३-९ माघ २०७२ | 17-23 January 2016

भारतीय मजदूरकै भर

Share:
  
स्वदेशी युवाको विदेश पलायन बढेसँगै पूर्वी नेपालमा भारतीय मजदूरको आगमन बढ्दो छ।

गोपाल गडतौला
पवन कुर्मी र अरबिन्द सन्थाल।
दरभंगा, भारतका खोरीलाल यादव (६७) वर्षको ६ महीना (मंसीर–वैशाख) पूर्वी नेपालका ईंटा उद्योगमा मजदूरी गर्छन्। ३५ वर्ष अघि दैनिक रु.६५ ज्यालाबाट शुरू भएको उनको आम्दानी अहिले रु.८०० पुगेको छ। तोपगाछी–२, झापास्थित ए वान ईंटा उद्योगमा नाति सरोज (२३) का साथ काम गरिरहेका यादव खान्कीखर्च कटाएर ६ महीनामा करीब डेढ लाख रुपैयाँ भारत घर पठाउँछन्।

कुचबिहार, पश्चिमबंगालका अवसर मियाँ (३४) पनि परिवारसहित रोजगारीका लागि तोपगाछी–२ स्थित झापाली ईंटा उद्योग आएका छन्। “६ महीनामा डेढलाख जति नेपाली रुपैयाँ बचत हुन्छ”, उनी भन्छन्।
ए वान उद्योगमै काम गरिरहेका बिहारका अमरकुमार चौहान (२४) मासिक रु.१० हजार जति बचत गर्छन्। दैनिक आठघण्टा मजदूरीबापत रु.८०० पाउने उनी गाउँमा भरदिन खट्दा भारु २०० पनि बचत नभएकै कारण नेपाल आएको बताउँछन्।

रोजगारी अभावमा नेपाली युवा विदेशिनु स्वाभाविक ठानिएकै वेला नेपाली ईंटाभट्टामा भारतीयको आगमन भने बढ्दो छ। नेपाल ईंटा उद्योगका अनुसार, झ्ापाका चालू २३ वटा ईंटा उद्योगमा पाँचहजार बढी भारतीय मजदूर छन्। यी उद्योगहरूबाट मासिक करोडौं रुपैयाँ भारत पुगिरहेको छ। ए वान उद्योगका प्रबन्धक पुष्प खड्का आफूले मात्रै मासिक रु.२० लाखभन्दा बढी भारतीय मजदूरलाई भुक्तानी गरिरहेको बताउँछन्। २२५ जना भारतीय कामदार भएको चारपानेस्थित नेपाल ईंटा–टायल उद्योग र लक्ष्मी ईंटा उद्योगका सञ्चालक जगन्नाथ खनाल भन्छन्, “भारतीयलाई ज्यालाबापत वार्षिक रु.६० लाख जति त मेरैबाट गइरहेको छ।”

२५० जना भारतीयलाई रोजगारी दिएको तोपगाछीस्थित झापाली ईंटा उद्योगका प्रबन्धक भगवान बस्नेत नेपालीको तुलनामा उनीहरूलाई काम लगाउन सजिलो भएको बताउँछन्। “संगठन बनाई हडताल नगर्ने, ज्याला बाहेकका सुविधा नखोज्ने भएकाले उनीहरूलाई काम लगाउन समस्या छैन”, उनी भन्छन्।

ईंटा उद्योगमा मात्र होइन, अन्य क्षेत्रमा पनि भारतीय मजदूरका लागि नेपाल उपयुक्त गन्तव्य बन्न थालेको छ। झापाका दमक, बिर्तामोड, काँकडभिट्टा, धुलाबारी, भद्रपुरमा ईंटा उद्योग, काठमील, फर्निचर, ग्यारेज, निर्माणलगायतका क्षेत्रमा करीब १५ हजार भारतीय काम गरिरहेको अनुमान छ। निर्माण व्यवसायी संघ, झापाका पूर्वअध्यक्ष गणेश बस्नेत निर्माण उद्योग भारतीय मजदूरकै भरमा चलिरहेको बताउँछन्। “यहाँका युवा गरिखान खाडी मुलुक जान्छन्”, उनी भन्छन्, “यहाँ भने भारतीय ओइरिएका छन्।”

पवन कुर्मी (३२) र अरबिन्द सन्थाल (३५) सहित २५ भारतीय दमक–११ स्थित नयाँ सब्जी लाइनमा नाला बनाउन खटिएका छन्। दमकमा मालपोत कार्यालयको भवन निर्माणमा खटिने ५९ मध्ये ४२ जना भारतीय नै छन्। उनीहरूलाई नेपाल झिकाएको प्रवीण निर्माण सेवाका प्रबन्धक प्रकाश केसी वर्षमा करीब रु.१ करोड नगद यस्ता मजदूरलाई भुक्तानी गरिरहेको बताउँछन्।

दमकस्थित सुरज फर्निचर उद्योगका कामदार रविकुमार यादव (३३) को घर पनि बिहार नै हो। आठ वर्षदेखि मजदूरी गर्न बरोबर दमक आइरहेका उनी मासिक रु.१७ हजार ज्याला बुझछन्।

पैसाजति भारततिर

विश्व ब्यांकका अनुसार, सन् २०१४ मा नेपालबाट २ अर्ब ७८ करोड ३० लाख डलर (करीब रु.२ खर्ब ७८ अर्ब ३० करोड) विप्रेषण भारत पुगेको छ। तर, हुण्डी र असंगठित क्षेत्रबाट जाने रकमको तथ्यांक यसमा समेटिएको छैन।

विश्व ब्यांकले यही अवधिमा भारतबाट भने ८४ करोड ७० लाख डलर (करीब ८४ अर्ब ७० करोड) भित्रिएको जनाएको छ। ब्यांकको प्रतिवेदन अनुसार, तीन वर्ष अघिको तुलनामा नेपालबाट भारत जाने विप्रेषण करीब १७ प्रतिशतले बढेको छ। (हे. तीनवर्षे विवरण) नेपालमा करीब चार लाख भारतीय विभिन्न क्षेत्रमा काम गरिरहेको निर्माण व्यवसायीहरूको अनुमान छ।

यो तथ्यांकका आधारमा भारतीयका लागि नेपाल रोजगारीको राम्रो विकल्प भएको तर्कलाई पुष्टि गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी हेल्भेटास स्वीस इन्टर को–अपरेसन परियोजनाका कार्यक्रम अधिकृत बसन्त कार्की बताउँछन्। उनी भन्छन्, “यसले स्वदेशभित्रै रोजगारी आकर्षित गर्न नसकिएको कमजोरी पनि प्रष्ट्याउँछ।”

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम