अधिकांश निजी विद्यालयले फागुनदेखि विद्यार्थी छनोट प्रक्रिया शुरू गर्छन्। त्यसैको तयारीस्वरुप भन्दै उपत्यकाका केही इन्स्टिच्यूटले तीनमहीने प्याकेज कार्यक्रम चलाउन थालेका छन्। इन्स्टिच्यूटको दाबी छ, हाम्रो तयारी कक्षामा पढे तपाईंका सन्तान उपत्यकाका नाम चलेका विद्यालयमा नाम निकाल्न सक्षम हुनेछन्। यस्ता विद्यालयमा सेन्ट जेभियर्स, सेन्ट मेरिज, रातो बङ्गला, बूढानीलकण्ठ, काष्ठमण्डप, युलेन्स, पाठशाला नेपाल, मिल्स बेरीलगायतका छन्।
क्याम्ब्रिज इन्स्टिच्यूटले नयाँबानेश्वर र चाबहिलमा 'ब्रिज कोर्स फर चाइल्ड' तयारी कक्षा सञ्चालन गरिरहेको छ। सेन्ट जेभियर्स, सेन्ट मेरिज जस्ता विद्यालयमा नाम निकाल्ने भन्दै क्याम्ब्रिजले १४ साताको कक्षाका लागि रु.१२ हजार ५०० शुल्क तोकेको छ। “हरेक दिन एक घण्टाको कक्षा हुन्छ”, क्याम्ब्रिजका निर्देशक सेवक गौतम भन्छन्।
यसअघि भाषा, ट्युसन, आईएलटीएस कक्षा सञ्चालन गरिरहेका यी इन्स्टिच्यूटले विद्यार्थी भर्नाको समयलाई कमाउने सुनौलो मौकाका रूपमा लिएका छन्। नयाँबानेश्वरकै आईसीयू इन्स्टिच्यूटले पछिल्लो सात वर्षको तयारी कक्षाको सफलतालाई आधार बनाएर विज्ञापन प्रकाशन गरेको छ। आईसीयूका निर्देशक अविनाश दाहाल तयारी कक्षामा सहभागी ९० प्रतिशत विद्यार्थी सफल भएको दाबी गर्छन्।
कतिपय इन्स्टिच्यूटले 'त्यही स्कूलका पूर्व शिक्षक, शिक्षिकाद्वारा अध्यापन गराइने' भनी विज्ञापनसमेत गरेका छन्। 'दैनिक दुई शिक्षकले कक्षा लिंदा बच्चालाई तयारीका लागि धेरै सहज हुन्छ' अक्सफोर्ड एकेडेमिक फाउण्डेसनका प्रबन्ध निर्देशक नरेन्द्रविक्रम थापा भन्छन्। महाराजगञ्जको मेर्सी एजुकेशनले पनि कक्षा १ र ५ को लागि तयारी कक्षा चलाउँदै आएको छ।
अमृत राई
प्रधानाध्यापक,
सेन्ट जेभियर्स स्कूल
शान्ता दीक्षित
निर्देशक, रातो बङ्गला स्कूल
ईश्वर अधिकारी
प्रमुख कार्यकारी अधिकृत,
पाठशाला नेपाल
बूढानीलकण्ठ इन्टरनेशनल एकेडेमीले नयाँबानेश्वर र कलंकीमा तयारी कक्षा सञ्चालन गरिरहेको छ। दैनिक एक घण्टाको कक्षाका लागि रु.१० हजार शुल्क लिइन्छ। “समयको माग हो, मैले नचलाए अरूले चलाउँछन्”, एकेडेमीकी कार्यकारी निर्देशक कमला बस्नेत भन्छिन्।
चाहिंदैन 'तयारी कक्षा'
जुन विद्यालयको नाम बिक्री गर्दै यस्तो कर्म गरिएको छ, तिनै विद्यालय शिक्षक/संचालक भने बालबालिका भर्नाका लागि तयारी कक्षाका नाममा सञ्चालित इन्स्टिच्यूट आवश्यक नरहेको बताउँछन्। सेन्ट जेभियर्स स्कूलका प्रधानाध्यापक अमृत राई तयारीका लागि सञ्चालित यस्ता इन्स्टिच्यूट अनावश्यक ठान्छन्। कतिपय इन्स्टिच्यूटले आफ्नो स्कूलमा नाम निकालिदिने भनी अभिभावकलाई भ्रम छरिरहेको सुनेको बताउँदै राई भन्छन्, “भ्रममा परी अनावश्यक खर्च गर्नुको साटो घरमै तयारी गर्नु उपयुक्त हुन्छ।”
रातो बङ्गला स्कूलकी निर्देशक शान्ता दीक्षित प्रवेश परीक्षामा नाम निकालिदिन्छौं भनी खोलिएका यस्ता इन्स्टिच्यूट कमाउने काइदा मात्र भएको बताउँछिन्। प्रवेश परीक्षाबारे वेबसाइटबाटै बुझेर घरमै तयारी गरिए नाम निकाल्न सकिने उनको भनाइ छ। “हामी बच्चाको व्यवहार र सिकाइ क्षमतालाई हेर्छौ, अभिभावकसँग पनि अन्तरक्रिया गर्छौं”, उनी भन्छिन्।
पाठशाला नेपालका प्रमुख कार्यकारी अधिकृत ईश्वर अधिकारी प्रवेश परीक्षा गाह्रो नहुने तर परीक्षार्थी धेरै हुने भएकाले तीव्र प्रतिस्पर्धा हुने बताउँछन्। त्यही प्रतिस्पर्धाले इन्स्टिच्यूटलाई फाइदा पुगिरहेको बताउँदै उनी भन्छन्, “नाम निकाल्न बच्चालाई घोटाइरहनुपर्दैन, सामान्य कुरा सजिलो तरीकाले सिकाए हुन्छ।” बूढानीलकण्ठ स्कूलका प्रधानाध्यापक केशव खुलालको भनाइमा पनि प्रतिस्पर्धाकै कारण इन्स्टिच्यूटले कमाउने मौका पाएका हुन्। “सय सीटका लागि हजारौंको आवेदन पर्छ, यस्तोमा इन्स्टिच्यूटहरूले कमाउने नै भए”, उनी भन्छन्।
राम्रो स्कूलमा भर्ना पाउन भन्दै बालुवाटारस्थित एशियन किड्स मन्टेसरीका तीन जनालाई अभिभावकले इन्स्टिच्यूटमा पढ्न पठाए। “तर, कसैको नाम निस्किएन। बरु, मन्टेसरीमै पढेकाले नाम निकाले”, मन्टेसरीकी रूपा गुरुङ भन्छिन्। स्कूलमा कक्षा १ को आधा पाठ्यक्रम मन्टेसरीमै पढाइने भएकाले इन्स्टिच्यूट नचाहिने बताउँदै उनी भन्छिन्, “खेलाउँदै, खुवाउँदै, सिकाउने उमेरमा बालबालिकालाई अनावश्यक तनाव थोपर्नुहुन्न।”
शिक्षाविद् विद्यानाथ कोइराला यस्ता इन्स्टिच्यूट 'स्याडो स्कूलिङ' अवधारणा अन्तर्गत चलिरहेको बताउँछन्। “विभिन्न मौका छोपी शिक्षालाई अतिरिक्त व्यवसाय बनाउने खेल हो यो”, उनी भन्छन्। सन्तानलाई राम्रा स्कूल पढाउने सपना बोकेका अभिभावकलाई प्रलोभनमा पारी यस्ता इन्स्टिच्यूट चलिरहेको बताउँदै उनी यसबारे नियमन थालिनुपर्नेमा जोड दिन्छन्। “अभिभावक थोरै सचेत भए इन्स्टिच्यूटले यसरी पैसाको खेती गर्न सक्ने थिएनन्”, उनी भन्छन्।
**मनोवैज्ञानिक असर **
मनोरोग विशेषज्ञ
खेल्ने उमेरमा साना बालबालिकालाई इन्स्टिच्यूटमा लगेर पढाउनु र प्रवेश परीक्षामा नाम निकाल्न दबाब दिनु भनेको उनीहरूमाथि मनोवैज्ञानिक असर पार्नु हो। यसले बालबालिकामा लामो समयसम्म नकारात्मक असर गर्न सक्छ।
सन्तानमाथि आफ्नो इच्छा लाद्ने होइन, उनीहरूको चाहना अनुसारको सिकाइ क्रियाकलापमा सहभागी गराउनुपर्छ। त्यसो गरेमा चाँडै सिक्न र बुझ्न सक्छन्। अर्को कुरा, सबै बालबालिकाको सिकाइ क्षमता एउटै हुँदैन। रुचि पनि फरक हुन्छ। पढाइमा पनि यही कुरा लागू हुन्छ। सन्तानको यस्तो मनोभाव अभिभावकले बुझ्नुपर्छ।