउँछन्। अछामको मंगलसेन नगरपालिकाले त्यही समयमा रु.५८ लाख ७५ हजारमा किनेको नयाँ दमकल पनि 'जुगाड' मै चलेको छ। 'टु ह्वील ड्राइभ' प्रणालीको दमकल सजिलो ठाउँमा आगो लाग्यो भने मात्र जान्छ। अपिको जस्तै जुगाड गरेर चलाइएको दमकल बिग्रिहाल्यो कि भनेर दुई/तीन दिनमा जाँची रहनुपर्ने चालक नरेश खडायत बताउँछन्।

'जुगाड' को ठूलो नमूना दमकल चाहिं कञ्चनपुरको भीमदत्त नगरपालिकासँग छ। २०७२ असारमा रु.६५ लाखमा भक्तपुरको नेशनल फायर सेभ प्रालिसँगै किनिएको अशोक लेल्याण्डको नयाँ दमकल 'स्टार्ट' नै नभएपछि चालक भोजराज पनेरुले ब्याट्रीमा आफ्नै खालको 'कनेक्सन' र 'स्टार्ट बटम' थपेर काम चलाएका छन्। तर, कुन वेला स्टार्ट हुने र कति वेला नहुने, यसै भन्न नसकिने चालक पनेरु बताउँछन्। “एक वर्ष वारेन्टी भएको दमकल बनाउन बिक्रेता कम्पनीलाई चार महीना कुर्दा पनि नआएपछि सबैले 'जुगाड' गरेर चलाएका छन्”, पनेरु भन्छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट उपलब्ध रकमबाट सुदूरपश्चिमका सात नगरपालिकाले ल्याएका सबै दमकल नयाँ हुन् र सबै जुगाडमा चलेका छन्। ३ पुसमा कञ्चनपुरको वेदकोट नगरपालिका–१ सुन्दरपुरमा लागेको आगो निभाउन हिंडेको दमकल बाटोमै फँसेर ट्रयाक्टरले तानेर निकाल्नुपर्‍यो। सबै दमकल कच्ची सडकमा फँस्ने, स्टार्ट नहुने, चलाउँदा तात्ने, पानी नतान्ने, पानी भर्दा र फाल्दा बीचमै रोकिने समस्या छ। दार्चुलाको अपि नगरपालिकाका इन्जिनीयर महेन्द्र सिंह 'टु ह्वील' ड्राइभका यी दमकल शहरका कालोपत्रे सडकमा मात्र काम लाग्ने र पहाडमा 'फोर ह्वील ड्राइभ सिस्टम' चाहिने बताउँछन्।

बझ्ाङको जयपृथ्वी बाहेकका ६ नगरपालिकाले भक्तपुरको एउटै सप्लायर्स कम्पनीबाट अशोक लेल्याण्डका 'टु ह्वील' ड्राइभका दमकल किनेका हुन्। अरूसँगै असारमा रु.६० लाखमा जयपृथ्वी नगरपालिकाले किनेको टाटा कम्पनीको 'टु ह्वील ड्राइभ' दमकलको पनि समस्या उस्तै छ– पानी भर्ने र फाल्ने। काम नपर्दा पनि दमकलमा पानी भर्ने र फाल्ने गरिराख्नु पर्दा इन्धनमा बेकार खर्च भइरहेको नगरपालिका लेखापाल पूर्ण खड्का बताउँछन्। उनी भन्छन्, “नत्र, चाहिएको वेला स्टार्ट नै हुँदैन।”

बैतडीको दशरथ नगरपालिकामा त चालक समेत जुगाडबाट जुटाइन्छ। रु.६७ लाख ८० हजारको नयाँ दमकलको लागि छुट्टै ड्राइभर नभएकोले जुगाडले काम चलाएको प्रशासकीय अधिकृत डम्बर थापाले बताए।

बच्चु विक

comments powered by Disqus

रमझम