१०-१६ माघ २०७२ | 24-30 January 2016

यङ्ग हज्वेण्ड मिसन

Share:
  
- ज्ञानमणि नेपाल
कर्णेल यङ्ग हज्वेण्ड धेरै देशमा बसेका अनुभवी भए पनि तिब्बत मिसनमा असफल भए।

लर्ड कर्जन ब्रिटिश–भारतमा वायसराय भएर आएपछि तिब्बतसँग व्यापार सन्धि गर्ने विषयले तीव्रता पायो। खूबै कूटनीतिक काम गरेका कट्टरपन्थी विस्तारवादी भएको हुँदा यिनले भारतलाई कमजोर पार्न हिन्दू–मुस्लिम मतभेदलाई पनि बढावा दिंदै थिए। चीनको सन्धिको आडमा तिब्बतसँग व्यापार सन्धि गर्न यङ्ग हज्वेण्डको नेतृत्वमा एक मिसन सुखिमतिरबाट नाथुला नाकाहुँदै खामाजुङ्ग कब्जा गर्न पुगेको थियो।

त्यहाँबाट भोटमा पत्राचार गर्दा र नेपालका महाराज चन्द्रशमशेरमार्फत सम्झ्ाउँदा पनि लामाहरूले टेरेका थिएनन्। त्यसपछि खामाजुङ्गबाट अघि बढेर चुम्बीघाँटी कब्जा गर्न पुगेको यङ्ग हज्वेण्डको दल हिउँदभर त्यहीं बसेर न्यानो मौसम लागेपछि अझ् अगाडि ग्याञ्ची पुगेर बसेको थियो। उनको दल अघि बढ्ने क्रममा प्रतिरोध हुँदा ३०० भोटे मारिएका र २०० कैद भएका थिए।

ब्रिटिशको बारम्बारको अनुरोध पछि चन्द्रशमशेरले भारी बोक्नलाई चौंरी र धपाउने गोठाला दिंदै आएका थिए। पहिले २२ सय कुल्ली र गोठाला पठाइसकेकोमा फेरि पाँच सयको माग भइरहेको थियो। कति चौंरी बाटैमा मर्थे भने गोठालाहरू पनि भाग्दथे। भाग्नेलाई पक्रेर सजाय दिइन्थ्यो। चन्द्रशमशेरले मित्रराष्ट्र तिब्बत विरुद्ध अंग्रेजले मागेको सैनिक सहायता प्रत्यक्ष नभई घुमाउरो पाराले दिन इलाम ब्यारेकका केही सैनिकलाई दोर्जेलिङको बाटो पठाउने वचन दिएका थिए। नेपालसँग रासनपानी पनि मागिएकोले होला 'यसपालि अन्न महँगो भो, सस्तो होस्' भन्ने प्रसंग भेटिन्छ। सैनिक कारबाहीभन्दा नेपालका महाराजका तर्फबाट समेत भोटलाई वार्ताद्वारा सम्झाएर सन्धि गराउनेमा यङ्ग हज्वेण्डको जोड थियो।

भोट भने अंग्रेजसँग कुनै हालतमा सन्धि नगर्ने र आफूहरूको मञ्जुरी बेगरको अंग्रेज–चीन सन्धि मान्न कर नलाग्ने अड्डी कसेर बसेका थिए। यसमा रेजिडेन्टले 'भोटेहरू मूर्ख रहेछन्, यस्तो बेबकुफ भएर युद्ध गर्न तम्सिएका छन्, ब्रिटिश शक्तिलाई आँक्नै सकेनन्' भनेका थिए। अनि ब्रिटिश मिसन सैनिक कारबाही गरेर ल्हासा पुग्ने तयारीमा लाग्यो। रेजिडेन्टले तिब्बत कब्जा भए केरुङ्गको केही जमीन नेपाललाई दिने आशा देखाएका थिए। ब्रिटिशहरूले युद्ध तालीमका लागि केही सैनिक अफिसर यहाँ पठाएका थिए। महाराजालाई खुशी पार्न उपहार पनि ल्याइदिन्थे।

ल्हासामा चीनका दुई जना बडा र छोटा प्रतिनिधि (अम्बा) रहन्थे। तीमध्ये फिर्ता हुन लागेका एक जनालाई लामाहरूले रोकेर राखेका थिए। चिनियाँ प्रतिनिधिको सल्लाह विना लामाहरू डेग चल्दैनथे। चीनको उपहार लिएर काठमाडौं आएका प्रतिनिधिसाथ दलाई लामाको तर्फबाट पनि उपहार लिएर एक ढेवा (सुब्बा) आएका थिए। तिनलाई पनि के पर्छ कसो पर्छ भनेर यतै रोकेर राखिएको थियो। चन्द्रशमशेरले दलाई लामालाई सम्झ्ाएर पत्र पठाएका थिए।

भोटेहरू पनि के कम, उनीहरूले 'फिरङ्गीहरूलाई मार्‍यौं, लौ हेर' भनेर आफ्ना मान्छेलाई उक्साउन केही टाउका र हातगोडा दिगर्चामा प्रदर्शन गरेका थिए। यङ्ग हज्वेण्डको मिसनलाई पनि दुःख दिएर टिकिनसक्नु बनाएका थिए। यसरी वार्ताद्वारा सन्धि नहुने भएपछि उनी चुम्बी फर्किएका थिए। यिनले नेपाली वकीलले गरे जति काम गरिदिएको भए पहिल्यै ल्हासा पुगिसकिन्थ्यो भन्ने रेजिडेन्टको राय थियो। जे भए पनि अब सैनिक अभियान नै शुरू हुनेभयो। इलामका नेपाली सिपाहीलाई पनि तयारी अवस्थामा राख्न अनुरोध गरियो।


महँगो अनाज

३१ मार्च १९०४

रेजिडेन्ट– अनाज बहुत महंगो भयो. महाराजबाट के बन्दोबस्त गरी बक्सियो.

कप्तान अष्टमान– अनाज साह्रै महंगो भयेको छैन. पोर्साल रुपयांको ४ सेर भयेको थियो, अैले ६ सेर दियेको छ. अैले पानि पर्न नसकेको हुनाले केही महंगो छ. पानि परेपछि सस्तो भयेर आउंछ.

क– भोलि माहाराजबाट ४ बजे तपायीसंग मुलाकात गरिबक्सने छ. ३।३० बजे म बगी यंहा पुर्‍याइदिनेछु.

रे– हुन्छ. लंग बन्दुक १ नाल औ ५० कार्तोस माहाराजको मैले ल्यायाको छ. मिष्टर जोन्सले चढाइ पठायेको १ कुकुर पनि लगी दिनुहोस्.
क– हुन्छ.

रे– आज नयां टेलिग्राम केही आयेको छैन. आर्को महिनामा ग्याञ्चीमा मिसन् बढ्नेछ.

क– नयाँ अम्बासंग मुलाकात गर्नालाई हो कि.

रे– आयो भने भेट्ने. अम्बाले भनेको भोटेहरू मान्दैनन्. हामीलाई हम्ला गर्‍ये भने निउं पारेर हामीले पनि मेशीनगन्हरू छोडी मार्नाका लागि होइन्. तमासाको निम्ति फायेर गर्नुहुन्थ्यो.

भोटे मूर्ख हुन्

४ अप्रैल १९०४

क– तपायीले हिजो पठाइदिनु भयेको तार माहाराजबाट नजर भै तपायीलाई थांक दिनु भन्ने हुकुम् भयेको छ. इ भोटेहरू बडो मुर्ख रहेछन्, यस्तो बैकुफी काम् गरे भन्ने हुकुम् भो.

रे– मुर्ख हुन् भोटेहरू. ३०० मारिये २०० कैद भये औ भोटेहरूसंग रसीयाको निसान् भयेको बन्दूक रहेछ. लार्ड कर्जन्ले जानीकन मिशन् पठाये. रुस्ले आटीसक्येको बुझियो.

भोट अभियानमा कुल्ली र चौंरी पठाएको बारे

२४ मे १९०४

रे– लाठ्साहेबलाई तार आयो. टिवेटको कारवाई खतम् नभै मइसुर जानुहुँदैन. यहीं नेपाल् बस्नु भन्ने लेखिआयो. जाने भइन.

क– खबर सुन्दा बहुत् खुशी लाग्यो.

२६ मे ५ बार

क– टिबेट मिशन्लाई दर्बारबाट भनी भै गयेको चवरी हाक्ने र कुलिहरू भागेकामध्ये चवरी हाक्ने ९ जना र कुलि ४ जना पक्रियो. ३ जना सिकिस्त बेरामी भयेको छ. इनिहरू सबै इलाम जेलखानामा छ. फेहरिस्त बमोजीम् लुगाहरू पाइयेको हुनाले दार्जलिंगका डियुटी कमिश्नरछेउ बुझाइदिनु भन्ने इलामका हाकिमलाई हुकुम गयो. ति मानिसहरूलाई चोरीको र हुकुम नमानेको दुइ सजाय दिनु भन्ने इलाम्को हाकिम्लाई हुकुम गयो. बृटिशमा भर्ना भयेको भगुवाहरूलाई चोरीको मात्र सजाये दिनु भन्ने भयो.

रे– पकडियो बेस् भयो. दार्जिलिंगमा डियुटी कमिश्नरलाई लेखी पठाइदिउंला.

३० मे २ बार

रे– भोटेहरूले बृटिश सरकार येस्तो छ भनी जान्न सकेन. ल्हासा नगै नहुने भो. वाहा पुगी घा भयेमा ल्हासा देस्मा जानलाई अंग्रेजहरू रोक्टोक् नभै जाहातही सरासर जान हुने घा हुनेछ. नेपाल अब अघि झ्ैं होइन, भारि लेखाको मुलुक भयो. हामीले ल्हासाको केही टुक्रा दखल् गरी तिनीहरूलाई केरुं दियें भने खुशी होलाउ.

क– केरुं यस्तो छ भनी मलाई थाहा नभयेको हुनाले यस्तै हो भनी साहेबसंग भन्न सक्दीन.

२७ जुन

रे– यहाबाट चीन जाने बाटोको वास दिउंला भनी माहाराजबाट हुकुम भयेको छ भनी मरीचमान सुवाले भन्थ्यो होइन.

क– अंग्रेजीमा उल्था हुदैछ, तयार भयेको छैन.

२ जुन ५ वार

क– टिबेटका मिशन्लाई फेरी ५०० जवान कुलि चाँडो चाहियो, नेपाल दरबारबाट बन्दोबस्त हुन सक्ला की भनी तपायीले लेखी पठाउनु भयेको रहीछ. माहाराजबाट साहेब्संग सोध्नु भनि हुकुम् भयेको छ. कैलेलाई चाहिने. २७ दिन नभै ५०० कुली पुर्‍याउन सकीने देखिन्न. यहाबाट चिठि इलाम पुग्नालाई ६ दिन लाग्छ. १५ दिन कुलि जमा गर्नालाई लाग्छ. फेरी धनकुटाबाट कुलिहरू दार्जलिंग लगी बुझ्ाउनालाई ७ दिन जति लाग्छ. इतिन्ज्यालसम्मलाई हुन्छ भने इलाम्लाई हुकुम् पठाइबक्सिनेछ. अघि पनि पटक पटक् गरी कुली १६०० जवान् र चवरी हाक्ने ६०० जवान् गरी २२०० जवान् यंहाबाट गै सकेको छ. महाराजालाई जवाव के दिउं?

रे– जाहासम्म चांडो जमा हुन सक्छ भनी तार आयाको हो. कुलि ज्मा गर्नालाई येति दुःख हुन्छ भनी इन्डिया गभर्मेन्टलाई थाहा छ. २७ दिनमा दार्जलिंग पुगे हुन्छ.

३ जुन ६ वार

क– २७ दिनभित्र कुलि ५०० दार्जीलिंगमा पुर्‍याइदिनु भन्ने हुकुम् जरुरि डाक्बाट हिजै पठाइबक्सियो. साहेब्को चिठिको जवाव् पनि माहाराजबाट लेखी बक्सनु हुनेछ.

रे– माहाराजलाई मेरो बहुत सलाम बोली दिनु. अटाक् सिकाउनालाई हाम्रो येस्कर्टहरू हरसिचिति (सिद्धि) तिर भोलि पठाउनुको इरादा छ. येस्मा केही इतराज् छ की.

क– येतराज हुनु पर्दैन. तैपनि भोलि साहेबलाई इतलाये दिउंला.

७ जुन

क– ल्हासा बस्ने अघिल्लो अम्बा ल्हासामै छ भनि तपायींले भन्नु भो तर अघि हाम्रो रेफ्रिजिन्टेटिभले ल्हासाबाट जानालाई तयारी गर्न लागेको छ भनी लेखेको र जान्छ भनेको गयेन भनी फेरी नलेखेको हुनाले ल्हसाबाट गै सकेको बुझिन्छ भनी माहाराजबाट साहेबलई सुनाउनु भनि हुकुम् भयेको छ.

रे– ल्हासाबाट यौटा बेपारि दार्जीलिंगमा आयाको उसंग जिरह गरी सोधपुछ गर्दा अंबालाई जान दियेनन् वही छन् भनी नीज्ले भनेको हो. तर माहाराजबाट भन्नु भयेको ठीक् होला.

क– यहा आयेका चिनियाहरूसाथ अघिको रीतवमेजीम् झोगयोंग (ढेवा) लाई प्रेजेंटसाथ यौटा चिठी दलाई लामाले पठायाको तेस्को जवाव अझ् गयेको छैन. इनिहरू फिरेमा पठाउने हिसाव थियो इनिहरूलाई अैले होस्टेजको हिसाबसंग यही थामी डांक्बाट दलाइ लामालाई नसीहत् दियेर यौटा चिठी पठाइबक्सन आटीबक्सेको छ. तयार भयेपछि साहेबलाई देखाउनलाई माहाराजबाट पठाइबक्सनेछ.

रे– मलाई ल्हासा जाने चिठी देखाउन पठाउनु माहाराजको बहुत् ठूलो मेहेरवानी हो. दलाई लामालाई नसीहत पठाउनु असल हो. तर नसीहत लेलान् भन्ने मलाई लाग्दैन. ई भोटेहरू बहूतै खराब् रहेछन्. अैले इनिहरूले हाम्रो कुरा सुनेनन् त ल्हासा पुगेपछी सुन्लान्. इनिहरूको बुधि कति रहेनछ. उनीहरूको ढेवा नेपालमा छ. उनीहरूके वकील मारी दिये ढेवालाई पनि मार्नेछन् भन्ने उनीहरूको जेहनैमा चढोवैन.

क– तिमीहरूले अैले के गर्नुपर्छ भने आफु इलाम्को फौज तयार राख्नुपर्छ. असल हतियार गोली गाठा गयेकै छ. कपडा लता उनीहरूलाई तयारै होला. रसद ज्मा नहुने देखदीन. भरियालाई १० हजार चाहिये पनि ज्मा तुरुन्त गर्न सक्छौ भने केही गरी रेफ्जेंटेटिभ मारीदियो भने हाम्रो फौज अैले तयार छैन तयार भये पछि मात्र तिमिहरूसंग लडौला भनी रुस्ले भने झैं भन्नुहुन्छ दोसाध्मा छानिछानि मान्छे राख्नुपर्छ. परिआउनासाथ फौज बढाउने तम्तयारी राख्नुपर्छ.

रे– दलाई लामालाई लेखी बक्सेको चिठि बडो मुनासीव छ. इन्डीया गभर्मेन्टले यो चिठिको बहुत खातीर गर्नेछन्.

९ जुन

रे– भोटेहरूले वृटिशको यो जोर छ भनी थाहा पाउंदैन. अब रेन्फोर्समेट पनि बराबर पुग्न लाग्यो. जुनको १५ तारिख्मा बढेर ल्हासा जानेछन् अनी कसो रोक्दो रहेछ. हेरु टैगा तयार हुन लाग्यो भनी शाहारनपुरबाट लेखीआयो. यां ल्याउने हो की कसो गर्ने हो.

क– वीरगंजमा जेनरल दुर्गा शंशेर्को केयरमा पठाये हुन्छ भनी हुकुम भयेको छ. अैले वर्षादमा यंहा आउनु सक्दैन.

रे– च्यामे जोडपोइ केही खवर नदी यंहाबाट भाग्यो. तिनीहरूलाई पक्राउ गर्नुपर्छ कोडा हानि पठाइदिनु.

क– पक्रि सोही बमोजिम् गरी पठाउंला.

१७ जुन फाइडे

रे– भोटेहरूले ग्याञ्चीमा दुख दिदैछन. कर्णेल यंङ्गहजवेंड चुम्बीमा फर्के. किनभने मिशन्को सुलहको काम् हुने संभव छन्ज्याल बसे मिशन्को काम् नहुने भो. मिलिटरि अपरेशन्को काम् मात्र हुनाले उनि फर्केका हुन्.

१८ जुन सेटर्डे

क– अंगरे्जको हो भनी टाउको १ र हातहरू डिगर्चामा वांस्मा लड्काई राखेको छ. अंगरेज्को टाउको हो भनी डिगर्चाबाट महाराजालाई लेखी आयाको हुनाले साहेबलाई सुनायेको हुं.

रे– कर्णेल यङ्गहजव्याण्ड म््नचुरिया औ धेरै ठाउंमा घुमेको छ तापनि अरु अरु पोलिटिकैल् येजेंटले गरेजति काम पनि गर्न सकेनन्. माहाराजबाट टिवेटको बारेमा जति इन्फर्मेश्न पठाइबक्सेको छ सब् ठीक्ठीक् हो. सोही बमोजीम् कर्णेल यङ्ग हजव्याण्डले गरीदियेको भये तक्लीफै नभै अैले हामी ल्हासा पुगी सक्ने थियें.

क– भोटेहरूले खुब् छकाये.

comments powered by Disqus

रमझम