१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

स्वादिलो मौलिक सिनेमा

Share:
  
भनिन्छ; सिनेमाले जीवन–कथा भन्न सक्नुपर्छ। पशुपतिप्रसादले नेपाली समाजका दुखिया पात्रहरूको जीवन–कथालाई समेटेको छ।

पशुपतिप्रसादमा खगेन्द्र लामिछाने र रवीन्द्र बानियाँ (हनुमानको मुकुण्डोमा)। अनलाइन तस्वीर।
पशुपतिप्रसाद– झट्ट सुन्दा यो नामले दर्शकलाई सिनेमा हलमा तान्ला जस्तो लाग्दैन। सिनेमाको नायकलाई सानोमा मन नपर्ने यो नामकै कारण धेरैलाई 'पशुपतिप्रसाद' नामैले आकर्षणहीन जस्तो लाग्न सक्छ। तर सिनेमा हेरिसकेपछि भन्न कर लाग्छ– पशुपतिप्रसाद भन्दा उपयुक्त नाम अर्को हुनै सक्दैन। सिनेमाको स्वाद मौलिक र मीठो लाग्छ, आफ्नै बारीमा गोबर मल हालेर उमारेको चम्सुर–पालुङ्गो जस्तो।

पशुपतिनाथ मन्दिर वरपर भेटिने पात्रको वास्तविक झै लाग्ने जीवन–कथा बोकेको यो सिनेमाको केन्द्रीय पात्र हो― पशुपतिप्रसाद। दुःखका आफ्नै पीडा र व्यथा, अनगिन्ती चाहना र सपना बोकेर गाउँबाट पैसा कमाउन शहर पसेको एउटा केटो; सिनेमाको मुख्य पात्र पशुपतिप्रसादको रुपमा खगेन्द्र लामिछाने छन्। आफ्नो मुख्य भूमिका रहेको अघिल्लो फिल्म 'टलकजंग भर्सेस टुल्के' मा खगेन्द्रले आफूभित्रको प्रतिभालाई विशिष्ट शैलीमा प्रस्तुत गर्दै साँच्चैको अभिनय क्षमता देखाएका थिए। 'पशुपतिप्रसाद' मा खगेन्द्रको त्यो प्रतिभा अझ माझिएर, तिखारिएर आएको छ।

पशुपतिप्रसाद सिनेमाको नायक लाग्दैन, आफ्नै छिमेकको ठिटो, आफन्त जस्तो लाग्छ। त्यो पात्र तपाईंको मनको एउटा कुनामा बस्छ र आफ्नो लागि ठाउँ बनाउँछ। मौलिक कथ्य, सलल बगेको पटकथा र स्वादिला संवादहरूले 'पशुपतिप्रसाद' हेर्नलायक सिनेमा बनेको छ। राम्रो सिनेमाका लागि कथा र स्त्रि्कप्ट निर्णायक पक्ष हो भन्ने कुरालाई पशुपतिप्रसादले सावित गरिदिएको छ।

सिनेमाका अरु पात्रहरू पनि जीवन्त र हाम्रै परिवेशका सामान्यजन झै लाग्छन्। पटकथाले केन्द्रीय भूमिकामा पशुपतिप्रसादलाई राखे पनि मीतबा, वृद्धाश्रममा बसेकी महिला, पशुपतिका दाउरा जम्मा गर्ने केटाहरू, ठेलावाला व्यापारी र हनुमान पात्रका उपकथाहरूलाई पनि सिनेमाको मूल पात्रको कथासँग गाँसेको छ। मीतबाको रुपमा प्रकाश घिमिरे, बुनुको भूमिकामा वर्षा शिवाकोटी, आमाको रुपमा मिश्री थापा, भष्मेको रुपमा विपिन कार्की र ठेला व्यापारीको भूमिकामा आशिष अधिकारीको अभिनय जमेको छ। हनुमान पात्रको रुपमा रवीन्द्र बानियाँको स्वर, शरीर सञ्चालन र हाउभाउ मात्रको अभिनयले पनि दर्शकको ध्यान खिच्छ।

जीवनको कथा नभन्ने सिनेमा दर्शकको स्मृतिमा रहन्न। जीवनले मान्छेलाई भोगाइका अनगिन्ती अवसर दिन्छ र ती अवसरले अनुभूति र अनुभवका थुप्रै श्रृंखला निर्माण गर्छन्। सिनेमा कला र प्रविधिको एउटा यस्तो संगम हो, जसले अनेकौं जीवनका विविध पक्षसँग कलात्मक साक्षात्कार गराउँछ। सिनेमाले मानिसको जीवनबाट कथा, प्रेरणा र आधार लिन्छ, तर त्यसलाई कलात्मक रंग, चेतना र दृष्टिकोणसहित विशिष्ट रुपमा प्रस्तुत गर्छ। पशुपतिप्रसादले नेपाली समाजका दुखिया पात्रहरूको जीवन–कथालाई समेटेको छ।

हजारौं मानिस अनगिन्ती सपना बोकेर काठमाडौं आइपुग्छन्। यो महानगरको भीडमा मिसिन आइपुग्नेमध्ये केही सपना पूरा गर्न सफल हुन्छन् भने धेरै चाहिं पशुपतिप्रसादका पात्रहरू झै दुखिया जीवनमै रहन्छन्। तर आफन्त खोज्ने, बनाउने र मानवीय सम्बन्ध गाँस्न चाहने तिनका स्वाभाविक आकांक्षा जीवन जिउने निरन्तरको भागदौडमा जीवन्त भएर देखा पर्छन्।

समकालीन समाजमा प्रविधिको विकास र विस्तारसँगै सिनेमा मान्छेको जीवनसँग झन्–झन् गाँसिदैछ। समाज परिवर्तनको गतिलाई सिनेमाले प्रभावकारी रुपमा प्रस्तुत गर्दै आएका पनि छन्। पशुपतिप्रसाद नेपाली सिनेमा निर्माणमा देखापरेको परिवर्तनको एउटा महत्वपूर्ण संकेत हो। यसले सिनेमा निर्माणमा नयाँ शैली र नायकको नयाँ बिम्ब निर्माण गरेको छ।

पशुपतिप्रसादको केन्द्रीय भूमिकासँगै दीपेन्द्रको कथालाई पटकथा र संवादमा ढाल्न समेत सफल देखिएका छन्, खगेन्द्र। नेपाली सिनेमा क्षेत्रमा प्रतिभाशाली युवा निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालबाट अझ राम्रा सिनेमाको अपेक्षा गर्न सकिने आधार पशुपतिप्रसादले दिन्छ। पशुपतिनाथ मन्दिर, छेउमै बग्ने वागमती, त्यस वरपरको वातावरण र त्यही परिवेशमा देखा पर्ने पात्रहरूको कथा बोल्ने यो सिनेमा सपरिवार हेर्दा अझ बढी जीवन्त अनुभूति हुनेछ।

रघु पन्त

comments powered by Disqus

रमझम