२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

जोगिएको ब्राण्ड

Share:
  
- तुफान न्यौपाने
देशलाई न्याय र कानून क्षेत्रमा उत्कृष्ट जनशक्ति दिएको नेपाल ल क्याम्पस आफ्नो 'ब्राण्ड भ्यालू' जोगाउन सफल छ।

तस्वीरहरुः गोपेन राई
नेपाल ल क्याम्पसमा बीएएलएलबीका विद्यार्थी।
नेपाल ल क्याम्पसले दुई र तीन वर्षे स्नातकोत्तर (एलएलएम) का दुई कार्यक्रमका लागि जम्मा ८५ सीटमा विद्यार्थी भर्नाका लागि आगामी १ फागुनमा एकीकृत प्रवेश परीक्षा लिंदैछ। त्यसका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले चलाएको छुट्टाछुट्टै तयारी कक्षाहरूमा विद्यार्थीको घुँइचो छ। थोरै सीटमा कडा प्रतिष्पर्धा हुने भएकाले तयारी कक्षामा आएको विद्यार्थी सुरेन्द्र पाण्डे बताउँछन्।

२०५९–६० साल ब्याचकी एलएलएम पूर्णिमा रिमाल आफूले तीन पटकको प्रयासमा पढ्न पाएको बताउँछिन्। वीर अस्पतालको कानूनी सल्लाहाकार रहेकी अधिवक्ता रिमाल २०११ सालमा स्थापित नेपाल ल क्याम्पसले कडा स्पर्धाबाट छानिएका विद्यार्थी र राम्रा प्रध्यापकहरूका कारण गुणस्तर कायम गरेको बताउँछिन्। “अहिले एलएलएम पढाउने क्याम्पस थपिए पनि यसको हाराहारीमा पुग्न सकेका छैनन्”, उनी भन्छिन्, “यहाँ पढ्न नपाएपछि मात्रै अन्य क्याम्पस खोज्ने चलन छ।”

अन्तर्राष्ट्रिय 'स्ट्यान्डर्ड'

२०५३ मा नेपाल ल क्याम्पसमा शुरु भएको एलएलएम कार्यक्रमअन्तर्गत 'संवैधानिक कानून'विषयमा त्यो वर्षको 'टपर' अधिवक्ता डा. भीमार्जुन आचार्यले २२ वटा किताब लेखेका छन्। उनका केही किताब विदेशका विश्वविद्यालयमा पढाइन्छ भने उनी आफैं पनि पढाउन जान्छन्। उनका अनुभवमा, ल क्याम्पसको पाँच वर्षे बिएएलएलबी र एलएलएमको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको छ। “क्याम्पसले स्तरीय जनशक्ति उत्पादनमा नाम कमाएको छ”, अधिवक्ता डा. आचार्य भन्छन्, “ठूलो पूँजीको रूपमा रहेको यो साख जोगाउनुपर्छ।”

क्याम्पसका प्रमुख कर्णबहादुर थापा यहाँ पढेकाहरू विदेशका कानूनी क्षेत्रमा समेत जमेको बताउँछन्। अर्थात्, क्याम्पसले विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गरिरहेको छ। यसको बिएएलएलबी र एलएलएमको पढाइ अंग्रेजीमा हुन्छ। दुवैमा असाइनमेन्ट, सेमिनार, प्रेजेन्टेसन जस्ता अध्यापन विधि अपनाइन्छ। पूर्णकालीन विद्यार्थीले मात्र पढ्न सक्ने एलएलएमको पाठ्यक्रम छ। क्याम्पस प्रमुख थापा भन्छन्, “अन्यत्र जागीर खाँदै जसोतसो पढ्न नमिल्ने 'कोर्ष डिजाइन' गरिएको छ।”

उनका अनुसार, स्नातक तहमा 'मूट कोर्ट', 'क्लिनिकल ल' जस्ता अभ्यासकेन्द्रित विषय छन् भने स्नातकोत्तर तह सैद्धान्तिक विषयमा बढी केन्द्रित छ। अभ्यासकेन्द्रित कोर्षले स्नातक उत्तीर्ण गरेलगत्तै रोजगार बन्नसक्ने सीप सिकाउँछ। पाँच वर्षे बीएएलएलबी तहको पहिलो ब्याच यही वर्ष 'पास आउट' भएको छ। बीएएलएलबीका विद्यार्थीबाट भोलिको सबै माग पूर्ति हुने अपेक्षा राखेको क्याम्पस प्रमुख थापा बताउँछन्। “हाम्रो क्याम्पसबाट एलएलएम गरेकाहरू सर्वोच्च र अरु अदालतहरूमा इजलास अधिकृत भएपछि दक्षिण एशियाली स्तरका फैसला लेख्न थालेका छन्”, क्याम्पस प्रमुख थापा भन्छन्, “ती फैसलाहरूमा अन्तर्राष्ट्रिय 'जुरिसप्रुडेन्स' समेटिएको मज्जाले देख्न सकिन्छ।”

ल क्याम्पसबाट एलएलएम गरेकाहरू सर्वोच्च र अरु अदालतहरूमा इजलास अधिकृत भएपछि लेख्न थालिएका फैसलाहरूमा अन्तर्राष्ट्रिय 'जुरिसप्रुडेन्स' समेटिएको मज्जाले देख्न सकिन्छ।

कर्णबहादुर थापा

क्याम्पस प्रमुख

उनका अनुसार, ल क्याम्पसबाट एलएलएम गरेका कानून व्यवसायीको प्रस्तुतिमा पनि उस्तै स्तरीय छ। अरुको भन्दा भिन्न उनीहरूको 'कन्पि्कडेन्स' र 'लजिक डेलिभेरी' ले न्याय क्षेत्रमा खास योगदान पुर्‍याएको उनी बताउँछन्। कानून विषय पनि मेडिकल वा इन्जिनियरिङ जस्तै 'अप्लाइड साइन्स' भएको र त्यसमा आफूहरूले गुणस्तर कायम गरेको क्याम्पस प्रमुख थापाको दावी छ। आफ्नो क्याम्पसका एलएलएमहरू न्यायाधीशको रूपमा जिल्ला अदालतहरूमा छिरेपछि न्याय प्रवाहमा राम्रो प्रभाव परेको उनको मूल्यांकन छ।

ल क्याम्पसको २०५९–६० ब्याचका एलएलएम अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार नेपालको कानूनी क्षेत्रमा सफल ठहरिएका व्यक्तिहरू यही क्याम्पसबाट निस्केकाहरू छन्। “यहाँ पढेका वकीलहरू बढी 'भर्सटाइल'छन्”, उनी भन्छन्, “उनीहरूलाई कहाँ 'इन्टरफेयर'गर्ने भन्ने थाहा छ।”

'भर्सटाइल' उत्पादन

दक्षिण एशियाका न्यायाधीश, कानून व्यवसायी, कानूनका प्रध्यापक, अनुसन्धानकर्ताहरू आवद्व 'सार्क ल' का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ नेपाल ल क्याम्पसकै २०३३ सालको ब्याचका हुन्। अहिले सर्वोच्चका बहालवाला अधिकांश न्यायाधीश ल क्याम्पसकै उत्पादन हुन्। सर्वोच्चको शुरुवाती चरणमा भारतमा पढेकाहरू न्यायाधीश भए पनि पछि ल क्याम्पसका उत्पादनहरूले त्यो ठाउँ लिए। राज्यका प्रमुख तीन अंगमध्ये न्यायालयका लागि आवश्यक जनशक्ति सबै र कार्यकारी अंगलाई चाहिने कानून समूहका अधिकृतहरूको आवश्यकता पूर्ति गर्ने जिम्मेवारी सीमित संख्याका ल क्याम्पसमाथि छ। यो आवश्यकता पूर्तिको ठूलो हिस्सा नेपाल ल क्याम्पसले लिएको अधिवक्ता अर्याल बताउँछन्।

उनका अनुसार, देशभर क्रियाशील कानून व्यवसायीमध्ये अधिकांश यही क्याम्पसका उत्पादन हुन् भने ब्यांंक, वित्तीय संस्था र कर्पोरेट हाउसहरूमा चाहिने कानूनी सल्लाहकार पनि यहींबाट पूर्ति भइररहेको छ। राजनीति र प्रशासनको माथिल्लो तहमा पुगेका जनशक्ति पनि यही क्याम्पसका छन्। क्याम्पसले आफ्नो वेबसाइटमा पनि 'महान्यायाधीवक्ता, प्रधानन्यायाधीश, न्यायाधीशहरू, न्याय सेवाका अधिकृतहरूलगायत नेपालको न्यायिक र प्रशासनिक क्षेत्रको नेतृत्वमा' आफ्ना उत्पादन पुगेको उल्लेख गरेको छ। 'देशभित्र र बाहिरसमेत नेतृत्ववादी र प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न सकेकोमा नेपाल ल क्याम्पस गर्व गर्छ', वेबसाइटमा उल्लेख छ।


कानूनी शिक्षाको पायोनियर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) भन्दा पुरानो इतिहास छ, नेपाल ल क्याम्पसको। भारतको पटना विश्वविद्यालयको सम्बन्धनमा २०११ सालमा स्थापना भएको यो क्याम्पसले २०१६ मा त्रिवि स्थापना भएपछि मात्रै देशभित्रकै विश्वविद्यालयको सम्बन्धन लिएको हो। २०२९ सालमा दुई वर्षे 'सर्टिफिकेट लेभल'(सीएल) र तीन वर्षे 'डिप्लोमा इन ल'(डीएल) शुरु गरेको त्रिविको 'इन्ष्टिच्यूट अफ ल'२०३७ पछि मात्र 'फ्याकल्टी अफ ल'भएको थियो। त्यसपछि यही क्याम्पसमा सीएल कार्यक्रम 'प्रोफिसिएन्सी सर्टिफिकेट इन ल'(पीसीएल) र डीएल 'ब्याचलर इन ल'(बीएल) मा परिवर्तन भयो।

ल क्याम्पसमा २०५२ मा पीसीएल तहमा कानून विषय फेज–आउट भयो भने २०५३ मा बीएलको ठाउँ तीन वर्षे एलएलबीले लियो। त्यही साल स्नातकोत्तर तहमा दुई वर्षे एलएलएम कार्यक्रम शुरु भयो। २०६७ मा शुरु भएको पाँच वर्षे बीएएलएलबी कार्यक्रमका विद्यार्थीको पहिलो ब्याच यसै वर्ष 'पास आउट' भएको छ। त्रिविको आंगिक क्याम्पसको रूपमा रहेको नेपाल ल क्याम्पसले नै पहिलोपल्ट २०७० मा तीन वर्षे एलएलएम शुरु गर्‍यो।

काठमाडौंबाहिर राजविराज, नेपालगञ्ज, पोखरा र बुटवलका त्रिविका आंगिक क्याम्पसहरूमा तीनवर्षे एलएलबी पढाइ हुन्छ। नेपाल ल क्याम्पसले भने तीन वर्षे एलएलबी, पाँच वर्षे बीएएलएलबी, दुई वर्षे एलएलएम र तीन वर्षे एलएलएम कार्यक्रम चलाएको छ। एलएलबीमा वर्षेनि १५०० भन्दा बढी विद्यार्थी भर्ना हुँदै आएका छन्। गतवर्ष १७६४ जना विद्यार्थी भर्ना भएका थिए। बीएएलएलबी, दुई वर्षे एलएलएम र तीन वर्षे एलएलएममा भने क्रमशः ७०, ५० र ३५ कोटा तोकिएको छ। यो क्याम्पसबाट हालसम्म ५५० विद्यार्थीले एलएलएम गरिसकेका छन्।


'कानूनी शिक्षामा अतुलनीय'

अधिवक्ता, डा. भीमार्जुन आचार्य

न्यायाधीश, कानून व्यवसायी, अनुसन्धान अधिकृत, कानूनका प्राध्यापकलगायत न्याय तथा कानूनी क्षेत्रमा जति जनशक्ति छ, त्योमध्ये अधिकांश त्रिवि कानून संकाय र नेपाल ल क्याम्पसकै उत्पादन हो। कानूनी शिक्षाको 'स्कोप' क्षेत्र न्यायालय, गैसस र क्याम्पसमध्ये अदालतहरूका अधिकांश न्यायाधीश, कानून अधिकृत र कानून व्यवसायी ल क्याम्पसकै उत्पादन हुन्। अध्ययन–अनुसन्धान गर्ने गैसस र प्राध्यापन गर्ने पनि धेरैजसो ल क्याम्पसकै उत्पादन हुन्।

नेपालको कानूनी शिक्षा र बजारको जनशक्ति पूर्तिमा नेपाल ल क्याम्पसको अतुलनीय योगदान छ। तर, अहिले यसमा घुसेको भागबन्डाको राजनीतिले बिगार गर्ला जस्तो छ। प्रमुख पदहरूमा राजनीतिक भागबन्डा भइरहेको छ। स्ववियू चुनाव प्रभावित पार्नकै लागि मात्र विद्यार्थी भर्ना गरिदिने चलन बढेको छ र यसबाट क्याम्पसको पुरानो साख धर्मराउन थालेको छ ।

comments powered by Disqus

रमझम