१०-१६ माघ २०७२ | 24-30 January 2016

निराशाको अन्त्य

Share:
  
- सन्त गाहा मगर
फिफाबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको मान्यताप्राप्त बंगबन्धु गोल्डकपको उपाधि जित्नु नेपाली फूटबलका लागि आशाको उदय हो।

सफलताको स्वादः बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबाट ट्रफी ग्रहण गर्दै नेपाली टोलीका कप्तान विराज महर्जन, प्रशिक्षक बालगोपाल महर्जन र सह–प्रशिक्षक उपेन्द्रमान सिंह।
८ माघको मध्याह्न नेपाली फूटबल टीमका पूर्व कप्तान राजुकाजी शाक्य कोटेश्वरस्थित निवासबाट शंखमूल हान्निए। घरमा बिजुली नआउने भएपछि सालाको पसलमा बसेरै उनले बंगबन्धु गोल्डकपको फाइनल हेरे।

झमक्क साँझ पर्दा–नपर्दै टीम नेपालले बहराइनको यू–२३ टोलीलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेर उपाधि चुमेको दृश्य हेरिरहँदा शाक्य २३ वर्षअघिको विस्मृतिमा घोत्लिन पुगे। शाक्य त्यस्ता भाग्यमानी हुन्, जो सन् १९८४ र १९९३ मा नेपाल साफ च्याम्पियन बन्दा टीमका महत्वपूर्ण सदस्य थिए। सन् १९९३ मा बाङ्लादेशको ढाकामै शाक्यकै कप्तानीमा नेपालले साफको उपाधि उचालेको थियो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि भारतलाई 'सडन डेथ' मा पाखा लगाएर उपाधि जितेको स्मरण गर्दै उनी भन्छन्, “नेपाललाई ढाका फाप्दो रहेछ।”

विश्व फूटबल महासंघ (फिफा) को वरियतामा आफू भन्दा ७५ स्थानमाथिको बहराइनलाई पराजित गर्न संयोग मात्रै काफी थिएन। राष्ट्रिय टीमको पूर्व प्रशिक्षक रहिसकेका शाक्य भन्छन्, “यो जीत युवा जोश र कडा मिहिनेतको फल हो।”

बंगबन्धु कपको प्रदर्शनमा गोलको खडेरी तोडिएको मात्र होइन नेपाली फूटबलमा छाएको निराशा समेत अन्त्य भएको शाक्यको विश्लेषण छ। हुन पनि समूह चरणमा मलेशियाको फेल्डा युनाइटेड र बाङ्लादेशसँग गोलरहित बराबरी र श्रीलंकालाई १–० गोलले पराजित गरेको टीम नेपालको सेमिफाइनल र फाइनलको 'स्कोरिङ' प्रशंसालायक रह्यो। ५० हजार डलर राशिको पुरस्कार जित्ने क्रममा नेपालले माल्दिभ्ससँग मात्रै एक गोल खायो, त्यो पनि चार गोल गरेर।

भारतमा एक महीना अघि सम्पन्न साफ च्याम्पियनसिपमा निराशाजनक प्रदर्शन गरेर फर्केको टीम नेपालको ढाका उड्नुअघि उपाधि चुम्ने लक्ष्य थिएन। माघ तेस्रो साता भारतमा हुने साउथ एशियन गेम्स (साग) मा सहभागी हुने यू–२३ टोली निर्माणकै लागि राष्ट्रिय टीमका कप्तान अनिल गुरुङ, पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्दलगायतका अनुभवी खेलाडी टीममा राखिएको थिएन।

गत भदौमा नेपालको यू–१९ टोलीलाई साफ च्याम्पियन बनाएका टीम नेपालका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले सेमिफाइनल लक्ष्यसहित मैदानमा उत्रन लागेको बताएका थिए। उनका अनुसार पनि बंगबन्धुकपको सहभागिता सागको पूर्वतयारी मात्र थियो।

जीतको खुशी ।

लामो दौडका घोडा

सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्ने क्रममा ह्याटि्रक गरेका नवयुग श्रेष्ठ 'मोस्ट भ्यालुएबल प्लेयर अफ दी टुर्नामेन्ट' घोषित भए। फाइनलमा समेत एक गोल गरेका उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता समेत बने। नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक १३ गोल गरेका पूर्व स्ट्राइकर हरि खड्काको विश्लेषणमा त्रिभुवन आर्मी क्लबका श्रेष्ठ अवसर खेर नफाल्ने 'स्कोरर' हुन्। खड्काको बुझाइमा यसअघि पनि नेपालको प्रदर्शन खराब थिएन, बरु फिनिसिङ नहुँदा परिणाम मात्रै पक्षमा आएको थिएन। खड्का भन्छन्, “फिनिसिङ पनि राम्रो भयो र नेपाली फूटबलको दिन फर्कियो।” अन्जन विष्टको असाधारण प्रतिभा, विमल घर्ती मगरको सही समयमा सही स्थानबाट सही निर्णय क्षमता, आदित्य चौधरी, रविन श्रेष्ठ र विक्रम लामाको सबल रक्षापंक्ति तथा गोलरक्षक विकेश कुथुको लोभलाग्दो प्रदर्शनले टीम नेपाल मजबूत बनेको उनको विश्लेषण छ।

राष्ट्रिय टीमका पूर्व प्रशिक्षक कृष्ण थापाको हेराइमा अञ्जन पाएको बल सही व्यक्तिलाई दिने क्षमता राख्छन्। शारीरिक रुपमा बलिया आदित्यको निर्णय क्षमता गजबको छ। दुई दशकदेखि अखिल नेपाल फूटबल संघ (एन्फा) को नेतृत्व गर्दै आएका गणेश थापा फिफाको कारबाहीमा परेको र म्याचफिक्सिङको अभियोग लागेका पाँच खेलाडी प्रतिबन्धित भएको अवस्थामा नेपालले निकालेको गर्विलो जीत आफैंमा ऐतिहासिक हो।

मोस्ट भ्यालुएबल प्लेयर अफ दी टुर्नामेन्ट

नवयुग श्रेष्ठ

हुन पनि फिफा वरियतामा मुलुक इतिहासकै खराब १९६औं स्थानमा पुगेका वेला युवा खेलाडीले फूटबलमा प्राण भर्ने आशा जगाएका छन्। राष्ट्रिय टीमका पूर्व प्रशिक्षक थापाका भनाइमा प्रशिक्षकले स्वतन्त्र रुपमा खेलाडी छनोट गर्न पाउनु, खेलाडी विना दबाब खेल्नु र प्रतिभावान् युवा टोलीको संयोजन नै जीतको प्रमुख कारण हुन्।

कप्तान विराज महर्जन, नवयुग श्रेष्ठ र विक्रम लामा बाहेकका सबै खेलाडी २३ वर्षभन्दा कम उमेरका छन्। युवा खेलाडीले भरिएको टोलीलाई पर्याप्त लगानी, प्रशिक्षण र एक्सपोजर दिन सके नेपालले राम्रो नतीजा ल्याउन सक्ने पूर्व कप्तान खड्काको भनाइ छ। उनी भन्छन्, “यी खेलाडी लामो दौडका घोडा हुन, फूटबलमा लगानी बढाउने यो सुनौलो अवसर हो।” अर्का पूर्व कप्तान शाक्य भने उपाधि जित्दैमा मक्ख परेर बस्न नहुने बताउँछन्। उनी भन्छन्, “हौसिने भन्दा पनि उच्च मनोबलसहित गम्भीर तयारीमा लाग्ने वेला हो, यो।”

भारतमा हुन गइरहेको सागमा टीम नेपालले २३ माघमा बाङ्लादेश, २६ माघमा भूटान र २८ माघमा अफगानिस्तानको सामना गर्दैछ। गएको भदौयता नेपाललाई दुई वटा उपाधि जिताएका प्रशिक्षक महर्जनका लागि साग कठिन परीक्षाको रुपमा उभिएको छ। यसको सामना गर्न खेलाडी, प्रशिक्षक, एन्फा र सरकारको संयुक्त पहल आवश्यक भएको पूर्व प्रशिक्षक कृष्ण थापा बताउँछन्। १९८४ मा नेपाल साफ च्याम्पियन बन्दाका सदस्य थापा त्यो वेला भन्दा अहिले खुशी भएको बताउँदै भन्छन्, “युवा टोलीलाई सही मार्गनिर्देश गर्न सके अबको ८–१० वर्ष नतीजा हाम्रो पक्षमा आउनेछ।”

comments powered by Disqus

रमझम