१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

सन्तुष्टिको वेग्लै क्षेत्र

Share:
  
- सजना बराल
रेस्टुरेन्ट आउने ग्राहकलाई संगीतको स्वाद पस्कने गायक/गायिका यो पेशाबाट सन्तुष्ट छन्।

बिक्रम राई
जुजुबा लन्चबारमा गीत गाउँदै अञ्जली राई।
६ वर्षअघि २०६६ मा आयोजित देशव्यापी गायन प्रतियोगिता 'वागिना–२' को विजेता बनेपछि अञ्जली राईका निम्ति संगीतको बृहत् क्षेत्र खुला थियो। तर, उनको रोजाइ बन्यो– होटल र रेस्टुरेन्ट पुग्ने ग्राहकलाई संगीतको वेग्लै स्वाद पस्कने अलि फरक कर्म। ६ वर्षदेखि होटल तथा रेस्टुरेन्टमा संगीतको फरक स्वाद पस्किरहेकी अञ्जली बजारमा आउने नयाँ सुर–ताल टपक्क टिपेर ग्राहकलाई सन्तुष्टि दिन पोख्त भइसकेकी छिन्। दरबारमार्गको 'जुजुबा लाउन्ज एण्ड पब' मा कार्यरत उनी पछिल्ला दिनमा 'सुर्के थैली खै भन', 'जिना जिना' लगायतका गीत आफ्नो स्वरमा ग्राहकमाझ पस्किरहेकी छिन्। “यी गीत लामो समय गाउनु नपर्ला, अहिलेका गीत दुई–चार हप्ता मात्रै चल्छन्”, अञ्जली भन्छिन्, “सधैं गाउनुपर्ने त पुराना गीत–गजल नै हुन्।”

अञ्जलीको गायन सूचीमा भएका गीतमध्ये ९० प्रतिशत हिन्दी गजल र पुराना नेपाली आधुनिक गीत नै छन्। 'लग्जा गले', 'तुजसे नाराज नहीं', 'बनेको छ छहराले', 'ए कान्छा ठट्टैमा', 'मोहनी लाग्ला है' जस्ता गीतको फर्माइस धेरै आउँछ, ग्राहकबाट। “पुराना गीतले सबैलाई छुँदोरहेछ”, उनी भन्छिन्, “नयाँ गीत चाहिं धेरैले नाच्नलाई रोज्छन्।” जुजुबामा अञ्जलीसँगै जितेन्द्र चौधरी, जय श्रीवास्तव र आरती श्रेष्ठले पनि ग्राहकको सांगीतिक भोक मेटिरहेका छन्।

जोरपाटीको एसके रिसोर्ट र महाराजगञ्जको फर्च्यून फूड क्याफेमा लता मंगेश्कर, आशा भोसले, अरुणा लामा, तारादेवी जस्ता ख्यातिप्राप्त अग्रज गायिकाका गीत आफ्नो स्वरमा उतार्ने मनु लिम्बूले एकल अल्बम 'मन्द मन्द' बजारमा ल्याइसकेकी छिन्। चाँडै उनको दोस्रो अल्बम 'मोहिनी' पनि बजारमा आउँदैछ। तर, उनलाई रेस्टुरेन्टको गायनमै ज्यादा सन्तुष्टि मिल्छ। “मासिक पारिश्रमिक र मनोरञ्जन पनि सन्तुष्टिको कारण हो” मनु भन्छिन्, “मलाई पनि पुराना सदाबहार गीतहरू मनपर्ने, श्रोताले पनि यस्तै गीतको माग गर्ने भएकाले रेस्टुरेन्टमा गाउँदा साँच्चै आनन्द आउँछ।”

सात वर्षदेखि दरबारमार्गको मालिंगो रेस्टुरेन्टलाई संगीतमय बनाउँदै आएका गायक सञ्जय तुम्रुक मोहम्मद रफी, किशोर कुमार, नारायणगोपाल, गोपाल योञ्जन, भक्तराजदेखि दीपक खरेल, शम्भु राई, शिव परियार, दीपक लिम्बूसम्मका गीत गाउँछन्। नाच्न खोज्ने ग्राहक समेत धेरै आउने भएकाले बजारमा चलेका डान्सिङ गीतको याद र अभ्यास पनि बढी गर्नुपर्ने उनी बताउँछन्। रुपा गुरुङ र तारा शिशिर मगरसँगै सञ्जयले रेस्टुरेन्टका ग्राहकलाई धीत मरुन्जेल नाच्ने वातावरण मिलाइदिने गरेका छन्।

श्रोतासँग संगत र आर्थिक रुपमा फाइदा पनि हुने भएकाले १५/१६ वर्षपछि पुनः रेस्टुरेन्टमा गाउन थालें।

उदय सोताङ

ठमेलमा मात्रै ५०० वटा ब्यान्डले रेस्टुरेन्टहरूमा पालैपालो गाउने/बजाउने गर्छन्।

अभिषेक स्थापित

बढ्दो ट्रेन्ड

होटल, रेस्टुरेन्टले ग्राहकलाई खाजा/खानासँगै सांगीतिक स्वाद पस्कने क्रम निकै बढेको गायक उदय सोताङ बताउँछन्। करीब १५ वर्षअघि उनले होटल अन्नपूर्णमा गीत गाउँदा दरबारमार्ग र राजधानीका तारे होटलमा मात्रै गायकगायिका राख्ने चलन थियो। “अहिले दरबारमार्गमै आठ–दश वटा रेस्टुरेन्टमा संगीतलाई ठाउँ दिइएको छ”, मधुशाला गीतगजल रेस्टुरेन्टका शेयर होल्डरसमेत रहेका उनी भन्छन्, “काठमाडौं उपत्यकामा त गनेरै साध्य छैन।”

गीत गजलसहितका रेस्टुरेन्टको ख्याति बढेसँगै ठमेल, झम्सिखेल, लाजिम्पाट, टंगाल, बानेश्वरलगायत ठाउँका रेस्टुरेन्टहरूले पनि विभिन्न विधाका गीत गाउने ब्यान्ड वा गायकगायिका राख्न थालेका छन्। बालुवाटारका श्याम थापा (२४) वेलावेला श्रीमती र छोरालाई लिएर गीतसंगीत सुन्न पाइने रेस्टुरेन्टमा बेलुकाको खाना खान पुग्ने गरेको बताउँछन्। थापा भन्छन्, “चूपचाप वा घरेलु गन्थन गरेर खाना खानुभन्दा गीत सुन्दै खानुमा वेग्लै मज्जा छ।”

सामान्यतया साँझ ७ देखि १२ बजेसम्म गुञ्जायमान हुने राजधानीका रेस्टुरेन्टहरूमा गाएरै थुप्रै संगीतकर्मीले घर–व्यवहार चलाउनुका साथै अल्बम निकाल्ने खर्च जुटाइरहेका छन्। रेस्टुरेन्टको गायनमा महिलाभन्दा पुरुष ज्यादा भए पनि महिलाको संख्या बढिरहेको मनु बताउँछिन्। “रातिसम्म काम गर्दा समाजले कुरा काट्ने चलन हराएको भने छैन”, उनी भन्छिन्, “त्यही कारण महिलाले जमेर काम गर्न नसके पनि संख्या विस्तारै बढ्दैछ।”

रेस्टुरेन्टमा पुराना सदाबहार गीतको फर्माइस आउँदा वेग्लै आनन्द मिल्छ।

मनु लिम्बू

ग्राहकलाई गीत सुनेर मात्रै पुग्दैन, नाच्न समेत खोज्छन्। नाच्ने गीत गाइदिएपछि माहोल तातिन्छ।

सञ्जय तुम्रुक

रक तथा मेटल गीतका पारखीलाई ठमेलका पर्पल हेज, हाउस अफ म्युजिक, रेग्गे बार, लाजिम्पाटको त्रिसारा जस्ता रेस्टुरेन्ट राम्रो 'ह्यांगआउट प्लेस' बनिरहेका छन्। प्रत्येक दिन 'अल स्टार', 'मिराकल्स', 'अनुप्रस्थ', 'ओभरड्राइभ' जस्ता फरकफरक ब्यान्डले गाउने/बजाउने पर्पल हेजमा युवा पुस्ताको ठूलो जमात पुग्ने गर्छ। ठमेलकै अप स्टेयर्स र फ्युल्डरेस्ट्रोमा प्रस्तुति दिने 'क्लासिक सोल' ब्यान्डका अभिषेक स्थापित करीब ५०० वटा यस्ता ब्याण्ड रहेको बताउँछन्। “रेस्टुरेन्टहरूले संगीतकर्मी खोज्न थालेपछि ब्याण्डको संख्या बढेको हो”, उनी भन्छन्, “हाम्रो कारण रेस्टुरेन्ट र रेस्टुरेन्टको कारण हाम्रो व्यवसाय चलेको छ।”

अभिषेकको समूहले कुनै रेस्टुरेन्टमा एक साँझको प्रस्तुतिबापत सामान्यतः रु.७ हजार लिने गर्छ। अञ्जलीको मासिक तलब रु.१७ हजार छ। सञ्जय भने हप्ताको सातै दिन गाएर मासिक रु.२० हजार पारिश्रमिक थाप्छन्। “आफ्नै रेस्टुरेन्ट भएकाले नियमित आम्दानीसँगै गाएबापत छुट्टै पारिश्रमिक पाइने हुँदा रेस्टुरेन्टमा संगीतलाई ठाउँ दिंदा राम्रो फाइदा भएको छ”, गायक उदय सोताङ भन्छन्, “श्रोतासँग नियमित संगत गर्न पाउनु त्योभन्दा ठूलो कुरा हो।” मधुशालामा उदयपत्नी मनिलासँगै अन्य चार गायकगायिकाले पनि जागिर पाएका छन्। रेस्टुरेन्टमा गीत गाउँदा संगीत बजारसँग 'अपडेट' हुनुका साथै ग्राहक–श्रोतासँग गर्ने व्यवहार पनि सिकिने उनको अनुभव छ। गीत गाइरहँदा कतिपय श्रोताले मातेर माइक नै थुतिदिने, रोएर वा हाँसेर बबाल गर्ने हुँदा त्यो वेला आफूमा धैर्य चाहिने उनी बताउँछन्।

comments powered by Disqus

रमझम