२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

भोटमा ब्रिटिश प्रभाव

Share:
  
- ज्ञानमणि नेपाल
लर्ड कर्जनले भोटमा रेजिडेन्ट र ५०० फौज राख्न चाहे पनि ब्रिटिश–इण्डिया सरकारले त्यसो गर्दा अन्यन्त्र पनि त्यहीअनुसार राख्नुपर्ने र खर्च धेरै हुने हुँदा अफगानिस्तानमा जस्तो 'नेटिभ एजेन्ट' राख्ने निर्णय लियो।

नेपालको मुन्सीखाना (परराष्ट्र विभाग) का कप्तान अष्टमान र रेजिडेन्टका बीचमा भएका संवादको शिलशिलामा कहिले श्री ३ महाराजसँग पनि संवाद हुन्थे। श्री ३–रेजिडेन्ट संवाद टिप्ने पनि अष्टमान नै हुन्थे। १९०४ जुनसम्म जति संवाद भए, तिनको चर्चा हिमालका अघिल्ला अंकहरूमा गरिसकियो। अगस्तमा भएको एकमात्र संवाद पाइएको छ। त्यसपछिको एक प्रतिमा महाराज र रेजिडेन्टबीच ९ नोभेम्बरमा संवाद भएको पाइएको छ। अर्कोमा १ सेप्टेम्बरको घटनाक्रम हेर्दा यो मिति ठीक लाग्छ। त्यसअघिका करीब दुई महीना भोट अभियानसम्बन्धी संवाद भएनन् वा दस्तावेजमा संगृहित भएनन्। अरु विषयमा फाट्टफुट्ट घटना उल्लेख गरिए।

ग्यान्चीमा सुलह सन्धि वार्ता सफल नभएपछि कर्णेल यङ्ग हज्वेण्ड फर्केर चुम्बी भ्यालीमा बसेका थिए। न झ्री, न हिउँको अनुकूल मौसम पारेर १५ जुनबाट सैनिक अभियान शुरु भएको थियो। त्यो अभियान केही समयपछि नै विना रोकटोक ल्हासा पुग्दा शहरमा ठूलो हलचल भयो। मुख्य दलाइ लामा केही लामा दल र सुरक्षाबल साथ पोतला दरबारबाट निस्केर रेटिन गुम्बातिर लागे। त्यो घञ्चमञ्चमा नेपालीलाई आवत–जावत गर्न रोक लागेको थियो। नेपाली वकीलले यथावत् विवरण खोली पत्र लेखे। चिनियाँ प्रतिनिधि अम्बाले सैनिक सहयोग मागेका रहेछन्। त्यो आफ्नो सुरक्षाको लागि हो कि भोटको मद्दतको लागि हो, वकीलले स्पष्ट खुलाएका छैनन्। सैनिक खर्चको लागि यङ्ग हज्वेण्डले वकीलमार्फत रु.१८ हजार सापटी लिएका थिए। महाराजले आफ्नो वकील अड्डामार्फत २ लाखसम्म दिन सक्ने र बढी चाहिए कोठीका महाजनबाट दिलाइदिने वचन दिएका थिए।

अम्बाले भोटको सहयोग गर्लान् कि भनेर ब्रिटिश प्रतिनिधिलाई शंका लागेकोमा महाराजले आफूले पाएको सूचनाअनुसार दलाइ लामादेखि अम्बा प्रसङ्ग छैनन् भनेका छन्। भोटलाई आपत्–विपत् अप्ठयारो परेको बेलामा छाडेर जाने दलाइ लामाको कस्तो व्यवहार? त्यस्तालाई राख्नु हुँदैन गद्दीच्यूत गर्नुपर्छ भनेर अम्बाले नै भन्दैछन् भनेपछि कसरी अघि सरी भोटको मद्दत गर्लान्, अवश्य गर्ने छैनन् भनेर चित्त बुझ्ाएका थिए। हाम्रो भोट अभियानमा ल्हासास्थित नेपाली वकीलले कर्णेल यङ्ग हज्वेण्डको प्रमुख सहायक जस्तै भएर काम दिए भन्दै रेजिडेन्टले महाराजसँग प्रसन्नता प्रकट गरेका छन्।

भोटसँग कस्तो सन्धि गर्ने, कस्तो दर्जाको राज्य बनाउने भन्ने सम्बन्धमा छलफल हुन लाग्दा नेपाल–भोट सन्धिको सक्कल प्रति हेर्न मागियो, त्यसमा क–कसको सही छ भन्ने कुरा खुलाउन। तर, सन्धिमा चिनियाँ प्रतिनिधि बसेका थिएनन्, दलाइ लामाका प्रतिनिधिको सही थियो। त्यसमा १७ जनाको सही परेको थियो। लर्ड कर्जनले पहिले भोट–अंग्रेज सन्धि भएपछि भोटमा रेजिडेन्ट र सुरक्षाका लागि ५०० जति फौज राख्ने निर्णय लिएका थिए। परन्तु, ब्रिटिश इण्डिया सरकारका गृहमन्त्रीले ५०० पल्टन ल्हासामा राखेपछि अन्यन्त्र त्यहीअनुसार राख्नुपर्छ, खर्च धेरै लाग्छ भन्दै अफगानिस्तानमा जस्तो 'नेटिभ एजेन्ट' राख्ने राय दिए।

भोटसम्बन्धी श्री ३ चन्द्र–रेजिडेन्ट वार्ता

कप्तान अष्टमानसिंहसँगको रोजनामा वही ९ नोभेम्बर १९०४

सन् १९०४ नोभेम्बर ९ (१ सेप्टेम्बर) तारिखका दिन रेजीडेन्ट साहेब (कर्णेल राभिंसा) मुलाकात गर्न महाराजाकाहां जादा (आउदा) ५० मिनेट कुरा भएको तपसिल

रेजिडेन्ट– नेपालको ल्हासासँग घा हुद ल्हासापटिबाट ककसको दसखत (छाप) परेको हुनाले घा आजतक (नतोडिएको) कायेम गरेको रहेछ, तेसको सकल हेर्न पाउं (पाया हुदो हो). दसखत सकल छापको नमुना झ्िक्न यहां सक्छन् कि दलाई लामाको (चिनबादशाह तरफको र दलाइ लामाको समेत) छाप लागेको छ की छैन?

महाराज– नेपालको घा हुंदा भयेको सकल कागज मैले पनि हेरेको छैन. लिन पठाई रहेछु. नकल चाहिं यहां छ. यसमा भोटेहरु तरफबाट फलाना २ (भनी) १७ जनाको दस्कत छाप लायेको छ. (दलाइ लामाको सट्टा अरुले छाप लाएको छ) चिनीयां बादशाह तरफबाट कोही बसेका छैनन्. त्यो छापहरुका नक्कल लेख्न यहां कोही सक्ला जस्तो मान्दिन. (लाग्दैन). सकल घाको कागज साहेब छेउ हेर्नालाई पठाई दिनेछु। रे– तपाईको ल्हासा वकीलले वेस काम दिएको छ. कर्णेल हज्वेण्डको १ असिस्टेन्ट जस्तै भएको छ. कर्णेलले वकीलसंग १८ हजार रुपया सापटी लिया नेपाल गभर्मेन्टमा बुझाउनालाई चेक पठाइदिनेछु भनि (मज्कुर कर्णेलले) मलाई तार पठायाको हुनाले चेक आउनु साथ जाहां भन्नुहुन्छ (रुपया) बुझाइ दिनेछु.

म– कर्णेल यङ्ग हज्वेण्डको २२ हजार कालामोहर सापटी मागेका छन् भन्ने मात्र लेखियाको दिये भनि लेखि आयाको छैन. ल्हासामा हाम्रो २ लाखसम्म जमा रहन्छ. साहेवलाई जति चाहिन्छ दिनेछन्. चाहियो भने महाजनहरुबाट पनि दिलाइ दिनेछन्. नीजले (वकीलले) पठायाको हिजो आयाको चिठीमा अम्बाले फौज मागेको कुरा साहेबलाई याद हुनुपर्छ. तेस्मा अंबालाई यो हिसाबको जवाव दिनु भनी लेखी गयेको थियो. दर्बारबाट यस्तो लेखी आयो. अम्बालाई जवाव दिनलाई कसो गर्नु साहेबसँग भयेको कुरा सबै बताउनु भन्ने हुकुम छ कसो गरुं भनी वकीलले मज्कुर कर्णेलसंग सल्लाह गरेछन्. बहुत वेस गरे. अैले अंबासंग तेस विषयमा केही कुरा गर्नु पर्दैन परी आयो भने पछि कुरा गरौंला भनी मजकुर कर्णेलले सल्लाह दियेछन्. वकीलले पठायाके सो चिठीमा अनेक खबर्छ. ट्रान्सलेट हुन लागेको छ. तयार हुनासाथ साहेव कहां पठाइदिनेछु।

रे– अंवाको चालचलनले (अम्वामाथि) केही सुभाजस्तो बुझिन्छ कि. दलाइ लामा कहां छ. (भन्ने खबर छ)

म– सुभाजस्तो त बुझिन्छ. दलाइ लामाले भोटलाई आपत् परेको बखत्मा छाडी गयेको हुनाले गद्दीबाट बाहेक गर्नुपर्छ भनी भन्या अम्बा हुन्. दलेलामा धेरै धेरै मानिसको साथ रेटीन् भन्ने ठाउमा बसेको छ भन्ने खबर (भनी भन्ने कुरा गर्छन् भनी) हाम्रा वकीलले लेखेको छ. यो राम्रो बुझियेन) आयावेलै हाम्रो वकीलले (अघि सिलिधोग लिनाको न्युले) उत्तर तरफ रुसको हाल बुझ्नु पठायाको मानिसहरु फर्केको हेरी रेटिङमा रोकिएको छ भन्ने खबर वकीलले पायेपछि हाम्रो मानिस किन रोकेको भनि काजीहरुसंग कुरा गरेछन्. तेस्का ल्हासामा अंग्रेजको फौज रहेको वेलामा जताततिबाट मानिस आवतजावत गर्नु ठीक पर्दैन भनि नछोडेको हो भनि जवाव दिनेछन्। (छु भनी लेखेको छ) येस विषयमा फेरी कुरा उठाउने छन्ः (दाउरा घासपातमा महसुल लाउने कुरा छ भनी भनेका छ)
रे– ल्हासामा रेजीडेन्ट राख्नालाई ५०० जति फौज (हिफाजतको निम्ति) ल्हासामै राख्नुपर्ने छ. अरु ठाउमा पनि तेही हिसावसंग फौज राख्नुपर्ने हुनाले रेजीडेन्ट नरहने भो. (तजविज भो)

म– अखवार्मा रेजीडेन्ट नरहने हिसाबसंग लेखेको देखेथें (लेखिएको छ) लर्ड कर्जनले रहने हिसाबसंग ब्लुबुकमा लेखेको हो (कर्जनले रुससंग इन्ट्रिग बचाउनुपर्छ भनी रेजीडेन्ट राख्ने लेखिएको छ) किन नरहने भयेछ. कम्युनिकेशन कसो चल्ला.

रे– लर्ड कर्जनले राख्नुपर्छ भनेको हो. होम गवर्मेन्टले मानिनन् (मानि दिएनन्) काबुलमा झै नेटिभ एजेन्ट रहे बेस होला कि? म– भोटेहरुले नेटिभ एजेन्ट राख्नाको मन्जुर गरे भने वेशै होला। (मूलमा कोष्ठ भित्रको पाठ अर्को प्रतिको हो)

comments powered by Disqus

रमझम