३-९ माघ २०७२ | 17-23 January 2016

वरदान यू ट्यूब

Share:
  
- सजना बराल
थोरै मात्र सावधानी अपनाउने हो भने यू ट्यूब चर्चा मात्र होइन आम्दानीको गतिलो स्रोत समेत बन्न सक्छ।

१ माघदेखि काठमाडौंको मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक '...र माइलो' को यू ट्यूब प्रचारका लागि भिडियो बनाइँदै।
२८ पुसमा रंगकर्मी सोमनाथ खनाल सहकर्मीको अभिनय छायांकन गरिरहेका भेटिए। नाटक हो या चलचित्र? जिज्ञासा स्वाभाविक थियो। “नाटकमा भएको गीतको ओरिजिनल साउन्ड ट्रयाक (ओएसटी) बनाएर यू ट्यूबमा हाल्ने योजना छ”, खनाल भन्छन्, “यसले नाटकको विज्ञापन होला भन्ने लागेको छ।” खनाल निर्देशित नाटक '...र माइलो' १ माघदेखि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

आफ्ना विचार, टिप्पणी, अनुभव, तस्वीर बाँड्न फेसबूक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको प्रयोग बढे जस्तै अडियो, भिडियोका लागि यू ट्यूब, साउन्डक्लाउड लोकप्रिय बनिरहेको छ। कलाकारदेखि सर्वसाधारण समेतले यू ट्यूबमा च्यानल खोली श्रव्य–दृश्य सामग्री राख्ने गरेका छन्।

गायक प्रेम परियार, यम बुद्ध, रोहित शाक्य, जेरुसा राई, दीक्षा थापा, नितिन चन्द, ब्रायन राई जस्ता थुप्रै उदाहरण छन्, जो यू ट्यूबकै कारण चर्चित छन्। र्‍यापर गिरिश खतिवडा यू ट्यूबलाई २१औं शताब्दीको वरदान मान्छन्। “प्रतिभा देखाउन अब कसैको भर पर्नुपर्दैन”, उनी भन्छन्, “घरमै गीत रेकर्ड गरी यू ट्यूबमा अपलोड गरे तत्कालै दर्शक र श्रोतासम्म पुगिहालिन्छ।”

सित्तैंमा प्रचार

इमेज च्यानलका पूर्व भीजे आसिफ साह अहिले द युनिटी ब्यान्डमा आबद्ध छन्। म्युजिक भिडियो निर्देशनमा पनि हात हालेका उनी यू ट्यूब प्रयोगकर्ता हुन्। “दिनमा १७/१८ घण्टासम्म लोडसेडिङ हुने ठाउँमा यू ट्यूबकै कारण संगीत जोगिएको छ”, उनी भन्छन्।

यू ट्यूबको लोकप्रियता र प्रभावकारिताकै कारण कतिपय टेलिभिजन च्यानल र एफएम/रेडियोले समेत कार्यक्रम यू ट्यूबमा राख्न थालेका छन्। यसले कलाकारले आफ्ना सिर्जना प्रचारका लागि सञ्चारगृह धाइरहनुभन्दा यू ट्यूबमार्फत नै सार्वजनिक गर्न थालेका छन्। सुवानी मोक्तानसँग यसको अनुभव छ। “पहिले–पहिले रेडियो र टीभी स्टेशन पुगेर प्रोमो वा गीत बजाइदिन आग्रह गर्नुपर्थ्यो”, मोक्तान भन्छिन्, “अहिले यू ट्यूबमा गीत सुनेर एफएम/रेडियोले माग्न थालेका छन्।” गीत प्रवर्द्धनमा हुने लगानी अब म्युजिक भिडियोमा लगाउन सकिने उनको भनाइ छ। यू ट्यूबको बढ्दो प्रयोगले सहजै प्रसारण हुने लोभले आरजे/भीजेसँगै म्युजिक भिडियो बनाउने क्रम पनि घटेको छ।

रोहित जोन क्षेत्री, आस्था तामाङ मास्के, नट्टु साहले सेलिब्रेटी बन्न रेडियो/टेलिभिजनको सहारा लिनु परेन। पोखराको सांगीतिक समूह, दी एज ले चार वटा अल्बम निकालिसक्दा पनि पत्रकार सम्मेलन गरेको छैन। तर, यू ट्यूब अपलोडकै कारण उनीहरूका गीत युवाले रुचाएका छन्। समूहका जीवन गुरुङ भन्छन्, “लाखौंले यू ट्यूबबाटै हाम्रा गीत सुनिरहेका छन्।”

नयाँ मात्र होइन, पुराना गीत जीवन्त बनाउन पनि यू ट्यूबले सघाइरहेको छ। “यू ट्यूबबाट पुराना गीतको ट्रयाक डाउनलोड गरेर अभ्यास गर्ने गरेकी छु” गायिका सुनिता प्रधान लिम्बू भन्छिन्। यू ट्यूबको भ्युज र सब्स्क्राइबर्सकै आधारमा कन्सर्ट र सांगीतिक भ्रमणका लागि प्रस्ताव आउने गरेको छ। “हाम्रो पालामा झै कहाँ गएर कसरी गीतको प्रचार गरौंला भनेर आत्तिनुपर्दैन”, गायिका मौसमी गुरुङ भन्छिन्, “बरु यू ट्यूबमा आफ्नो च्यानल कसरी बलियो बनाउने भन्नेबारे सोचे पुग्छ।”

सर्जकको शोषण !

यू ट्यूब च्यानल 'मि दि स्टे्रन्ज गाइ' मा रक ब्यान्ड दी एक्स नाममा 'देउसी भैलो' गीत अपलोड गरिएको छ, जसलाई दुई लाख पटकभन्दा बढी हेरिएको छ। तर, ब्यान्डका म्यानेजर सुरज ताम्राकार भने उक्त गीत आफ्नो नभएको बताउँछन्। च्यानलबाट ब्यान्डको नाम हटाइदिन दुई वर्षअघि नै कमेन्टमार्फत आग्रह गरे पनि उक्त च्यानलले उनको आग्रह मानेको छैन।

यू ट्यूबमा म्युजिक भिडियोः गायिका सुनिता प्रधान लिम्बूको 'मतलब छैन...'

असिफ साह र सुवानी मोक्तानको 'जीवनसाथी'

मौसमी गुरुङको 'कपाल कोरी...'।

दी एज ब्यान्डले पनि यस्तै समस्या भोगिरहेको छ। आफ्ना गीतको जथाभावी म्युजिक भिडियो बनाई अरुले नै अपलोड गर्ने, जुनसुकै च्यानलमा राख्नाले आफैंलाई हेर्न लाज लाग्ने गरेको ब्यान्डका सदस्य जीवन गुरुङ बताउँछन्। “यू ट्यूबले ती च्यानललाई नै आधिकारिक मानेर हामीलाई चाहिं तेस्रो पक्ष मान्दोरहेछ”, उनको अनुभव छ, “त्यसैले आफ्नै आधिकारिक च्यानल बनाउने सोचमा छौं।”

यू ट्यूबमा अपलोड भिडियोलाई मोनिटाइजेसन (आफ्नो च्यानलमा विज्ञापन राख्ने अनुमति) गरिएपछि 'भ्युज' का आधारमा यू ट्यूबले रोयल्टी दिने गरेको छ। आफ्नो आधिकारिक च्यानल नभएका र मोनिटाइजेसन नगरेकै कारण थुप्रै कलाकार र ब्यान्ड यसबारे अनभिज्ञ छन्। उनीहरूको सिर्जनाबाट अरूले नै कमाइरहेका छन्।

“यू ट्यूबले देश–विदेशमा नेपाली गीत–संगीत सुन्न धेरै सजिलो”, गायिका मौसमी भन्छिन्, “तर, कलाकारले चाहिं राहत पाएका छैनन्।” लोक–दोहोरी गायक बद्री पंगेनी पनि यू ट्यूबले गीतको प्रचार–प्रसारमा सघाए पनि सर्जकलाई आम्दानी नदिएको बताउँछन्। “विदेशमा कलाकारले यू ट्यूबबाट राम्रै आर्जन गर्दा रहेछन्”, उनी भन्छन्, “हाम्रा गाउँ–घरतिर इन्टरनेट सुविधा राम्रो नभएकाले पनि यू ट्यूबको प्रयोग उत्साहजनक छैन।” तर, यू ट्यूब चलाउन जाने आम्दानी गर्न गाह्रो छैन। आसिफ, गिरिश, सुवानीले यू ट्यूबबाट कमाइरहेकै छन्। गिरिश यू ट्यूबबाट प्रति महीना सरदर २०० डलर (रु.२१ हजार) कमाउँछन्।

त्यसो त यू ट्यूबमा सक्रिय संग्स नेपाल, पीएनपी मिडिया च्यानलले सर्जकको अनुमतिमै उनीहरूका सिर्जना राखेको दाबी गर्छन्। संग्स नेपालका प्रबन्ध निर्देशक निरज लामा आम्दानीको केही प्रतिशत सम्बन्धित कलाकारलाई पनि दिइएको बताउँछन्। “बढी पैसा कमाउनेमा हिपहप समूह जिएक्स सोल एउटा उदाहरण हो”, लामा भन्छन्। अधिकांश संगीत कम्पनी र डिजिटल कन्टेन्ट डिस्ट्रिब्युटरले भने यू ट्यूबको आम्दानी आफैंले राख्ने गरेका छन्।


न्यायको आशा

यादव भट्टराई

निर्देशक

चलचित्र झोला

विदेशमा प्रदर्शन गर्ने भनेर दिएको चलचित्र झोला को मास्टर कपी नै यू ट्यूबमा देख्दा सातो गए झै भयो। शंका लागि 'माउन्टेन रिभर फिल्मस् कम्पनी' विरुद्ध क्षतिपूर्ति दाबीसहित प्रहरीमा उजुरी पनि दियौं। तर, दुई महीना पुग्न लाग्दा पनि केही हुनसकेको छैन। न्याय पाइने छाँटकाँट छैन।

गुगल, यू ट्यूब, फेसबूक कसैले पनि हामीलाई राम्रो व्यवहार गर्दैनन्। प्रहरीले नै सोधपुछ गर्दा समेत उताबाट गतिलो जवाफ आउँदैन। त्यसैले पनि हामीकहाँ प्रविधिको दुरुपयोग बढ्दो छ। यस्ता अपराध रोक्न सरकार गम्भीर हुनुपर्छ।

comments powered by Disqus

रमझम