मस्तिष्काघात

Share:
  
- डा. सुमनराज ताम्राकार
आमतौरमा हृदयाघात जस्तो गम्भीर नमानिने मस्तिष्काघातले पनि मानिसलाई आजन्म बेकम्मा बनाइदिन्छ।

जाडोयाममा प्रशस्त झोलिलो पदार्थ खाएर मधुमेह, रक्तचाप र कोलेस्टोरललाई किन पनि नियन्त्रणमा राख्नुपर्छ भने चिसो मौसममा रक्तनलीको भित्ता बाक्लिएर वा खुम्चिएर रक्तचाप बढ्न गई पक्षाघात हुने खतरा बढ्छ। जाडोयाममा खानपिन बढ्नुको साथै शारीरिक गतिविधि घटेर रगतको गाढापनासँगै रगत जमाउने प्लेटलेट्सको संख्या वृद्धि हुँदा मस्तिष्काघातको जोखिम पनि बढ्छ।

मस्तिष्कको कुनै भागमा रगत आपूर्ति गर्ने रक्तनलीमा अवरोध आउँदा त्यस भागको स्नायु नष्ट हुन्छ। ती स्नायुबाट संचालित हुने काम प्रभावित हुने अवस्था मस्तिष्काघात हो, जुन आकस्मिक रूपमा आइपर्छ। यसमा मृत्युको खतरा कम भए पनि शारीरिक अङ्ग विशेषमा शिथिलता (पक्षाघात) ल्याई प्रभावित व्यक्तिको दिनचर्या प्रभावित पार्छ। हृदयाघातपछि मृत्युको दोस्रो कारक मस्तिष्काघातले नेपालमा वर्षेनि करीब ५० हजारलाई शिकार बनाउने गरेको छ। स्नायु सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएकामध्ये एकतिहाइमा मस्तिष्काघातको समस्या देखिने गरेको छ।

शरीरका विभिन्न अङ्गको कार्यलाई नियन्त्रण गरिराखेको मस्तिष्कका करोडौं स्नायुको स्वस्थ काम कारबाहीका लागि रक्त प्रवाहबाट निरन्तर अक्सिजन र ग्लुकोज आपूर्ति भइरहनुपर्छ। अक्सिजन र ग्लुकोजको अभाव भएको पाँच मिनेटमा मस्तिष्कका स्नायुकोष नष्ट हुन थाल्छन्। त्यसरी कोषहरू मर्दा कसैको हातखुट्टा चल्दैन भने कसैको बोली फुट्दैन। कसैको श्वास–प्रश्वासमै गडबडी आउँछ भने कसै–कसैमा मुटुको चालमा गडबडी आई आकस्मिक मृत्यु हुन बेर लाग्दैन। धेरैजसोमा एकापट्टिको हातखुट्टा कमजोर हुँदै नचल्ने (पक्षाघात), मुख बाङ्गिने, बोली लरबरिने, टाउको दुख्ने, दृष्टि धमिलो हुने, मानसिक क्षमता एवं व्यवहारमा परिवर्तन आउने, बेहोश हुने हुन्छ। मस्तिष्काघात अघि टाउको दुख्ने, बान्ता आउने, बेहोश हुने, छारेरोगको जस्तो हुन सक्छ।

अन्य नसर्ने रोग जस्तै मस्तिष्काघात पनि जीवनशैलीसँग सम्बन्धित रोग हो। गुलियो, चिल्लो, बोसो र बढी नूनयुक्त खाना धेरै खाने, सागसब्जी तथा फलफूल कम खाने, अधिक भोजन गर्ने, मद्यपान, धुम्रपान तथा सुर्ती सेवन गर्ने तथा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टोरल, मोटोपना, मानसिक तनाव एवं शारीरिक व्यायामको कमी भए मस्तिष्काघातको खतरा बढ्छ। मुटु रोग र लामो समयसम्म गर्भनिरोधक चक्की सेवनले पनि मस्तिष्काघातको सम्भावना बढाउँछ।

मस्तिष्काघात दुई प्रकारले हुन्छ। करीब ८० प्रतिशत मस्तिष्काघात माथि उल्लिखित कारणहरूले मस्तिष्कको रक्तनलीको भित्री भित्तामा कोलेस्टोरल जम्मा भएर हुन्छ। कोलेस्टोरल जम्मा भएको रक्तनली साँघुरिनुका साथै चिरा परेर रगतको डल्लो बन्ने सम्भावना हुन्छ। त्यसरी रक्त प्रवाह पूरै रोकिन सक्छ। वंशाणुगत, संक्रमणलगायतका कारणले रक्तनलीको भित्ता नै कमजोर भई रक्तनली एक्कासी फुटेर रक्तश्राव भई दोस्रो किसिमको मस्तिष्काघात हुन जान्छ। विदेशमा पहिलो र नेपालमा दोस्रो किसिमको पक्षाघात बढी हुने गरेको छ। उच्च रक्तचापका रोगीले एक्कासी औषधि छोड्दा रक्तचाप बढ्नुका साथै रक्तनलीमा बढी दबाब पर्न गई फुट्न सक्छ।

रोकथाम तथा उपचार

स्वस्थ जीवनशैली अपनाउनु मस्तिष्काघातबाट बच्ने सबभन्दा राम्रो उपाय हो। स्वस्थ भोजन र शारीरिक व्यायामले धेरै किसिमका स्वास्थ्य समस्याबाट बचाउँछ। उमेर ढल्केपछि नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। उच्च रक्तचाप, उच्च कोलस्टोरल, मधुमेह वा मुटुरोग छ भने नियमित औषधि सेवन गर्नुपर्छ।

मस्तिष्काघात भएको शंका लाग्नासाथ सामान्य जाँच पछि टाउकोको सीटी स्क्यान वा एमआरआईबाट रक्तप्रवाहमा अवरोध भए/नभएको खुट्याउनुपर्छ। उपचार त्यही अनुसार गरिन्छ। पक्षाघात पछिको दुई–तीन दिन धेरै संवेदनशील मानिन्छ। यसवेला बिरामीलाई थप नोक्सान नहोस् भनेर आधारभूत शारीरिक आवश्यकता पुर्‍याउनु नै उपचारको मुख्य लक्ष्य हुन्छ।

पहिलो प्रकारको मस्तिष्काघातमा रगत पातलो पार्र्ने औषधि र रक्तनली खुलाउने प्रविधि आवश्यक हुन्छ भने दोस्रोमा विशेषतः रक्तचाप नियन्त्रणमा ल्याउने औषधिका साथै रक्तश्रावको आकार हेरी अप्रेशन गर्नुपर्ने हुन सक्छ। दुवै प्रकारको मस्तिष्काघातमा फिजियोथेरापी महत्वपूर्ण हुन्छ। एकपटक मस्तिष्काघात भएपछि दोहोरिने सम्भावना बढी हुने भएकोले स्नायु र मुटुरोग विशेषज्ञको नियमित निगरानीमा रहनुपर्छ।

comments powered by Disqus

रमझम