केका लागि?

Share:
  
- रामेश कोइराला
जनकल्याण र आर्थिक प्रगति निर्वाचनका प्रमुख मुद्दा नबनी सिंहदरबारको बाटो तय भइरहेसम्म 'नयाँ शक्ति' सम्बन्धी बहस भई नै रहनेछ।

भानु भट्टराई
एक वर्षदेखि नेपाली विमर्शको बजारमा चुलिएको छ– नयाँ शक्ति चाहिन्छ या चाहिन्न भन्ने बहस। राजा–महाराजाहरूले दरबारमा स्तुतिगानका लागि राखेका भाटहरूकै शैलीमा आउने कतिपय लेखको प्रभावले हुन सक्छ, आजकल दलहरू पनि आफ्नो कुरा राख्न र विपक्षीसँग सैद्धान्तिक बहस गर्नमा नभई भाट खेतीमा रमाउन थालेका छन्। यो आलेख भने नेपालमा नयाँ राजनीतिक पार्टी वा विचार जरूरी भइसकेको छ वा छैन भन्ने विमर्शमा सहयोगी होस् भन्ने उद्देश्यमा केन्द्रित छ।

आन्दोलनबाट राजनीतिक परिवर्तन ल्याउन जनाधार र मन छुने नाराहरू भए पुग्छ। त्यो गर्न सक्नेहरू नै मुलुकमा 'प्रमुख राजनीतिक दल' भएका छन्। तर, देश चलाउन र बनाउन नाराहरूले मात्र पुग्दोरहेनछ। त्यसका लागि दिगो नीति, स्पष्ट बाटो र त्यो बाटोमा अगाडि बढेको प्रष्ट आभास जनतासम्म पुग्नुपर्नेरहेछ भन्ने पटक–पटकको निर्वाचन परिणामले प्रष्ट्याएको छ। र पनि, दलहरूले चेतेका छैनन्।

संविधानले बहुदलीय प्रतिस्पर्धालाई आत्मसात् गरिसकेपछि राजनीतिक समस्या हल भइसकेको छ। जनताले स्थायित्व, पारदर्शिता र त्यसभन्दा पनि बढी आर्थिक–सामाजिक रूपान्तरण खोजिरहेका वेला स्थापित दलहरूले भ्रष्टाचार, अपारदर्शिता, अनुशासनहीनता र अनुत्तरदायित्वबाट मुक्त भएर लोकतन्त्र र आर्थिक रूपान्तरणको मार्ग देखाउन सक्नुपर्छ। यहींनेर पुराना दलहरू आफैं दिग्भ्रमित छन् र पटक–पटक सचेत गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ। आर्थिक–सामाजिक प्रगतिका लागि समाजवाद आज सबै प्रमुख दलको राजनीतिक लक्ष्य वा मार्ग भए पनि कस्तो समाजवाद भन्नेमा कसैमा पनि स्पष्टता छैन।

विकल्प नभएर बाँचेको दल

नेपाली कांग्रेसले पटक–पटक आन्दोलनको नेतृत्व गर्छ र आन्दोलनपछि सरकार बनाउँछ। त्यसपछि नीति तथा कार्यक्रमहरूमा आफ्नो विधानअनुरूपको समाजवादलाई खुला अर्थतन्त्रको कार्यान्वयनमार्फत पूरा गर्नेतर्फ लाग्छ। तर, जनता त टाढाका भए, कार्यकर्ताहरूले समेत भेउ पाउँदैनन्– कांग्रेसका नेताहरूले देशलाई कस्तो समाजवादतर्फ लग्दैछन्? यसरी ऊ बारम्बार चुक्छ र अर्को आन्दोलनको बीजारोपण हुन्छ। यसरी पटके आन्दोलनहरूको कारक र कर्ता दुवै बनेको छ, नेपाली कांग्रेस।

कांग्रेस आजसम्म बीपी कोइराला नामक लगानीकै ब्याजले बाँचिरहेको छ। पार्टीको सिद्धान्त होस् वा त्यसको व्याख्या, सबै 'बीपीले गरिसक्नुभएको छ' मार्काका वृद्ध अनुहारहरूलाई पटकपटक नेतृत्वमा पुर्‍याउने यो दलबाट जनतालाई अब कुनै आशा छैन भन्न ठूलो आँट गरिरहनुपर्दैन। खासमा, यो दल जनताले अर्को लोकतान्त्रिक पार्टी नभेटेर दिएको मतले टिकेको छ। देशको जेठो लोकतान्त्रिक दलको आन्तरिक संगठन एकदमै अलोकतान्त्रिक छ। नयाँ अनुहार र विमर्शलाई विल्कुलै निषेध गरेको यो दलमा सुधारका कुनै लक्षण देखिंदैन। अर्कातिर साधारण सदस्यपछि क्रियाशील सदस्यता लिन सास्ती बेहोरेका विज्ञ युवा समूहमा नैराश्य चुलिंदो छ। जेल, त्याग, थर, वंशले सामर्थ्य र संभावनालाई निस्तेज पार्ने परम्परा नरोकिएसम्म कांग्रेसरूपी बूढो गोरुमा खेत जोत्ने ऊर्जा भरिने देखिंदैन।

कांग्रेसको विधानले आफ्नो आर्थिक–सामाजिक धारलाई समाजवाद नै भनेको छ। प्रजातान्त्रिक समाजवादको राग अलापेर नथाक्ने कांग्रेसले पूँजीवादी उदारवादलाई प्रश्रय दिएको उसको सरकारका हरेक अर्थमन्त्रीले पुष्टि गरेका छन्। तर यो पार्टीले बीपीलाई बोक्ने एउटा अजिबको 'सराप' पाएको छ। समाज कल्याणमा एकरत्ति जोड नदिए पनि 'योजना बनाउँदा किसानको फोटो हेर्न' र 'हरेक घरमा दुधालु गाई होस्' भन्न बाध्य छ, ऊ। नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा टिकिरहन जनमुखी कार्यक्रमभन्दा इतिहास, परम्परागत पारिवारिक मत, विकल्पविहीनता र घुमिफिरी आउने 'सत्तापक्ष–विरोधी रुझान' मा भर परेको छ।

स्वार्थ हावी दल

अन्य अविकसित देशहरूमा जस्तै सर्वहाराको बाहुल्य भएको नेपालमा वामपन्थी दलहरूप्रति जनताको झुकाव हुनु स्वाभाविक हो। अस्वाभाविक त हरेक वामपन्थी दलले अर्को दललाई मात्र नभई आफ्नै दलमा पनि नेतृत्वमा पुग्ने संभावना नहुनेबित्तिकै पश्चगमन, उग्र भड्काव वा संशोधनवाद देख्नु र 'असली' दल खोल्ने प्रवृत्ति हो। हरेक निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत ल्याएर पनि नेपालका वामपन्थीहरूले समान अजेण्डाहरूमार्फत देशलाई समाजवादतर्फ डोर्‍याउन सकेका छैनन्।

२०३५ सालमा गठित नेकपा (माले) बाट पछि एमाले बनेको दल करीब अढाइ दशकबाट देशको सबभन्दा ठूलो वामपन्थी दलको रूपमा उपस्थित छ। यो दल आन्तरिक लोकतन्त्रमा परिपक्व पनि देखिन्छ। यसले करीब तीन दर्जन भ्रातृ संगठनहरूमार्फत वडा–वडा र गाउँ–गाउँमा आफ्नो संजाल बनाएको छ। सबभन्दा बढी संगठित सदस्य भएबाट 'क्याडरबेस्ड' पार्टी बनेको एमालेले समाजवादलाई नै सामाजिक–आर्थिक लक्ष्य बनाएको छ।

तर, कुनै जमानामा कांग्रेसमा नलागेका 'हुनेखाने वर्ग' का सुकिलामुकिलाबाट गठन भएको 'कम्युनिष्ट पार्टी' लाई निम्नमध्यम वर्गीय नेतृत्वमा ल्याइपुर्‍याएको झापा आन्दोलनरूपी यो धार आज कत्तिको समाजवादी दर्शनमा तैरिरहेको छ भन्ने जान्न सुदूर विगतमा पुग्नुपर्दैन, एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीका नाममा गठित व्यापारिक प्रतिष्ठानको हितलाई जसरी पनि भरथेग गर्ने प्रपञ्चले प्रष्ट पारिरहेकै छ। कुनै जमानाका जुझारु सर्वहारा र गुरुहरूबाट संचालित यो दल अहिले गैसस, नवपूँजीपति, निजी शिक्षण एवं स्वास्थ्य संस्थाका संचालक र नाफामूलक सहकारीका संचालकहरूको गठजोड बनेर उनैका अजेण्डा बोकेको दलमा रूपान्तरित भएको भान हुन्छ।

एमालेको विधान (प्रस्तावना) ले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको मार्गदर्शक सिद्धान्त मानेको छ। यसले जबजलाई न्यूनतम र समाजवाद–साम्यवादलाई अधिकतम लक्ष्यका रूपमा आत्मसात् गरेको छ। अझ्, लेनिनकालीन अन्तर्राष्ट्रियवादको धङधङीबाट उम्किन नसकेको प्रमाणस्वरुप विधानमा अन्तर्राष्ट्रिय गीत समेत राखेको छ– 'यो अन्तिम युद्ध हो, आ–आफ्नो ठाउँमा डटौं, अब मानिसको अन्तर्राष्ट्रिय जात हुनेछ' भन्दै।

पाँचौं महाधिवेशन, २०४९ मा जबज पारित गर्दा भनिएको थियो– 'नेपाली कांग्रेसले विपक्षमाथि प्रतिशोधपूर्ण राजनीतिक कारबाही गर्ने, राजनीतिक हिंसा र हत्या गर्ने तथा राज्यआतंक फैलाउने काम गरेको छ। निर्वाचनलाई हिंसा, हत्या, गुण्डागर्दी, बल प्रयोग, सत्ता र शक्तिको दुरुपयोग गर्दै जनताको उपहास गर्ने औसरको रूपमा परिणत गर्दैछ। संयुक्त आन्दोलनद्वारा प्राप्त भएका उपलब्धिलाई खोसेर कांग्रेसी एकाधिकारवाद स्थापित गर्ने प्रयास गर्दैछ।' नवौं महाधिवेशनपछि भने माथिका आरोपहरूबाट ऊ आफैं कति टाढा वा नजिक छ भन्ने समीक्षा गर्नुपर्ने अवस्थामा पुगेको छ।

अन्योलमा टिकेको दल

अनलाइन तस्वीर
नयाँ शक्ति निर्माणका क्रममा बाबुराम भट्टराई नेतृत्वमा अन्तरिम केन्द्रीय परिषद घोषणा गरिंदै।
उग्र वामपन्थी अवधारणासहित सशस्त्र विद्रोहमार्फत आफ्नो आधार–आकार बढाएर संसदीय पद्धतिमा फर्केको एनेकपा (माओवादी) अझ्सम्म पनि राजनीतिक–आर्थिक–सामाजिक रूपमा प्रष्ट हुनसकेको छैन। वर्गविहीन स्वर्गको सपना र क्षेत्रीय–जातीय धारलाई समातेर वैतरणी पार गरेको यो दल अर्को एमाले नबन्न निकै सचेत पनि छ।

यो पनि सत्य हो कि आर्थिक रूपमा साम्यवाद पछ्याएको दलले कहिले पूँजीपतिहरू त कहिले सर्वहाराहरूलाई लोभ्याउने गरिरहँदा हेटौंडाको विस्तारित बैठकबाट पारित 'संस्कृतका ठूल्ठूला शब्द जञ्जाल' पर्गेल्ने लेठो समाप्त भइसकेको छ। चर्का नारा र जनयुद्धको रमझ्ममा वजनदार बनेको यो दल आजपर्यन्त एकीकरण र 'शुद्धयाइँ' मा जुट्ने–फुट्ने गरिरहेको छ। राजनीतिक रूपमै परिपक्व नबनेको यो दलले कस्तो समाजवादी कार्यक्रम ल्याउनेछ, अहिल्यै भन्न गाह्रो छ।

नयाँ शक्तिहरू

मूलधारका राजनीतिक दलहरूलाई चुनौती दिने गरी उदाएका क्षेत्रीय–जातीय दलहरू एक हिसाबले नेपालका प्रथम 'नयाँ शक्ति' हरू हुन्, तर तिनीहरूको मोर्चाबन्दीले समग्र देशलाई गतिशील बनाउन सक्दैन। हाम्रो जस्तो अविकसित देशमा विना सत्तास्वार्थ कुनै गठबन्धन टिक्दैन र त्यस्तो स्वार्थी गठजोडले देशलाई आर्थिक–सामाजिक प्रगतिपथमा लैजाँदैन। जातीय दलहरूले जातिगत मागभन्दा बाहिर गएर राष्ट्रिय परिदृश्यमा कुनै विचार–बहस वा दीर्घकालीन नीतिबारे ठोस धारणा नबनाउने हुनाले त्यस्ता दल वा दलहरूको गठजोडबाट देशको आर्थिक–सामाजिक उन्नतिको आकांक्षा राख्न सकिन्न। धर्म वा व्यक्तिका नाममा आउने संवेदनाका मतमा आफ्नो अस्तित्व खोज्ने दलहरूबाट पनि ठूलो अपेक्षा गर्न सकिन्न।

कुनै पनि दलमा नलागेको र साँवा अक्षर मात्र चिनेको एउटा नेपालीलाई देशमा कस्तो पार्टी चाहिन्छ भनेर सोध्दा लगभग पूरै जनताको प्रतिनिधित्व हुने जवाफ पाइन्छ। झोलुंगेपुल, प्राथमिक विद्यालय, सामुदायिक वन, सानो बजेट, कालो पोलिथिनका पाइप र पहेंलो डोजरले विकासका रूपरेखा खिचेका नेपाली गाउँहरूका आकांक्षा सीमित छन्, सपना ठूला छैनन्। अब चाहिं ती निर्बोध आँखाहरूले केन्द्रमा कस्तो सरकार बन्दैछ भनेर निकै जागरुकताका साथ नियालिरहेछन्। उनीहरू एकस्वरमा भन्न सक्ने भइसकेका छन्– 'राजनीति जागिर नबनोस्, पारदर्शी होस् र नीतिमा आर्थिक स्वार्थ नघुसोस्। पराजितलाई राजीनामा दिने नैतिक बल मिलोस् र विज्ञहरूको समानान्तर सहभागिता होस्। बजेट कनिका नबनोस्, राष्ट्रिय हितका आयोजनाहरू समयमै पूरा होउन्। अघाउँजी खान र एकदुई मुठी दिन पनि पुगोस्।'

गत केही वर्षमा हाम्रो राजनीतिक परिवेशमा 'नयाँ शक्ति' का दावेदारहरू देखिएका छन्। निर्वाचन आयोगमा दर्ता हुनुपर्ने सामान्य विवेकसमेत नदेखाउने विवेकशील पार्टीले महाभूकम्पका वेला संचालन गरेको उद्धार तथा राहत कार्यक्रमद्वारा हासिल उँचाइलाई भारतीय नाकाबन्दीताकाको 'मधेशका माग पूरा गर' मार्काका बतासे नाराले स्व–अवसान रोजाइसकेपछि त्यस दलको आर्थिक–सामाजिक योजनामा ध्यान दिने जरुरत रहेन। 'जता पनि ठिक्क' ले आफ्नो उद्देश्यमा असर पार्छ भनेर नबुझने शहरी दलले 'नयाँ शक्ति' को रूप धारण गर्ने सम्भावना त्यसै पनि न्यून हुन्छ। डा. उपेन्द्र देवकोटाको नयाँ दलले पनि राष्ट्रिय रूप लिने छाँटकाँट देखिंदैन।

एक–डेढ वर्षदेखि समाजसेवीका रूपमा पनि परिचित बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रले 'नयाँ शक्ति' को बहस शुरू गरेको सर्वविदितै छ। त्यसैताका एमाओवादीका नेता डा. बाबुराम भट्टराईले पनि 'नयाँ शक्ति' को उपादेयताबारे आफ्नो दल र संचारमाध्यममा गम्भीर छलफल थाले। बजारमा चल्तीका दायाँ वा बायाँका सिद्धान्त नबोकेका पत्रकार मिश्रले नयाँ शक्तिको औचित्य र मार्गबारे छापामा लेख्नेबित्तिकै चौतर्फी हमला गरियो। इतर विचारहरूलाई नितान्त वर्जित र घटिया ठान्ने एक जना उग्र प्रगतिशील विचारकले त पूरै ग्राफ तान्न अह्राए। नेपाली समाजको विभेदका भर्टिकल र होरिजन्टल रेखाहरूको ग्राफमा आफ्नो कोअर्डिनेट प्वाइन्टसमेत खिच्न लगाए।

मिश्र भन्थे पनि होलान्– 'मेरो कोअर्डिनेसन प्वाइन्ट पूरै ग्राफ हो, तथ्यांकशास्त्रमा प्रयोग हुने सरल वितरणको 'बेल कर्भ' मा म कतै जडसूत्रवादी कोअर्डिनेसन प्वाइन्ट खोज्नुभन्दा मध्यबिन्दुको धनात्मक र ऋणात्मक दोहोरो स्ट्याण्डर्ड डेभिएसनले भेटेजति सबैलाई समेट्नेछु।' तर आकस्मिक प्रहार वा अन्य कुनै अज्ञात कारणले उनी यो वादविवादबाट ओझेल पर्दै गए। अनि उदाए– बाबुराम भट्टराई, एमाओवादी छोडेर नयाँ शक्ति निर्माण अभियानमा। उनले औद्योगिक पूँजीवाद, न्यायोचित संघीय संरचना, विधिको शासन, एक व्यक्ति एक पद र समाजवादको पाँच नारा लिएर अर्को 'नयाँ शक्ति' घोषणा गरेका छन्।

उल्लिखित चार वटै 'नयाँ शक्ति' नेपाली राजनीतिक परिदृश्यका फरक अवयव हुन्।

परम्परावादी राजनीतिक दलहरूभन्दा अलग यी शक्तिहरूले 'वाद' नभई 'सामाजिक–आर्थिक प्रगति' लाई सर्वोपरि ठानेका छन्। विवेकशील र डा. देवकोटाको दलहरूलाई छाडेर मिश्र र भट्टराईतिर विल्कुलै फरक कुनाहरूबाट प्रहार गरियो। विडम्बना, भट्टराईलाई आरोपित गर्नेहरूले मिश्रतिर एउटा पनि शब्द खर्चिएनन् अनि मिश्रलाई प्रहार गर्नेहरूले भट्टराईलाई अछुतो राखे। भारतीय नाकाबन्दी अगाडि बाबुराम भट्टराईलाई महान् देख्ने आँखाले गुजरात दंगालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आततायी लेख्नसम्म भ्यायो। मोदीको काखीमा रगत गन्हाएको चाल पाउने नाकले यताको पूरै रक्ताम्य कमिजको गन्ध सुँघेन। हाम्रो शरीर विज्ञानमा सबभन्दा पहिले अभ्यस्त हुने ज्ञानेन्द्रिय नाकै हो, बानी परे गनाउँदैन!

त्यस्तै, रवीन्द्र मिश्रले पनि आफ्ना इच्छाहरू लुकाएका छैनन्। उनी नयाँ नीति लिएर राजनीतिमा होमिन चाहन्छन्, जहाँ समाजका राम्रा भनिएका मानिसहरूको एउटा टोली होस्। नेपाल अगाडि बढाउने समूह बनोस् र आफू पनि त्यहाँ अटियोस्। यस्तो चाहना अपराधै हो र? तर, स्वनामधन्य उग्र प्रगतिशीलहरूले 'सर्वे भवन्तु सुखिनः' भन्ने भनाइलाई वर्जित नै गर्ने भरमग्दुर प्रयत्न गरे।

संसारका विकसित देशहरूमा पनि निकै गरीबहरू छन्। त्यहाँ किन सर्वहाराको वामपन्थी पार्टीहरू तुषारोले खाएका पोथ्राभन्दा ठूला भएनन्? 'साम्राज्यवादको नमूना' अमेरिका जान हरेक वर्ष नेपालीले गर्ने तँछाडमछाडले त्यो भुलभुलैयाको स्वतः प्रतिवाद गरेन र? सर्वहाराको कोअर्डिनेसन प्वाइन्ट समातेको पार्टीकै वैदेशिक इकाई त्यहाँ खुल्नुले चश्मा हरियो भएको बाहेक के संकेत गर्छ? प्रगतिशील लेखक जमातले यी प्रश्नहरूको जवाफ खोज्नुपर्छ।

'राम्रा कर्मी'हरूको कसी

सिद्धान्तको जामाविहीन मिश्र र भट्टराईलाई प्रगतिशीलहरूले अश्लील देख्दैछन्। उनीहरूले नाङ्गो 'नयाँ शक्ति' भनिरहे पनि हामीलाई अश्लील लाग्दैन– बाटोमा हिंडिराखेको गाई। आचार्य रजनीश भन्छन्, 'श्लील–अश्लील हाम्रो दिमागमा हुन्छ, जामामा हुँदैन। एउटा पूरै पुस्तालाई जामा लगाएको गाई मात्र देखाऔं त, चोरबजारमा नाङ्गा गाईका तस्वीरहरू बिक्नेछन्।'

गल्लीमा कुनै जनावरको छायाँ देखियो भने रैथाने कुकुरहरू जोडले भुक्छन्। हुन सक्छ, नवआगन्तुक कुनै अर्को टोलको वर्गमित्र होला अनि यो पनि हुन सक्छ, त्यो छायाँ कुनै हात्तीकै होला। चौतर्फी हमला झेल्नका लागि हुनसक्छ यी माथिका चारै 'नयाँ शक्ति' भविष्यमा एकल 'नयाँ शक्ति'का रूपमा जोडिनेछन्। जंगलमा रंग–रूपका जीवहरू हुन्छन्– सुनौलो बाघ, रातो हाब्रे, कालो भालु, सेतो बकुल्ला वा छिर्केमिर्के मुजुर। सब सुन्दर मानिन्छन्। समस्या त छिनछिनमा रंग बदलिइरहने त्यो विचरा छेपारोलाई पर्छ। मेण्डेलको 'सर्वोत्तमको संरक्षण' लाई दोष दिएर मात्रै उसले प्राकृतिक नियमबाट उन्मुक्ति पाउने छैन। छायाँ गाउँठाउँका वर्गमित्रकै भए दुईचार ङारङुरमा टोलकै अर्को सदस्यको बढोत्तरी होला, नभए भुकाइमा ध्यान नदिई लम्किने हात्ती होला।

देशलाई दिशा दिने उचित मनसायले भट्टराई नेतृत्वको नयाँ शक्तिमा आवद्ध भएका पूर्व सचिव रामेश्वर खनालले सामाजिक संजालमा लेखे– 'कस्तो मुलुकमा जन्मिएछ, असल सोच्नै पनि अपराध ठानिने। चूप बस्न पनि नपाइने।' उनलाई विदितै होला, इतिहास नेतृत्वकै लेखिनेछ। त्यसैले त बाङ्लादेशका पूर्व नेताहरूलाई युद्धकालीन भूतले दशकौं पछिसम्म पनि छाडेन र उनीहरू युद्ध अपराधमा अहिले पनि परिरहेका छन्। तसर्थ विश्वास छ– नयाँ शक्तिका 'राम्रा कर्मी'हरूले दल कता जानेछ र देशलाई कता लानेछ भनेर आफू जोडिएको नेतृत्वलाई कसीमा राख्ने नै छन्।

तीन यथार्थ

पुराना दलहरूमा रहेका जुझारु कार्यकर्तामाझ् नैराश्य फैलिने त्रासमा समानान्तर सहभागितालाई नकार्दै गइयो। विद्यार्थीकालदेखि नै दलमा नलागेका कारणले विषयगत विज्ञहरूलाई पाखा लगाइयो। आफ्ना कमी–कमजोरीलाई आत्मसात् गरेर सुध्रिएनन् भने पुराना शक्तिहरू मक्किइसकेका भवन हुनेछन्, जसलाई कुनै प्रतिधक्काले खण्डहर बनाउनेछ। पुरातात्विक महत्वका भग्नावशेष बन्नुभन्दा वर्तमानको चलायमान दल बन्नु नै हितकर हुनेछ।

अर्को यथार्थ के हो भने, जबसम्म देशमा जनकल्याण र आर्थिक प्रगति निर्वाचनका प्रमुख मुद्दा बन्दैनन् र दलका नाम, कोष्ठभित्रका फूलबुट्टा, आफन्ती साइनो, सत्तापक्ष–विरोधी रुझान आदिका बलमा सिंहदरबारको बाटो तय गरिन्छ, तबसम्म नयाँ शक्तिको खाँचो भइरहन्छ। तेस्रो यथार्थ– रथको यात्रा घोडाहरूले हैन, सारथिले तय गर्छन्। तर अबको महाभारत घोडाहरूको पनि लेखियोस्!

comments powered by Disqus

रमझम