३-९ माघ २०७२ | 17-23 January 2016

साहसबाट मिलेको जीवन

Share:
  
साहसको बलमा निराशाको सुरुङबाट निस्केकी निर्मला पौडेल समाजलाई नै उज्यालो बनाइरहेकी छन्।

तस्वीरहरुः विद्रोही गिरी
आफ्नै कार्यालयमा।
गैंडाकोट–८ नवलपरासीकी निर्मलाले बाबुआमाको करबलमा १४ वर्षकै उमेरमा विवाह गर्नुपर्‍यो। रोजगारीका लागि भारत आउजाउ गर्ने श्रीमान् पछिल्लो पटक साह्रै बिरामी भएर आएपछि उपचारको क्रममा रगत जँचाउँदा एचआईभी पोजेटिभ देखियो। उनले पनि काठमाडौंको टेकू अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखियो। “त्यसपछि धेरै दिन रोएर बिताएँ”, उनी भन्छिन्।

२०५६ जेठमा संक्रमित श्रीमान्को चोला उठ्यो। निर्मलाको अगाडि अँध्यारोबाहेक केही थिएन। मनमा मर्ने विचार खेलिरहन्थ्यो। त्यसको चार महीनापछि छोरो जन्मियो। जन्मिएको तीन दिनमा परीक्षण गराउँदा छोरामा एचआईभी पोजेटिभ नदेखिंदा निर्मला जीवनप्रति आशावादी बनिन्। त्यो कठिन घडीमा उनलाई त्रिनेत्र नेपाल नामक गैरसरकारी संस्थाले सहयोग गर्‍यो। उनी आफूलाई एचआईभी भएको हाकाहाकी बताउने नवलपरासीकी पहिलो व्यक्ति बनिन्। यो साहसले उनलाई बदल्दै लग्यो।

आज उनको दैनिकी निकै व्यस्त छ। कक्षा १० मा पुगेको छोरालाई बिहान १० नबज्दै स्कूल जान तयार पारेर उनी ३४ किलोमीटर पश्चिमको कावासोतीमा रहेको संस्था 'लुम्बिनी प्लस' पुग्छिन्। संस्थाले साथ–साथ र सामुदायिक स्याहार केन्द्र परियोजनामार्फत एचआईभी/एड्स विरुद्ध अभियान चलाएको छ। निर्मला दुई संस्थाका २० कर्मचारी परिचालन, बैठक, निर्देशन र स्थानीय निकायसँगको समन्वयमा दिनभर व्यस्त हुन्छिन्। तीन दिन, तीन वर्ष, पाँच वर्ष, नौ वर्ष र १४ वर्षको उमेरमा परीक्षण गराउँदा पाँचै पटक एचआईभी मुक्त देखिएका उनका छोरा राम्ररी पढिरहेका, बढिरहेका छन्।

स्वास्थ्य जाँच गराउँदै।
व्यस्तताले उनलाई विगत बिर्सन र आगतप्रति आशावादी हुन सघाएको छ। सुत्केरी हुन अस्पताल जाँदा डाक्टर–नर्सहरुको दुर्व्यवहार, घरमा छुट्टै भाँडाकुँडा, सामाजिक छिछि–दुरदुर सम्झँदा उनलाई अहिले दोस्रो जन्म लिए जस्तो लाग्छ। एचआईभी संक्रमितहरुका पक्षमा वकालत गर्न १६ वर्ष अघि 'लुम्बिनी प्लस' गठन गर्दा उनको दोस्रो जन्म भयो। उनी अध्यक्ष रहेको यो संस्थाको सम्पर्कमा अहिले २४ बालबालिकासहित नवलपरासीका ४९५ जना एचआईभी संक्रमित छन्। १६ वर्षपछि अहिलेको समाजले निर्दोषलाई पनि एचआईभी हुन सक्छ भन्ने बुझेको र संक्रमितप्रतिको व्यवहार पनि बदलिएको निर्मलाको अनुभव छ। मन बाँधेर त्रिनेत्र नेपालबाट दह्रो यात्रा थालेकी उनले यो अवधिमा माइती नेपालमा परामर्शकर्ता, सक्रिय समूह चितवनको संस्थापक अध्यक्ष र राष्ट्रिय एचआईभी/एड्स महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेकी छन्।

उनलाई २०५९ सालमा एचआईभी संक्रमितहरुको अन्तर्राष्ट्रिय सञ्जालले थाइल्याण्डमा सम्मान गर्‍यो। त्यसपछि २०६०, २०६१, २०६६, २०६८ र २०६९ मा देशभित्रै सम्मानित भइन्। उनको जीवनमा आधारित नेपाली चलचित्र पनि बनेको छ– दि निर्मला। निराशाको सुरुङबाट निस्केर समाज उज्यालो बनाइरहेकी निर्मला भन्छिन्, “दुःखमा हिम्मत राखे जीवन मिलेर जाँदो रहेछ।”

विद्रोही गिरी

comments powered by Disqus

रमझम