३-९ माघ २०७२ | 17-23 January 2016

अनुभव अभिनय

Share:
  

चलचित्र 'नाइँ नभन्नू ल' का तीनोटै भागका बालकलाकार हुन्, अनुभव रेग्मी (९)। चलचित्रमा उनको अभिनयले दर्शकको मन छोएको थियो। तर, कमैलाई थाहा छ उनी दुई दशकदेखि निर्माण नियन्त्रकका रुपमा चलचित्र क्षेत्रमा सक्रिय अरुण रेग्मी (४२) का छोरा हुन्। त्यसो त अरुण आफैंले पनि 'बाटोमुनिको फूल', 'झिग्राना', 'रेसम फिलिलि' जस्ता चलचित्रमा अभिनय गरेका छन्। तर, यतिवेला उनी छोरा अनुभवको चर्चामा मक्ख छन्। “छोराले बालखैमा मलाई उछिन्यो”, अरुण भन्छन्।
'नाइँ नभन्नू ल–४' को डबिङ सकाएर बसेकी अनुभवकी आमा कविता रेग्मी पनि कलाकार नै हुन्।


इच्छा अनेक

चलचित्र 'नोभेम्बर रेन' मा अभिनय गरेकी छुल्ठिम गुरुङले आफ्नै स्वरमा 'खसेको तारा' बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। आरजे/भीजेमार्फत कला क्षेत्रमा प्रवेश गरेकी उनी गायनमार्फत इच्छा लागेका काममा हात हालेको बताउँछिन्। भन्छिन्, “यी सबै विधाको जरा एउटै भएकाले काम गर्न समस्या भएको छैन।”

त्यसो त छुल्ठिमले सात वर्षअघि राई र तामाङ भाषाका केही गीत गाएकी थिइन्। तर, त्यो उनको परीक्षण मात्र थियो। “अहिले भने मिहिनेत गरेरै सिंगल ट्रयाक निकालेकी हुँ।” उनको यो गीतको रचना र संगीत सञ्जय चौधरीले गरेका हुन्।


ज्ञान यात्रा

रंगमञ्च हुँदै चलचित्रमा अभिनय थालेका कर्मा शाक्यलाई फुर्सद मिल्नासाथ काठमाडौं छाड्ने हतारो हुन्छ। टाढा जान नमिले साइक्लिङमा निस्कन्छन्। गत महीना उनी हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि चोलापास हुँदै सगरमाथाको आधारशिविरसम्म पुगे। कलाकारले यात्राबाट धेरै कुरा सिक्न सक्ने कर्माको बुझाइ छ। उनी भन्छन्, “हाम्रो जस्तो सांस्कृतिक विविधतापूर्ण देशमा घुम्दा कल्पना नै नगरेका कुरा थाहा पाइन्छ।” सगरमाथा र बुद्धको देश भनी गर्व गर्ने हरेक नेपालीले कम्तीमा यी दुई ठाउँ भ्रमण गर्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, “देश चिनाउने सम्पदा नजीकबाट नियाल्न जरुरी छ।”

जाङ्बु शेर्पा

comments powered by Disqus

रमझम