तर, राजधानी शहरमा महिला र खास गरेर ह्वीलचियर प्रयोगकर्ताहरूले जानाजान पानी बार्नुपरेको छ। खाना कम खानु र दिसापिसाब रोक्नु तिनको थप बाध्यता बनेको छ। सबलांगलाई समेत पुग्दो शौचालय नभएको काठमाडौं उपत्यकामा अपाङ्गमैत्री शौचालय कल्पनाको विषयजस्तो हुनपुगेको छ। शहरका घर र कार्यालयहरूको शौचालय समेत ह्वीलचियर घुमाउन मिल्ने गरिको फराकिलो नभएकोले अपांगता भएका व्यक्तिहरूले हरेक पटक अरूको सहायता लिनुपर्छ। “एक त शौचालयहरू नै छैनन्”, ज्योति अर्याल (२६) भन्छिन्, “कहीं भेटिंदा पनि आफैं प्रयोग गर्न मिल्दैन।”
अहिले काठमाडौंमा रहेकी बुटवलकी ज्योति कोठाबाट निस्कनुपर्दा उनले अपनाउने पहिलो उपाय हुन्छ– पानी नखानु। दिनभरकै लागि निस्कनुपर्दा त उनी खाना पनि कम खान्छिन्। यो अभ्यासले उनलाई पत्थरी भयो। उनी आफूजस्तो कम्मरमुनिको भाग नचल्नेमध्ये धेरैलाई पिसाब पोल्ने, रिंगटा लाग्ने, ढाड दुख्ने, वाक्वाकी लाग्ने, हातखुट्टा झ्म्झ्माउने समस्या भएको र कतिपयले त दिसापिसाब नियन्त्रण गर्दागर्दै त्यो क्षमता नै गुमाएको बताउँछिन्। ज्योति जस्तै काठमाडौंमा रहेका कैलालीका कृष्ण चौधरीले पानी कम खाँदाखाँदै मिर्गौलामा पत्थरी भएको बताए। अपाङ्गमैत्री शौचालय बनाउन अनुरोध गर्दै महानगरपालिकादेखि मन्त्रालयसम्म धाए पनि कसैले नसुनेको उनी बताउँछन्।
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन केन्द्र, काठमाडौंका महासचिव कृष्ण गौतमका अनुसार, नेपालमा २५ हजार जति ह्वीलचियर प्रयोगकर्ता छन्। आफू पनि ह्वीलचियर प्रयोग गर्दै आएका गौतम अपाङ्गमैत्री शौचालय चाहिन्छ भन्ने कुरामा कसैले ध्यान नदिएको बताउँछन्। काठमाडौं महानगरपालिकाभित्रका ३२ र उपत्यकाभरका ६३ वटा सार्वजनिक शौचालयमध्ये एउटै पनि अपाङ्गमैत्री छैनन्।
महानगरपालिकाले जनाए अनुसार रत्नपार्कमा बल्ल एउटा अपाङ्गमैत्री शौचालय बनाउन थालिएको छ। पछिल्लो समय विभिन्न सरकारी कार्यालयमा अपाङ्गहरूका लागि र्याम्पहरू बनाए पनि ह्वीलचियर प्रयोगकर्तालाई हुने शौचालय एउटै पनि छैन। राष्ट्रिय अपाङ्ग महासंघका महासचिव टीका दाहाल महिला तथा बालबालिका मन्त्रालयमा पहिलो तलासम्म ह्वीलचियर पुग्ने र्याम्प भए पनि कामकाज सबै त्यसभन्दा माथिल्लो तलाहरूमा हुने बताउँछिन्। अन्य केही कार्यालयमा सिंढी र र्याम्पहरू अपाङ्गमैत्री भए पनि ह्वीलचियर सुहाउँदो शौचालय पद्मकन्या क्याम्पसमा मात्र भएको टीकाले बताइन्। पद्मकन्या क्याम्पसकी विद्यार्थी हेमकला सुनुवार अरू ठाउँका सार्वजनिक शौचालयमा ह्वीलचियर जान नसक्ने भएकाले काम पर्दा पनि छात्रावासबाट निस्कन आँट नआउने बताउँछिन्।
जनगणना २०६८ अनुसार कुल जनसंख्याको १.९६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। अपाङ्गताको क्षेत्रमा कार्यरत संघ–संस्थाहरूको आँकडाले चाहिं कुल जनसंख्याको १० प्रतिशत अपाङ्ग देखाउँछन्। विश्व स्वास्थ्य संगठन र विश्व ब्यांकको मान्यता अनुसार, नेपाल जस्तो अल्पविकसित मुलुकमा यो संख्या १५ प्रतिशतसम्म हुन्छ। तथ्यांक विभागका अनुसार, ५ लाख १३ हजार ३२१ (कुल जनसंख्याको करीब २ प्रतिशत) नेपालीमा अपाङ्गता भएको देखिन्छ। यसमध्ये २ लाख ८० हजार ८६ पुरुष र २ लाख ३३ हजार २३५ जना महिला छन्। यीमध्ये २५ हजार २६० जना काठमाडौं उपत्यकामा बस्छन्।
निर्मला भट्ट