१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

समय नयाँ 'हिरो'को

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
नयाँ अनुहारले समाजका वास्तविक चरित्र पर्दामा देखाउन थालेपछि नेपाली 'फिल्मी हिरो' को पुरानो छवि 'फेज आउट' को चरणमा पुगेको छ।

विक्रम राई
खाइलाग्दो जीउडाल, चकलेटी अनुहार, लामो कपाल, स्टाइलिष्ट पहिरन! नेपाली फिल्मी हिरो हुन चाहिने यो बलिउड ट्रेडमार्क बदलिंदैछ। हाकु काले, गोफ्ले ('लूट'), काजी ('कबड्डी'), टुल्के ('टलकजंग भर्सेस टुल्के') जस्ता चरित्र दर्शकका लागि अविस्मरणीय बन्दा पुरानो पारामा बद्लाव आएको हो। नेपाली समाजकै पात्रहरूको कथामा एकपछि अर्को फिल्म आउन थाल्दा सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने (हे.तस्वीर) लगायतका रंगकर्मीहरू सशक्त फिल्मी अभिनेताका रूपमा उदाएका छन्।

नेपाली सिनेमामा यी नयाँ पात्रहरू मुक्काको भरमा एक्लैले १० जना भिल्लेनलाई ढाल्न असमर्थ छन्। न त यिनीहरू नायिकासँग फूलबारीमा गएर चार गीतमा चार पटक नाच्छन्। बरु यिनीहरू नेपाली गाउँ–शहर र चोक–गल्लीमा भेटिने पात्रहरूको जीवन्त अभिनय गर्छन्। पहिलेका स्टाइलिष्ट हिरो भुवन केसीकै छोरा अनमोल पनि आधुनिक पुस्ताको मनोदशा प्रस्तुत गर्दा बाबुको भन्दा फरक ढंगले प्रस्तुत भइरहेका छन्।

हिन्दी फिल्मको नक्कल र वनावटी अभिनयको साटो परिचित जस्तो लाग्ने पात्रको कथामा वास्तविक अभिनय हेर्न पाएपछि नेपाली दर्शक त्यतै लहसिएका छन्। निर्देशकहरू पनि हिरो केन्द्रित नभई चरित्रप्रधान फिल्म बनाउन थालेका छन्। हिजोको नेपाली सिनेमामा हिरो र भिल्लेनबीचको टक्कर हुन्थ्यो, आज सामाजिक द्वन्द्व र परिवेशमा पात्रहरूको चलखेल हुन थालेको छ। दर्शकको रुचि र समाजको बद्लाव पहिचान गर्न सक्ने नयाँ पुस्ताका निर्देशकहरूको आगमनले यो सम्भव भएको हो।

'चले चलाए' भन्दा फरक धारका एकपछि अर्को चरित्रप्रधान फिल्म बन्न थालेपछि नयाँ अनुहार लोकप्रिय भएका छन्, जो चकलेटी र स्टाइलिष्ट छैनन्। तर, रंगमञ्चबाट खारिएर आएका त्यही अनुहारहरूले नेपाली फिल्म हेर्न छोड्दै लगेका दर्शकलाई हलहरूमा फर्काएका छन्। परिणाम, पूरै फिल्मी सिनारियोमा अस्वाभाविक मारधाड मात्रा र अनावश्यक नाचगान घट्न थालेका छन्। मौलिक नेपाली फिल्महरू थपिन्छन् र तिनैले शहरका मल्टिप्लेक्सहरूमा हिन्दी फिल्मको बोलवाला घटाउँदैछन्।

नेपाली फिल्ममा अहिले रंगमञ्चबाट आएको ठूलै जमात सक्रिय छ। सौगात, दयाहाङ र खगेन्द्रले स–साना भूमिकाबाट अभिनेताको अलग पहिचान बनाउनेहरू त्यही समूहको प्रतिनिधित्व गर्छन्। कुनै वेला शिव श्रेष्ठ, भुवन केसी, राजेश हमालहरूलाई निर्माता–निर्देशकहरू आफ्नो फिल्ममा लिन पालो कुर्थे, अहिले त्यो सौगात र दयाहाङले लिएका छन्। पहिलेका हिरोहरू भ्याई–नभ्याई गर्थे, अहिलेकाहरू आफू सुहाउँदो कथा र चरित्र नभए 'रिजेक्ट' गर्ने सामर्थ्य राख्छन्। कुनै वेला पोष्टरमा राजेश, निखिल उप्रेती, विराज भट्टको अनुहार हेरेर फिल्म चल्थ्यो, आजका दर्शक दयाहाङ–सौगातहरूको चरित्रप्रधान तस्वीर मन पराउँछन्।

गोपेन राई
दुई धारको प्रतिस्पर्धाः काठमाडौं सुन्धारास्थित मल्टिप्लेक्स क्यूएफएक्समा १५ माघमा रिलिज भएका दुई नेपाली चलचित्र 'पशुपतिप्रसाद' र 'रिफ्युजी' को पोष्टर हेर्दै दर्शक।
पहिलेका नायकहरू चरित्रमा आफैं मिहिनेत नगरी निर्देशकमा निर्भर हुँदा फिल्मपिच्छे नयाँपन देखाउन चुके। राजेश हमालले १७० जति फिल्म खेले। उनलाई एकै वर्षमा २२ फिल्ममा लिइयो। तर, आज विगततिर फर्केर उनी 'आफूले नेपाली फिल्मको विकासका लागि बढी फिल्म खेलेको' भनेर सन्तुष्ट हुनुपर्ने अवस्थामा पाउँछन्। “मैले फिल्म गरें, तर तीमध्ये धेरै राम्रा थिएनन्” राजेश भन्छन्, “तर त्यसले नेपाली फिल्म क्षेत्रलाई मजबूत पार्न भने सघायो।”

करीब २५ वर्षको अवधिमा फिल्मको विषय र चरित्रले नभई आफ्नो अनुहारले पूरै फिल्मलाई बोक्नु/बिकाउनुपर्ने बाध्यता रहेको उनी बिर्सन्नन्। उनी अब चाहन्छन्– फिल्मको कथाले आफूलाई बोकोस्। (हे. कुराकानी)

राजेशलाई लिएर 'अवतार', 'पृथ्वी', 'सिमाना' जस्ता फिल्म बनाएका निर्देशक प्रकाश साय्मी राजेशले 'स्टारभेल्यु' बढाएको तर विविधता दिन नसकेको बताउँछन्। निर्देशकहरूबीच फूलटिपाइ बनेका राजेशको सबैजसो फिल्ममा एकनासे चरित्र छ। अझ् चार/पाँच दृश्यमा पनि खेल्नुले उनलाई घाटा पुर्‍याएको साय्मीको विश्लेषण छ। 'बसन्ती' जस्तो ऐतिहासिक फिल्ममा पनि उनी ऐतिहासिक चरित्र गगन सिंह नदेखिएको, अभिनय खार्न 'कोर्ट मार्शल' नाटकमा खेल्दा पनि उनी राजेश हमाल नै देखिएको साय्मी बताउँछन्। “अहिले रंगमञ्चबाट आएका सौगात–दयाहाङहरू पनि फिल्मको संख्या बढाउनमा केन्द्रित भए भने लोकप्रियतामा धेरै टिक्दैनन्”, साय्मी भन्छन्।

मानवशास्त्री सुरेश ढकाल दुई दशकमा राजेश अभिनित फिल्महरूले धेरैलाई रोजगार दिएको बताउँछन्। निर्माता–निर्देशकहरू जुनसुकै चरित्रमा पनि एउटै राजेशलाई जबर्जस्ती फिट गर्दा गुणस्तर भने गौण भएको उनको विश्लेषण छ। ढकालका भनाइमा, बहुलताको 'डिस्कोर्स' चलेको अहिलेको नेपाली समाजमा हिजो जस्तो 'हिरो' हरू चल्दैनन्। “अब कथा र परिवेश अनुसारका हिरोहरू चाहिन्छन्”, ढकाल भन्छन्, “फिल्ममा समाजको परिवर्तन देखिनुपर्छ।”

बलिउड स्कूलिङबाट आएर मौलिक कथामा ऐतिहासिक फिल्म 'सीमारेखा' बनाएका निर्देशक किशोर राना पनि सिनेमा निर्माण शैलीमा समय अनुसारको परिवर्तन देखिनैपर्ने बताउँछन्।

निर्देशकीय भन्दा फिल्म चलाउने निर्माताको मसला 'डिमाण्ड' ले गर्दा लामो समयसम्म नेपाली फिल्मले नयाँपन नपाएको उनको विश्लेषण छ। “हिजो राजेशको एकनासको फिल्म आयो, उनी स्टार भए”, उनी भन्छन्, “तर, अब मौलिकताले मात्र दर्शक तान्न सक्छ।”

हुन पनि, 'हिरो' को अनुहार बिक्ने त्यो वेला फिल्म निर्माणमा निर्देशक होइन, निर्माता र वितरकदेखि हलवालासम्म हावी थिए। वितरक र हलवालाहरू राजेश, निखिल वा विराज नभएको फिल्म वितरण नगर्ने र हलमा नचलाउने भन्थे। निर्देशक उज्ज्वल घिमिरे १०/१५ लाखमा बनेको फिल्मका चार/पाँच दृश्यमै भए पनि राजेश हमाल हुने र ५०/६० लाखभन्दा माथिका फिल्ममा पनि हमाल नै देखिंदा दर्शक ठगिएको बताउँछन्। नेपाली फिल्मले राजेशलाई २५ वर्ष थेगेर 'फेज आउट' गर्न लागेको घिमिरेको धारणा छ भने निर्देशक राना २५ वर्षमा अरू धेरै आए पनि 'स्टारडम' राजेशले बनाएको बताउँछन्।

नयाँ पुस्ताका निर्देशक निश्चल बस्नेत अनुहारको भरमा चलेका 'हिरो' हरूले चरित्र, अभिनय र प्रस्तुतिमा ध्यान नदिंदा आफ्नो 'स्टारडम' थेग्न नसकेर नटिकेको बताउँछन्। उनको भनाइमा, अहिले सौगात र दयाहाङले देखाएको आशा टिकाइराख्न पनि सजिलो छैन। किनभने, उनीहरूले अभिनय गरेका सबै फिल्मले व्यावसायिक सफलता हासिल गरेका पनि छैनन्।

आउँदै, हराउँदै

२००७ सालमा कलकत्तामा बनेको पहिलो नेपाली चलचित्र 'सत्यहरिश्चन्द्र' का निर्देशक डीबी परियार र सबै कलाकार भारतीय थिए। देहरादुनका हीरासिंह खत्रीको निर्देशनमा २०२२ मा नेपालमै बनेको 'आमा' का नायक नेपालकै शिवशंकर थिए। राजदरबारले बनाएको त्यो फिल्ममा शिवशंकर देशप्रेमले ओत–प्रोत नेपाली युवकको भूमिकामा थिए। त्यसपछि 'माइतीघर' मा सीपी लोहनी देखिए।

आ–आफ्नो समयमा चलेका हिरोहरु शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, निखिल उप्रेती र विराज भट्ट।

२०३३ सालमा प्रदर्शनमा आएको 'मनको बाँध' बाट नायक बनेका सल्यान केसी पहिलो रंगीन फिल्म 'कुमारी' का नायक बने तर उनको कलायात्रा यी दुई फिल्मभन्दा अघि बढ्न सकेन। त्यसपछि आएका विराटनगरका विश्व बस्नेत २०३६ सालमा 'सिन्दुर' फिल्ममा कोट–प्यान्ट लगाएको एउटा मध्यमवर्गीय नेपाली चरित्रमा देखिए। 'सिन्दुर' पछि 'अन्याय' मा सामाजिक विकृतिका विरुद्ध डटेर लड्ने विश्व बस्नेतको चरित्रलाई दर्शकले निकै रुचाए। यिनै फिल्मबाट बस्नेतले 'स्टार' को रूपरेखा खिचे।

२०२२ देखि २०४६ सालसम्म जम्मा ३७ वटा नेपाली फिल्म निर्माण भए। जबकि, २०४८ पछि आएका राजेश हमालले एक वर्षमै २२ वटासम्म फिल्म खेले। त्यही समयमा उदाएका शिव श्रेष्ठ, भुवन केसी जस्ता कलाकार स्टारको रूपमा छाए। 'जीवनरेखा' (२०३९) बाट पर्दामा आएका विराटनगरका शिव पहिलो फिल्मबाटै स्टार बने। उनका 'कान्छी', 'चिनो', 'स्वर्ग' जस्ता फिल्म दर्शकले रुचाए। समयक्रममा उनी पाकिस्तानसम्म छाए। 'जुनी' मार्फत २०४१ मा उदाएका भुवन केसीको चकलेटी अनुहार र फेशनेवल पहिरनले धेरै दर्शकलाई एकोहोरो बनायो। उनको 'कुसुमे रुमाल', 'सम्झ्ना', 'सन्तान', 'सपना', 'साइनो', 'तृष्णा', 'दुई थोपा आँशु' जस्ता फिल्म धेरै रुचाइए। द्वन्द्वप्रधानमा शिव र रोमान्टिक फिल्ममा भुवन लामो समय टिके।

२०४६ सालको राजनीतिक परिवर्तनपछि फिल्मी क्षेत्रले गति लिन थाल्यो। त्यही क्रममा २०४७ मा 'युगदेखि युगसम्म' फिल्ममार्फत पर्दामा आएका राजेश हमालले नयाँ युगको शुरू पनि गरे। भारतीय कलाकार मिथुन चक्रवर्तीको जस्तो लामो कपाल र गठिलो जीउडालका साथ पर्दामा आएका उनी छोटो समयमै सबैको आकर्षक बनेर अढाइ दशकसम्म छाए। उनले 'देउता', 'बसन्ती', 'अवतार', 'पृथ्वी' लगायत डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरे। सबै फिल्मको अभिनय एकनास भए पनि उनले 'स्टारडम' प्राप्त गरे। मिडियाबाट पाएको 'महानायक' को उपाधि भने उनको फिल्म नहेर्ने माझ् पनि चर्चाको विषय बन्यो। पछिल्लो समय उनी टेलिभिजन कार्यक्रमहरूमा छाएका छन्। मल्टिप्लेक्स हलहरूमा उनका फिल्म चल्दैनन्, तर स्टार छवि सबैतिर छ। फिल्म 'वागमती' को असफलताले राजेश हमालको युग सकिंदै गएको संकेत दिएको छ।

शिव श्रेष्ठ र भुवन केसीको मनोमानी चलिरहेको समयमा आएका राजेश हमाललाई नेपाली फिल्मी क्षेत्रले गज्जबले आत्मसात् गरेको थियो। उनी भन्दा अघि आएका धेरै प्रतिभाशाली नायकहरूले आफूलाई स्थापित गर्न सकेका थिएनन्। पछि आएकाहरू पनि टिकेनन्। 'भाग्यरेखा' का रवीन्द्र खड्का, 'चेलीबेटी' का अर्जुनजंग शाही, 'फेरि भेटौंला' का प्रकाश अधिकारी, 'आदर्श नारी' का विजय लामा आदि धेरै आशलाग्दा नायक आए अनि गए। प्रहरी सेवामा रहेका अर्जुनजंग शाही जनआन्दोलन दमनको विवादमा फँस्दा फिल्मी करिअर नै डुब्यो। उदितनारायण झा, कृष्ण मल्ल, पूरण जोशी, श्रवण घिमिरे आदिले पनि नायकका रूपमा आफूलाई टिकाइराख्न सकेनन्। यो क्रममा 'विजय पराजय' बाट ठूलो पर्दामा आएका सरोज खनालले चकलेटी अनुहार र दमदार अभिनयबाट सबैको प्रशंसा बटुले। 'प्रेमपिण्ड', 'मोहनी', 'रगत', 'सारङ्गी' जस्ता फिल्महरूबाट फरक पहिचान बनाए पनि उनी व्यावसायिक रूपमा टिक्न नसकेर देशबाटै पलायन भए।

राजेश हमालपछि 'हिरोहरू' उदाउने र अस्ताउने क्रम चलिरह्यो। २०५० सालयता नेपाली फिल्ममा 'हिरो' बन्न आएकाहरूको लामो सूचीमा दिलीप रायमाझी र श्रीकृष्ण श्रेष्ठदेखि निखिल उप्रेती र विराज भट्टसम्मको नाम उल्लेख्य छ। रोमान्टिक अभिनय र नृत्यमा दिलीप–श्रीकृष्ण अनि द्वन्द्वप्रधान भूमिकामा निखिल–विराज जमेका थिए। 'आफ्नो मान्छे', 'नाता', 'सुख–दुःख', 'आफन्त' जस्ता फिल्मबाट फरक छाप छाडेका श्रीकृष्ण र 'दर्पणछायाँ' बाट उदाएका दिलीप रायमाझी पनि समयक्रममा हराए। आफैं बनाएको 'मिस यू' नचलेपछि दिलीप पनि सरोज खनाल जस्तै अमेरिका पसे। 'हाइवे टु धम्पुस' जस्तो विदेशी फिल्ममा समेत अभिनय गर्न सफल आशलाग्दो देखिएका राजबल्लभ कोइराला पनि अमेरिकातिरै रमाउन थालेका छन्। श्रीकृष्णले भने आफैं बनाएको 'कोहिनुर' हेर्न पाएनन्। उनको निधन पछि प्रदर्शनमा आएको फिल्मले राम्रो व्यापार गर्‍यो।

बलिउडमा स्टन्ट गरेको अनुभव सँगालेका निखिल र नेपाली फिल्ममै स्टन्टमेन रहेका विराजको चकचकी पनि धेरै दिन टिकेन। बलिउड मसलाका मारधाडयुक्त दर्जनौं फिल्म खेलेका विराज भोजपुरी फिल्मतिर लागे भने निखिल नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेर लामो समय मुम्बई बसे। त्यहाँबाट फर्केर उनले खेलेका दुई फिल्ममध्ये 'लुटेरा' थन्क्यो भने 'भैरव' लगानी उठाउन सफल भयो।

आजका दर्शकले हिरो हैन, आफ्नै वरिपरिको परिवेशका कथा र चरित्र खोजिरहेकाले 'लूट', 'कबड्डी' जस्ता फिल्म मन पराएका हुन्।

निश्चल बस्नेत,

निर्देशक

हिजो बनाउँदै आएका फिल्मको विषय र प्रस्तुति कन्भिन्सिङ नलाग्ने रहेछ। पछि दर्शकको चाहना अनुसार 'वडा नम्बर ६' बनाएँ जुन चल्यो।

उज्ज्वल घिमिरे,

निर्देशक

पछिल्लो समय नेपाली फिल्ममा आर्यन सिग्देल, जीवन लुइँटेल हुँदै संयम पुरी, अनमोल केसी, सुशील श्रेष्ठ, सलोन बस्नेतलगायतका नायकहरू आएका छन्। यी नवनायकहरूका फिल्मले पुरानो ढर्रा छोड्दै लगेको देखिन्छ। उनीहरूको फिल्म मल्टिप्लेक्सका दर्शकले समेत रुचाएका छन्। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका पहिलेका 'लोभीपापी', 'ट्रक ड्राइभर' जस्ता हास्यप्रधान फिल्ममा भने अहिले दीपकराज गिरी, विल्सनविक्रम राईहरू देखिएका छन्। उनीहरू रुचाइएका पनि छन्।

गायन, मोडलिङ, टेलिभिजन लगायतका विधामा पहिचान बनाइसकेकाहरू पर्दामा 'हिरो' बन्न आउने, जाने क्रम पनि पुरानै हो। यो मेसोमा उदितनारायण झादेखि रामकृष्ण ढकाल, निमा रुम्बा, यशकुमार, बाबु बोगटीसम्म जोडिएका छन्। अहिले मोडलिङका प्रशान्त ताम्राकार र टेलिभिजनका सुरजसिंह ठकुरी फिल्ममा देखिएका छन्।

डिजिटल युगमा नयाँ धार

अनुभव विनाका निर्देशकहरूले प्राविधिक कठिनाइ झेल्दै सीमित हल र दर्शकका लागि फिल्म बनाउने क्रममा बलिउडमा काम गरेका प्रकाश थापा, तुलसी घिमिरे, शम्भु प्रधान, किशोर राना जस्ता निर्देशकहरू आएपछि नेपाली फिल्म क्षेत्रले गति लियो। त्यसपछिका निर्देशकहरूले 'मेन स्ट्रिम' का रूपमा उनीहरूलाई नै पछ्याए। प्रकाश थापाको धारमा अहिले पनि फिल्महरू बनिरहेका छन्। दुई दशकसम्म नेपाली फिल्ममा यस्तै कथा, गीत र द्वन्द्वको प्रचुरता भयो। अहिले यो धार भुत्ते भइसकेको छ।

२०५० को दशकबाटै सुस्त रूपमा आएको मौलिक धार र पछिल्लो समयको डिजिटल धारले यो क्षेत्रमा समानान्तर रेखा कोरेको छ। नवीन सुब्बाको 'नुमाफुङ' र छिरिङ रितारको 'मुखुण्डो' नेपाली फिल्मको 'मेन स्ट्रिम' ले शुरूमा अस्वीकार गरे पनि दर्शकबाट प्रशंसित भए। व्यावसायिकताको नाममा बलिउड शैलीका सूत्रबद्ध फिल्महरू बनिरहेको समयमा डिजिटल प्रविधिको आगमनपछि भने नेपाली फिल्मको स्वरुप र सोच दुवैमा परिवर्तन हुन थाल्यो। यो प्रविधिमा एकदशक अघि 'कागबेनी' र 'सानो संसार' बन्दा नेपाली फिल्ममा रंगमञ्चका सौगात र कर्माको आगमन भयो।

२०६८ सालमा प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित 'लूट' ले भने यो धारलाई बलियो बनायो। यसमा सौगात र कर्मासँगै दयाहाङ पनि सशक्त रूपमा देखिए। मौलिक कथावस्तु, संवाद र प्रस्तुतिका कारण सफल भएको यो फिल्मपछि मल्टिप्लेक्सहरूमा बलिउडका फिल्महरूले टक्कर दिने जोडी पाएको महसूस भयो। त्यसपछि तीव्र रूपमा बन्न थालेको यो शैलीका फिल्ममा पछिल्लो समय रामबाबु गुरुङ निर्देशित 'कबड्डी' र 'कबड्डी–कबड्डी' ले 'लूट' को सफलता पछ्यायो। दीपक रौनियर निर्देशित यो शैलीको 'हाइवे' र मीन भामको 'कालो पोथी' ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा समेत प्रशंसा–चर्चा पाए।

यो धारका फिल्महरूको व्यावसायिक सफलता देखेपछि पुरानो शैलीका निर्देशकहरूले समेत विचार बदल्न थालेका छन्। दुवै धारको बीचमा फिल्म बनाउने क्रम पनि शुरू भएको छ। आफ्नो आठौं फिल्म 'अन्दाज' मल्टिप्लेक्समा नचलेपछि निर्देशक उज्ज्वल घिमिरे आखिरमा व्यावसायिकताको नाममा बन्दै आएका नेपाली फिल्मका विषय र प्रस्तुति 'कन्भिन्सिङ' नभएको निचोडमा पुगे। 'फर्मूला' फिल्मबाट दर्शक दिक्क भएको बुझेपछि घिमिरेले 'वडा नम्बर ६' बनाए, जुन हल र मल्टिप्लेक्स दुवैतिर मज्जाले चल्यो। 'वडा नम्बर ६' मा मैले नयाँ–पुरानो दुवै शैली अपनाएँ, घिमिरे भन्छन्, “जसले दुवैथरीका दर्शक तान्यो, फिल्म चल्यो।”

दुई दशकबाट फिल्म वितरक र निर्माता रहेका नरेन्द्र महर्जन डिजिटल प्रविधि र नयाँ धारका फिल्मले मल्टिप्लेक्सहरूमा नयाँ दर्शक समूह बनाएको बताउँछन्। 'लूट', 'फर्स्ट लभ', 'छड्के' र 'फन्को' जस्ता फिल्ममा लगानी गरेका महर्जनले पहिले अंग्रेजी, हिन्दी फिल्म हेर्ने नेपाली दर्शकले नयाँ धारका नेपाली फिल्म हेर्न थालेको अनुभव सँगालेका छन्। “पहिले फिल्म नबुझेरै फिल्म बनाइन्थ्यो, अहिले फिल्म र समाज दुवै बुझेका निर्देशकहरू आए”, उनी भन्छन्, “राजेश हमाल वा निखिल उप्रेतीको टाउको बिक्ने जमाना अहिले छैन।”

निखिल उप्रेतीको पछिल्लो फिल्म 'भैरव' मल्टिप्लेक्समा चलेन। राजेश हमाल र शिव श्रेष्ठसँगै देखिएको 'वागमती' को हालत 'भैरव' को भन्दा खराब भयो। पछिल्लो पुस्ताका निर्देशक निश्चल बस्नेत नयाँ शैलीका फिल्महरू सिंगल स्त्रि्कनका हल नपाएका कारणले पनि सबै दर्शकमाझ् पुग्न नसकेको बताउँछन्। उनका अनुसार, पुरानै शैलीका फिल्म निर्माता र वितरकहरूको हलमा नयाँ शैलीका फिल्म प्रदर्शन हुन पाएको छैन। “जहाँ पाएको छ, त्यहाँ राम्रो चलेको छ”, बस्नेत भन्छन्, “कबड्डी–कबड्डीको साढे पाँच करोड व्यापारमध्ये रु.३ करोड मात्र मल्टिप्लेक्सको थियो।”

खस्कियो 'स्टार भेल्यु'

कुनै वेला पोस्टरमा राजेश हमालको अनुहार देखेकै भरमा दर्शकहरू फिल्म हलसम्म पुग्थे। अचेल अनुहार होइन, प्रोमो हेरेर चलचित्र हेर्ने/नहेर्ने निर्क्योल हुन थालेको निर्देशक दयाराम दाहाल बताउँछन्। “निर्माताले कलाकार को राख्ने भन्न छाडेर कथा वा स्त्रि्कप्ट कस्तो छ भन्ने कुरामा प्रश्न उठाउनु अहिलेको ठूलो उपलब्धि हो”, दाहाल भन्छन्, “यो प्रश्न सीधै चलचित्र उत्पादनको गुणस्तरसँग जोडिन्छ।”

उनका अनुसार, 'हिरो' बनाउने काम निर्देशक वा दर्शकले गरे पनि हिरोकै रूपमा टिकिरहन कलाकार स्वयंले मिहिनेत गर्नुपर्छ। नेपाली चलचित्र क्षेत्रमा हिरोगिरी दिगो हुन नसकेको उनी बताउँछन्। शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, विराज भट्ट आदि आ–आफ्नो समयमा हिरो भए पनि उनीहरूको स्टार–भ्याल्यु दिगो नभई खस्किंदै गएको निर्देशक दाहालको मूल्यांकन छ। अर्का पुराना निर्देशक शम्भु प्रधान दर्शकको चलचित्र–चेतना निकै बढेकाले अब 'कन्टेन्ट' बलियो हुनुपर्ने बताउँछन्। बलियो कन्टेन्टमा काम गर्नेको 'स्टार भ्यालु' स्वतः हुने भए पनि चर्चित कलाकार भन्दैमा दर्शक लोभिने दिन गएको उनको भनाइ छ।

विषयवस्तु, स्त्रि्कप्ट र अभिनयलाई जोड दिने टे्रन्ड आएकाले राजेश हमाल जस्ता स्टार–भ्याल्यु भएका अभिनेता समेत महिला पात्रको रूपमा देखिनुपरेको प्रधान बताउँछन्। उनी भन्छन्, “अहिलेका दर्शकले हिरोभन्दा पनि वास्तविक कलाकार खोजेका छन्।”

एक जमानाका लोकप्रिय अभिनेता विश्व बस्नेत पनि अहिले र आफूले काम गर्दाको हिरोको व्यक्तित्वमा ठूलो परिवर्तन आएको बताउँछन्। उनका अनुसार पहिले अभिनेत्रीसँग नाच्ने, गुण्डाको हात–खुट्टा भाँच्ने, सत्यका पक्षमा वकालत गर्ने पात्रलाई हिरोका रूपमा देखाइन्थ्यो अहिले चरित्र जस्तोसुकै भए पनि त्यसमा अन्याय नहुनेगरिको अभिनय गर्ने कलाकार हिरो हुन्छ। “अहिले बूढो ड्राइभर पनि फिल्मको हिरो हुन सक्छ”, बस्नेत भन्छन्, “तर, उसले सुपरम्यान जस्तो नभई बूढो ड्राइभरको जीवन्त अभिनय गर्नुपर्छ।”

अभिनेता भुवन केसी भने चलचित्र हीट हुन कलाकारको स्टार–भ्याल्युको ठूलो भूमिका हुने बताउँछन्। आफ्नै छोरा अनमोलको राम्रो क्रेज भएकाले कतिपय दर्शक उसैलाई हेर्न हलसम्म आउने गरेको अर्थात् स्टार–भ्याल्यु नयाँ पुस्तामा सरेको उनको भनाइ छ। अनमोल, आर्यनहरूले आफ्ना फ्यान–फलोअर बढाएर कायम राख्न धेरै मिहिनेत गर्नुपर्ने उनी बताउँछन्। पैसामुखी भएर धेरै फिल्म खेल्दा क्रेज चाँडै सेलाउने भुवनले बताए।

साथमा सजना बराल


मिहिनेती सौगात

'कागबेनी' बाट नेपाली फिल्ममा हिरोको रुपमा डेब्यु गरेका सौगात मल्ललाई दर्शकमाझ मज्जैले चिनाउने काम भने त्यसको चार वर्षपछि 'लूट' ले गर्‍यो। उनले 'कागबेनी' अघि 'पक्षी' र 'दाग' मा नाममात्रको भूमिका गरेका थिए।

एक समय नवलपरासीको परासीबजारमा कमेडी नाटक गरेर दर्शक हँसाएका सौगात नृत्यका सौखिन थिए। २०५९ सालमा गुरुकुलको पहिलो ब्याचका विद्यार्थी भएर रंगमञ्चमा पाइला राखेका उनले १० वर्षअघि हिमाल सँग 'फिल्ममा हिरो भएर फाइट खेल्ने दिनको प्रतीक्षा रहेको' बताएका थिए। यसपटक नेपाली फिल्मका अति व्यस्त अभिनेताका रुपमा भेटिएका उनले कुनै फिल्मको चरित्रको लागि मिहिनेत गर्दा धेरै समय बित्ने बताए। “लूट'मा हाकु कालेको अभिनय गर्न पाटनको छोयला–भुटन पसलहरू चहारेको थिएँ”, उनले भने, “अहिले 'फन्को' मा भक्ति ड्राइभर बन्न चालकहरूको खानेबस्ने अड्डाहरूमा समय बिताएँ।”

फिल्म खेल्ने सपना लिएर राजधानी छिरेका सौगातलाई शुरुआतका दिनमा कहिलेकाहीं आफू यस क्षेत्रमा लागेर घनघोर खण्डहरमा पसे झै महसूस हुन्थ्यो। सँगैका साथीभाइले विदेश गएर पैसा कमाई घरबार जोड्न भ्याइसकेका थिए। त्यस विपरीत रंगकर्मी बनेका सौगातको एक पछि अर्को फिल्म आउन थालेपछि जीवन सोचे जस्तै भएको छ। गुरुकुलका दर्जनौं नाटकमा उम्दा अभिनय गरेका उनी आफूलाई रंगमञ्चकै उत्पादन ठान्छन्। रंगकर्ममा नलागेको भए आजको सौगात नबन्ने उनी बताउँछन्।

'लूट', 'बधशाला', 'श्री ५ अम्बरे', 'छड्के', 'फिटकिरी', 'कबड्डी–कबड्डी' र 'फन्को' मा अविस्मरणीय अभिनय गरेका उनी आगामी ६ महीनासम्म व्यस्त छन्। स्त्रि्कप्ट मन नपरेर २२ वटा फिल्म अस्वीकार गरेको बताउने उनी केही फिल्म चाहिं पैसाकै लागि गर्नुपरेको भन्छन्। आर्थिक कारणले गर्दा कतिपय अवस्थामा जे पायो त्यसैमा काम गर्दिनँ भन्न नसकेको दिक्दारी उनीसँग छ।


टुल्केपछि पशुपतिप्रसाद

स्याङ्जाको बगालथोकबाट राजधानी पसेका खगेन्द्र लामिछाने सौगात र दयाहाङकै समकालीन भए पनि अभिनयमा कान्छा हुन्। 'बधशाला' फिल्मबाट पर्दामा आएका उनी गत वर्ष 'टलक जंग भर्सेस टुल्के' मा टुल्केको अभिनयबाट दर्शकमाझ चिनिए। अहिले उनी अर्को सामाजिक चरित्र पशुपतिप्रसादको भूमिकाबाट चर्चामा छन्। यी दुवै फिल्मको पटकथा/संवादका लेखक उनी आफैं हुन्।

२०५६ सालमा पोखरामा भएको पश्चिमाञ्चल नाटक महोत्सवबाट रंगकर्ममा आएका खगेन्द्र एक दशकअघि गुरुकुलमा एकल अभिनयको नाटक 'पीडागीत' मा प्रस्तुत भएका थिए। रंगकर्मी सुनिल पोखरेल र अनुप बरालका चेला खगेन्द्र रंगमञ्चको अनुभवले फिल्ममा जीवन्तता दिने बताउँछन्। उनी आफूले समाजमा देखेका र मनले खाएका चरित्रहरूबारे लेख्छन्। आत्मसन्तुष्टिका लागि लेखेका कुरालाई नाटक र फिल्ममा उतार्दा अरुले पनि मनपराएको अनुभव उनले गरेका छन्।

रंगमञ्चका सौगात, दयाहाङलगायतका कलाकार फिल्ममा आउँदा नाटकको क्रेज झन् बढेको खगेन्द्र बताउँछन्। अनि फिल्म मेकिङ र अभिनयको शैलीमा परिवर्तन आउँदा हिरोको छवि पनि बदलिएको उनको विश्लेषण छ। तर, 'हिरो' हुनलाई जे पायो त्यही फिल्म खेल्ने पक्षमा उनी छैनन्। खगेन्द्रले बीबीसी वर्ल्ड सर्भिस ट्रष्टले उत्पादन गर्ने रेडियो नाटक लेख्ने काम छाडेका छैनन्। उनलाई अनुहार देखाउनकै लागि फिल्म खेल्नु छैन। आफूलाई मन परेको चरित्रबारे लेख्छन्, भन्ने कुरा स्त्रि्कप्टमै भन्छन्। “एकाध वर्षमा एउटा राम्रो चरित्र अभिनय गर्न पाए पुग्छ”, खगेन्द्र भन्छन्, “त्यसको लागि साथीहरूसँग मिलेर फिल्म प्रोडक्सन हाउस पनि खोलेका छौं।” १५ माघबाट प्रदर्शनमा आएको 'पशुपतिप्रसाद' को शुरूआती दर्शक प्रतिक्रिया राम्रो आएपछि उनी थप हौसिएका छन्।


दमदार दयाहाङ

भोजपुरको खावाबाट मज्जाले दुई दिन हिंडेर धरान अनि त्यहाँबाट राजधानी छिरेको गाउँले ठिटो १५ वर्षको अवधिमा नेपाली फिल्मको बिकाउ अभिनेता बन्यो। छोटो र मोटो ज्यानमाथि चिम्से मंगोल अनुहारका दयाहाङ राईमा चकलेटी 'हिरो' को खोजी बेकारै छ र उनी आफैंलाई पनि कहिल्यै हिरो बन्छु भन्ने लागेको थिएन। त्यसैले नाटक/फिल्म लेख्ने र निर्देशन गर्ने सपना देख्ने उनी आज धेरै दर्शकका प्रिय अभिनेता बनेका छन्।

गाउँमा गोठालो गर्दै हुर्केका दामलेहरू कोही बेलायत त कोही भारतका पल्टने भए। बाँकी रोजगारका लागि खाडी वा मलेसियातिर लाग्दा दयाहाङ कलाक्षेत्रमा लाग्ने सपना बोकेर काठमाडौं आएका थिए। उनले शुरुमा अनुप बरालबाट नाटकको प्रशिक्षण लिंदालिंदै 'अनागरिक' फिल्ममा काम गरे। त्यसपछि 'दासढुंगा' मा अमर लामाको भूमिकामा देखिएका उनलाई पनि दमदार अभिनयले सौगात मल्ललाई जस्तै 'लूट' ले दर्शकमाझ चर्चित बनायो। त्यसपछि 'कबड्डी' र त्यसकै सिक्वेल 'कबड्डी–कबड्डी' को सफलताले उनलाई नेपालका व्यस्त अभिनेताको कित्तामा उभ्यायो।

'हाइवे', 'बधशाला', 'लोफर', 'झोले', 'फन्को' लगायत दुई दर्जन फिल्ममा अभिनय गरिसकेका उनका 'लालटिन', 'हाउ फन्नी', 'वीर विक्रम', 'ह्वाइट सन' प्रदर्शन हुन बाँकी छन् भने केहीको छायांकन चलिरहेको छ। ६ वटा नाटक निर्देशन गरेका उनी अहिले आफ्नै मण्डला थिएटरमा सोमनाथ खनाल निर्देशित 'र.. माइलो' मा अभिनय गरिरहेका छन्। चले चलाए शैलीभन्दा फरक धारका फिल्म बन्न थालेकोले आफू जस्तो कलाकारले मुख्य भूमिका पाएको ठान्ने दयाहाङले फिल्म निर्देशनको इरादा पनि राखेका छन्। चरित्रप्रधान अभिनय दयाहाङको विशेषता हो। अभिनय गरिसकेपछि लाज र धेरै कुरा बिग्रेको जस्तो लाग्ने उनी भन्छन्, “नयाँ सोचका निर्देशक र दर्शक नभएको भए यो हुलियाको मान्छे हिरो हुने कुरै आउँदैनथ्यो!”


अनमोलको क्रेज

टिनएज पुस्तामाझ लोकप्रिय अभिनेता हुन्, अनमोल केसी। सन् २०१३ मा रिलिज भएको 'होस्टेल' चलचित्रमार्फत 'हिरो' को रूपमा देखिएका उनी आफ्ना बुबाबाट प्रभावित भएको बताउँछन्। अभिनयदेखि ड्रेस–अपसम्ममा बुबाको प्रभाव रहेको उनी बताउँछन्। अहिले उनी बुबाकै डेब्यु निर्देशन रहेको चलचित्र 'ड्रिम्स' को प्रमोसनमा व्यस्त छन्। 'होस्टेल' सार्वजनिक हुनासाथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट ओइरिएर मोबाइल बोक्नै छाडेको बताउँदै उनी भन्छन्, “मेरो चर्चा, क्रेज र व्यस्तता देख्दा बुबा खुशी हुनुभएको छ।”


आर्यन र कर्मा

अभिनेता आर्यन सिग्देल र कर्मा शाक्य एकै साल चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। कतिपय चलचित्रमा सँगै काम पनि गरे। ८ वर्षअघि 'किस्मत' बाट अभिनय शुरु गरेका आर्यनले त्यसपछि 'मौसम', 'मेरो एउटा साथी छ', 'हिफाजत', 'कलिउड', 'नोभेम्बर रेन', 'लोफर', 'नाइके' लगायत चलचित्रमा अभिनय गरे। गुरुकुलको रंगमञ्चहुँदै फिल्ममा आएका कर्माले पनि 'सानो संसार', 'एक दिन एक रात', 'फस्ट लभ', 'लूट', 'मृगतृष्णा', 'हाइवे', 'भिजा गर्ल', 'रेशम फिलिली' आदिमा अभिनय गरे। आर्यन र कर्माका चलचित्र सिंगल स्त्रि्कन र मल्टिप्लेक्स दुवै हलमा चलेका छन्।


'चलचित्रले मलाई बोकेन, मैले धान्नु पर्‍यो'

विक्रम राई
राजेश हमाल, अभिनेता
पछिल्लो फिल्म 'वागमती' किन चलेन?

'युगदेखि युगसम्म' देखि 'वागमती' सम्म आइपुग्दा नेपाली समाजको भोगाइ, हेराइ, बुझाइमा ठूलो परिवर्तन आइसकेको छ। 'वागमती' मा धेरै मिहिनेत गरे पनि नयाँ स्वाद खोजिरहेका दर्शकले रुचाएनन्। यसको 'कन्टेन्ट' मै समस्या भयो।

फिल्मी जीवनको २५ वर्ष सम्झिंदा कस्तो लाग्छ?

सिनेमामा हिरोका रूपमा निरन्तर २५ वर्ष काम गर्न सक्नुलाई म आफ्नो सफलता ठान्छु। अभिनय थालेदेखि विश्राम लिएको छैन। एक साल त २२ वटा फिल्ममा काम गरें। शुरुमा कहाँसम्म पुग्छु, को जस्तो हुन्छु भनेर सोच्ने परिवेश थिएन। कुनै 'रोल मोडल' पनि थिएन। वर्षमा एक/दुई चलचित्र बन्थे। विस्तारै चलचित्र क्षेत्र विस्तार हुँदै जाँदा जसो–तसो मेरो करिअर पनि अघि बढ्यो।

थोरै तर राम्रा चलचित्रमा काम गर्नुपर्नेरहेछ जस्तो लाग्दैन?

मैले काम थाल्दा चलचित्र नै बन्ला कि नबल्ला भन्नेमा टाउकोदुखाइ थियो। चलचित्र नै नबनिदिएको भए मेरो कलाकारिताको केही अर्थ हुन्नथ्यो। पहिलो चरणको जिम्मेवारी पनि थियो– जति चलचित्र बन्छन्, बनून्। धेरै चलचित्रमा काम गर्दा मसँगै अरुले पनि काम पाउँथे र दक्ष जनशक्ति उत्पादनमा पनि सघाउ पुग्थ्यो। त्यो वेला क्यामरा म्यान, मेकअप म्यानहरू बम्बईबाट ल्याउनुपर्थ्यो।

अहिले आफूलाई कुन ठाउँमा पाउनुहुन्छ?

कलाकारले आफूलाई कहिल्यै एउटा परिधिमा बाँधेर राख्दैन। कलाकारलाई आकार दिने काम निर्देशक र दर्शकले गर्छ। यस अर्थमा, समाज अनुसारकै चलचित्र बन्छन्। मेरो दुर्भाग्य चाहिं के भइदियो भने, चलचित्रले मलाई होइन मैले चलचित्रलाई धान्नु पर्‍यो। म चाहन्छु– अब चलचित्रले मलाई बोकोस्। अहिले दर्शकलाई राजेश हमाल हेर्न सिनेमा हल पुगिरहनुपर्दैन। म टेलिभिजन कार्यक्रमदेखि अनलाइन मिडियासम्म देखिइरहेकै हुन्छु। अब चलचित्रको 'कन्टेन्ट' बलियो भयो भने मात्र दर्शकले मलाई हलमा समय दिन्छन्।

मूलधारका भनिएका तपाईंका चलचित्र मल्टिप्लेक्समा नचल्नुको कारण 'कन्टेन्ट' मात्र हो?

समाजमा भिन्दाभिन्दै दृष्टिकोण र स्वाद हुन्छ। फरक स्वाद चाहनेका लागि पनि फिल्म बन्नु राम्रो हो। फरक शैलीका नेपाली चलचित्र बनेर मल्टिप्लेक्समा हिन्दी मात्र हेर्न आउने दर्शकलाई आकर्षित गर्नु पनि राम्रो हो। तर, त्यस्ता फिल्म आम दर्शकलाई 'बोरिङ' पनि लाग्न सक्छ। सबैले 'युनिभर्सल अपील' भएका चलचित्र बनाउन सक्दैनन्, यो चुनौती छ।

नेपाली निर्देशकहरू परिमार्जित नभएका हुन्?

फिल्मको कन्टेन्टलाई मजबूत पार्ने जिम्मेवारी निर्देशककै हो। किनकि पर्दामा आउनुअघि नै उसको दिमागमा फिल्म तयार भइसकेको हुन्छ। कलाकार एउटा औजार मात्र हो। चलचित्र क्षेत्रले विश्वमा ठूलो फड्को मारेकाले हाम्रा निर्देशकहरूले आफूलाई अपडेट गराउनै पर्छ।

तपाईंका सबै फिल्ममा एकै खालको अभिनय भयो भनिन्छ नि?

मैले जति विविधता भएका भूमिका अरु कमै कलाकारले गरे होलान्। मैले 'लभर ब्वाई' र 'एङ्ग्री यङमेन' देखि ऐतिहासिक पात्रको भूमिका गरें। लुक्स र चरित्रमै फरक हुन त चलचित्रको धार अलग हुनुपर्‍यो। सरसर्ती हेर्दा ७०/८० को दशकका अमिताभ र राजेश खन्नाका फिल्ममा फरकपन देखिन्न, तर उनीहरूका आ–आफ्नै स्टाइल थिए।

अब विश्राम लिने वेला भएको हो?

कुनै पनि क्षेत्रमा २५/२६ वर्ष लागेपछि मान्छे अवकाशमा जानुपर्ने हुन्छ भने कुनै कलाकार अजम्बरी हुँदैन। तर, मैले अझै केही समय यो क्षेत्रबाट अलग्गिने सोच बनाएको छैन। कुनै कथाले तान्यो भने फिल्म निर्देशन पनि गर्ने विचारमा छु।

तपाईंले फिल्म खेल्न थाल्दा जन्मेका र स्कूल पढिरहेकाहरू अहिले हिरो छन्। नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्नुपर्दा अनौठो लाग्दैन?

मेरो फिल्मी करिअर भन्दा कान्छो व्यक्तिहरूसँग आज तुलना हुन्छ भने त्यो मेरो सफलता हो। म यो चुनौती सामना गर्दै उनीहरूसँग काम गर्न रुचाउँछु, नयाँ कुरा दिन चाहन्छु। मैले हरेक तीन/चार वर्षमा यो आयो त्यो गयो भन्ने सुन्दै आएको छु। आउने र जानेबाट मलाई कुनै 'थ्रेट' छैन। धेरै उतारचढाव बेहोरे पनि मैले कहिल्यै प्रतिस्पर्धा महसूस गरिनँ। यद्यपि म सबै कुरामा ठीक छु भन्दिनँ।

तपाईंले सौगात–दयाहाङसँग पनि एउटै फिल्ममा काम गर्नुभयो। नाटक पनि गर्नुभयो। नयाँहरूसँगको अनुभव कस्तो छ?

उहाँहरू कलाकारिता, अभिनयप्रति बढी गाम्भीर्य देखेको छु। त्यसैले उहाँहरूका चलचित्रहरूले राम्रो छाप छाडिरहेका छन्। उहाँहरूमा फलानो हिरोको कपी गरेर ऊ जस्तै बन्ने चाह छैन। आफूभित्रको कलाकारिताको भोक मेटाउन लागिपरेको देखिन्छ। उहाँहरूसँग काम गरेको 'मुखौटा' मा मेरो सानो भूमिका थियो। दयाहाङ र मलाई नै केन्द्रमा राखेर कुनै फिल्म बन्यो भने पनि अभिनय नगर्ने कुरै छैन।

प्रस्तुतिः डम्बरकृष्ण श्रेष्ठ


बदलिंदो अनुहार

नायकमा चाहिने सुन्दरता, अनौठोपन, सादगीपन सदैव कायम रहन्छ। यसको माग–उपयोग कुन बाटो–तरीकाबाट हुन्छ भन्नेमा विचार पुर्‍याउने हो।

प्रकाश साय्मी

चल्यो, चलेनः नयाँ धारको दयाहाङ र सौगातको 'कबड्डी कबड्डी' सुपरहीट हुँदा पुरानै शैलीको राजेश र शिवको 'वागमती' भने फ्लप भयो।

सिनेमामा दुई दृष्टिकोण हुन्छ– निर्देशक दृष्टिकोण र दर्शकको दृष्टिकोण। निर्देशकले स्थापित गरेको दृश्यिक स्थायित्वको सिद्धान्त वा त्यसको धरातलमा बनेका मान्यतालाई कहिलेकाहीं दर्शकले अस्वीकृत गरिदिन्छन्। सिनेमामा नायक पनि निर्देशकको चयनबाट आउँछ, तर निर्देशकले छानेको सबै नायकलाई दर्शकले स्वीकार गर्छन् भन्ने हुँदैन। बलिउडमा हड्डी बिल्डर (बडीविल्डरको व्यंग्यमा) भनेर फ्याँकिएका अमिताभ बच्चन फिल्म 'आनन्द' मा त्यस समयका उम्दा अभिनेता राजेश खन्नाको तुलनामा अत्यधिक लोकप्रिय भए।

नेपाली सिनेमाको प्रथम चरणका नायकद्वय शिवशंकर (आमा) र सीपी लोहनी (माइतीघर) नायक होइन, गायक बन्न आएका थिए, तर निर्देशकले तिनमा नायकीय गुण देखेर नायक बनाइदिए। नेपाली सिनेमामा आएका शिवशंकरदेखि शिव श्रेष्ठसम्मका नायकमा निर्देशकहरूले खोजेको शारीरिक सौष्ठव, चेहरा, आवाज सबै थियो र नै छानिए। तिनका पछि आएका भुवन केसी, अर्जुनजंग शाही, उदितनारायण झा, विजय लामा, श्रवण घिमिरे, पूरण जोशी, प्रकाश अधिकारी आदि फरक–फरक शैलीका देखिए।

पर्दामा आएका सबै समयका नायकहरूलाई एउटा शीर्ष पात्रको रूपमा हेरिए पनि तिनमा अभिनयको अपेक्षा धेरै र प्राथमिकताको आधार कम थियो। यी नायकहरू नेपाली रजतपटमा स्थापित हुँदै गर्दा भारतमा नसीरुद्दीन शाह, ओम पुरी, अमोल पालेकर, रजनीकान्त जस्ता साधारण लाग्ने अनुहारहरू आफ्नो 'स्पेस' बनाउँदै थिए। त्यतिवेला नेपाली चलचित्रलाई पनि ती र त्यस्ता अनुहारले आकर्षित नगरेको होइन, तर वर्षमा एउटा फिल्म बन्ने नेपालमा त्यस्तो अनुहारलाई चरित्र अभिनेता मान्ने चलन थियो। 'परालको आगो' का टंक शर्मा र 'बाँच्न चाहनेहरू' का किरण ठकुरी त्यही चलनको शिकार भए।

चलचित्रमा कुनै नायक छानिंदा उसको सामाजिक व्यक्तित्व र चारित्रिक छविबारे 'गसिप' उछालिन्छ, जसले उसको व्यक्तित्वलाई बृहत्तर बनाउँदै लैजान्छ। 'गसिप' मा आउँछ– यो फिल्मको नायक पर्दामा आउनुअघि समाजको तल्लो तप्काको व्यक्ति थियो। त्यसले दर्शकको सामाजिकतालाई पर्दामा कलाकारसित समीकरण गराउँछ। अर्को हल्ला पनि आउँछ– यो नायक अर्कै केही बन्न चाहन्थ्यो र असफल भएर चलचित्रमा आयो। अब दर्शकहरूको निजी असफलता त्यही समानुभावमा जोडिन्छ। यसरी अधिकांश दर्शकले आफूले जीवनमा गर्न चाहेको र नसकेको कुरा पर्दामा खोज्ने हो।

अहिलेका नेपाली दर्शकले पर्दामा कुनै बाबुसाहेब वा लाठसाहेब नभई आमचरित्र हेर्न चाहेका छन्, जसमा आफ्नै भोगाइ, दुःख वा पीडा होस्। पर्दामा राम–रावण छविका नायक–खलनायक होइन, चोक–गल्लीतिर भेटिने 'कमन् म्यान्' देखिइनु अहिलेको परिवर्तनको साख हो। यो परिवर्तनले पुरानो पारालाई ध्वस्त बनाएको छ, यो नै ठूलो सफलताको स्रोत नभए पनि। राजनीतिक परिवर्तन यसको प्रमुख कारण हो। २०६३–६४ सालको आन्दोलन पछि सुकिला–मुकिला र सम्भ्रान्त देखिनेहरूको कुराले भाउ पाउन छाड्यो र पर्दामा पनि त्यही भयो।

सिनेमाको उद्भव भएको फ्रान्समा शुरूदेखि नै नायकको छवि साधारणीकरणमै केन्द्रित रह्यो। सिनेमामा सर्वाधिक सफल मुलुक अमेरिकाले भने एउटा काँधमा बन्दूक र अर्को काँधमा सुन्दरी बोकेको नायकलाई सुहाउने बनायो।

यसमा हलिउडले विश्वलाई प्रभावित पार्‍यो र ओस्कार अवार्डसम्म प्रभावित भयो। हलिउडको वर्चस्व तोड्न रूस, चीन, जापान, इरान, कोरिया र भारत लगायतका कमनवेल्थका केही देश आबद्ध भएका छन्।

नेपाली सिनेमामा रंगमञ्चबाट र सिनेमा सम्बन्धी अल्पकालीन तालीम लिएका गरी दुई किसिमका नायकहरू आए। यी दुवैको नियन्त्रक निःसन्देह रूपमा निर्देशक नै थिए। विगतमा निर्देशकहरूलाई आर्थिक भार धेरै थियो। रिलमा शूटिङ्ग गर्नुपर्थ्यो, जसको पुनःप्रयोग सम्भव थिएन। ती कारणहरूले निर्माताको दबाबलाई अकाट्य बनाउँथ्यो। अहिले शूटिङ्ग मेकानिकल बनेको छ। कलाकारहरूले शूटिङ्ग स्पटमा सिक्ने र सुधार गर्ने अवसर पाएका छन्। निर्देशकले स्वतन्त्रता र नायक–नायिकाले खुल्लापन पाएका छन्। राजनीतिक परिवर्तन, आर्थिक स्वतन्त्रता, प्रविधि र विशेषतः काठमाण्डूमा खुलेका नाट्यशालाहरूको शालीन हस्तक्षेपले नेपाली सिनेमामा परिवर्तन ल्यायो।

अहिले नाटक गर्ने अनेक संस्था र उनीहरूका फरक शैलीले कलाकारहरूलाई विशिष्टता प्रदान गरेको छ। अहिलेको पर्दामा तिनको प्रभाव त्यसरी नै परेको छ, जसरी पहिलेका सिनेमामा बालकृष्ण सम र रत्नदास प्रकाशका नाटकको परेको हुन्थ्यो। अहिलेका नेपाली सिनेमाका भाव, स्वभाव, प्रभाव बदलिंदो छ। यसबाट नायकको छवि परिवर्तन भएको छ। 'स्टारडम' को छवि–छापबाट दर्शक टाढिएका छन्।

comments powered by Disqus

रमझम