१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

त्रासले फर्केनन् विस्थापित

Share:
  
मोरङको रंगेलीमा तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक झ्ाडपपछि विस्थापित स्थानीय बासिन्दा त्रासका कारण घर फर्केका छैनन्।

कमल रिमाल
रंगेलीका विस्थापित विराटनगरस्थित एमाले पार्टी कार्यालयमा।
७ माघको हिंसात्मक झ्डपपछि त्रास छाएको रंगेलीमा बजार, विद्यालय र यातायात पुनः संचालनमा आएका छन्। सर्वपक्षीय बैठकपछि मोरङ प्रशासनले मृतकलाई शहीद घोषणा, घाइतेको उपचार र घटनाको न्यायिक छानबीनलगायत मधेशी मोर्चाका मागबारे गृहमन्त्रालयमा लेखी पठाउने सहमति जनाएपछि ११ माघमा मृतक तीनै जनाको शव बुझेर विराटनगर र रंगेलीमा शवयात्रापछि अन्त्येष्टि पनि गरियो। तर, मोर्चाले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि कारबाही तथा एमाले भ्रातृसंगठन युवासंघका केन्द्रीय सचिव पर्शुराम बस्नेतमाथि ज्यानमुद्दा चलाइनुपर्ने माग नछाडेपछि घटनापछि विस्थापित भएकाहरू घर फर्कन सकेका छैनन्।

रंगेलीमा युवासंघको सभा भइरहँदा त्यसलाई बिथोल्न खोज्ने मधेशी मोर्चाका कार्यकर्तासँग भएको झ्डपमा प्रहरीको गोली लागेर द्रौपदी चौधरी (५८), महादेव ऋषिदेव (२८) र शिवु माझी (२०) को मृत्यु भएको थियो। घटनापछि सपरिवार विस्थापित भएका एमालेका रंगेली नगर अध्यक्ष मनोज अग्रवाल र इलाका अध्यक्ष दिनेश ठाकुर तथा जिल्ला सदस्य सन्तोष साह विराटनगर आएर बसेका छन्। अखिल नेपाल महिला संघका रंगेली अध्यक्ष उषा झा, आमगाछी गाविसका पूर्व अध्यक्ष जितलाल मण्डल पनि विराटनगरबाट घर फर्कन डराइरहेका छन्।

रंगेलीमा तनाव भएपछि घर छाडेर हिंडेका कपिलमुनि मण्डल, वसन्त कर्ण, धर्मेन्द्र मण्डल, सुरेन्द्र महतो, विपुल पौदार, अजय राय, सुरजित दत्त, शम्भु कटुवाल, देवमणि कटुवाल, वासु पोखरेल, पुरुषोत्तम काफ्ले, दीपेन्द्र थापा, शिवु राई, गणेश महतो, शिवकुमार मण्डल, संजय यादव, अजिम आलम, मनोजकुमार साह, सिनोद झा, सुरज ठाकुरलगायत पनि फर्केका छैनन्। रंगेली घटनापछि सांसद् शिवकुमार मण्डलको संयोजकत्वमा गठित छानबीन समितिले पनि विस्थापितहरूलाई घर फर्कने वातावरण बनाउन सकेको छैन। मोर्चाका प्रतिनिधिसहित १० माघमा भएको सर्वपक्षीय बैठकले विस्थापितलाई घर फर्कने वातावरण बनाउने निर्णय गरे पनि त्यस्तो पहल भएको छैन। खाली घरमा लूटपाट भएको बताउने एमालेका इलाका अध्यक्ष दिनेश ठाकुर भन्छन्, “मार्ने धम्की आएको छ, कसरी फर्कने?”

आक्रमणको डर

सभा हुनुभन्दा अघिल्लो दिन एमालेका रंगेली नगर अध्यक्ष अग्रवालको घरमा एक समूहले ढुंगामुढा र पसलमा तोडफोड गर्‍यो। ७ माघ दिउँसो घरमै पसेर दुइटा मोटरसाइकलमा आगजनी गरियो। रंगेली इलाका अध्यक्ष ठाकुर र जिल्ला सदस्य साहको घरमा पनि ढुंगा प्रहार भयो। ७ माघ दिउँसो सभास्थल जाने क्रममा मोर्चा कार्यकर्ताले ठाकुर, उनकी श्रीमती उषा, वसन्त कर्ण र कपिलमणि मण्डलमाथि कुटपिट गरेपछि उनीहरू भागेर स्थानीय अनिल महेश्वरीको घरमा लुकेका थिए। मोर्चा कार्यकर्ताले बाहिरबाट ताल्चा लगाएर बन्धक बनाएका उनीहरूलाई तीन घण्टापछि प्रहरीले उद्धार गर्‍यो। ठाकुर भन्छन्, “ढोका फुटेको भए हाम्रो लास निस्किन्थ्यो, हामीलाई मार्न खोजेका थिए।” घर खाली छाडेर विराटनगरमा बसेका ठाकुरले १२ माघ राति घरको ढोका फुटाएर १५ तोला सुनको गहना, तीन किलो चाँदी र रु.१ लाख ३५ हजार नगद चोरी भएको बताए।

६ माघ साँझ् सभाको तयारीमा रहेका युवासंघका २५० जना कार्यकर्ताका लागि ठाकुरको घरमा खाना पाकिरहँदा मोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि ठाकुर परिवार ढोका लगाएर छतमा लुकेको थियो। मोर्चाले रंगेलीका सबै पसल र घरमा युवासंघका कार्यकर्तालाई केही खान नदिनू भन्ने उर्दी जारी गरेको थियो। युवासंघ मोरङका अध्यक्ष मुकेश बुढाथोकी सुत्ने ठाउँसम्म नपाएकाले चौरमा पराल ओछ्याएर भोकभोकै रात काटेको बताउँछन्। युवासंघका कार्यकर्तालाई खाजा दिएको भन्दै जिल्ला अस्पताल रंगेली अघिल्तिरको एक पसलमा तोडफोड गरियो। “गाउँका साथीहरूले फोन गरेर अहिले नआउनू भनेका छन्” दुई छोराछोरी र श्रीमतीसहित विराटनगर बसेका रंगेलीका सुनचाँदी व्यवसायी समेत रहेका अग्रवाल भन्छन्, “उपयुक्त वातावरण बनेपछि मात्र घर फर्कन्छौं।”

पूर्वाञ्चल मानवअधिकार सञ्जालका संयोजक सोमराज थापा रंगेलीवासीमा भय कायमै रहेको, सुरक्षित महसूस गर्न नसकेको र सुरक्षाको अनुभूति दिलाएर विस्थापितलाई घर फर्काउन पहल गर्नुपर्ने बताउँछन्। रंगेली आन्दोलनको नेतृत्व गरिरहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य शंकर साह भने विस्थापितहरू जनताबाट डराएको बताउँछन्। “उनीहरूले गल्ती गरेका छन् भने जनताबाट डराउँछन्” साह भन्छन्, “जनताको डर भए किन रंगेली आउनू?” मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय विस्थापितलाई फर्काउन सबै पक्षले पहल गर्नुपर्ने बताउँछन्।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम