१०-१६ माघ २०७२ | 24-30 January 2016

नेपालीका लागि नेपालमा बनेको

Share:
  
नेपालीले नेपालमै बनाएका केही एपहरूले हाम्रो काम गर्ने पुरानो ढर्रालाई स्मार्ट र सजिलो बनाउँछन्।

एन्ड्रोइड र आईओएसमा चल्ने नेपाली एप्लिकेशन (एप) हरूको संख्या जस्तै तिनको गुणस्तरमा पनि बढोत्तरी हुँदैछ। विश्वका विभिन्न कम्पनीका लागि एपहरू बनाएको अनुभव बटुलेका नेपालीले थुप्रै नयाँ काम गरेका छन्, जसले नेपाली सम्भावना त दर्शाएको छ नै, उत्कृष्टताको प्रमाण समेत पेश गरेको छ।

करको लागि 'ट्याक्सपर्ट'

कहिले कुन र कति कर तिर्नुपर्छ भन्ने बिर्सेर जरिवाना तिर्नुपरेको अनुभव हामीमध्ये धेरैसँग छ। कर जस्तै अरु पनि आर्थिक कुरा सम्झ्ााउने एउटा बिल्कुलै नयाँ सम्भावना बोकेको ट्याक्सपर्ट नामको मोबाइल एपले एन्ड्रोइड प्लेस्टोरबाट आफ्नो यात्रा शुरु गरेको छ। प्लेस्टोरमा अपलोड गरिएको केही समयमै उल्लेख्य संख्यामा डाउनलोड हुने ट्याक्सपर्टलाई नेपाली एप बजारको सबभन्दा उत्तम अर्थसम्बन्धी एपभन्दा फरक पर्दैन।
भोल्कससफ्टले विकास गरेको ट्याक्सपर्टले कर सम्बन्धी जुनसुकै प्रश्नको उत्तर दिन्छ। यो एपबाट सबै किसिमका कर र पारिश्रमिकको हिसाब राख्नुका साथै कर विज्ञहरूको सुझाव पनि लिन सकिन्छ। एप शुरु गर्ने बित्तिकै खुल्ने ल्यान्डिङ्ग पेजमा टाइप गरेको करसम्बन्धी जुनसुकै शब्दको अर्थ र अरु जानकारी आउँछ। “कुनै प्रयोगकर्ताले हाम्रो डाटावेसमा नभएको शब्दको अर्थ खोजेछन् भने हामीलाई पनि थाहा हुन्छ”, एपको विकासकर्ता तुलसी दाहाल भन्छन्, “त्यसपछि त्यो नयाँ शब्दलाई विस्तृत अर्थसहित डाटावेसमा थप्छौं।”

उनका अनुसार, अहिले हजार भन्दा बढी अंग्रेजी शब्दको पूर्ण जानकारी ट्याक्सपर्टले दिन्छ। केही समयपछि नेपालीमै त्यो सुविधा उपलब्ध हुनेछ। अहिले ख्ब्त् (भ्याट) टाइप गर्दा एपको स्त्रि्कनमा कुन अवस्थामा भ्याट तिर्नुपर्छ? गैर–सरकारी संस्थाहरूले कति भ्याट तिर्नुपर्छ? सहकारी भ्याटमा दर्ता हुनुपर्छ कि पर्दैन? जस्ता धेरै सोधिने प्रश्न आउँछन्। अनि आफूलाई चाहिएको प्रश्नको विस्तृत उत्तर हेर्न सकिन्छ।

यो एप वास्तवमा कर सम्बन्धी शब्दकोश, धेरै सोधिने प्रश्नको उत्तर संग्रह र कर तिर्ने समय सम्झाउने अलार्मसँगै करको हिसाब, मासिक पारिश्रमिकमा लाग्ने करहरूको दरबारे जानकारी दिने परामर्शदाता हो। यसबाट अर्थ सम्बन्धी सबै नियम कानून हेर्न र डाउनलोड गर्न मिल्छ। “यसमा चार्टर्ड एकाउन्टेन्ट सहितको ५–६ जनाको टोलीको मिहिनेत परेको छ”, दाहाल भन्छन्, “कुनै त्रुटि नभएको अर्थ सम्बन्धित एप उत्पादनमा हामी सफल भएका छौं।”

अहिले एपमा प्रचार सामग्री राखिएका छैनन्। मतलब, यसबाट विकासकर्ताले पैसा कमाउने सम्भावना एकदम कम छ। लामो समय एउटा टीम नै लागेर बनाएको एपको खर्च कसरी उठ्छ त? “अझ्ा धेरै सुविधा थपेर यो एपको 'प्रो भर्सन' संघ–संस्थाहरूलाई बिक्री गर्नेछौं”, दाहाल भन्छन्, “त्यतिन्जेल साधारण प्रयोगकर्ता र संघ–संस्थाले एउटै तरीकाको चलाउन पाउने छन्।”

अहिलेलाई अर्थ सम्बन्धी सबै शब्दावली र प्रश्नहरूको विस्तृत जानकारी पाइने, कर तिर्ने समय सम्झाउने र करको हिसाब गर्ने क्याल्कुलेटरको सुविधा पनि हुनु यो ट्याक्सपर्टको विशेषता हो भने नेपालीमा टाइप गरेर खोजेको कुरा नपाउनु कमजोरी।

टाइगर ट्र्याप

कम्प्युटर र मोबाइल गेमहरू आएपछि भुईंमा कोरेर खेलिने बाघचाल खेल लोप हुन थालेको थियो। एप विकासकर्ता मनोज रोक्काले त्यही बाघचाल खेलको स्मार्ट संस्करण एन्ड्रोइड प्लेस्टोरमा राखेका छन्– टाइगर ट्र्यापको नाममा। यो एप खोल्दा शुरुमै अन्तर्राष्ट्रिय स्तरको भिजुअल ग्राफिक्स, साउण्ड इफेक्ट र मूभमेन्टहरू आउँछ। त्यति प्रचार नभएको टाइगर ट्र्याप आफ्नो फोनमा राख्ने प्रयोगकर्तालहरूले क्याण्डिक्रस, एंग्रीबर्ड, टेम्पल रन जस्ता अन्तर्राष्ट्रिय एपको जस्तो स्वाद लिइरहेका छन्। “ग्राफिक्स, साउण्ड, कोडिङ्ग जस्ता काम बाँडेर गर्‍यौं”, विकासकर्ता रोक्का भन्छन्, “सबैको भागको पर्फेक्ट कामबाट बनेको टाइगर ट्र्याप पनि पर्फेक्ट नै छ।”

एउटा बोर्ड गेम बनाउने अभियानबाट शुरु भएको टाइगर ट्र्यापको कथा यहाँसम्म आइपुग्दा, धेरै बदलिसकेको छ। एउटा लेभलबाट एक दर्जन जति लेभल, एकदमै राम्रो देखिने ग्राफिक्स र त्यस्तै साउण्ड इफेक्टले बण्डलमै आनन्द दिन्छ। महीनौंको मिहिनेतबाट बनेको यो एपमा रु.५ लाखजति खर्च भइसकेको रोक्का बताउँछन्। यसलाई अब लेभल थप्दै र परिमार्जन तथा प्रचारप्रसार गर्दै प्रयोगकर्ताबीच पुर्‍याउने योजना छ।

ब्लूटुथमार्फत दुई जनाले गेम खेल्न मिल्ने, सुन्दर ग्राफिक्स, सान्दर्भिक साउण्ड इफेक्ट र पुरानो खेल खेल्ने स्मार्ट तरीका यो एपको विशेषता हो भने मात्र १२ लेभल र खेल्दा वाईफाई बन्द हुनु कमजोरी।

गणेश आचार्य

comments powered by Disqus

रमझम