कृषिमा होमिंदै

Share:
  
- जीवनप्रसाद राई
नेपालभर आफ्नै सुरमा भइरहेको कृषि क्रान्तिमा कमैको आँखा परेको छ।

पर्वत कुश्मामा अल्लो कपडा उत्पादन गर्दै जसमाया पुन।
नेपाली किसानले आफ्नै सोच र बुतामा गाउँ–गाउँमा चर्चायोग्य पौरख गरिरहेका छन्, आ–आफ्नो क्षेत्रको कृषिमा उत्साहजनक परिणाम दिंदै। राजनीतिले पिरोलिरहेको बेला देशको कृषिको हाल बुझन २०६७ बाट थालेको यात्राको क्रममा ४० जिल्ला पुग्दा मैले किसानहरूको काममा सरकार जोडिनासाथ नेपाल कृषिबाटै समृद्ध मुलुक हुन धेरै समय नलाग्ने देखें। देश घुमेर गम्दा नेपाली माटोमा भोकाहरूको भुँडी भर्ने मात्र हैन, विश्वकै धनी र स्वादेहरूको चित्त बुझाउने उर्वर शक्ति भएको लाग्यो। चामलकै कुरा गर्ने हो भने यहाँ बगडादेखि वासमती र मार्सीसम्मका अनेक जात र स्वादका धान फल्छन्। फलफूल, तरकारी र माछा–मासु उत्पादनमा पनि त्यस्तै शक्ति छ, नेपालसँग।

कृषिबाट फलिफाप

नेपालमा संसारको जुनसुकै भूभागमा हुने चिजबिज उत्पादन हुन्छ। ठाउँ–ठाउँका किसानले यसमा काम पनि गरिरहेका छन्। जस्तो, कास्कीका अमृत गुरुङले जिल्लाको भुर्जुङ्ग गाउँमा फार्म खोलेर वार्षिक १५ मेटि्रक टन रेन्वो ट्राउट माछा उत्पादन गरिरहेका छन्। नौ वर्ष जापानमा कमाएको करीब डेढ करोड रुपैयाँ लगाएको त्यो फार्मलाई एउटा व्यक्तिको सोखसँग भन्दा नेपाली पहाडको २० डिग्री सेल्सियस भन्दा कम तापक्रमको सङ्लो पानीसँग जोडेर हेर्नुपर्छ, जहाँ संसारभर हातहातै बिक्री हुने जापानी रेन्वो ट्राउट हुन्छ।

गुरुङकै सिको गरेर कास्कीमा माछापुच्छ्रे, क्षेत्रद्वीप, गोगरिन, सर्दीखोला नामका ठूला ट्राउट फार्म खुलेका छन्। म्याग्दी र बाग्लुङका किसानले गुरुङकै भुर्जुङ्गस्थित गण्डकी रेन्वो ट्राउट फार्ममा तालीम लिइरहेका छन्। नुवाकोटबाट शुरू भएको ट्राउटमा ललितपुर, दोलखा, रसुवा, बाग्लुङका किसानहरू जोडिइसकेका छन्।

नेपालमा सरदर प्रतिकिलो रु.११०० पर्ने ट्राउटले कुल मागको ३० प्रतिशत मात्र धानिरहेको छ भने सिंगो दक्षिण एशियाको बजार यसैको पर्खाइमा छ। यो हेरेर सरकारले कृषि नीति बनाए नेपाल रेन्वो ट्राउट निर्यात गर्ने मुलुक बन्ने पक्का छ। डा. सूर्यप्रसाद पाण्डे अर्का उदाहरण हुन्, जसले काभ्रेको काभ्रेभन्ज्याङमा फार्म खोलेर नेपालमा किवी फलको प्रचार–प्रसार गरिरहेका छन्। भारतमा वार्षिक दुई अर्ब अमेरिकी डलरको किवी आयात भइरहेको तथ्यांकले यसमा नेपालको संभावना देखाउँछ। समुन्द्र सतहबाट ८०० देखि २००० मिटर उचाइको नेपाली पहाडका १० लाख हेक्टर जमिनमा गजबले फल्छ, किवी। अहिले २५ भन्दा बढी जिल्लाका अगुवा किसानहरूले आफ्नै सुरमा किवी खेती गरिरहेका छन्।

रामेछापको सुनारपानीका हीरालाल आचार्य (अनार बाजे) लाई भेट्दा नेपाली पहाडको फलफूल सम्भावना अझ् प्रष्ट भयो। मकै समेत राम्ररी नफल्ने ठाउँमा अनार फलाउँदै, बिरुवा हुकाउँदै गरेका अनार बाजेले समुद्र सतहबाट १४०० मिटरसम्ममा जात–जातका अनार फलाउन सकिने बताए। यसको अर्थ, नेपालको तराई, बेंसी, खोंच र मध्यपहाड अनारको भण्डार बन्न सक्छ। यो सम्भावना ठम्याएका दोलखाका शिव भण्डारी भारतबाट जिन मगाएरै राम्रो जातको अनारको बिरुवा उत्पादन गरिरहेका छन्। इलामका शम्भु राई, पोखराका नारायण पौडेल जस्ता किसान भारतबाट वर्षेनि सरदर रु.४ अर्बको अनार आयात भइरहेको सूचना लिएर काम गरिरहेका छन्।

पहाडको पौरख

व्यावसायिक रूपमा गाईपालन गरेका बाग्लुङका कृष्णप्रसाद पौडेल दैनिक रु.२२ हजारको दूध बेच्छन्।
चियाले प्रशिद्ध बनाएको पर्यटकीय जिल्ला इलाममा दूध, अदुवा, अमि्रसो, अलैंची, अकवरेपछि अहिले स्टेभिया, गोलभेडाको खेती असाध्यै बढेको छ। पाँचथरमा पनि नयाँ प्रविधिबाट अर्थोडक्स चिया उत्पादन र बजार व्यवस्थापनको काम थालिएको छ। अलैंची र अमि्रसो निर्यात गर्ने प्रमुखमध्येको पाँचथर अर्ग्यानिक उत्पादनमा पनि निकै अगाडि छ। ताप्लेजुङको शनिबारे हाट फुङलिङमा एकै दिन रु.२० लाखभन्दा बढीको कृषि उपजको कारोबार हुँदोरहेछ। गत साउनमा दोलखा पुग्दा अनार, किवी र रेन्वो ट्राउटमा उदाहरणीय बन्न लागेको देखियो। यहाँका त नेताहरू नै कृषि प्रतिस्पर्धामा रहेछन्।

सिन्धुपाल्चोक र काभ्रेपलान्चोकले तरकारी उत्पादनमा अग्रता कायमै राखेका छन्। मकवानपुरका पालुङ र भीमफेदीले तरकारीमा प्रशिद्धि यथावत् राखेको रहेछ। नेपालमा बाह्रैमास गुणस्तरीय गाँजर उत्पादनको लागि भीमफेदी माथिको क्षेत्र विशेष मानिन्छ। नेपाली स्रोतसाधनबाट बनेको स्याफ्रुबेसीस्थित २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना पुग्दा जो–कोही नेपालीलाई गर्व लाग्छ नै। चिराइतोमा अग्रणी रसुवा पानी, जलविद्युत्, पर्यटन र पशुपालन (दुग्ध पदार्थ र मासु) को पनि भण्डार हो। २०६९ वैशाखमा ओखलढुंगा पुग्दा धनकुटाको पाख्रीवास कृषि केन्द्रले कृषकहरूलाई सिफारिस गरेको ओख्ले– १, ओख्ले– २ जस्ता कोदो ओखलढुंगाकै रैथाने रहेको थाहा पाएँ।

पहिला खोटाङलाई नामुद बनाएको कोकोटी (खाँडी)का लागि चाहिने रातो कपास ओखलढुंगाको दियाले गाविसमा संरक्षित रहेछ। यसको व्यावसायिक उत्पादनबारे छलफल गर्दा मैले तेह्रथुममा ढाका उत्पादक लज्जावती सुब्बा र गंगा पराजुली अनि पर्वत, कुश्माकी अल्लो शिल्पी जसमाया पुनहरूको सीप सम्झें। पर्यटनमा नामी हिमाली जिल्ला सोलुखुम्बुमा अर्ग्यानिक तरकारी क्रान्ति हेर्न पाइयो। रूख गोलभेडा (भेडे) को ठूलो खेती मैले पहिलो पल्ट सोलुमै देखें। र, यो पौरखलाई निर्यातको अवस्थामा पुर्‍याउँदा दक्षिण एशियाली बजारमा छुट्टै भाउ पाउने पक्का छ। अर्ग्यानिकको प्रसंगमा धादिङको नलाङ गाविसको महलाई बिर्सन सकिन्न, जहाँका केशव अर्यालहरू ठूलो स्तरको मौरी पालनमा लागेका छन्।

हिमालपारिको मुस्ताङमा एक्लैले रु.८० लाखसम्मको स्याउ फलाएका किसानहरूसँग साक्षात्कार गर्न पाइयो। पर्यटन र कृषिमा फड्को मार्ने तयारी गरिरहेको बाग्लुङमा कृष्णप्रसाद पौडेलले दैनिक रु.२२ हजारको दूध मात्र बेच्दा रहेछन्। बाग्लुङमै गंगा थापाले सिताके च्याउ र वामदेव रिजालले किवी खेती थालेका रहेछन्। पर्वतको मुडिकुवाका थानेश्वर भुसालको लप्सी खेतीलाई ३४ गाविसले पछ्याइरहेको छ। स्याङ्जाको जगत भञ्ज्याङमा विदेश निर्यातको लागि कफी उत्पादन भइरहेको छ भने फेदीखोला र त्रियासीमा ठूलो मात्रामा गोलभेडा खेती भइरहेको छ।

इलाम फिक्कलको एक किसान परिवार ।
धनकुटाको खुवाफोक गाविसका वीरेन्द्र याक्खाले एभोकाडोको व्यावसायिक खेती थालेका छन्। जडीबुटी, ट्राउट, चौंरी र भेडाको ठूलो सम्भावना बोकेको संखुवासभामा एकै जनाले लाखौं रुपैयाँको अलैंची बेच्न थालेका छन्। भोजपुरको गोगनेमा भूमि नेपालले कागती खेती थालेका रहेछन्। नेपालमा वर्षेनि रु.१ अर्बको कागती आयात भइरहेको अवस्थामा भोजपुरमा उमेश श्रेष्ठले पनि पाँच हजार रोपनीमा कागती लगाउने योजना अगाडि बढाएका छन्।

तराईको सम्भावना

हिमाल जडीबुटी, मणिमाणिक्य, पर्यटन, पशुपालन र पानीको खानी हो भने तराईको फाँट न्यानो हावापानी अन्न, फलफूल तथा मासुजन्य पशुपालनको भण्डार हो। तराईमा खेती भइरहेको आवादी बाहेक नदी कटान क्षेत्रमा लाखौं हेक्टर उर्वर जमिन छ। वर्षको नौ महीना बगर रहने यो जमिनको असल व्यवस्थापन गर्ने हो भने त्यहाँ केरा, मेवा, आँप, अनार, काजु, लिची, पाउलोनिया आदि खेतीबाट लाखौं किसानले खर्बौं आर्जन गर्न सक्छन्। अनि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा आदि जिल्लाका नदी कटान क्षेत्रमा सुकुम्बासी भनिएका हजारौं परिवारलाई आत्मनिर्भर बनाउन सकिन्छ।

तराईमा जस्तो फलफूल, पिंडालु, बेसार आदिको खेती अरू ठाउँमा हुँदैन। तीनतले खेती तराईको अर्को विशेषता हो। तीनतले भनेको नरिवल मुनि आँप वा लिची र त्यसमुनि बेसार वा पिंडालु खेती गर्नु हो। बंगुर, बंगुर मुनि हाँस र हाँसमुनि माछापालन पनि तीनतले खेती नै हो। म पुगेका तराईका जिल्लामा नहुने केही देखिनँ। यसमा पनि बारा–पर्सामा मेवा, धनुषा–महोत्तरीमा माछा, मोरङ–सुनसरीमा बंगुर, झ्ापामा मसला, सप्तरीमा आँप, सिरहामा केरा, सर्लाहीमा बेसार खेतीको अपार सम्भावना छ र त्यही अनुसार काम पनि भइरहेको छ।

यस्ता सम्भावनाहरू हेर्दै र पौरखी किसानहरूलाई भेट्दै देशको सम्वल ठम्याउँदा यस्तो लाग्छ, हामी नेपाली त्यो कस्तूरी हौं जो आफ्नै शरीरमा भएको बिनाको खोजीमा भौंतारिरहन्छ अथवा त्यो हनुमान हौं जसको शक्तिबारे अरूले भनिदिनुपर्छ।

comments powered by Disqus

रमझम