१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

ओल्ड ईज गोल्ड!

Share:
  
- महेश थापा
ओल्ड भएर गोल्डमा दरिएकाहरूलाई बल्ल जुरेको मौकामा शोकेसभित्र सजाउन नसके कांग्रेसलाई के भन्नु मुलुकको जेठो–बडो दल!

भानु भट्टराई
महाधिवेशनको सँघारमा उभिएको जेठोबाठो दल नेपाली कांग्रेसभित्र अहिले अमूक पदको लागि एक मात्र सुयोग्य वर आफू भएको तर्क पेश्दै यजमान स्वयं जजमानीमा उत्रेका छन्। कुकुरले पुच्छरलाई डोर्‍याउने, लतार्ने, पछार्ने र घिसार्ने नेपालका राजनीतिक दलहरूको महाधिवेशन मूलतः नेतृत्वमा दागा धर्ने थलो बन्नु अस्वाभाविक पनि होइन र त्यसमा खरिखोटी सुनाइरहनुपर्ने कौनो दरकार रहन्न। तर, छिप्पट इतिहास र ढ्याके ज्यान भएकाले कांग्रेस महाधिवेशनको कुरा हल्का भए पनि बेगल छ, हजुर!

कांग्रेस नेतृत्वले अहिले राष्ट्रिय राजनीतिको दशा र दिशा बदल्ने काठीको गम्भीर दार्शनिक बहस छेडेको पनि छ। महामानवको सेखापछि सैद्धान्तिक दार्शनिक माथापच्ची गर्ने टन्टा बिसाएको कांग्रेसभित्र दुमो रहेका चिन्तकले पनि नयाँ खरानी घस्ने ताउरमाउर गरिरहेको वेला कुन उल्लुले त्यस्तो जन्डु दर्शन फुरायो होला भनी तपाईं गम खानुहोला। सत्रको सात बोकेर गलित रामचन्द्रको अन्तिम उद्देश्य हातलागी एक गर्न बाँकी कुरालाई बाल दिन्नन्। फास्लाङ फुस्लुङमा परेर लास्टाँ फेरि, अठारको आठ सुमर्नुपर्ने छनक देखिएकाले उनी यो लफडाबाट स्वतः ओभानो हुन्छन्।

बीपीले भिराएको बोझा मिल्काएर कांग्रेसजनलाई होलो पार्न वर्षौंअघि आफ्नो दलको पुच्छाराँ 'प्रजातान्त्रिक' फँुदा जोडेका देउवा दूरद्रष्टा हुन्। उनले नौलो दर्शनको पचेडामा नपरी आफूलाई महारथ हासिल भएको फुँदा फिजारेर महाधिवेशनमा व्यूहरचना गर्ने देखल छ।

कांग्रेसभित्र दार्शनिक बहस छेड्ने ल्याकत उसै पनि सभापति कोइरालाले मात्र राख्ने स्वयंसिद्ध हुन आउँछ। उनको मुखारविन्दबाट गहकिलो वाणी टप्की पनि सकेको छ– ओल्ड नै गोल्ड! नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको लैबरी गाउँदै बसेका कांग्रेसका अधेड तरुणहरू भने यो उद्गारको मर्म बुझन नसकी करिबन बेहोसीमा पुगेर जगहँसाइ गरेका छन्।

कुहिरोको काग बनेका कांग्रेसी युवा/विद्यार्थी/तरुण नेताहरू कपाल र दाह्रीमा दलेको कालो पखालेर आफूलाई खरा सोना साबित गर्न कम्मर कस्ने तरखरमा देखिन्छन्। हेर्दाहेर्दै तिलचामले भइसकेका युवा नेता गगन थापा महामन्त्रीमा दावा ठोकम् कि नठोकम् भनी दोधारमा देखिन्छन्। तिलचामले केस बोकेर कथम् उनी सभापति भएछन् भने'नि कांग्रेसजनले युवा नेतृत्वको तिर्सना मेट्न अर्को कुनै आकाश काजीतिर आशावादी नजर लगाउनुपर्ने हुन्छ।

सभापति कोइरालाको भने कुरै अर्को। नपत्याए कांग्रेसकै दलका ख्यातनाम् खजाञ्चीलाई सोधे हुन्छ– वृद्धभत्ता बढाउँदा अर्थतन्त्र चोट्टेमा पर्छ भने प्रौढहरूको हातमा पार्टीको तालाचाबी सुम्पेर देशलाई भड्खालोमार्गी बनाउन मिल्छ? कांग्रेस नेतृत्व त्यस्तो नकाम गर्न कदापि चाहन्न! तर, ठेट्नाहरूले बुझेर मरेनन्, के गर्ने? पछुवाहरू उपबुज्रुक भइदिंदा अगुवाहरूको दोजात्रा हुँदोरहेछ। बुढ्यौलीले लखतरान नेतृत्वलाई खेदेर हत्तु पारेका छन्।

युवाप्रति नेतृत्वको आसक्ति देख्न नसक्नु कांग्रेसजनको दृष्टिदोष र भेजामा भरिएको खोट हो। 'मान्छे बूढो भए'नि मन जवान रहने' सैद्धान्तिक धरातलमा टेकेर सभापतिको आकांक्षी बन्नुले नेतात्रयको अवचेतनमा अन्तर्निहित युवा अनुराग उजागर गरिरहेको छ। तर, जीर्ण तनलाई सर्लक्क पन्छाएर तरुनो मनलाई बेपत्ता भाउ दिएको भसक्क बिर्सने कर्म भइरहेको छ। वर्षौंदेखि भ्रातृ संगठनहरूको अधिवेशन रोकेर तरुण/विद्यार्थीलाई कम्तीमा एक कार्यकालले पितृ हुनबाट जोगाएको दृष्टान्तले पनि कांग्रेस नेतृत्वमाथि थोपरिएको फत्तुरलाई भालुभुत्ते सावित गर्छ।

यो दार्शनिक घोगो खोस्ट्याउने काम फत्ते भए'सि अपयस छोड्याउनु उचित हुन्छ। जसले चारतारे झ्ण्डामुनि गोलबद्ध युवामा मात्र नभई राजनीतिप्रति आस्थावान् देशभरिका युवामा आशाको भुल्को फुटाउने निश्चित छ। 'ओल्ड ईज गोल्ड' को नारा बुलन्द पार्नुलाई बूढाखाडाको मतलबी चाहनामा लगेर ठोकाउनु 'ब्लन्डर' हुन जान्छ।

ख्याल रहोस्, पूर्वीय मान्यतामा पवित्र धातु सुनको अलग्गै महिमा छ। पूजनीय, दर्शनीय र प्रदर्शनीय धातु सुनलाई जोत्ने, खन्ने, पकाउनेलगायतका काममा ज्यावलका रूपमा प्रयोग गर्न सकिन्न। कुवेरको झैं कुश्त सुन भे त्यसकै कमोड बनाएर पाइखाना बस्थें अथवा बञ्चरो, हलो, वर्तन र खर्पनदेखि कोदालो र कारसम्म त्यही पहेंलो धातुको बनाउन भ्याउँथें भनी सोच्नु नोटको गड्डीले भोक मर्छ भनी ठान्नु जस्तै हो।

त्यसैले, वयोवृद्ध नेतागणलाई यसपटक सुनका गहना झैं जतनसाथ शो–केसमा सजाऔं। कांग्रेस पार्टीभित्र आफ्ना आदरणीय सभापतिको मनोकांक्षा पूरा गर्ने ह्याउ पलाओस्। कांग्रेसभित्र 'ओल्ड' हरूले 'गोल्ड' कै स्थान पाउन्!

comments powered by Disqus

रमझम