१०-१६ माघ २०७२ | 24-30 January 2016

कोरसको कला

Share:
  
- सजना बराल
गीतको गहना मानिने कोरस गायनबाट केही कलाकारले आम्दानी गरिरहे पनि यो चलन भने हराउँदो छ।

बिक्रम राई
कोरस गायिका गीता चौहान र योजना पुरी (दायाँ)।
एक दशकअघि 'कता हिंडेको, कसलाई खोजेको' गीतमार्फत प्रशंसा पाएकी गायिका आभा मुकारुङलाई उनकै गीत प्रश्न बनेर उभिएको छ। फ्यानहरू उनलाई 'तपाईं कता हराउनुभएको छ, किन नयाँ गीत आउँदैनन्' भनी सोधिरहन्छन्। “कतिले त सांगीतिक क्षेत्रबाटै पलायन भएको भन्ठानेका रहेछन्”, उनी भन्छिन्, “तर, म त पहिलेभन्दा सक्रिय छु।”

आभा अहिले पनि दैनिक ५/६ वटा रेकर्डिङ स्टुडियोमा पुगिरहेकी हुन्छिन्। आवाज रेकर्ड गराउँछिन्। तर, उनको स्वर आफ्नै गीतका लागि होइन, पृष्ठभूमि अर्थात् कोरसका लागि हो। कोरस गायनमा उनी सम्भवतः सबैभन्दा व्यस्त गायिका हुन्। दुई वटा एकल अल्बम निकालिसकेकी उनले सयौं गीतमा कोरस स्वर दिइसकेकी छिन्। उनी भन्छिन्, “कोरस गायनले स्वर अभ्यास र आम्दानी दुवै भइरहेको छ।”

गायिका कला राई पनि कोरस गायनमा छाएकी छन्। गायिका सपनाश्रीको 'सागर बरु सुकेर गैजाला', पवित्रा सुब्बाको 'सिरानीले बिझ्ाायो कि' लगायत थुप्रै गीतमा कलाको आलाप र गुञ्जन सुन्न पाइन्छ।
पर्दा पछाडि रहेर गीतमा सौन्दर्य थप्ने कोरस कलामा यतिवेला मीना सिंह, योजना पुरी, सुदारत्न, पेमा गुरुङ, जुना प्रसाईं, झ्ाुमा निरौला, पार्वती राई, प्राश्ना शाक्य जस्ता कलाकार सक्रिय छन्। उनीहरू एउटा गीतमा कोरसबापत रु.८०० देखि रु.१ हजारसम्म पारिश्रमिक लिन्छन्।

योजना पुरी सुर–ताल सुधार्न कोरस गायन प्रभावकारी हुने बताउँछिन्। “एकैछिनमा रु.८००/१००० पाउनु राम्रो कमाइ हो”, गायिका पुरी भन्छिन्, “अलग–अलग गीतमा नयाँ–नयाँ तरीकाले गाउँदा स्वर पनि माझिन्छ।” 'सुधा' नामक अल्बम समेत निकालेकी सुदारत्न हप्तामा ३/४ वटा गीतमा कोरस गाउँछिन्। “गायो हिंड्यो”, उनी भन्छिन्, “कहिलेकाहीं त कुन गीतका लागि गाइयो भन्ने पनि थाहा हुँदैन।”

कोरस गायनलाई लरतरो ठान्नु अज्ञानता हो।

आभास

संगीतकार

घट्दो ट्रेन्ड

संगीतकार हरि लम्सालको भनाइमा कोरस गीतको गहना हो, जसले गीतलाई सम्पूर्णता दिन्छ। “प्रायः गीतको स्थायी वा अन्तरामा शब्द दोहोर्‍याएर (जस्तो, हाहाहा..., लालाला...), हमिङ (दुइटा ओठ जोडेर गाउनु) वा प्रमुख स्वरलाई पछ्याएर कोरस प्रयोग गरिन्छ”, उनी भन्छन्, “यसमा प्रायः महिला आवाज राख्ने चलन छ।” राष्ट्रभाव, आधुनिक र लोकलयका गीतमा कोरसको प्रयोग बढी हुन्छ। आभा भने कहिलेकाहीं मुख्य गायकले सुर लगाउन नसक्दा समेत कोरसको सहारा लिने गरेको बताउँछिन्।

कमलपोखरीस्थित संगम रेकर्डिङ स्टुडियोका रेकर्डिस्ट मित्र लामा थप खर्च हुने भएकाले कोरस राख्ने चलन कम हुँदै गएको बताउँछन्। “आठ वटा गीत समेटिएको अल्बम गर्नेले तीन/चार वटा गीतमा कोरस राख्छन्”, उनी भन्छन्, “कतिले चाहिं आफैंले कोरस गाएर काम चलाउँछन्।”
संगीत संयोजक फणीन्द्र राईका अनुसार १० वर्षयता कोरससहितका गीतको ट्रेन्ड सुस्ताउँदै गएको छ। उनी भन्छन्, “कोरस कलाकार पनि घटिरहेका छन्।” दिगो रुपमा काम गरिरहेका कोरस गायिकाहरू पाँच/सात जना भए पनि पुरुष कोरस गायक दुर्लभ भइसकेको संगीतकार लम्सालको अनुभव छ।

सांगीतिक बजार डामाडोल भइरहेका वेला पनि कोरस गायनले भरथेग गरिरहेको छ।

आभा मुकारुङ

गायिका

कोरस सहितका गीतको ट्रेन्ड सुस्ताउँदो छ ।

फणीन्द्र राई

संगीत संयोजक

कोरसलाई हेयभावले हेरिनु पनि कलाकार कम हुनुको एउटा कारण हो। कला राई मुख्य गायकको सहायक कोरस गायनलाई मिहिनेत विनाको काम ठान्ने गरिएको बताउँछिन्। “संगीतकर्मीले नै कोरसलाई हेपेको देख्दा अचम्म लाग्छ”, उनी भन्छिन्।

गायक तथा संगीतकार आभास कोरस गायनलाई गीतको अलंकार भन्न रुचाउँछन्। “कोरसले बाजागाजाकै जस्तो भूमिका निर्वाह गरेका हुन्छन्”, उनी भन्छन्, “त्यसैले यसलाई संगीतको एउटा अंग मान्नुपर्छ।” त्यसो त कोरस मात्र गाउनु परेकोमा हीनताबोध गर्ने कलाकार पनि छन्। “कोरस गायनलाई लरतरो मान्नु अज्ञानता हो“, आभास भन्छन्, “कुनैवेला लता मंगेशकर पनि कोरस नै गाउँथिन्, हाम्रै तारादेवीले कतिपय गीतमा आलाप भरेको सुनिन्छ।”

प्रमुख गायन र कोरस दुवैमा खारिएकी आभाको अनुभवमा प्रमुख गायनभन्दा कोरस जटिल हुन्छ। “संगीतकारको मेलोडी बुझेर वाद्ययन्त्रले जस्तो नोट नबिगारी गाउनुपर्छ”, उनी भन्छिन्, “संगीतको राम्रो ज्ञान र अभ्यास विना कोरस गाउन सकिंदैन।”

comments powered by Disqus

रमझम