१०-१६ माघ २०७२ | 24-30 January 2016

प्रियंकाको रहर

Share:
  

चलचित्र 'आवरण' को शीर्ष गीतबाट प्रशंसा पाएकी अभिनेत्री प्रियंका कार्कीले त्यसयता गायनको रफ्तार बढाएकी छन्। बच्चु कैलाशको गीत 'तिम्ले त होइन' को कभर भर्सनदेखि नट्टु साहसँग गाएको 'लक्की टु बी' लगायत गीतले यू ट्यूबमा 'भ्यूज' पाइरहेकै थिए।

भर्खरै प्रियंकाले शैलेन्द्रको शब्द र शैलेश सिंहको संगीत रहेको 'स्वतन्त्र छु म' गीतको म्युजिक भिडियो सार्वजनिक गरेर एक महीनामै यू ट्यूबमा लाखौं दर्शक त पाइन् तर सो भिडियोमा उनको स्वरले भन्दा 'ग्ल्यामरस लूक' ले दर्शक लोभिएको बुझ्न गाह्रो पर्दैन। 'सेक्सी' छविकै कारण फिल्ममा अलग पहिचान बनाउँदै आए पनि गायनमा जम्न भने उनले धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ। उनलाई सुझाव छ गाउनभन्दा अभिनयमै मिहिनेत गरे बेस!


अनुपको अर्को परिचय

रंगकर्मी अनुप बरालले म्युजिक भिडियो निर्देशकको परिचय पनि थपेका छन्, रेश्मा सुनुवारको 'तिमीलाई हेर्ने' गीतबाट म्युजिक भिडियो निर्देशन थालेर। उनले पछिल्लो समय बुद्धिसागरको उपन्यास 'फिरफिरे' र आनी छोइङ डोल्माको 'भेटिएन ईश्वर अझै' भिडियो निर्देशन पनि गरेका छन्। “दुई फरक प्रकृतिका गीतको भिडियो बनाउन निकै मिहिनेत पर्‍यो”, उनी भन्छन्। पुस्तक प्रवर्द्धनका लागि म्युजिक भिडियो बनाइनुलाई धेरैले नौलो प्रयोग मानेका छन्।

अहिले 'दोख' चलचित्र निर्देशन गरिरहेका बराल अब अभिनयभन्दा निर्देशनलाई नै प्राथमिकता दिने बताउँछन्। “अरूको निर्देशनमा काम गर्दा परनिर्भर भइन्छ”, उनी भन्छन्, “त्यसैले आफैं निर्देशनमा लाग्ने विचार गरेको छु।”


रहेनन् जीवन्त स्रष्टा

रत्नबहादुर खड्गी।

(वि.सं. १९९३ – २०७२)

'एक्लै बस्दा सधैं मलाई...', 'मेरो माया छ भने जोडा..', 'कर्मको रेखा नमेट्दो रै'छ..', 'सिरानीले बिझायो कि...' जस्ता धेरै चर्चित गीतमा संगीतको प्राण भरेका रत्नबहादुर खड्गी रहेनन्। फोक्सोको क्यान्सरबाट ग्रस्त ७९ वर्षीय खड्गीको ७ माघमा भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको छ। करीब एक हजार गीतका संगीतकार उनले १०० जति गीत पनि गाएका थिए। शास्त्रीय संगीतमा दक्ष खड्गी जीवनका आरोह–अवरोहलाई संगीतसँग जोड्न खप्पिस मानिन्थे।

मृत्युपूर्व खड्गी जीवनकै पहिलो एकल अल्बम 'मेरो यात्रा' को तयारीमा थिए। त्यसका लागि तीनदर्जन गीतमा संगीत भरिसकेका पनि थिए। अब उनको यो सपना परिवारले पूरा गर्ने भएका छन्। बागबजार, काठमाडौं निवासी खड्गीका पत्नी, एक छोरा र दुई छोरी छन्।

comments powered by Disqus

रमझम