पाँच कक्षासम्म स्कूल गएकी सुगन्धी सानैदेखि मिहिनेती थिइन्, विवाहपछिको दुःखमा झन् धेरै मिहिनेत गरिन्– बनिबुतोदेखि मजदूरीसम्मका। राजवंशी कहिले साता दिन त कहिले महीनौंसम्म काम गर्न बाहिर जान्थे। उनी घरमा भएको वेला दुवैले सिर्सिया खोलामा माछा मारेर चामल साट्थे। पहिलो पटक सुत्केरी बेथा लाग्दा उनीहरूले रु.२०० सापटी लिएर नारायणी अस्पतालमा छोरी जन्माए। दोस्रो पटकको छोरालाई भने उनीहरूले चिसोबाट बचाउन सकेनन्। शोककै बीचमा सुगन्धीले घर नजिकैको सडकमा ताडी बेच्न थालिन्। त्यसबाट जोरजाम भएको पैसाबाट परवानीपुरमा चियापसल खोलिन्।
२०५६ सालमा गाउँमा निर्धन उत्थान ब्यांक आएपछि सुगन्धी पनि २५ जना महिलाको समूहमा पसिन् र रु.५ हजार ऋण लिएर दुइटा बंगुरका पाठा पालिन्। बाँकी पैसाले नितनपुर चोकमा चियापसल थापिन्। त्यसपछि भने पासवान दम्पतीको जीवनमा खोजेको परिवर्तन आउन थाल्यो। दिनमा ५०० भन्दा बढी बचत हुनथाल्यो। त्यसबाट उनीहरूले पहिलो पटक दुई धुर जग्गा किने। बंगुरपालन पनि सप्रियो। त्यसबीचमा दुई छोरी र एक छोरा पनि पढ्दै, हुर्किंदै गए। बंगुरपालनमा सुगन्धीको सफलता हेरेर जिल्ला पशु सेवा कार्यालयले रु.८ लाख ३० हजार सहयोग गर्ने भएपछि उनले त्यसका लागि सहकारी नै खोलिन्। “फार्ममा अहिले ४९ वटा बंगुर छन्”, सुगन्धी भन्छिन्, “म सहकारीको अध्यक्ष छु।”
उनी जिल्लास्तरका थुप्रै समूहमा दलित महिला प्रतिनिधिको रुपमा आबद्ध छिन्। सुगन्धीको जीवनको उतारचढाव नियालेकी विममाया विश्वकर्मा उनले जस्तो कष्ट झेल्दै मिहिनेत गर्न धेरैले नसक्ने बताउँछिन्। त्यही दुःख गरेर उनले जितपुरमा पनि १४ धुर घडेरी जोडेकी छन्। सबभन्दा महत्वपूर्ण कुरा त मिहिनेतले सन्तुष्टि दिएको बताउने सुगन्धी त्योभन्दा धेरै जग्गा किन्न सक्ने अवस्थामा पुगेकी छन्।
सुरेश बिडारी