२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

नेपाल कति टाढा?

Share:
  
विश्वका २१ देशमा देखिएको जीका भाइरसको महामारीविरुद्ध लड्न सरकारसँग पूर्वतयारी छैन।

१९ माघमा अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी) ले जीका भाइरसबारे सनसनीपूर्ण प्रतिवेदन सार्वजनिक गर्‍यो। सीडीसीका अनुसार, एक अमेरिकी नागरिकलाई एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट नभई यौनसम्पर्कबाट जीका भाइरस सरेको थियो। पछिल्लो प्रतिवेदनले लामखुट्टेको टोकाइबाट मात्र जीका भाइरस संक्रमण हुन्छ भन्ने यसअघिका तर्कलाई गलत सावितमात्र गरेन, जीका महामारीविरुद्धको लडाइँमा अर्को समस्या थपिदिएको छ।

जीका संक्रमणका कारण शिशुको टाउको जन्मजात सानो हुने (माइक्रोकेफाली) रोग देखापर्छ। यसले शारीरिक र मानसिक रूपमा अपाङ्ग बनाउँछ। जीका भाइरस पराजित गर्नसक्ने औषधि हालसम्म बनेको छैन। त्यसैले विश्व स्वास्थ्य संगठनले जीका भाइरसलाई विश्वव्यापी चुनौती बनेको भन्दै संकटकाल घोषणा गरिसकेको छ।
जीका भाइरसले हालसम्म उत्तर र दक्षिण अमेरिकी मुलुकहरू, दक्षिण अफ्रिकासहित २१ मुलुकलाई गाँजिसकेको छ। स्वरूप परिवर्तन गर्दै फैलिएको जीका भाइरसका लागि नेपाल टाढा नरहेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार, नेपालमा जीका प्रवेश गर्ने मुख्य माध्यम लामखुट्टे र संक्रमित व्यक्ति हुन्। “जहाजबाट संक्रमित देशसम्म हुने उडान हाम्रा लागि खतरनाक छ”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्।

जीका प्रभावित क्षेत्रमा नेपाल र भारतबाट सोझै हवाइ उडान नहुने भएकाले तत्कालका लागि जोखिम कम भएको तर संक्रमित ठाउँबाट हवाइजहाजकै माध्यमबाट पनि लामुखुट्टे नेपाल आउनसक्ने सम्भावना छ। झ्न्डै दुई वर्षअघि नेदरल्याण्ड्सको आम्सर्टडम विमानस्थलमा गर्मी मौसममा मलेरियाको संक्रमण भेटियो।

'एयरपोर्ट मलेरिया' नामले चर्चित यो घटनाको अनुसन्धानले संक्रमित देश दक्षिण अफ्रिकाको जोहानेसवर्ग र अन्य अफ्रिकी मुलुकबाट आम्सर्टडममा उत्रिएका जहाजको कार्गोमा संक्रमित लामखुट्टे रहेको प्रमाण फेला पार्‍यो।

“यस्तो नेपालमा पनि नहोला भन्न सकिन्न”, डा. मरासिनी भन्छन्। यसका लागि महाशाखाले संक्रमित देशमा नजान र संक्रमित देशबाट फर्किनेहरूको स्वास्थ्य जाँच गर्न सुझ्ाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नेपालबाट १३ मुलुकका २४ स्थानमा सोझ्ो उडान हुने गरेको छ। (हे.नक्सा)। हाल जीकाको उच्च संक्रमण देखिएका मुलुक पुग्न नेपालले सीधा उडान भर्ने १३ देशबाट जाने गरिएको छ। यसबाहेक छिमेकी भारत र चीनमा जीका भाइरस आइपुगे नेपालमा संक्रमण भित्रिने जोखिम उच्च छ। डा. मरासिनीका अनुसार, अव्यवस्थित शहरीकरण, फोहोर, भाइरस परीक्षण गर्ने जनशक्ति र पूर्वाधारको कमीका कारण नेपालले जीकाजस्ता महामारीजन्य रोगलाई निम्तो दिइरहेको छ।

बढ्दो महामारी, घट्दो बजेट

२३ वर्षयता विश्वमा देखापरेका नयाँ रोगमध्ये ७० प्रतिशत जनावरबाट मानिसमा सर्ने छन्। जनावरबाट सर्ने रोग (जुनोसिस) को प्रकोप बढ्नुको कारण हो– जङ्गल मासिनु, अव्यवस्थित शहरीकरण र हावापानी परिवर्तन। अव्यवस्थित बसोबास र फोहोरका कारण पनि महामारी फैलन्छ। करोडौं भक्तजन जम्मा हुने कुम्भ मेला र हजपछि हरेक वर्ष नयाँनयाँ रोग देखिन्छन्।

तराईमा जङ्गल मासिएकै कारण नेपालमा इन्सेफ्लाइटिसको महामारी फैलिएकोे थियो। जङ्गलमा बस्ती विस्तार भएपछि लामखुट्टेले जनावरको सट्टा मानिसलाई टोक्न थाल्यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्वयंसेवी डा. विकेक ढुंगाना भन्छन्, “हावापानी परिवर्तनका कारण एडिस जातका लामखुट्टे पहाडमा देखिन थालेका छन्।”
विश्वमा सन् २००३ मा सार्स, २००९ मा एचवान एनवान, २०१५ मा इबोला महामारीले आतंक मच्चाएको थियो। यीमध्ये नेपालमा एचवान एनवानको मात्र प्रभाव देखिएको थियो।

महामारीविरुद्ध सरकारको लगानी हेर्दा लाग्छ, यस्ता रोगले नेपालीलाई छुँदैन। कारण, विश्वमा नयाँनयाँ महामारीजन्य रोगको प्रकोेप बढिरहेका बेला सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वार्षिक बजेट रु.५६ करोडबाट रु.३६ करोडमा झ्ारेको छ।

डा. मरासिनी तत्काल महामारीजन्य रोग फैलिए नियन्त्रण गर्न कठिन हुने बताउँछन्। ठूलो महामारी फैलिए मुलुकको अर्थतन्त्र नै सखाप हुने खतरालाई बेवास्ता गरेको बताउँदै उनी भन्छन्, “सरकारले नै नबुझेपछि केही नलाग्ने रहेछ।”

मुलुकमा हाल सरुवा रोगका लागि एक अस्पताल, एक अनुसन्धान केन्द्र, एकमात्र सरकारी विशेषज्ञ, ६ जना मेडिकल इन्टोमोलोजिष्ट (कीरा विज्ञ) र ३५ फिल्ड इपिडिमियोलोजिष्ट (रोगका बारेमा अध्ययन/अनुसन्धान गर्ने विज्ञ) छन्। भाइरोलोजिष्ट (भाइरससम्बन्धी विज्ञ) भने एक जना पनि छैनन्।

रामु सापकोटा

comments powered by Disqus

रमझम