३-९ माघ २०७२ | 17-23 January 2016

फेन्सी लाइट

Share:
  

गोपेन राई
अँध्यारामा टुकी वा मैनको साटो विद्युत्बाट चल्ने बत्तीको प्रयोग बढिरहेको छ। बजारमा थरीथरीका 'फेन्सी' बत्ती पाइन थालेका छन्। यसले अँध्यारो चिर्न टुकी र मैन खोज्ने बानीमा परिवर्तन ल्याइरहेको छ।
फेन्सी लाइटको बिक्रीमा बढ्दो लोडसेडिङ पनि कारण बनेको छ। विद्युत् भएका वेला चार्ज गरेर अँध्यारोमा बाल्न मिल्ने भएकाले उपभोक्ता यस्ता साधनप्रति आकर्षित भइरहेका छन्। तर, यस्ता बत्तीको प्रयोग उज्यालो छर्नुमा मात्र सीमित छैन। “पहिले–पहिले प्रकाशका लागि मात्रै बत्ती जोडिन्थ्यो”, कमलादीस्थित क्रिस्टल लाइटका सञ्जय बजाज भन्छन्, “अहिले सौन्दर्यका लागि समेत लाइट राख्ने चलन छ।” तीन दशकदेखि यस्ता विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएका उनी तीन वा ६ महीनामा नयाँ–नयाँ डिजाइन र मोडलका बत्ती बजारमा आउन थालेको बताउँदै उनी सिलिङ लाइट, मिरर लाइट, पिक्चर लाइट, गार्डेन लाइट, टेबुल ल्याम्प, ह्यांगिङ, सान्डेलियर आदिको प्रयोग बढिरहेकोमा प्रशन्न छन्।

इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सानुराजा शिल्पकारका भनाइमा घरमा फेन्सी बत्ती राख्नुका तीन वटा फाइदा छन्– उज्यालो, सौन्दर्य र सुरक्षा। उनी भन्छन्, “राति बत्ती हुँदा काम गर्न पनि सजिलो, ठोक्किएर वा चिप्लिएर चोट नलाग्ने र चोरबाट समेत बँच्न सकिन्छ।” रंगीचंगी बत्तीले कोठा चम्किलो देखिने भन्दै उनी अप्ठ्यारा र अँध्यारा ठाउँमा राख्नैपर्ने सुझाव दिन्छन्।

फेन्सी बत्तीको गलत प्रयोग पनि भइरहेको छ। कोठा सिंगार्ने बहानामा चाहिनेभन्दा बढी बत्ती जडान गर्नुले आँखालाई असर गर्न सक्छ। “३/४ वटा लाइट फिक्स्चर पर्याप्त हुने कोठामा ६/७ वटा राखेको पाइएको छ”, शिल्पकार भन्छन्, “यसले कोठाको सौन्दर्य बिगार्नुका साथै प्रकाश प्रदूषण समेत हुन सक्छ।” उनका अनुसार, बत्ती रोज्दा विद्युत् खपत कम हुने र डिमर (प्रकाश बढाउने/घटाउने साधन) जोड्न मिल्ने खालको छनोट गर्नुपर्छ।

कहाँ, के?

सान्डेलियर– झुमर, दीपवृक्ष पनि भनिने यो बत्ती पाहुना कोठा वा मुख्य हलमा राख्दा भव्य देखिन्छ। बजारमा क्रिस्टल, क्यान्डल, ड्रम, रस्टिक जस्ता सान्डेलियर पाइन्छ। यसको मूल्य रु.२५ सयदेखि रु.१५ हजारसम्म पर्न सक्छ।

सिलिङ लाइट भर्‍याङ, बेडरुम र प्रवेशद्वारमा सिलिङ लाइट राख्न सकिन्छ। विविध डिजाइनका यस्ता बत्तीलाई कोठा र फर्निचरको रङसँग मिलाएर राख्न सकिन्छ।

पिक्चर लाइट पेन्टिङ, तस्वीर वा मूर्तिको माथि वा छेउमा पिक्चर लाइट राख्नुपर्छ। यो बत्तीले कृतिको सौन्दर्य उजागर गर्दछ। यस्ता बत्ती ब्याट्रीबाट पनि चल्ने भए अँध्यारोमा पनि बलिरहन्छ।

गार्डेन लाइट बगैंचा, छत, घरको बाहिरपट्टि बत्ती राख्नु परे गार्डेन वा आउटडोर लाइट राख्नुपर्छ। यस्ता बत्तीका लागि विद्युत्का साथै सोलार पनि प्रयोग गरिए राम्रो हुन्छ।

पेन्डेन्ट/ह्यांगिङ लाइट यी बत्ती प्रायः भान्सा कोठामा राख्न उपयुक्त ठानिन्छ। डायनिङ टेबुलको माथिपट्टि दुई–तीन वटा पेन्डेन्ट लाइट झुन्ड्याउँदा आकर्षण बढ्छ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम