गत चार वर्षबाट घर–जग्गा कारोबार र कोठा/फ्ल्याट मध्यस्थकर्ता गरिरहेको 'दी रिअल्टर्स' को प्रशासनिक तथा आर्थिक विभागका सहायक व्यवस्थापक सुवास घिमिरे कोठा भाडामा दिनु–लिनुअघि सोचविचार नपुर्याउँदा र एक–अर्काबारे आधारभूत जानकारी समेत नराख्दा घरबेटी र बहालवालाबीच तनाव सिर्जना हुने बताउँछन्। उनका अनुसार घरबेटीले कोठा वा फ्ल्याट भाडामा दिनुअघि आफ्ना सबै शर्त खुलस्त पार्नुपर्छ भने त्यसमा चित्त नबुझो बहालवालाले साँचो लिनुहुँदैन। “नत्र, पछि मनमुटाव हुन्छ”, घिमिरे भन्छन्।
ध्यान दिनुपर्ने पक्ष
नेपालमा संसारका अरू मुलुकहरूमा जस्तो भाडामा दिने सम्पत्तिको बीमा गर्ने र सरकारलाई कर तिर्ने चलन नभए पनि कोठा वा घरभाडामा लगाउनुअघि घरबेटीले रङरोगन र टुटेफुटेको मर्मतदेखि पानी, शौचालयलगायतको व्यवस्था मिलाइदिने काम गर्छन्। गौरीघाटका घरबेटी पौडेल भन्छन्, “पैसा लिएपछि अरू सेवा–सुविधा पनि दिनैपर्छ।”
काठमाडौंमा विदेशतिर जस्तो घर वा भवनको सरसफाइ–मर्मत गरेर आफ्नो इलाकाको भाडादर बुझी कोठा वा फ्ल्याट सुहाउँदो भाडा तोक्ने, कोठाको क्षेत्रफल, घरबेटी वा सम्पर्क व्यक्तिको मोबाइल नम्बर आदि भएको 'टु–लेट' (सूचना) टाँस्ने गरिंदैन। चोक–बजारका किराना पसलमा कोठा खाली भएबारे जानकारी लिने–दिने चलन छ। “तर, 'टु–लेट' मा रहेको सूचना हेरेर घरका नीति–नियम, सेवा–सुविधा, भाडादर आदिबारे स्पष्ट हुनु राम्रो हो”, दी रिअल्टर्सका घिमिरे भन्छन्, “कुरा पक्का भइसकेपछि घरबेटीले बहालवालाको नागरिकताको फोटोकपी लिनुपर्छ।”
कोठा खोजिदिने वा भाडामा लगाइदिने रिअल्टर्स, नेपाल प्रपर्टी म्यानेजमेन्टलगायत संस्था र एजेन्टहरूको सहयोग लिन सकिन्छ। तर, त्यसबापत उनीहरूलाई निश्चित रकम तिर्नुपर्ने भएकाले कतिलाई अतिरिक्त खर्च गर्न मन नलाग्न सक्छ। संस्थामार्फत काम गर्दा डेरावाल र घरबेटी कसैले पनि एकअर्काप्रति बेइमानी गर्न नपाउने 'दी रिअल्टर्स' का घिमिरेको दाबी छ।
संस्था वा व्यक्ति जो भए पनि एजेन्टमार्फत कोठा खोज्ने क्रममा बहालवालाले भूकम्पले घर चर्किएको छ/छैन, वरिपरिको वातावरण कस्तो छ भन्नेमा ध्यान पुर्याउनुपर्छ। त्यस्तै घरछेउमा रेस्टुरेन्ट, पार्टी प्यालेस आदि भए दिनरात होहल्ला सहनुपर्ने भएकाले कोठा/फ्ल्याट लिने निर्क्योल गर्नुअघि छिमेकीबारे बुझ्नुपर्छ। घरमा पशुपक्षी राख्न मिल्ने/नमिल्नेबारे पनि घरबेटीसँग पहिले नै सोध्नुपर्छ। कतिपय घरबेटी कोठामा पाहुना ल्याएको मन पराउँदैनन्। यसबारे पहिल्यै छलफल गर्दा पछिलाई सजिलो हुन्छ।
आफू भाडामा बसेको घरलाई आफ्नै ठानेर सरसफाइदेखि रेखदेखसम्म गर्ने र वहालवालालाई परिवार सम्झने अवस्था हुँदा घरबेटी र भाडावालको सम्बन्ध मजबूत हुन्छ। त्यो अवस्था वर्षेनि कोठा सरिरहनुपर्ने र तनावमा भाडावाल फेरिरहनुपर्ने दुवैखाले झन्झटबाट मुक्त भइन्छ।
केन्द्रीय तथ्यांक विभागको अध्ययन अनुसार नेपालमा सन् २०११ तिरै १२.८१ प्रतिशत परिवार भाडामा बस्थे। तीमध्ये शहरी क्षेत्रमा ४०.२२ प्रतिशत र काठमाडौंमा ५८.६५ प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको त्यो वेलाको अध्ययनले देखाएको थियो, जुन अहिले बढेको अनुमान गर्न सकिन्छ।
प्रस्तुतिः सजना