१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

पोखरामा साहित्य मेला

Share:
  

पत्रकार मोहन मैनालीले सहजीकरण गरेको 'भाषाका कुरा' सत्रमा सहभागी शरच्चन्द्र वस्ती र खगेन्द्र संग्रौला।
पाँच वर्षदेखि नियमित आयोजना भइरहेको अन्तर्राष्ट्रिय साहित्य मेला 'नेपाल लिटरेचर फेस्टिभल' को पाँचौं संस्करण १५ माघबाट पोखरामा शुरु भएको छ। बेलायती लेखक एवम् ब्रिटिश गोर्खा सेनाका पूर्व कर्णेल जेपी क्रसले उद्घाटन गरेको साहित्य मेलाको उद्घाटन सत्रमा बोल्दै पोखरेली कवि तीर्थ श्रेष्ठले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवर्द्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने र पोखराको साहित्यिक तथा सांस्कृतिक पाटो उजागर गर्ने बताए। उद्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले 'असहज प्रश्नहरू' शीर्षकमा घतलाग्दा विचार राखेका थिए।

उद्घाटनलगत्तै पोखरास्थित पर्यटन बोर्डको आँगन र सभाहलमा एकसाथ अलग–अलग कार्यक्रम सञ्चालन भइरहेका छन्। १५ माघमा मेलामै कास्कीबाट निर्वाचित एमाले सांसद् एवम् व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको 'समृद्ध नेपाल' पुस्तक विमोचन गरिएको छ। करीब ३० वटा विषयमा छलफल हुने मेलामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले सचिव योगेश भट्टराई, पूर्व मुख्यसचिव लीलामणि पौड्याल, कांग्रेस केन्द्रीय सदस्य गगन थापा, पत्रकार सुधीर शर्मा, नारायण वाग्ले, विजयकुमार, बुद्धिसागर, कवि मनु मञ्जिल, सरिता तिवारी, श्रवण मुकारुङ, साहित्यकार शारदा शर्मा, नयनराज पाण्डे, उपेन्द्र सुब्बालगायतले भाग लिइसकेका छन्।

१८ माघमा 'हिरो हुनुको अर्थ' विषयमा अभिनेता राजेश हमाल र दयाहाङ राईले आफ्ना अनुभव राख्नेछन् भने अभिनेत्री गौरी मल्ल, रेखा थापा र ऋचा शर्माले 'सिनेमाका सुख–दुःख' बारे बताउने छन्। मेलामा भारतीय साहित्यकार इरा त्रिवेदी र पत्रकार बर्खा दत्तको पनि सहभागिता रहेको छ। १८ माघसम्म चल्ने साहित्यिक मेलामा दुई जना भारतीय लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, राजनीतिज्ञ, पत्रकारलगायतले भाग लिने आयोजक बुकवर्म फाउन्डेशनका अजित बरालले बताए। मेलाका अघिल्ला संस्करणमा मार्क टुली, शोभा डे, शशि थरुर, विनोद मेहता, रविन्दर सिंह, अभय कुमार, तृष्णा दोशी, कार्लो पिज्जातीलगायतका विदेशी लेखक सहभागी थिए।

सजना बराल

comments powered by Disqus

रमझम