३-९ माघ २०७२ | 17-23 January 2016

प्रोस्टेटको पिरलो

Share:
  
- डा. सुमनराज ताम्राकार
दिउँसो वा राति घरी–घरी पिसाब लाग्ने, पिसाब फेर्दा प्रवाह (धारो) नखुल्ने र पिसाब गरिसकेपछि ननिखि्रए जस्तो लाग्ने भयो भने तुरुन्त अस्पतालको युरोसर्जरी विभागमा सम्पर्क गर्नु बुद्धिमानी हुन्छ।

छिटो–छिटो पिसाब लाग्ने, फेर्न गयो आउँदै नआउने। बल्ल बल्ल पिसाब गर्‍यो, राम्ररी निख्रे जस्तो नलाग्ने। शौचालयबाट फर्की नसक्दै फेरि पिसाब आए जस्तो हुने। राजेन्द्र श्रेष्ठ (४७) यसरी हैरान भएपछि अस्पतालको युरोसर्जरी विभागमा जाने बित्तिकै समस्या पत्ता लाग्यो, उनलाई प्रोस्टेटको समस्या भएको रहेछ। अहिले औषधि खाइरहेका उनलाई अस्पताल ढिलो गएकोमा पछुतो लागिरहेको छ।

'पुरुष ग्रन्थि' भनिने पुरुष प्रजनन् प्रणालीको एउटा महत्वपूर्ण अंग हो– प्रोस्टेट। नेपालमा पुरुषको आयु लम्बिंदै गएका कारण ४० वर्षको उमेर कटेपछि देखिने प्रोस्टेटको समस्या बढ्ने अनुमान छ। सुपारी आकारको प्रोस्टेट मूत्रथैली मुन्तिरको भागमा चारैतिर बेरिएर रहेको हुन्छ। उमेरसँगै बढ्न सक्ने प्रोस्टेट ग्रन्थिको तौल सामान्यतः २० देखि २५ ग्रामको हुन्छ।
पिसाब नलीको पटके संक्रमण वा वंशाणुगत कारणले प्रोस्टेट सुन्निने समस्या हुन सक्छ। प्रोस्टेटमा अनावश्यक मासु वृद्धि भएर पनि समस्या निम्तिन्छ। प्रोस्टेटमा मुख्यतः क्यान्सर र साधारण (बिनाइन) खालको मासु बढ्छ। धेरैजसो पुरुषमा उमेरसँगै टेस्टोस्टेरोन हर्मोनको उत्पादन हुने कमीले पनि प्रोस्टेटमा समस्या देखिन्छ। विविध कारणले प्रोस्टेटको आकार ठूलो वा सानो हुँदा पिसाबको प्रवाहमा अवरोध आउँछ। प्रोस्टेटको लक्षण वा समस्या लिएर अस्पताल पुग्नेमा ५०–७० वर्ष उमेर समूहका छन्।

लक्षण र उपचार

माथि नै भनियो, पटक–पटक पिसाब लाग्ने, पिसाब फेर्दा केही समयपछि मात्र आउने, पिसाबको प्रवाह (धारो) नखुल्ने, पिसाब गरिसकेपछि पनि मूत्रथैली ननिखि्रए जस्तो लाग्ने, राति पनि घरी–घरी पिसाब लाग्ने आदि हुन्छ। प्रोस्टेटले सताउँदै लगेपछि मूत्रथैलीको मांसपेशी कमजोर हुँदै जान्छ र पेट एवं मलद्वार वरिपरिको मांसपेशी खुम्च्याएर मात्र पिसाब गर्न सम्भव हुन्छ। समस्या बढ्दै जाँदा तल्लो पेट दुख्ने, पिसाबमा रगत देखा पर्ने र पिसाब ठ्याप्पै बन्द हुन सक्छ। समयमै उपचार नभए पिसाब नली फुल्ने र विस्तारै मिर्गौला सुन्निएर फेल हुनेसम्मको खण्ड आइलाग्न सक्छ। उल्लिखित लक्षणहरू प्रोस्टेटकै कारणले मात्र नहुन सक्छ।

प्रोस्टेटको उपचारको क्रममा मधुमेहको समस्या छ/छैन हेर्नुपर्छ। छ भने सुगर नियन्त्रणमा राख्नुपर्छ। प्रोस्टेटको समस्यालाई विभिन्न तहमा वर्गीकरण र व्यवस्थापन गरिन्छ। बिरामीको उमेर, शारीरिक अवस्था, समस्याको गाम्भीर्य र प्रोस्टेटको आकार हेरेर उपचार विधि अपनाइन्छ। पिसाब फेर्दा हल्का अवरोध मात्र भएकाहरूलाई परामर्श र औषधि सहितको फलोअपमा राखिन्छ। कतिपयको प्रोस्टेट वृद्धि औषधिले नै रोक्न सकिन्छ।
पिसाब अवरोधको समस्या दोस्रो तहमा पुगिसकेको रहेछ भने शल्यचिकित्सकको परामर्शमा प्रोस्टेट ग्रन्थि सुकाउने औषधि लिन सकिन्छ। उपचारको क्रममा नियमित रगत, पिसाब, अल्ट्रासाउण्ड र पिसाबको धारो नाप्ने परीक्षण गराउनुपर्छ। पिसाब ननिखि्रने (पिसाब गरेलगत्तै परीक्षण गर्दा मूत्रथैलीमा १०० मिलिलीटरभन्दा बढी बाँकी रहेमा) भएमा वा लामो समय औषधि चलाउँदा पनि समस्या नहटे शल्यक्रिया गर्नुपर्ने हुन्छ।

प्रोस्टेट समस्याको तेस्रो चरणमा पिसाब प्रवाहमा गम्भीर अवरोध हुँदा शल्यक्रियाजन्य उपचार प्रभावकारी हुन्छ। शल्यक्रियाको क्रममा ढाडमुनि मात्र लठ्याएर प्रोस्टेट ग्रन्थिको उपचार गर्नुपर्ने हुन्छ। यस क्रममा निकालेको तन्तुको वायोप्सी गरेर क्यान्सरको आशंका निवारण गरिन्छ। प्रोस्टेटको शल्यक्रिया गर्ने चिकित्सकको टीम दक्ष वा अनुभवी परेन भने समस्या दोहोरिन सक्छ। शल्यक्रिया पछि पनि बिरामी फलोअप उपचारमा रहनुपर्छ।


किन यस्तो हुन्छ?

सामान्य अवस्थामा पिसाबले च्यापे पनि शौचालय वा वरिपरि पिसाब गर्ने वातावरण अनुकूल नबनेसम्म रोकेरै राखिन्छ। उपयुक्त ठाउँ वा वेलामा पिसाब फेर्न लाग्दा मस्तिष्कको निर्देशन अनुसार मूत्रद्वार खुल्छ। यसक्रममा मूत्रथैली खुम्चन्छ र मूत्रनली हुँदै पिसाब बाहिरिन्छ। तर, प्रोस्टेटको समस्या छ भने पिसाब फेर्दा मूत्रनलीमा वहाव खुल्दैन। कुनै कारणले पिसाबथैलीमा समस्या आएको रहेछ भने पनि पिसाब थैली खुम्चने प्रक्रिया कमजोर हुन जान्छ।

पिसाब थैली थोरै मात्र खुम्चिएर तत्काल पहिलेकै अवस्थामा फर्किने हुँदा पनि समस्या बल्झिन्छ। त्यो अवस्थामा पिसाब ननिख्रेर मूत्रथैलीमै जम्मा भइरहन्छ। त्यसरी मूत्रथैलीमा पिसाब जम्मा हुँदा संक्रमणको सम्भावना बढ्छ।

comments powered by Disqus

रमझम