१६-३१ असार २०६९ | 30 June-15 July 2012

मदरसामा लगानी

Share:
  


हिमाल (१–१५ असार) मा प्रकाशित मदरसा सम्बन्धी समाचारले मन छोयो। मुस्लिम समुदायमा छोरीलाई पढाउने चलन बढ्नु निश्चय पनि सुखद् र प्रेरणादायी कुरा हो। तर मदरसा शिक्षामा देखिएको आर्थिक अभावले मन खिन्न पार्‍यो। शिक्षकको दरबन्दी, आर्थिक र भौतिक सहयोगमा सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्छ। मदरसा शिक्षामा आधुनिकीकरण र आर्थिक व्यवस्थापनका लागि सरकारले लगानी गर्नुपर्छ।

जुनु मल्ल
लक्ष्मीनगर, बुटबल

समसामयिक लेख
हिमाल (१–१५ असार) मा प्रकाशित 'एसेसिनेशन्ः रामानन्द चोक र वागमती किनार' सान्दर्भिक छ। द्वन्द्वग्रस्त मुलुकमा जहिले पनि युद्धपछि एक–दुई जनाको हत्या हुनुलाई केही नभएको जस्तो मान्ने डरलाग्दो मानसिकता बन्दो रहेछ। नचिनेको मान्छे मर्दा समेत विचरा! भनेको सुनिन्थ्यो। आजभोलि नजिककै आफन्त मारिंदा समेत वास्ता नभए जस्तो लाग्छ।

मान्छे मार्नेहरू नै निष्पि्कक्री घुमिरहनु ज्यादै गम्भीर र चिन्ताको विषय हो। माओवादी द्वन्द्वका क्रममा सोझ्ासाझ्ालाई विना कारण मार्नेलाई समेत कारबाही नहुँदा अहिलेको अवस्था आएको हो। सरकार, राजनीतिक दल र नागरिक समाजको समेत यसमा ध्यान गएको देखिंदैन।

विष्णु थापा
काठमाडौं

खै व्यापारिक लाभ?
हिमाल (१–१५ असार) मा छापिएको 'सीमापारि सर्दै व्यापारी' शीर्षकको समाचार सान्दर्भिक लाग्यो। दुई ठूला देशको बीचमा रहेको नेपालले यसबाट व्यापारिक लाभ लिनुपर्ने हो। तर माओवादी द्वन्द्व र तराईका सशस्त्र समूहको चलखेलका कारण सर्वसाधारण र व्यापारी दिक्क छन्। सम्बन्धित निकायले यसतर्फ गम्भीर भएर सोच्न सकेको देखिंदैन।

विनोद मिश्र
विराटनगर, मोरङ

चलचित्रको भविष्य हेरौं!
हिमाल (१–१५ असार) मा प्रकाशित 'गति छाड्ने होड' रिपोर्ट राम्रो लाग्यो। नेपाली चलचित्रकर्मीले गति छाड्न लागेको सत्य हो। यिनीहरूलाई रोक्न नसके नेपाली चलचित्रको भविष्य खत्तम हुन्छ। चलचित्र क्षेत्रसँग सम्बन्धित सबैले यसतर्फ ध्यान दिनुपर्दछ। कलाकारिताको नाममा मनपरी गर्नु राम्रो होइन।

नरेश बाबु
इमेलमा

comments powered by Disqus

रमझम