१०-१६ माघ २०७२ | 24-30 January 2016

नाकाबन्दीपछिको काम

Share:
  
- शेखर खरेल
ढिलोचाँडो नाकाबन्दी सिर्जित नेपाल–भारत सम्बन्ध सुधार भए पनि नेपालीबीच देखिएको अविश्वासको खाडल पुर्नु नै अबको चुनौती हुनेछ

भानु भट्टराई
नाकाबन्दीका तीन पक्ष मधेशी मोर्चा, नेपाल सरकार र भारत अब आपसमा दबाब बनाइराख्ने अवस्थामा छैनन्। नाकाबन्दीमार्फत राजधानीको 'दाल गलाउन' लागिपरेको मोर्चा स्वयं पाकेको आप झैं गलिसकेको छ। मोर्चाको लाज बचाउँदै आएको भारतलाई अन्तर्राष्ट्रिय मञ्च र भारतभित्रै पनि आफ्नो लाज जोगाउन हम्मेहम्मे परिरहेको छ। यता, भारतसँग मरिगए नझुक्ने ओली सरकारको 'माक फुइँ' (ओलीले बारम्बार प्रयोग गरिरहने नेवारी तुक्का, जसको अर्थ हुन्छ 'बाँदरे फुइँ') सत्तारोहणको १०० दिन पुग्दै गर्दा राजेन्द्र महतोलाई दिल्लीबाट बालुवाटार निम्तासँगै तुहिएको छ। यी तीनै पक्षका आरोह र अवरोहको यात्रालाई संभवतः कवि टीएस एलियटको 'दि हलो म्यान' कविताको हरफ 'नट विथ अ ब्याङ्ग वट अ ह्विम्पर' (गर्जन होइन सुस्केरा) बाट राम्ररी अर्थ्याउन सकिन्छ।

तीन ठूला दलहरू व्यवस्थापिका संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव मोर्चाको अनुकूलता बमोजिम अघि बढाउन वा फेर्न सिद्धान्ततः सहमत भइसकेकाले नाकाबन्दीको नाटक चाँडै नै 'ट्वीस्ट' हुनेछ। संभवतः नाका खुलेपछि प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमणमा निस्कने छन्। दुवै देशका सरकारप्रमुखहरूले सम्बन्धका मीठा र फूलबुट्टे कुरा गर्नेछन्। केही सम्झ्ौतामा हस्ताक्षर हुनेछ। अनि हाम्रा प्रधानमन्त्रीले कुनै तुक्काको सहारामा भ्रमणलाई ऐतिहासिक भन्नेछन्।

त्यसपछि प्राविधिक रूपले नेपाल–भारतबीचका अप्ठेराका गाँठा फुस्किएलान्। तर, नाकाबन्दीको नाममा करोडौं नेपालीको मनमा परेको गाँठो फुस्किन वर्षौं कुनुपर्नेछ। २०२७ र २०४५ सालमा भारतीय नाकाबन्दी देखेको पुस्ताका लागि छिमेकीमाथिको मिचाहा प्रवृत्ति कुनै आश्चर्य नलाग्न सक्छ। तर, २०७२ को नाकाबन्दी देख्ने नयाँ पुस्ता (जो आफूलाई वैश्विक मञ्चको नागरिक ठान्छ) का लागि भारत सर्वथा शंकाको छिमेकी रहिरहनेछ। नाकाबन्दीका कारण अभाव र हिउँदको कठ्यांग्रिने चिसोको कहर भोग्न बाध्य सामान्य नरनारी र भूकम्पपीडितका आँखामा भारत परपीडक छिमेकी रहिरहनेछ। तर, नाकाबन्दीको नाममा नेपालीबीचको विभाजन रेखा कोर्ने प्रयासविरुद्ध लड्नु नै सबैभन्दा ठूलो चुनौती हुनेछ।

निर्विकल्प सद्भाव

मेरा एक मित्रलाई उनका छोराले सुनाएको प्रसंगबाट म नराम्ररी झ्स्किएँ। कक्षा २ मा पढ्ने छोराले एक दिन भनेछ, “बाबा, हाम्रो देशलाई नाकाबन्दी गर्ने को हो भन्ने मैले पत्ता लगाएँ, त्यो त हाम्रै क्लासको यादवले गरेको रै'छ।” जिब्रो चपाइरहनुपर्दैन, उनको छोराको टिप्पणी धेरै पहाडियाको मधेशीप्रतिको दृष्टिकोण हो। मोर्चाको आन्दोलनका दौरान त्यसका अगुवाले सबैभन्दा बढी विषवमन पहाडिया खसमाथि गरे। पहाडिया शासकले मधेशीमाथि उत्पीडन गर्दै आइरहेको र मधेश नेपालभित्रकै एउटा उपनिवेश हो भन्ने दलिल पेश मात्र गरेनन्, नयाँ संविधानले मधेशीलाई अनागरिक बनाउने ठोकुवासम्म गरे।

दुर्भाग्यवश; यो समूह आफ्नो मिसनमा सफल देखिएको छ, जसको अभीष्ट नै देशका जात–जाति र समुदायबीच विग्रह ल्याउनु हो। गत वर्षको मंसीरमा कुनै अज्ञात व्यक्तिले काठमाडौंमा जनकपुरकी रितु महासेठ नामकी २० वर्षीया किशोरीको हत्या गर्‍यो। मधेशी जनताको नाम भजाएर राजनीति गर्ने त्यसै समूहले काठमाडौंमा मधेशी मूलका नागरिक असुरक्षित रहेको भन्दै वक्तव्य जारी गर्‍यो। अनुसन्धानबाट खुल्यो, रितुका हत्यारा उनलाई एकोहोरो प्रेम गर्ने विमलेशप्रसाद यादव रहेछन्।
पानी धमिलिएको यो क्षणमा कुनै पनि धर्म, आस्था, जातीयता वा भूगोलको नेपालीले अर्को नेपालीप्रति सद्भाव र सहयोग राख्नुको विकल्प छैन। जस्तो सद्भाव सप्तकोशीमा बाढी आउँदा पहाडीले र पहाडमा भूकम्प जाँदा मधेशीले दर्शाएका थिए।

comments powered by Disqus

रमझम