१७-२३ माघ २०७२ | 31 Jan - 6 Feb 2016

खुल्यो वीरगञ्ज नाका

Share:
  
१५ माघ बिहान रक्सौलबाट हार्डवेयर सामान, मेशीनरी पार्टपुर्जा र कपडा बोकेका पाँच वटा मालबाहक ट्रक वीरगञ्ज भित्रिए।

असोज पहिलो साता भारतले नाकाबन्दी गरेपछि रक्सौलस्थित भारतीय कस्टम कार्यालयले पहिलो पटक १५ माघमा पठाएका ट्रक मितेरी पुलहुँदै वीरगञ्ज भित्रिए। लगत्तै वीरगञ्जमा रोकिएका तीन वटा भारतीय खाली ट्रक पनि सोही बाटो रक्सौलतर्फ गए। त्यसपछि चारपाङ्ग्रे साना सवारी साधनसँगै रिक्सा, ट्याम्पो र टाँगाहरूको वीरगञ्ज–रक्सौल आवतजावत पनि शुरू भयो।

मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्ज–रक्सौल सीमास्थित मितेरी पुलमा धर्ना दिंदै आएकाले देशका अन्य भागका सबैजसो नाका सुचारु भइसक्दा पनि यो नाका ठप्प थियो। १५ माघ बिहान दुवैतर्फबाट नाका खुलेको केहीबेरमै मोर्चा कार्यकर्ताले मितेरी पुलमा पुनः धर्ना कसेपछि खुलेको नाका फेरि अवरुद्ध भएको छ। तर, संविधान संशोधनसँगै भारत नाकाबन्दी खोल्न तयार भएकाले ढिलोचाँडो वीरगञ्ज नाका पूर्णतः सुचारु हुने देखिन्छ। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्मा भारतीय कस्टम कार्यालयले सकेसम्म धेरै सवारी साधन नेपाल पठाउन खोजिरहेको बताउँछन्। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे भन्छन्, “भारतीय कस्टमले पहिलेदेखि नै प्रक्रिया पूरा भएर बसेका सवारी साधन छाडेको जानकारी दिएका छन्, उनीहरू मालबाहक गाडी पठाउन लचक देखिएका छन्, त्यसका लागि अन्य निकायसँग समन्वयको प्रयास भइरहेको छ।”

मितेरी पुलमा धर्नाकारीको संख्या कम भएको मौका छोपेर भारतीय कस्टम अधिकारीहरूले मालबाहक ट्रक पठाएका थिए। प्रत्यक्षदर्शीका अनुसार रक्सौलतर्फबाट आएका करीब एक सय व्यापारीहरूले मितेरी पुलमा तेर्स्याइएको बाँसको ढाट हटाइदिएपछि ट्रक सजिलै छिरेका थिए। पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले मितेरी पुलमा धर्नाकारीको संख्या कम रहेकाले दुवैतर्फका गाडी आवतजावत भएको बताए। मधेशी मोर्चाका स्थानीय नेताहरूले वीरगञ्ज नाका नखुलेको र सीमा क्षेत्रमा धर्ना यथावत् रहेको दाबी गरेका छन्। तर, १५ माघमा मितेरी पुलबाट सांकेतिक रूपमा भएको गाडीको ओहोरदोहोरले केही दिनमै नाका पूर्णरूपमा खुल्ने संकेत देखिएको छ।

मधेशकेन्द्रित दलहरूको आन्दोलनका कारण १६९ दिनदेखि जारी बन्दको प्रभाव पनि खुकुलो बनेको छ। बन्द–हड्तालका कार्यक्रम जारी रहे पनि वीरगञ्जसहित मधेशका मुख्य शहरका बजार खुलेका छन्। सार्वजनिक यातायात पनि निर्वाध रूपमा सञ्चालन हुनथालेका छन्।

सुरेश बिडारी, वीरगञ्ज

comments powered by Disqus

रमझम