२८ माघ - १ फागुन २०७२ | 7-13 February 2016

कोठामा ऊर्जा

Share:
  

इन्टरनेट तस्वीर
व्यवस्थित र चिटिक्क कोठामा बस्ने सबैको चाहना हुन्छ। तर, स–साना कुरामा ध्यान नदिएकै कारण कोठा भनेजस्तो बनाउन सकिरहेका हुँदैनौं। कोठाअनुसारको रङ, फर्निचर, पर्दा, बत्तिलगायतमा ध्यान दिने हो भने कोठा बेग्लै बन्छ।

रङ सामान्यतयाः कोठाको आवरण राम्रो बनाउन भित्ताको रङ छनोट हतारमा गर्छौं। तर, कोठामा राखिने फर्निचरको आकार र अन्य सजावटका सामाग्रीको चयनपछि मात्रै त्यससँग मेल खाने रङ लगाउनुपर्छ। कोठा उज्यालो छ भने गाढा रङको पेन्ट राम्रो देखिन्छ तर, अँध्यारो कोठामा हल्का रङ– सेतो, क्रिम, आकाशे नीलो आदि उपयुक्त हुन्छ।
गाढा रङ मनपर्छ भने कोठामा सोफा वा पलङको उचाइसम्म गाढा रङ लगाएर त्यसमाथि हल्का रङ लगाउन सक्नुहुन्छ। दुई रङको बुट्टा भएका पर्दा र बेडसीट राख्दा कोठामा सौन्दर्य थपिन्छ।

फर्निचर कोठा भरिने फर्निचर राख्ने चलन पुरानो भइसकेको छ। ठूला सोफा, कुर्सी, टेबल ठूला–ठूला कोठामा राम्रा देखिन्छन् तर साना कोठाका लागि हलुका र साना फर्निचर नै राम्रो हुन्छ। यस्ता फर्निचरले कोठामा खुला ठाउँ बाँकी रहन्छ। ठूला दराज राख्नुभन्दा लुगा झुण्ड्याउने ह्यांगरसमेत भएका दराज भित्तामा बनाउने हो भने धेरै ठाउँ लिंदैन। सोफामा राखिने कुशन र तकियामा चम्किलो र रंगीन खोल बढी प्रचलनमा छ।

कला कोठामा आकर्षक तस्वीर, चित्रकला राख्ने चलन पुरानै हो। तर, पुरानो हुँदैमा यसले आफ्नो सौन्दर्य गुमाएको छैन। अहिले पनि कलात्मक कोठा शानका रुपमा लिइन्छ। सामान्यतयाः भूइँभन्दा ५७ देखि ६० इन्च माथि तस्वीर, पेन्टिङ झुण्ड्याउँदा हेर्न सहज र राम्रो देखिन्छ। धेरै चित्रकला एकै लहरमा राख्दा राम्रो देखिंदैन। निश्चित ठाउँमा बसेपछि वा कोठा पस्नेबित्तिकै देखिने गरी चित्रकला राख्नुपर्छ।

प्रकाश उज्यालो ऊर्जाको प्रतीक हो। झ्यालबाट प्रशस्त उज्यालो पस्ने कोठा राम्रो देखिन्छ। तर, कोठा अँध्यारो छ भने पनि उज्यालोका लागि उपयुक्त बत्तिको छनोट गर्न सकिन्छ। यसो गर्नाले कोठा 'फ्रेस' देखिने मात्र होइन, ठूलो पनि देखिन्छ।

कम उज्यालो कोठामा झ्यालबाट पसेको उज्यालो परावर्तन गर्नसक्ने ठूलो ऐना राख्दा उज्यालो चारैतिर फैलिन्छ। टेबल ल्याम्प, सिलिङमा राखिने बत्ति र भित्ताका बत्तिहरु प्रशस्त उज्यालो दिने र तिनका डिजाइन उज्यालो नछेक्ने खालको हुनुपर्छ। अचेल टेबल ल्याम्पभन्दा ह्यांगिङ ल्याम्प राख्ने चलन बढेको छ। यस्तो ल्याम्पले ठाउँ पनि ओगट्दैन, राम्रो पनि देखिन्छ।

दराजभित्र बत्ति राखे खोल्नेबित्तिकै बत्ति बल्छ र सामान खोज्न समस्या पर्दैन। डाइनिङ टेबल र सेन्टर टेबलमा सीसा राखेमा उज्यालोको मात्रा बढ्छ।

कतिपयको चाहना बिहान उठ्दा कोठा घाम लागेको जस्तै उज्यालो होस् भन्ने हुन्छ। प्राकृतिक उज्यालो नछिर्ने कोठामा टाइमर बल्ब प्रयोग गर्न सकिन्छ। यस्ता बल्बमा समय मिलाउने हो भने अलार्मसँगै बत्ति बल्छ र ब्यूँझनासाथ कोठा उज्यालो हुन्छ।

comments powered by Disqus

रमझम