२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

प्रभाव जमाउने होडबाजी

Share:
  
- सइन्द्र राई
कांग्रेस महाधिवेशनको प्रतिनिधि छनोटमा देखिएको चरम गुटबन्दीले पार्टीमा नीति होइन, नेताको प्रभाव देखाउने स्वार्थ हावी देखिन्छ।

राजेन्द्रप्रसाद पनेरु/रासस
कञ्चनपुर–२, को क्षेत्रीय अधिवेशनमा २२ माघमा मतदान हुँदै।
महाभूकम्पको असर, नयाँ संविधान कार्यान्वयनका कठिनाइ, मधेश आन्दोलन र भारतीय नाकाबन्दीको सकसबीच व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३औं महाधिवेशन (२०–२३ फागुन) ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ। त्यसो त पाँच वर्षभित्र अनिवार्य महाधिवेशन गराउनुपर्ने निर्वाचन आयोगको व्यवस्थालाई सरकारमा रहँदा कांग्रेस आफैंले संशोधन गरी ६ महीनापछि सारेको थियो। महाधिवेशनका लागि स्थानीय नेतृत्व, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छनोट अन्तिम चरणमा पुगेको छ।

अधिवेशनको संघारमा पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबाहेक अन्य नेता पनि सभापतिका आकांक्षी देखिएका छन्। उपसभापति रामचन्द्र पौडेल जुनसुकै स्थितिमा पनि उम्मेदवारी दिइछाड्ने अड्डी कसिरहेका छन्। संस्थापन पक्षकै मानिने प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, गोविन्दराज जोशीलगायत पार्टीमा पहिलेभन्दा प्रभावशाली देखिने होडमा लागेका छन्। स्थानीय अधिवेशनमा आफ्नो प्रभाव बलियो देखाएर पार्टीमा स्थान सुरक्षित गर्ने नेताको रणनीति बुझ््न गाह्रो छैन।

नेताहरूले आफूलाई सुरक्षित र बलशाली देखाउने प्रयत्नमा कांग्रेस गूटैगूट जञ्जाल बन्न पुगेको छ। जिल्ला अधिवेशनका क्रममा मोरङ कांग्रेस ८ वटा गूटमा विभक्त थियो। यसले कांग्रेसको आन्तरिक गूटबन्दी कुन तहसम्म पुगेको छ भन्ने प्रष्ट्याउँछ। लोकतान्त्रिक पार्टीमा नेतृत्व दावीलाई स्वभाविक मान्ने कांग्रेस केन्द्रीय सदस्य नारायण खड्का भन्छन्, “धेरै नेता भएको पार्टीमा गूटबन्दीलाई पूर्णतः गलत भन्न मिल्दैन।”

स्वार्थको जञ्जाल

ईश्वरचन्द्र झा
२१ माघमा गृहजिल्ला धनुषा पुगेका कांग्रेस नेता विमलेन्द्र निधि कार्यकर्तासँग।
संस्थापन पक्षको पकड रहेको मोरङको जिल्ला सभापति पदमा ७ उम्मेदवारसहित छुट्टा–छुट्टै समूह बनाएर केन्द्रीयदेखि स्थानीय तहसम्मका नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। जसमध्ये ६ जना संस्थापन पक्षबाटै भएकाले देउवा समूहका एक्ला उम्मेदवार डीकबहादुर लिम्बू बलिया देखिन्छन्। १२औं महाधिवेशनमा उनै लिम्बू संस्थापनबाटै जिल्ला सभापति चुनिएका थिए। संस्थापनका सुजाता कोइराला, शेखर कोइराला, अमृत अर्याल, अशोक कोइराला आ–आफ्ना गूटका उम्मेदवार खडा गरी प्रभाव विस्तारमा तल्लीन देखिन्छन्। केन्द्रीय सभापतिकै दावी गरेकी सुजातासमर्थित केशव दुलाल र मदन संग्रौला, शेखरसमर्थित गोपालमानसिंह राजभण्डारी र केदार कार्की, सांसद अमृत अर्यालसमर्थित यदु विष्ट र अशोक कोइराला समर्थित विश्वनाथ रिजालले सभापतिमा लड्ने तयारी गरेका छन्।

सभापतिसहित धेरै प्रतिनिधि आफ्नो पक्षमा पार्न सके केन्द्रीय सदस्यको टिकट दिने देउवाको आश्वासनपछि यदु विष्टलाई अन्तिम समयमा फिर्ता गराएर लिम्बू जिताउने रणनीतिमा अर्याल दुवै उम्मेदवार बोकेर हिंडिरहेका छन् भने अर्का सांसद अशोक कोइराला केन्द्रको ध्यान तान्न छुट्टै उम्मेदवार लिएर हिंडिरहेका छन्। सुजाता र शेखर भने धेरै प्रतिनिधि आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन्। संस्थापन पक्षबाटै १२औं महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रकाशमान सिंह छुट्टै समूहका साथ राजु मास्केलाई जिल्ला सचिव बनाउने दौडमा लागेका छन्।

नीतिभन्दा नेता प्रधान र पार्टीभन्दा गूटलाई प्राथमिकता दिइएको यसखाले गूटबन्दी अभ्यास गर्ने मोरङ एक्लो जिल्ला होइन। युवा नेता रामहरि खतिवडा देशभर दुई वा सोभन्दा बढी गूट सञ्चालनमा रहेको स्वीकार्छन्। उनीहरूको स्वार्थ केन्द्र बलियो र पार्टी सशक्त बनाउने भन्दा पनि आफैंलाई जबर्जस्त स्थापित गराउने मनोविज्ञानमा आधारित छ। सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेसमेत चरम गूटबन्दीबाट अछुतो छैन। कोइरालाले आफ्नै भाइबुहारी किरण कोइरालालाई अघि बढाएपछि संस्थापनका नारायण गौडेल र लक्ष्मीनारायण शाह छुट्टाछुट्टै निर्वाचनमा होमिएका छन्। देउवा पक्षका स्थानीय नेताहरूले किरण कोइरालालाई नै समर्थन जनाएपछि खुमबहादुर खड्काले निरञ्जन सिजापतिलाई बढाएका छन्। डेढ वर्षदेखि मुलुकलाई पुनः हिन्दूराष्ट्र बनाउने अभियानमा सक्रिय खड्काले अन्य जिल्लामा पनि आफ्नै गूट खडा गरेका छन्।

दुई पटक सभापतिमा पराजित भइसकेका देउवाको पकड क्षेत्र सुदूरपश्चिम पनि गूटरहित छैन। कैलालीको अधिवेशनमा देउवा र संस्थापन पक्षका दुईभन्दा बढी गूट सक्रिय देखिए। यसले देउवा पक्षलाई कमजोर बनाउन भदौयता लगातार जिल्लामा खटिएका दिलेन्द्रप्रसाद बडू, एनपी साउद, रमेश लेखक, देवानसिंह बस्नेतलगायतका संस्थापन पक्षलाई बल पुगेको छ। युवा नेता विश्वप्रकाश शर्मा नीति भन्दा नेतृत्वमा बढी जोड दिइएकाले यस्तो परिणाम आएको बताउँछन्। उनी भन्छन्, “कांग्रेसमा कस्तो पार्टी बनाउने भन्दा पनि को नेता भन्ने प्रवृत्ति हावी छ।”

कमजोर तेस्रो धार

प्रशन्न पोखरेल/रासस
२२ माघमा गोरखा–३, को क्षेत्रीय अधिवेशनमा सहभागी मतदाता।
अघिल्लो महाधिवेशनसम्म सक्रिय तेस्रो धार यसपटक निक्रिय हुँदा त्यो ठाउँ उपसभापति रामचन्द्र पौडेलले लिनसक्ने धेरैको आँकलन छ। तर, पौडेल स्वयं गृहजिल्ला तनहुमै बलिया देखिंदैनन्। उनलाई कमजोर बनाउन पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित संस्थापनकै नेता लागेका छन्। कांग्रेसमा पुनःस्थापित हुने जोशीको महत्वाकांक्षालाई केन्द्रीय नेता गोविन्द भट्टराई र प्रदीप पौडेलले साथ दिएकाले रामचन्द्रविरोधी प्रतिनिधि छनोटमा बल पुगेको छ। स्वभाविक हो, संस्थापन पक्षका नेताहरूको खिचातानीको लाभ भने देउवा पक्षले लिइरहेको छ। तर, देउवा पक्षकै उम्मेदवार ध्रुव वाग्लेलाई रामचन्द्रले साथ दिएपछि स्थिति बदलिएको छ। गृहजिल्लामै उनी पराजित हुने डरले जित्ने उम्मेदवारको खोजीमा वाग्ले रोज्न बाध्य भएको स्थानीय नेताहरू बताउँछन्। रामचन्द्रविरुद्ध उपगूट बनाएका संस्थापनका नेताहरूको स्वार्थ पनि साझा छैनन्। जोशी कुलबहादुर गुरुङ नेतृत्वको 'बीपी विचार समूह'मार्फत देशव्यापी प्रभाव बढाउने स्वार्थमा छन् भने अन्य नेताहरू रामचन्द्रको छायाँबाट मुक्त हुन चाहन्छन्।

केन्द्रीय सदस्य चन्द्र भण्डारी स्थानीय अधिवेशनमा उपगूट सशक्त बने पनि केन्द्रमा तेस्रो धार रोज्ने कमै हुने बताउँछन्।

सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलमात्र होइन, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, अर्जुननरसिंह केसीलगायत नेताहरूका क्षेत्रबाटसमेत एकलौटी महाधिवेशन प्रतिनिधि छनोट भएनन्। महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति चयनमा महत्वपूर्ण अर्थ राख्ने नगर निर्वाचनको परिणाममा पनि दुई खेमा स्पष्ट देखिन्छ। काठमाडौं उपत्यकालगायत पूर्वी मधेशमा संस्थापन र सुदूरपश्चिमसहित पश्चिम मधेशमा देउवा पक्ष हावी भए पनि अहिलेसम्मको परिणाममा दुवै पक्ष हाराहारीमा देखिन्छन्।

महाधिवेशन प्रतिनिधि प्रभावित बनाउने जिल्ला अधिवेशनमा विभिन्न उपगूट सक्रिय भए पनि नतिजा भने संस्थापन र देउवा पक्षमा बाँडिने नेताहरू बताउँछन्। जसका लागि दुवै पक्षका नेता महीनौंदेखि कार्यकर्तामाझ् थिए। झ्ण्डै ६ महीनादेखि सुर्खेतलगायतका जिल्लामा व्यस्त देउवापक्षीय नेता पूर्णबहादुर खड्का जिल्ला सभापतिसहित अधिकांश प्रतिनिधि जिताउन लागिपरेका छन्। यसका लागि खड्काले संस्थापनका जिल्ला सभापति तप्तबहादुर विष्टलाई समेत आफ्नो पक्षधर बनाइसकेका छन्। तर, खड्काकै गृहजिल्ला सुर्खेतमा भने क्षेत्र न.२ बाट निर्वाचित सांसद हृदयराम थामी खटिइरहेका छन्। उनी सके विष्टलाई आफूतिरै तान्ने नत्र कमल रेग्मीलाई सभापति बनाएर संस्थापन बलियो बनाउने कसरतमा छन्। महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि गृहजिल्ला झापामा सहज हुने छाँट देखिंदैन। उद्धव थापालाई जिल्ला सभापतिमा अघि सारेका सिटौलाका लागि देउवा पक्षका केशवकुमार बुढाथोकी, नरेन्द्रविक्रम नेम्वाङ र विश्वप्रकाश शर्मालगायतले देउमान थेबेलाई प्रतिस्पर्धी बनाएका छन्।

काठमाडौंको निर्वाचन क्षेत्र नं. १ को बबरमहल निर्वाचन क्षेत्रका उम्मेदवार ।
तर, संस्थापन र देउवा पक्षका प्रभावशाली नेताहरूले आफूलाई केन्द्रमा राखेर महाधिवेशन प्रतिनिधि छनोट गरेकाले केन्द्रीय सभापतिका उम्मेदवारले पहिले तिनै नेतालाई खुशामद गर्नुपर्ने देखिन्छ। “त्यसपछिमात्रै कसको पल्लाभारी हुन्छ भन्न सकिन्छ”, नेता चन्द्र भण्डारी भन्छन्।

अवरोधबीच अधिवेशन

१२ वैशाखको महाभूकम्प र संविधान निर्माणको चटारोले १–४ भदौमा हुन नसकेपछि सारिएको कांग्रेस महाधिवेशनलाई मधेश आन्दोलन र भारतीय नाकाबन्दीले समस्यामा थपिदिएको थियो। तर, निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी २० निर्वाचन क्षेत्रबाहेक सबै ठाउँमा अधिवेशन सकिएको र २५ माघमा जिल्ला अधिवेशन हुने बताउँछन्। ९ माघमा संविधान संशोधन गरेर अधिवेशनका लागि मधेश झ्रेका सांसदहरूलाई मधेशी मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि केही ठाउँमा भने अधिवेशन रोकिन पुग्यो। त्यसलगत्तै कांग्रेस नेतृत्वले औपचारिक अपीलमार्फत अधिवेशनमा अवरोध नगर्न भने पनि मोर्चाले अवरोध गर्‍यो। निर्वाचन समिति संयोजक अधिकारी मोर्चाको अवरोधबीच अधिकांश ठाउँमा अधिवेशन सकिएको बताउँछन्।

१५ माघमा देशभरका वडा, गाउँ, नगर र २२ माघमा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको कांग्रेसले २५ माघमा जिल्ला अधिवेशन गर्दैछ। निर्वाचन समितिका अनुसार, पार्टीका क्रियाशील सदस्यको संख्या १२औं महाधिवेशनमा तीन लाख १३ हजार ८३६ रहेकोमा यसपटक बढेर चार लाख ७० हजार ६५५ पुगेको छ। २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८८०, केन्द्रीय सदस्य ८५, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट गरी जम्मा तीन हजार २०० जनाले महाधिवेशनमा मत खसाल्नेछन्।

साथमा गोपाल गडतौला, झापा, कमल रिमाल, मोरङ, केशव राना, बाँके


अव नाति कोइराला

हरेक महाधिवेशनमा कोइराला परिवारबाट पार्टीमा नयाँ नेता थपिने क्रम यसपटक पनि नटुट्ने देखिन्छ। नयाँ सदस्यका रुपमा बीपी कोइरालाका नाति सिद्धार्थको आगमन भएको छ। दुई दशकदेखि बलिउडमा सक्रिय सिद्धार्थ १५ माघमा सुनसरी– ४ स्थित मधेशा गाविसमा भएको अधिवेशनबाट अत्यधिक मत ल्याएर क्षेत्रीय प्रतिनिधि चुनिए। बीपीपुत्र प्रकाशका छोरा सिद्धार्थ मनिषा कोइरालाका भाइ हुन्।

६ महीनायता मधेशा आउजाउ थालेका सिद्धार्थ यो वर्ष थपिएका क्रियाशील सदस्य हुन्। कांग्रेस विधानअनुसार महाधिवेशन प्रतिनिधिहुँदै केन्द्रीय सदस्य हुन गाउँ अधिवेशनबाट निर्वाचित हुनुपर्नेछ। ११ जना प्रतिनिधि निर्वाचित मधेशाबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित सिद्धार्थले १२८ सदर मतमध्ये १०६ मत पाए ।

comments powered by Disqus

रमझम