१०-१६ माघ २०७२ | 24-30 January 2016

मोफसलका श्रीखण्ड

Share:
  
- जीवनप्रसाद राई
हाम्रा नीतिनिर्माताले गाउँका जाँगरिला किसानको आवश्यकतालाई केन्द्रमा राख्ने हो भने देशको मुहार फेरिन धेरै वर्ष लाग्ने थिएन।

धेरै पहिले भारतमा काम गर्ने कुनै गाउँलेले प्यूठानको दाखाकौडीमा सेतो चन्दनको बिरुवा ल्याएर रोपेछन्। बिरुवा निकै सप्रिएछ र बेस्सरी फलेछ। चन्दनको फल चराले खुबै मन पराउने रहेछ। चराले बीउ छरेर केही दशकमै वरपरका पाखाहरूमा चन्दनको बाक्लो वन बनेछ। वन बढेपछि फाइदै फाइदा– गाउँलेले गाईभैंसी बाँध्ने किला र बाख्राको टाट्नोदेखि खुर्पाको बिंडसम्म चन्दनकै बनाएछन्।

केही समय पछि वनबाट काठ चोरी हुन थालेपछि भने गाउँले सजग बनेछन्। बुझदै जाँदा त्यो खुर्पाको बिंड बनाउने काठ नभई श्रीखण्ड भएको बुझेछन्, तर वन त्यतिञ्जेलसम्म सकिइसकेछ। २०६६ सालतिर राजदेव यादव जिल्ला वन अधिकृत भएर प्यूठान पुगेपछि भने श्रीखण्डको वन जोगाउने अभियान शुरू भएछ। अहिले त्यहाँ करीब २०० रोपनीमा श्रीखण्डवनको जंगल फैलिएको छ भने निजी वन बनाउने पनि बढेका छन्।
निजीतर्फका अगुवा गिरुप्रसाद शर्माका अनुसार, १४ किलो श्रीखण्डको चुरोबाट निस्कने १ लीटर तेल नेपालमै पनि रु.३ लाखमा बिक्छ। तेल निकालिसकेको काठले पनि राम्रै मूल्य पाउँछ। नेपालको हिमाली क्षेत्रबाहेक सबैतिर श्रीखण्ड सप्रने उनी बताउँछन्। वर्षौंको खोजीनिती र कामबाट श्रीखण्डविज्ञ बनेका ६३ वर्षीय गिरुप्रसाद शर्मा भन्छन्, “लगानीका साथ काम गर्ने हो भने यो डलरको बोट बन्छ।”

यो पंक्तिकारले पाँच वर्ष नेपालको हिमाल, पहाड र तराई घुम्दा अनेकौं गिरुप्रसादहरू भेटेको छ, जो राजनीतिको थारो चिन्ताबाट टाढै बसेर देशभर डलरको बोट हुर्काउन तल्लीन छन्। सिंहदरबारका लागि खुर्पाको बिंड सरह भएका उनीहरूलाई चिन्ता छ त केवल दिन–रात पसिना सिंचेको काममा राजनीतिक घूनपुतली नलागोस्। गत साउन–भदौमा ३५ दिन दाङ, प्यूठान र रोल्पा घुम्दा कसैको मुख नताकी कर्म गरिरहेका अरू थुप्रै किसान र कृषि उद्यमीहरूलाई भेट्न पाइयो।

माधव केसी

तस्वीरहरुः जीवनप्रसाद राई
माधव केसी

दाङका माधव केसीले २०६० सालमा चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी गरेर दुई वर्ष अरूको मौरी फार्ममा व्यावहारिक ज्ञान सिकेर आफ्नै व्यवसाय शुरू गरे। त्यसको एक दशकमा उनी देशकै अब्बल मौरी व्यवसायी बनेका छन्। दाङको तुलसीपुर एअरपोर्ट नजिकै रहेको उनको प्राकृतिक मह उत्पादन तथा मौरी फार्ममा वार्षिक १२ टन मह उत्पादन हुन्छ। यो फार्मको विशेषता चाहिं रानो उत्पादन हो। “यूरोपमा एउटा राम्रो रानोलाई दुई हजार स्टर्लिङ पाउण्ड पर्छ”, माधव भन्छन्, “म यहाँ नेरु ११०० मा बेचिरहेको छु।”

नेपालमा मौरीकै रानो उत्पादन आफैंमा नयाँ कुरा हो। 'ग्लोबल वार्मिङ', डढेलो, विषादी आदि कारणले पृथ्वीमै मौरीको संख्या खाद्य सुरक्षामै असर पर्ने गरी घट्दै गएकोले रानो उत्पादन अत्यावश्यक भएको माधव बताउँछन्। चार जनालाई रोजगारी दिएका माधवले साना तथा मझ्ौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) को आर्थिक सहयोग बाहेक सरकारी निकायबाट भरथेग पाएका छैनन्।

कृष्ण पुन मगर

कृष्ण पुन मगर

वन विज्ञानमा आईएस्सी र राजनीतिशास्त्रका एमए कृष्ण पुन मगर नेपाल सरकारको खरिदार तहका कर्मचारी हुन्। सल्यानको कपुरकोटस्थित वनस्पति विभागको उद्यानमा दिनरात खटिरहेका उनी ३०० भन्दा बढी प्रजातिका वनस्पतिको रेखदेखमा जुटेका छन्। झ्ट्ट हेर्दा यो उनको जागीर हो, तर यसमा उनले पूरा दिल–दिमाग लगाएका छन्। साउने झ्रीमा दिनभर कृष्णको काम हेर्दै र कुरा सुन्दै डुल्दा नेपालगञ्ज घर भएका उनीलाई किन 'जडीबुटी म्यान' भनियो भन्ने कुरा स्पष्ट भयो।
सयौं किसिमका जडीबुटीको फरर्र नाम भन्ने र तिनको विशेषता चिन्ने ४३ वर्षीय कृष्णले नेपालमा जडीबुटी कृषकले राम्रो मूल्य र उपभोक्ताले शुद्ध वस्तु नपाउने समस्या रहेको सुनाए। “बीचमा टोले दादादेखि विचौलिया र सिन्डिकेटसम्म छ, जो मूल्य बढाउनेदेखि मिसावटसम्म गर्न भ्याउँछन्”, उनी भन्छन्, “यो विकृति नियन्त्रण नगरी देशमा जडीबुटी खेतीको विकास हुँदैन।”

दीपक केसी

दीपक केसी

विज्ञानमा स्नातक दीपक केसीले २०६९ सालबाट दाङको घोराहीमा अक्वारियमको काम थाले। भारत, थाइल्याण्ड, चीन, जापान आदि मुलुकबाट ल्याइएको जिउँदो माछा पाल्ने चलन बढेको देखेपछि उनले स्थानीय खोलानालाका माछाहरू संकलन गरेर अक्वारियम व्यवसाय थालेका हुन्। उनले नेपालका जुनसुकै नदीमा पाइने माछाहरू सिसाघरभित्र पाल्न सकिने उदाहरण प्रस्तुत गरेका छन्।

अक्वारियमको लागि माछा, सिसाघर र प्राविधिक सेवा दिंदै आएका उनले यस्ता माछा घर, स्कूल, कलेज, अस्पताल जहाँ पनि पाल्न सकिने सुनाए। तीन जनालाई रोजगारी दिएका दीपकसँग गोल्ड फिस, ब्ल्याक एन्जल, रेड कार्प, सिल्भर सार्क, कम्मन गोल्ड, ब्ल्यू गोरामीलगायतका माछा छन्। “विश्वका विभिन्न देशमा अक्वारियम सम्बन्धी पढाइ हुन्छ”, २५ वर्षीय दीपक भन्छन्, “हामीकहाँ पनि त्यो नसकिने होइन।”

दुर्गा केसी

र्गा केसी

मरन्ठाना, प्यूठानकी दुर्गा केसीले चिउरीको साबुन बनाउने व्यवसाय थालेको १३ वर्ष भयो। जम्मा ८ कक्षा पढेकी उनले आफ्नो गाउँबेंसीमा प्रशस्त पाइने चिउरीबाट बनाएको खैरो र सेतो रङको साबुन जापान निर्यात हुन थालेको छ। “यही साबुनले गर्दा म आफैं पनि जापान घुमेर आएँ”, ५७ वर्षीया दुर्गाले जानकारी गराइन्, “यसका लागि म मेडेप नेपाल र काठमाडौं महागुठीप्रति आभारी छु।”

चिउरीको साबुनमा अर्को स्थानीय उत्पादन टिमुरको तेल प्रयोग हुने भएकोले यसको प्राकृतिक वास्ना र औषधीय गुण जापानीहरूले धेरै मन पराएको उनले बताइन्। चिउरीको फूलबाट मह र दानाबाट वाइन, जूस, घिउ आदि उत्पादन हुन्छ। घिउ निकालिसकेको पीनाबाट कृषिका लागि जैविक विषादी बन्छ। प्रविधि किन्न सके एउटै चिउरीबाट २० किसिमको उत्पादन र हजारौं रोजगारी सिर्जना गर्न सकिने दुर्गा बताउँछिन्। आशा गरौं, हाम्रो देशमा त्यो दिन आउनेछ।

हीरा घले गुरुङ

हीरा घले गुरुङ

रोल्पा, गुरुङगाउँकी हीरा घले गुरुङ त्यस्ती कृषि उद्यमी, सामाजिक कार्यकर्ता र अभियन्ता हुन्, जसको जति प्रशंसा गरे पनि कमै हुन्छ। उनी अध्यक्ष रहेको सिर्जनशील महिला कृषि सहकारी संस्थाले होमस्टे संचालन र कुखुरा पालनदेखि मकै (मनकामना–३) को बीउ उत्पादनसम्म गर्छ। लिवाङ बजारमा रहेको सहकारीले तरकारी, गेडागुडी, मसला, फलफूल लगायतको कारोबार पनि गर्छ। ४७ वर्षीया हीरा साक्षर मात्र हुन्, उनको व्यवस्थापन खूबी भने डिग्रीधारीको भन्दा कम छैन।

बस्तीका प्रत्येक महिलालाई एउटा न एउटा आयमुखी काममा सहभागी बनाएकी उनले विभिन्न दातृ निकायदेखि नेपाली सेनासम्मको सहयोग जुटाएर महिला कृषि सहकारीको सुविधाजनक भवन बनाएकी छन्। एउटा व्यक्ति सच्चा दिलले सामुदायिक हितमा सक्रिय भयो भने कतिसम्म गर्न सक्छ भन्ने उदाहरण हुन्, उनी। उनले जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला सहकारी डिभिजनबाट प्रशंसापत्र पाएकी छन्।

राजकुमार रोका मगर

राजकुमार रोका मगर

बेलायत, फ्रान्स र स्पेनमा हुने बहुमूल्य 'ट्रोफल' खेती रोल्पा जिल्लाको थवाङमा भइरहेको छ। ट्रोफल रूख भइकन पनि जमीनमुनि जरामा वास्नादार ढुंसी फल लाग्छ, जसलाई सञ्जीवनी बुटी मानिन्छ। यूरोप–अमेरिकामा एक किलो ट्रोफललाई रु.५ लाखसम्म पर्छ। त्रिभुवन विश्वविद्यालय र अजम्बरी जनकम्युनको सहकार्यमा ६ वर्ष अघि नेपाल भित्रिएको ट्रोफल थवाङमा राम्ररी हुर्किरहेको छ। रोपिएका ३०० बिरुवामध्ये २०० बोट फल्न थालेका छन्।

शुरूदेखि नै ट्रोफल वगानको रेखदेख गरिरहेका राजकुमार रोका मगर (५९) ले अहिलेसम्मको अवस्थाले ट्रोफलको लागि रोल्पा उपयुक्त देखिएको बताए। “यहाँ सफल भयो भने चुनढुंगा भएका नेपालभरका पहाडमा यो हुन्छ भनेर बुझनुहोस्”, उनले भने। लगनशील, आशावादी र हँसमुख उनीसँगको भेटले थवाङसम्मको मेरो कठिन यात्रालाई रोचक बनाइदियो। सदरमुकाम लिवाङबाट बर्खेझ्रीमा धवाङ, लाटावाङ, टुटु, मिरुलहुँदै दुई दिनमा थवाङ पुग्दासम्म कम्तीमा एक किलो जुकाले टोक्यो होला, तर राजकुमारले ठूलो आशा, धैर्य र विश्वासका साथ स्याहारिरहेको काम हेर्दा र कुरा सुन्दा यात्राको सारा कष्ट हरायो।

काठमाडौंका नीतिनिर्माता ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने यस्ता 'ट्रोफल' हरूको कुरा सुन्नुपर्दा र्झ्कोफर्को गर्छन्। गत वर्ष उनीहरूको कुरा सुनाउन जाँदा यो पंक्तिकारले राष्ट्रिय योजना आयोगमा अपमानित–लज्जित हुनुपर्‍यो। हाम्रा नीतिनिर्माताको चाख ठूल्ठूला कुरामा छ, साना कृषक, कृषि उद्यमी तथा इन्नोभेटरहरूको मनोबल बढाउनेमा छैन। नत्र, कृषिमा योजनाबद्ध लगानी भएको यतिका वर्षमा हाम्रो अवस्था यस्तै हुने थिएन।

comments powered by Disqus

रमझम