१०-१६ माघ २०७२ | 24-30 January 2016

कुर्सीका सर्वज्ञानी

Share:
  
- बसन्त महर्जन
पर्यटन मन्त्रीबाट बौद्ध इतिहासमा पहिलोपल्ट आएको सिद्धार्थ गौतम जन्मँदै बुद्ध थिए भन्ने तर्क हास्यास्पद त छ नै बौद्ध भावनाको पनि प्रतिकूल छ।

एकै व्यक्ति बहुप्रतिभाले सम्पन्न हुँदैन। एउटा वा दुई वटा क्षेत्रका ज्ञाताले पनि तेस्रो विषयको जानकारी आवश्यक पर्दा त्यही विषयका जानकारहरूबाट लिनुपर्छ। तर, नेपालमा प्रधानमन्त्री या मन्त्री बन्नासाथ त्रिकालदर्शी भएर जगहँसाउने फेसन चलेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले हालै गौतम बुद्धबारे त्यस्तै 'अन्टसन्ट' मन्तव्य दिए।

आगामी वैशाखमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउने सन्दर्भमा अन्तिम पुसमा आयोजित औपचारिक कार्यक्रममा मन्त्री पोखरेलले गौतम बुद्ध जन्मँदै बुद्ध भएको भन्दै विश्व बौद्धजगतमा नयाँ तर्क दिन खोजे। यसले उनमा बौद्ध धर्मबारे सामान्य ज्ञान पनि नभएको त देखायो नै उनको अज्ञानताले भ्रम फैलाउने काम पनि गर्‍यो। मन्त्रीको तर्क अनुसार, इ.सं. ५६३ मा मायादेवीको कोखबाट लुम्बिनीमा जन्मँदै सिद्धार्थ गौतम बुद्ध थिए, नत्र घरबार त्यागेर वनमा गई बस्न सक्नु सम्भवै हुने थिएन। त्यसपछिका क्रियाकलापहरू त धर्म प्रचार मात्र हुन्!

मन्त्रीको भ्रम

बौद्ध धर्म–दर्शनमा मन्त्री पोखरेलको यो अभिव्यक्ति भ्रामक र आपत्तिजनक छ। बौद्ध मान्यताअनुसार, कोही पनि मानिस बुद्ध बन्न सक्छन्। यसका लागि उसले निरन्तर बोधिचर्या मार्फत विभिन्न पारमिता पूरा गरेर बोधिलाभ प्राप्त गर्नुपर्छ। बुद्ध हुन प्रयत्नशील नै बोधिसत्व हुन्। मायादेवीपुत्र सिद्धार्थ बोधिसत्व हुन्, जसले बोधगयामा बुद्धत्व प्राप्त गरे। यो कुरामा बौद्ध विश्व एकमत छ। गौतम बुद्धका पूर्वजन्महरूको विवरण जातक कथामा संगृहीत छन्।

गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भए पनि बोधिलाभ भारतको बोधगयामा भयो। यसो हुँदा बुद्धको जन्मस्थल नै भारत हो भन्ने सीमित व्यक्तिहरूको अज्ञानी अभिव्यक्तिहरूको प्रतिवादमा मन्त्री महोदयले नयाँ तर्क तानेका हुन सक्छन्। तर, अनधिकृत कुराको अनावश्यक जवाफ दिने मन्त्रीबाट विना सोचविचार हास्यास्पद तर्क आयो। बुद्ध भारतमा जन्मेको भन्ने एकथरी दाबीको आधार जन्मस्थल (लुम्बिनी) नभएर गृहनगर (कपिलवस्तु) को पहिचानसम्बन्धी समस्या हो जुन नितान्त रूपमा पुरातत्व विज्ञानसम्बन्धी प्राज्ञिक बहसको विषय हो। यो विषयमा पुरातत्वविद्हरूलाई बिर्सेर अन्य क्षेत्रका व्यक्तिहरू चिच्याउँदा भ्रम मात्र बढ्छ।

हाम्रा मन्त्री महोदयहरूले बुझनुपर्छ– भारतका आधिकारिक व्यक्ति तथा निकायहरूले नेपालको लुम्बिनीलाई बुद्धको जन्मस्थल मानेका छन्। त्रिपिटकअन्तर्गतको एक ग्रन्थ 'दीघनिकाय' मा संगृहीत 'महापरिनिर्वाणसुत्त'मा गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धम्मचक्कपवत्तनस्थल सारनाथ र महापरिनिर्वाण कुशीनगरमा भएको उल्लेख छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहेको पुरातात्विक निरुपण सय वर्षअघि नै भइसकेको विषय हो।

बुद्धको गृहनगर कपिलवस्तुको मुख्यस्थलका विषयको भ्रमहरूलाई पनि हाल चालू उत्खनन्मा प्राप्त थप तथ्यहरूले प्रष्ट पार्दै लगेको छ, जसमा भारतको मौन स्वीकृति देखिन्छ। र पनि, बौद्ध धर्मको सन्दर्भमा विश्वले भारतलाई बढी सम्झ्ने गरेको वास्तविकता हाम्रो सामु छ, जुन नेपालकै कमजोरीका कारण भएको हो। बुद्धको बढी विचरणभूमि वर्तमान भारतमा परेको, भारतले पहिल्यैदेखि आफूलाई बौद्ध धर्म–दर्शनको अध्ययन केन्द्र बनाई आएको, बुद्ध तथा बौद्ध स्थलहरूबारे भारतले बढी अध्ययन–अनुसन्धान र प्रचारप्रसार गर्दै आएको आदि कारणले संसारको नजरमा भारत बुद्ध धर्मसँग बढी नजिक देखियो।

यसको ठीक विपरीत नेपालका शासकहरू भने बौद्ध धर्मसँग एउटा दूरी राखेर हिंडे। लिच्छविकालीन एक अभिलेखमा बौद्धहरूलाई चोर र कुकुर भनी गाली गरेको पाइन्छ। मध्यकालमा बौद्ध धर्मविरुद्ध राज्यले विधिविधान नै लागू गर्‍यो। राणाकालमा बुद्धलाई 'बाँडा देवता' भन्नसम्म बाँकी राखिएन। त्यसपछिको समय पनि बौद्ध धर्म–दर्शनका लागि उत्साहजनक वातावरण नभएकोले बुद्धका सम्बन्धमा विदेशीको नजरमा नेपाल नपर्नु अस्वाभाविक होइन।

प्रजातन्त्रको पुनर्स्थापना पछि भने नेपालले बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सरोकार देखाउन थालेको छ। लुम्बिनी भ्रमण वर्ष, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आदि यसका दृष्टान्त हुन्। यद्यपि, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने देशका मन्त्रीले बुद्धमाथि गरेको सिल्ली तर्कबाट विश्वमा राम्रो सन्देश प्रवाह भएर सम्मेलन सफल हुने आशा गर्न सकिन्न।

comments powered by Disqus

रमझम