१०-१६ माघ २०७२ | 24-30 January 2016

नयाँ भाँडा

Share:
  

गोपेन राई
गोङ्गबु, काठमाडौंकी रविना सापकोटा (४१) ले भएका स्टीलका भाँडाकुँडा थन्क्याएकी छन्। विवाहमा उपहार पाएका तामाका खड्कौंला, सिलबरका गाग्री र करुवा बेचेर सिसाका सामान थप्ने उनको चाहना छ। “बजारमा नयाँ–नयाँ सामान आएका छन्”, उनी भन्छिन्, नयाँ सामान राख्दा भान्सा पनि राम्रो देखिने, खाना खान पनि स्वाद आउने।”

यतिवेला सापकोटा झै धेरै गृहिणी परम्परागत भाँडावर्तनको सट्टा आधुनिक सामग्रीमा लोभिएका छन्। लाग्छ; थाल, कचौरा, गिलास, प्लेट, चम्चालगायत भान्साका सामग्री स्टीलकै राम्रो मानिने दिन अब सकिंदै गएको छ। सिसा, मेलामाइन, सेरामिक र प्लास्टिकका भाँडाले घर भरिन थालेका छन्। “खान र पकाउन मात्र होइन, शो–केसमा राख्न समेत सिसाका भाँडाकुँडा उपयोगी हुन्छन्”, सापकोटा भन्छिन्।

महाराजगञ्जस्थित दृष्टि किचेन स्टोरकी चण्डिका घिमिरे सस्तो, रंगीन र हलुका भएकाले मेलामाइन र सेरामिक्सका भाँडाको माग बढिरहेको बताउँछिन्। “प्लास्टिकका टिफिन बक्स, डस्ट प्यान, बोतल, प्लेट स्ट्यान्ड, डाडु–पन्युँ र मेलामाइनका डिनर प्लेट, गिलास, मग, कचौरा र टे्र रुचाइएको छ”, उनी भन्छिन्। सेरामिक्सको एस्ट्रे, प्लेट–सेट, टी–पट, फ्लावर–भेस ज्यादा बिक्री भइरहेको पनि उनी बताउँछिन्।

राम्रो देखिए पनि झर्का, तामा वा स्टीलको तुलनामा सिसा वा मेलामाइनका भाँडाको आयु कम हुन्छ। यी अत्यन्तै कोमल हुने भएकाले प्रयोगमा सावधानी पनि अपनाउनुपर्छ। तर; धुन सहज, नकोतरिने र सस्तो हुने भएकाले मेलामाइन, सेरामिक्स र प्लास्टिकको बजार बढेको छ। झ्ार्का वा तामाका भाँडा गह्रौं र महँगा हुने भएकाले पनि प्रयोग घट्दै गएको छ। त्यसो त खाना पकाउने ग्याँसको अभावमा इन्डक्सन चूलो चलाउनु परेपछि स्टेनलेस–स्टीलका भाँडाको माग बढेको छ।

सजावटसँगै उपहार

कतिपयले सिसाका कप, बास्केट, स्निफ्टर, बियर मग, जग, बाउल आदिलाई श्रृगार–सामग्रीका साथै उपहारका लागि समेत प्रयोग गरिरहेका छन्। मेलामाइन र सेरामिक्सका कप–सेट र प्लेट–सेट उपहारमा प्रचलित छन्। “पहिले विवाहमा गाग्री, स्टीलका थाल, खड्कौंलो उपहार दिइन्थ्यो”, जनबहाःस्थित तुलाधर किचेन ट्रेडर्सका सन्तोष तुलाधर बताउँछन्। प्रेसरकुकर, चम्चा र बाल्टिन भने अझै स्टीलकै माग रहेको उनको बुझाइ छ। “उपहारमा सेरामिक्स वा सिसाका सामान उपहार दिने चलन चलेको छ”, उनी भन्छन्।

त्यसो त पछिल्लो समय भान्सा कोठा पकाउने र खानेमा मात्र सीमित छैन, यो त बैठक कोठा जस्तै हुन थालेको छ। भान्सेले खाना पकाउँदै गर्दा पाहुना वा घरका सदस्य गफगाफ गर्न रुचाउनाले पनि यसो भएको हो। भान्सालाई पकाउन, खान र सफा गर्ने कोठा मात्रै नभई थप सामाजिक बनाउने चुनौती थपिएको भान्सासम्बन्धी जानकारी दिने वेबसाइट पानासोनिक कुकिङ, योर नेक्स्ट किचनको भनाइ छ। साइटका अनुसार, भान्साको रङ, प्रकाश, फ्लोरिङ, फर्निचर र किचेनवेयरमा विशेष ध्यान दिनुपर्छ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम