द्वन्द्वकालको एकाङ्गी नालीबेली

Share:
  

नाफाको जिन्दगी

लेखकः दीपेन्द्र रोकाया

प्रकाशकः सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठान, हुम्ला

मूल्यः रु.३५०,

पृष्ठः ३४०+

माओवादीको हिंसात्मक विद्रोहका बेला त्यही पार्टीसँग सम्बद्ध पत्रकारहरुले भोगेको नियतिको शब्दचित्र हो, दीपेन्द्र रोकायाको पुस्तक नाफाको जिन्दगी। पुस्तकमा प्रहरी हिरासतमा उनले पाएको यातनाको बेलिबिस्तार छ।

हुम्लाको विकट गाउँमा बिरामी बाबुलाई भेट्न काठमाडौंबाट नेपालगञ्ज हुँदै कोल्टी (बाजुरा) विमानस्थल पुगेका उनलाई माओवादी नेता नेत्रविक्रम चन्द (विप्लव) भएको आरोपमा विमानस्थलमै समातियो। त्यसपछि उनले भोग्नुपर्‍यो, आङ नै सिरिङ्ग पार्ने यातना। पुस्तक मूल रूपमा यसैमा केन्द्रित छ।

पत्रकार भए पनि लेखकले सबै ठाउँमा आफूलाई माओवादी कार्यकर्ताको रूपमा मात्र प्रस्तुत गरेका छन्। माओवादीकै 'सञ्चार व्यूरो' मा रहेकाले त्यसो गर्नु स्वाभाविक पनि होला। तर, यसबाट उनको पुस्तकको ओज भने घटेको छ। पुस्तकमा आफूलाई पत्रकारका रूपमा प्रस्तुत गरेको भए उनको दर्दनाक डायरी प्रभावकारी त हुन्थ्यो नै, पुस्तकमा भएका द्वन्द्वकालका विस्तृत र विविधतापूर्ण विवरण सबै पाठकलाई विश्वसनीय पनि लाग्थे। र, निहत्थाहरुले विद्रोहीको आरोपमा राज्यबाट भोगेको यातना नयाँ रूपमा लिपिबद्ध पनि हुनेथियो।

शान्ति प्रक्रियामा आएपछि माओवादीको नेतृत्वदेखि कार्यकर्तासम्म मौलाएको सांस्कृतिक–आर्थिक अराजकता, त्यसले निम्त्याएको विचलन र भोलिका दिनमा नेतृत्वले व्यहोर्नुपर्ने संकटबारे रोकायाले पुस्तकमा गरेको आकलन भने मर्मस्पर्शी छ। फुटपाथमा सुनिएको बहस भन्दै पुष्पकमल दाहालबारे रोकायाले गरेको भविष्यवाणी “एक– उनी संसदीय नेता मात्र हुन्छन्, दुई– हेग पुर्‍याइने डरले बौद्ध भिक्षु बन्न सक्छन्, तीन– आफ्नो काममा आत्मग्लानि भएर स्वयम् आत्महत्या गर्न सक्छन्, चार– क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन्, पाँच– पुनः रूपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिलाई अघि बढाउन सक्छन्” पढ्दा रमाइलो लागे पनि, यसबाट उनी मोहन वैद्य नेतृत्वको नेकपा―माओवादीको कार्यकर्ता बनेको नयाँ परिचयभन्दा बढी केही खुल्दैन।

रामेश्वर बोहरा


ऐतिहासिकतामा आधारित

तारिणीका कथा

लेखकः तारिणीप्रसाद कोइराला

प्रकाशकः ओरिएन्टल प्रकाशन गृह

मूल्यः रु.३००,

पृष्ठः २२४+४६

वि.सं. २००३ मा स्थापित प्रजातन्त्र रेडियोका संस्थापक तथा साहित्यकार र राजनीतिकर्मीको समेत चिनारी बनाएका तारिणीप्रसाद कोइरालाका कथाहरूको संग्रह हो, तारिणीका कथा। यसमा १९९६ देखि २०२९ बीचमा शारदा, झंकार, रूपरेखा, बिहान, प्रगति, रहर, मुकुट, मधुपर्क मा प्रकाशित तथा केही अप्रकाशित कथाहरू संग्रहित छन्। अपवादका रूपमा यसमा 'कथा विमर्श' जस्तो उनको गैरआख्यानिक रचना पनि समावेश छ।

कोइरालाको निधन भएको झण्डै चार दशकपछि ओरिएन्टल प्रकाशन गृहले पाठकमाझ्ा ल्याएका कथाहरू अहिले पनि सान्दर्भिक लाग्छन्। 'आमाको हृदय' कथामा एउटी विवश आमाको ममता र सन्ततिको सुरक्षित भविष्यका लागि उनले गरेको त्यागबीचको द्वन्द्वात्मक मनोविज्ञान केलाइएको छ। 'नाङ्गो खुकुरी' कथाले भूपि शेरचनको 'हल्लै हल्लाको देश' कविता सम्झाउँछ। जसमा नाङ्गो खुकुरी लिएको व्यक्तिबारे अरूले गरेको अनुमानले निम्त्याएको सकसलाई प्रस्तुत गरिएको छ।

थोरै पात्र र छोटो लेखाइ कोइरालाका विशेषता लाग्छन्। साना–साना विषय र घटनालाई कथा बनाएर मानव जीवनको महत्वपूर्ण पक्षहरू उजागर गर्न सक्नु उनको थप योग्यता देखिन्छ। मान्छेको क्रोध र अहंकार देखाउन उनले 'झुल' मा एउटा बाबरलेटको झुललाई अघि सारेका छन्। रङ्गेली कारागारलाई परिवेश बनाइएको 'मृत्यु क्रीडाको रोमान्स' मा २००७ सालको क्रान्तिलाई विषय बनाइएको छ। यसमा जहाँनियाँ राणाशासनको बेला गिरिजाप्रसाद कोइराला जेलबाट रोमाञ्चक तरिकाले फरार भएको प्रसङ्ग पनि छ।

'पशुपति बाजेकी स्वास्नी' मा आशंका, 'शराबीको हिम्मत'मा यौनकुण्ठा तथा 'बासनाको मुहान'मा वास्तविक प्रेम र यौन चाहनाबीचको अन्तरलाई केलाइएको छ। तारिणीका कथा मा ऐतिहासिकता पक्कै पढ्न पाइन्छ, तर कथाका रूपमा भने पाठकलाई उत्कृष्ट नलाग्न सक्छ। कैयौं कथा दोहोर्‍याउँदा पनि अर्थ नबुझिने हुँदा सम्पादन नभए जस्तो देखिन्छ।

कथाकार लामो समय प्रवासमा बसेकाले हुनसक्छ, हिन्दी भाषाको प्रभाव देखिन्छ। धेरै कमजोरी रहे पनि ऐतिहासिक विषयमा छरितो लेखाइले भने पुस्तकलाई पढ्न लायक बनाएकै छ।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम