२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

जीकाको जोखिम

Share:
  
- डा. सुमनराज ताम्राकार
गर्भे शिशुको मस्तिष्कमा गम्भीर असर गर्ने जीका संक्रमणको उपचार सम्भव नभएकाले रोकथाममैं ध्यान केन्द्रित गर्नुपर्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जीका भाइरसको फैलँदो संक्रमणविरुद्ध 'संकटकाल' घोषणा गरेको छ। संक्रमण महामारी बन्न सक्नेतर्फ इंगित गर्दै डब्लूएचओले गर्भवती महिलाले जोखिमयुक्त दक्षिण अमेरिकाका कतिपय मुलुक भ्रमण गर्दा सावधानी अपनाउन पनि सचेत गराएको छ।

जीका संक्रमण प्राणघातक नभए पनि यसले गर्भे शिशुको स्वास्थ्यमा गम्भीर असर गर्छ। रोजगार र अन्य कामको शिलशिलामा नेपाली महिला पनि विदेश आवतजावत गर्ने हुनाले जीकाको सम्भावित जोखिम मुलुकको सूचीमा नेपाल पनि पर्दछ। तर, एक त जाडोयाम र अर्को तराईका एकाध ठाउँमा बाहेक लामखुट्टेको बिगबिगी त्यतिविघ्न नभएको नेपालमा स्वाईन फ्लू, बर्डफ्लू, सार्स एवं मर्स जस्तै श्वासप्रश्वासको माध्यमबाट नसर्ने हुनाले आत्तिइहाल्नु भने पर्दैन।

के हो जीका?

डेंगू, वेस्ट नाइल, येल्लो फिभर र जापानीज इन्सेफलाइटिससँग मिल्दोजुल्दो जीका भाइरस फ्लाबी भाइरस वर्गमा पर्ने आरएनए विषाणु (भाइरस) हो। सन् १९४७ मा पहिलो पटक युगाण्डाको जीका जंगलमा फेला पारिएकोले यसलाई जीका भाइरस भनिएको हो। भाइरस एडिस जातको लामखुट्टेको टोकाइबाट सर्दछ। संक्रमित व्यक्तिको शरीरमा एक हप्ताजति मात्र सक्रिय रहने यो भाइरसले त्यसपछि गर्भमा बसेका शिशुमा भने खासै असर पुर्‍याउँदैन।

सन् १९५१ देखि १९८१ बीचमा विभिन्न अफ्रिकी तथा दक्षिणपूर्वी एशियाली मुलुकमा जीकाले महामारीको रूप लिएको थियो। उत्तर र दक्षिण अमेरिकी मुलुकमा पनि आक्रान्त पारेको थियो।यो भाइरसको पछिल्लो संक्रमण भने मे २०१५ मा ब्राजिलबाट शुरु भएको थियो।

लक्षण, उपचार र रोकथाम

संक्रमितमा ज्वरो आउने, छालामा समतल वा हल्का उठेको डाबर देखिने, टाउको तथा मांसपेशी एवं जोर्नी दुख्ने तथा आँखा रातो र रसिलो हुने जस्ता लक्षण देखिन्छ। यस अलावा आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने, पेट गडबडी, जल वियोजन तथा स्नायूसम्बन्धी समस्या देखिन सक्छ। तर, जीकाबाट संक्रमित करीब २० प्रतिशतमा मात्र लक्षण देखिन्छ। लक्षण देखिएको तीन दिनभित्र रगत तथा पाँच दिनभित्र र्‍याल वा पिसाबमा पीसीआर गरी भाइरसका अवशेष पत्ता लगाउन सकिन्छ।

जीका संक्रमणविरुद्ध अहिलेसम्म कुनै खोप तथा औषधि बनेको छैन। त्यसैले रोकथाम नै अचुक औषधि हो। त्यसैले ज्वरो आएका अन्य समय झैं ज्वरो र दुखाइ कम गर्ने औषधि, प्रशस्त झोलिलो खानेकुरा र आराम उपचारका प्रारम्भिक विधि हुन्।

औलो जस्तै संक्रमित लामखुट्टेले सार्ने भएकाले रोकथामका लागि घर छेउछाउ सफा राख्ने, सुत्दा विषादीयुक्त झूलको प्रयोग गर्ने (गर्भवती महिलालाई विशेष प्राथमिकता दिने), तराई तथा भित्री मधेशमा साँझ्पख घरबाहिर बस्दा हातखुट्टा पूरै छोपिने लुगा, पाइन्ट, टोपी लगाउने, घर र गोठका भित्ताका प्वाल एवं चीरा टाल्ने, गाईवस्तुका गोठ घरबाट अलि टाढा बनाउनुपर्छ। लामखुट्टे धपाउने धूप (म्याट वा क्वाईल) बाल्नुका साथै लामखुट्टेबाट बचाउने मल्हम पनि प्रयोग गर्न सकिन्छ। घर वरिपरि पानी जम्ने ठाउँ पुर्नुका साथै डीडीटी/मालाथियन जस्ता कीटनाशक औषधि छर्कंनुपर्छ।

गर्भवती महिलाले जीका संक्रमणको उच्च जोखिममा रहेका मुलुकको भ्रमण नगर्नु नै बुद्धिमानी हुन्छ। गर्नै परे लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाउनुपर्छ। जोखिमयुक्त देशको भ्रमणलगत्तै वा यसको दुई हप्ताभित्र रोगका लक्षण चिह्न देखापरे परीक्षण गराउनु पर्दछ।

जीका र गर्भे शिशु

जीका संक्रमणले शिशुको टाउको जन्मजात सानो हुने (माइक्रोकेफाली) समस्या निम्त्याउँछ। गर्भावस्थाको पहिलो तीन महीनामा संक्रमण भएमा यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ। ब्राजिलमा मात्र जीकाकै कारण चार हजार गर्भे शिशु सानो टाउको लिएर जन्मिएको बताइन्छ। संक्रमित बच्चामा सुस्त मनस्थिति तथा छारेरोगका समस्या देखिने हुन्छ। गर्भे शिशुको पानी निकालेर संक्रमण परीक्षण गर्न सकिन्छ। तर, १५ हप्ताभन्दा मुनिको गर्भावस्थामा पानी निकाल्दा गर्भ खेर जाने सम्भावना हुन्छ। गर्भावस्थाको १८–२० हप्ताभन्दा माथि गरिने अल्ट्रासाउण्ड (भिडियो एक्सरे) बाट पनि माइक्रोकेफाली पत्ता लगाउन सकिन्छ। जीका भाइरसको संक्रमणले शिशुको दिमागमा क्याल्सियम थुप्रिएको दाग पनि देखिन्छ। शिशु जन्मेको २४ घण्टाभित्र टाउकोको गोलाइ नापेमा पनि माइक्रोकेफाली पहिल्याउन सकिन्छ।

(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ताम्राकार धुलिखेल अस्पतालमा कार्यरत छन्।)


माइक्रोकेफाली अर्थात् सानो मस्तिष्क

ग्रीक भाषामा माइक्रोको अर्थ सानो र केफालीको अर्थ टाउको हुन्छ। त्यसैले माइक्रोकेफालीको अर्थ सानो मस्तिष्क भन्ने बुझिन्छ। जन्मेको २४ घण्टाभित्र नवजात शिशुको टाउकोको गोलाइ ३२ सेमीभन्दा कम भएमा टाउको सानो भएको मानिन्छ। स्नायू विकाससँग सम्बन्धित यस्तो गडबडी जन्मजात रूपमा वा जन्मेको केही वर्षभित्र पनि देखिन सक्छ।

त्यसो त वंशाणुगत गडबडी तथा अन्य कारणले पनि माइक्रोकेफाली समस्या हुनसक्छ। अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेपछि कतिपय गर्भवतीले माइक्रोकेफालीयुक्त शिशु जन्माएका थिए। तर हालै इन्टरनेशनल सोसाइटी अफ इन्फेक्सियस डीजीज तथा अमेरिकाको सेन्टसर् फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले जारी गरेको प्रतिवेदनमा जन्मजात माइक्रोकेफालीको मुख्य कारण लामखुट्टेजन्य जीका भाइरस संक्रमणलाई मानिएपछि चासो ह्वात्तै बढेको छ।

माइक्रोकेफाली प्रभावित शिशुको अनुहारको दाँजोमा टाउको वृद्धि नहुने हुँदा निधार धसेजस्तो देखिन्छ। तालुको छाला पनि चाउरिन्छ। शिशु पुड्को तथा कम तौलको हुन्छ। शारीरिक विकास सुस्त हुन्छ। बोली ढिलो छुट्छ। कसैकसैमा हात खुट्टा लरबरिने र नचल्ने हुनसक्छ। औसत आयू पनि कम हुन्छ। स्नायू विकार भई वौद्धिक विकासमा समेत असर पुग्छ। मस्तिष्कको आकारका परिवर्तन गराउने कुनै उपाय नभएजस्तै माइक्रोकेफालीको पनि उपचार छैन ।

comments powered by Disqus

रमझम